माकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने भएकाे छ । नेपाल स्पोर्ट सेन्टर (नेकोस) ले शनिबारबाट हेटौंडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएकाे हाे ।
खेलकुद महोत्सव अन्तर्गत नेकोसले हेटौंडामा प्रतियोगिता गर्न लागेकाे शुक्रबार पत्रकार भेटघाट गरी जानकारी दिएकाे छ । दुवै प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत महिला भलिबलमा प्रथम हुने टिमले ५ लाख रुपैया, द्वितीय हुनेले ३ लाख रुपैंया, तृतीयले १ लाख रुपैंया तथा सान्त्वनाले ५१ हजार रुपैंया प्राप्त गर्ने छन् । त्यस्तै प्रत्येक विधामा नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएकाे छ । त्यस्तै स्केटबोर्ड प्रतियोगितामा प्रथम हुने टिमले १० हजार, द्वितीय ५ हजार र तृतीय ३ हजार रुपैंया प्राप्त गर्ने छन् ।
भलिबल प्रतियोगितालाई नेपाल स्पोर्ट सेन्टर आफैले र स्केटिङ प्रतियोगितालाई नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले संयोजन गर्ने नेकोसका अध्यक्ष अनिल कुमार रिजालले जानकारी दिए । नेपालको खेल क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएकाे उनले बताए ।
हेटौंडा-४ हुप्रचौरस्थित भलिबल कोर्टमा हुने महिला भलिबल प्रतियोगिता लिग कप नकआउट अन्तर्गत खेलाइने छ । नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डाइमण्ड क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश गरी ६ वटा टोली महिला भलिबलमा सहभागी हुनेछन् । त्यस्तै पुष्पलाल रोडको स्केटिङ पार्कमा हुने स्केटबोर्ड प्रतियोगितामा देशभरका १२ वर्षमुनिका महिला र पुरुष तथा १२ वर्षमाथिका महिला र पुरुष गरी ४ विधामा १५० जना खेलाडीको सहभागिता रहनेछ ।
महिला भलिबलको असार ७ गते शनिबार र स्केटबोर्डकाे असार ८ गते आइतबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । प्रतियोगिताको समापन ११ असारमा हेटौंडाको हुप्रचौरमा हुने छ । आयोजकका अनुसार दुवै प्रतियोगितामा करिब ८० लाख खर्च हुने अनुमान गरिएको छ ।

