नेपालमा मनसुन भित्रिएसँगै यो साताबाट भारी वर्षा भइरहेको छ । प्रकृतिको सुन्दर वरदान वर्षा, कहिलेकाहीँ विपद्को रूपमा आउँछ। जसले हरेक वर्ष ठूलो क्षति पुर्याउँछ। नेपालको भौगोलिक बनावट र मानवीय क्रियाकलापका कारण यो समस्या झन् जटिल छ। हरेक वर्ष बाढी र पहिरोले सयौँको ज्यान लिन्छ, हजारौँलाई घरबारविहीन बनाउँछ र अर्बौंको भौतिक क्षति गर्छ।सडक, पुल, खानेपानी र बिजुलीका पूर्वाधारभत्किँदा जनजीवन अस्तव्यस्त बन्छ।कृषिमा आधारित नेपाली अर्थतन्त्रमा प्रत्यक्ष असर पर्छ। बाली बगाउँछ र भोकमरीको जोखिम बढाउँछ। विस्थापित भएका नागरिकहरूले भोग्नुपर्ने मानसिक र शारीरिक पीडा त छँदै छ।
छोटो समयमा हुने अत्यधिक वर्षाले नदीहरूमा पानीको बहाव बढाउदै जमिन कमजोर बनाउँछ।कमजोर भौगोलिक संरचनामा थोरै पानीले पनि पहिरो जान्छ।जथाभाबी वन फँडानीले माटोको खण्डीकरण बढेको छ । वैज्ञानिक मापदण्डबिनै गरिने सडक निर्माण, भवन निर्माण र नदी किनारका अव्यवस्थित बस्तीहरूले बाढी र पहिरोको जोखिम बढाएका छन्। जलवायु परिवर्तनका कारण वर्षाको ढाँचामा आएको परिवर्तनले अप्रत्याशित र तीव्र वर्षाका घटनाहरू बढेका छन्, जसले यी विपद्लाई अझ भयावह बनाइरहेको छ।
यो समस्या समाधानका लागि सरकार, स्थानीय तह, निजी क्षेत्र र आमनागरिक सबैको साझा प्रयास अपरिहार्य छ। दिगो विकास र पर्यावरणीय सन्तुलनलाई प्राथमिकतामा राखेर गरिने सामूहिक प्रयत्नले मात्र नेपाललाई बाढी र पहिरोको चपेटाबाट जोगाउन सक्छ। अब मौसमी तयारी होइन, दिगो समाधानको खाँचो छ। अहिले वर्षाकै समय भएकोले आफ्नो दैनिकीसँगै सुरक्षाको उपायहरु अपनाउनु जरुरी छ।अत्यवश्यक कामले बाहिर निस्कदा बाटो, मौसमको जानकारी लिएर मात्रै निस्कनु पर्छ। साथै खानपानमा विशेष ध्यान दिने, स्वास्थ्योपचारको सवालमा सचेत हुनुपर्छ ।

