मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भइरहेको बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा नेकपा एमालेले सञ्चालन गरेको वडा केन्द्रित ३ महिने जरा अभियानको हेटौँडामा भएको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालहरुमार्फत एमालेलाई घेराबन्दी पार्ने काम भैरहेकोले असफल पार्न एमालेका सबै पंक्ति एकजुट भएर लाग्नुको विकल्प नरहेको उनले बताए । ‘अभिमन्यूलाई झैं घेराबन्दीमा पारेर एमालेलाई गलाउने प्रयास भइरहेको छ’ रानाले भने ‘आधुनिक अभिमन्यूहरुले त्यस्ता भ्रमहरुलाई तोडेर बाहिर निस्कने सक्ने ल्याकत राख्छन् ।’ ‘सामाजिक सञ्जाल होस् वा एआइ टुल्स नै किन नहोस हामी सदुपयोग गरेर भ्रमजालबाट देशलाई मुक्त बनाउन लाग्नेछौं’ रानाले भने।
एमाले केन्द्रीय सदस्य केदार न्यौपानले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पृष्ठभूमि बताउदै भने ‘तत्कालीन राणाशासनको अन्त्य र नागरिक अधिकार प्राप्तिको एजेण्डा लिएर नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको हो ।’ ‘कम्युनिष्ट आचरणमा रहेर श्रमिक बर्गको एजेण्डा उठाउने पार्टी आजको आवश्यकता बनेको छ’ उनले भने । ‘जब हामीले श्रमिकका मुद्दा, गरिव र बिपन्नको मुद्दा बोक्दैनौं भने पुँजीवाद हाबी हुन्छ र व्यवस्थामाथि खतरा बढछ्’, न्यौपानेले भने ‘अहिले प्राप्त गणतन्त्रको नेतृत्व पनि कम्युनिष्ट पार्टीले गर्न सकेन भने नाम मात्रको गणतन्त्र हुनेछ ।’
एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश बर्ताैलाले संसदीय कामका बाबजुत आफू निरन्तर पार्टीको अभियानमा जोडिएर अघि बढिरहेको बताए । ‘पार्टी कामका अलावा संसदीय काम र विकास निर्माणका काममा जनतासामु जोडिएर अघि बढिरहेको छु’ बर्तौलाले भने । शिक्षक आन्दोलनमा राजनीति हाबी हुँदै जाँदा आन्दोलनले अर्कै रुप लिन पुगेको उनले बताए । नेपाली ‘काँग्रेस निकट शिक्षक महासंघको नेतृत्वले अहिले एमालेको नेतृत्वमा रहेको सरकारलाई बदनाम पार्ने प्रयत्न भइरहेको छ’ उनले भने ।
एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेलले तीन महिने वडा केन्द्रित अभियान अन्तर्गत मकवानपुरका १० वटै स्थानीय तहका १०२ वटै वडामा पार्टीका वडा कमिटीहरु चुस्त पारिएको र ४७६ वटा टोल कमिटी गठन भएको प्रतिवेदन पेस गरेका थिए ।

