नेपालमा मनसुन भित्रिएसँगै यो साताबाट भारी वर्षा भइरहेको छ । प्रकृतिको सुन्दर वरदान वर्षा, कहिलेकाहीँ विपद्को रूपमा आउँछ। जसले हरेक वर्ष ठूलो क्षति पुर्याउँछ। नेपालको भौगोलिक बनावट र मानवीय क्रियाकलापका कारण यो समस्या झन् जटिल छ। हरेक वर्ष बाढी र पहिरोले सयौँको ज्यान लिन्छ, हजारौँलाई घरबारविहीन बनाउँछ र अर्बौंको भौतिक क्षति गर्छ।सडक, पुल, खानेपानी र बिजुलीका पूर्वाधारभत्किँदा जनजीवन अस्तव्यस्त बन्छ।कृषिमा आधारित नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ। बाली बगाउँछ र भोकमरीको जोखिम बढाउँछ। विस्थापित भएका नागरिकहरूले भोग्नुपर्ने मानसिक र शारीरिक पीडा त छँदै छ।
छोटो समयमा हुने अत्यधिक वर्षाले नदीहरूमा पानीको बहाव बढाउदै जमिन कमजोर बनाउँछ।कमजोर भौगोलिक संरचनामा थोरै पानीले पनि पहिरो जान्छ।जथाभाबी वन फँडानीले माटोको खण्डीकरण बढेको छ । वैज्ञानिक मापदण्डबिनै गरिने सडक निर्माण, भवन निर्माण र नदी किनारका अव्यवस्थित बस्तीहरूले बाढी र पहिरोको जोखिम बढाएका छन्। जलवायु परिवर्तनका कारण वर्षाको ढाँचामा आएको परिवर्तनले अप्रत्याशित र तीव्र वर्षाका घटनाहरू बढेका छन्, जसले यी विपद्लाई अझ भयावह बनाइरहेको छ।
यो समस्या समाधानका लागि सरकार, स्थानीय तह, निजी क्षेत्र र आमनागरिक सबैको साझा प्रयास अपरिहार्य छ। दिगो विकास र पर्यावरणीय सन्तुलनलाई प्राथमिकतामा राखेर गरिने सामूहिक प्रयत्नले मात्र नेपाललाई बाढी र पहिरोको चपेटाबाट जोगाउन सक्छ। अब मौसमी तयारी होइन, दिगो समाधानको खाँचो छ। अहिले वर्षाकै समय भएकोले आफ्नो दैनिकीसँगै सुरक्षाको उपायहरु अपनाउनु जरुरी छ।अत्यवश्यक कामले बाहिर निस्कदा बाटो, मौसमको जानकारी लिएर मात्रै निस्कनु पर्छ। साथै खानपानमा विशेष ध्यान दिने, स्वास्थ्योपचारको सवालमा सचेत हुनुपर्छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो हेटौंडा–१९ नेवारपानीस्थित तारा फाइभर उद्योगका हेड अपरेटर ४० वर्षीय भुषण वैठाको करेन्ट लागेर मृत्यु भएको हो ।
भारतको बिहार राज्यको पूर्वी चम्पारणका भुषणको उद्योग नजिकै रहेको खोल्सामा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतकको शब हेटौंडा अस्पतालमा रहेको तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा होटलको तेस्रो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाको छटबाट खसेर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका २८ वर्षीय अमित मोक्तान छन्।
सोमबार होटलको तेस्रो तलाबाट खसेर घाइते भएका उनलाई उपचारको लागि हेटौंडा अस्पताल हुँदै चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो। मोक्तानको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। उक्त होटलमा कार्यरत मोक्तानकी पत्नी त्यही होटलमै बस्दै आएकी थिइन्। मोक्तान पत्नीलाई भेट्न होटल गएका थिए । घटनाको प्रारम्भिक अनुसन्धानमा उनले मदिरापान गरेको पाइएको प्रहरीले जनाएको छ।
मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा प्रहरीले एक थान कटुवा पेस्तोलसहित त्यसमा लाग्ने ५ राउण्ड गोली बेवारिसे अवस्थामा फेला पारेको छ ।
राक्सिराङ गाउँपालिकामा- १, ढुंगेनमा शनिबार राती बेवारिसे अवस्था रहेको उक्त पेस्तोलसहित गोली र २ किलो ४८० ग्राम अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीय चन्द्रलाल मोक्तानको बारीमा रहेको आँपको फेदमा प्लाष्टिकमा सेतो बोरामा बेरी राखेको पेस्तोल, गोली र अफिम बरामद भएको प्रहरी जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा सवारी दुर्घटना न्यूनीकरणकाे सचेतना अभिबृद्धी छलफल कार्यक्रम भएकाे छ । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा सरोकारवाला पक्षहरुसँग सचेतना अभिबृद्धी कार्यक्रमसँगै प्रतिबद्धता समेत गरिएकाे छ ।
कार्यक्रममा सहभागी यातायात व्यावसायी, प्रहरी, यातायात चालक, नागरिक समाजका प्रतिनिधिहरुले दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने हस्ताक्षरसहित प्रतिबद्धता जनाए । कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइट सम्वन्धी छलफल र अन्तरक्रिया पनि भएको छ । प्रतिबद्धतासँगै मकवानपुरसहित बागमती प्रदेशमा संचालन हुने यातायातका साधनले झल्लर हटाउनु पर्ने छ । यसैगरी प्रेसर हर्न र फोकस लाइट प्रयोग गर्न नपाइने भएकाे छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले उद्घाटन् गरेकाे कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकाल, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, विश्वराज खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, समाजसेवी सिद्धीलाल श्रेष्ठ, नारायणी यातायात व्यावसायी संघ महासचिब सरोज खनाल, नारायणी यातायात व्यावसायी कम्पनी निर्देशक माधव अधिकारी लगायतका उपस्थित थिए ।