मकवानपुर । महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको सबैभन्दा लामो दुम्किबासको विनयी खोलामा पक्की पुल ढलान ढीलो भएको प्रति यातायात व्यवासायीहरुको ध्यानाकर्षण भएको जनाएको छ ।
पुल भाँचिएपछि हिउँदमा खोलाबाट सवारी चलाइएको भए पनि वर्षा लागेसँगै समस्या बढेको छ । यही राजमार्ग अवरुद्ध भएको कारण अहिले भैरहवा नाकाबाट भित्रने सामग्रीहरु ढुवानीमा समस्या भएको छ । यता यातायात व्यवसायीहरुको मालवाहक गाडीहरु, यात्रु वाहक बसहरु समेत ग्यारेजमा थन्किएपछि रोजगारीमै समस्या भएको छ ।
सर्वसाधारणको समस्या प्रति गम्भिर हुन सम्बद्ध निकायलाई नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका अध्यक्ष गोकर्ण पराजुलीले अनुरोध गरे । “ऋणमा लिइएका यातायातहरु राजमार्गको कारण ग्यारेजमा थन्किएपछि व्यवसायीहरु झनै ऋणमा डुब्दै जान्छन्” अध्यक्ष पराजुलीले भने “पहुँच हुनेहरु माथि माथि उड्छन्, सर्वसाधारणहरुको जीवनको कष्ट कसले बुझ्ने ?”
राजमार्ग बन्दको कारण यातायात मजदुरहरु आफ्नो दैनिकी गुजार्नै समस्या हुने अवस्थामा पुगेको गुनासाहरु आउन थालेको अध्यक्ष पराजुलीले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प नदिँदा गाडी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ । गएको पुस २६ गते विनयी खोलाको पुल भाँचिएको थियो । पुल भाँएिपछि बनाएको डाइभर्सन दर्जन पटक बगिसकेको छ । डाइभर्सन बगेपछि आवातजावात ठप्प हुने र गाडीको लामो लाइन लाग्ने गरेको थियो ।
यसैमा सास्ति भोग्दै आएका सर्वसाधारणले पछिल्लो साताबाट राजमार्ग नै बन्द भएपछि मार खेप्नु परेको छ । यो राजमार्गमा दैनिक झन्डै १८ हजार गाडी चल्ने गरेको थियो ।
भैरहवा–चितवन–हेटौंडा रुटमा ट्रक चलाउँदै आउनुभएका केशव श्रेष्ठले पछिल्लो साता घरैमा बस्नु पर्दा आर्थिक समस्या भएको बताउनु भयो । “बाटो नै बन्द छ, काम गर्नै पाएको छैन, आर्थिक समस्याको कुरा कसलाई सुनाउनु” उनले भने “एक पटक त गाडी साहुलाई गुनासो गरेर केही पैसा अग्रीम लिएँ, कति पटक यसरी चलाउनु ।”
भैरहवाबाट काठमाण्डौ पुग्न एक साता लागेपछि अहिले आफू काठमाण्डौमा थन्किनु परेको अर्का ट्रक चालक विबेक कठायतले बताए । “एकै ठाउँमा ४ दिन त बर्दघाटमै रोकिएँ, ट्रकमा आलु र प्याज बोकेको थिएँ, आधा त कुहियो होला” कठायतले भने “ट्रकमा भएको आलु र प्याज कुहिएर गन्हाउँदा गाडीमै सुत्नसमेत समस्या भएको थियो ।” अहिले काठमाण्डौमा अल्झिनु पर्दा आर्थिक समस्या भएको उनले बताए ।
“प्रकृतिसँग त कसले सक्छ र, तर मौसमी पूर्वानुमान त थियो नि, सोही अनुसारको रफ्तारमा काम नहुँदा यो सास्तीको शिकार जनता हुनु परेको हो” नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रीय सदस्य समेत रहेका पराजुलीले बताए ।
विनय खोलामा ५२ वर्षअघि निर्माण भएको फलामे पुल ६ महिनाअघि भाँच्चिएका कारण त्यहाँ डाइभर्सन सडकबाट आउजाउ भइरहेको थियो । गतसाता यात्रु बोकेको बस डाइभर्सनबाट बगाएपछि अहिले यो राजमार्गबाट साना सवारीहरुमात्रै सुचारु छन् । मालवाहक ट्रक र यात्रुबाहक बसहरु पूर्ण रुपमा बन्द रहेको पूर्वी नवलपरासी जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
आगामी शनिबारबाट पुल सञ्चालनमा ल्याइनेछ : प्रवक्त खनाल
विनयी खोलामा निर्माण भएको नयाँ पक्की पुल आउँदो शनिबारबाट सञ्चालनमा ल्याउने उद्देश्यका साथ आफूहरुले काम गरिरहेको सडक विभाग अन्तरगत बुटवल नारायणगढ सडक आयोजना, पूर्वी खण्डका सूचना अधिकारी तथा प्रवक्ता इन्जिनियर शिव खनालले बताए ।
“बाटोको ढलान सकिएको छ, अब पुलको मात्रै भाग बाँकी छ” खनालले भने “आगामी ५ तारिख (२१ असार) बाट पुल सञ्चालनमा ल्याउने जमर्को हाम्रो तर्फबाट छ।” यद्यपी मौसमले साथ दिएन भने केही ढीलाइ हुनसक्ने उनले बताए । चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन, परामर्शदाता तथा आयोजनाबीचको छलफलअनुसार शनिबारबाट पुलको प्रयोगमा खुला गरिने तयारी भएको उनले बताए ।
गत २६ पुसमा मालबहाक ट्रक ठोक्कीदा पुल भाँचिएको थियो। त्यसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएकोमा पछिल्लो साता पूर्ण रुपमा राजमार्ग ठप्प छ ।
चिनियाँ निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र परामर्शदाता कम्पनीलाई अबको दुई महिना दाउन्ने सडकमा केन्द्रित भएर काम गर्न निर्देशन दिइएको बताइएको छ । चिनियाँ पक्ष पनि चाँडै काम गर्न र परिणाम देखाउनेतर्फ सकारात्मक देखिएको दावि गरिएको छ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–६ मा गाडीकाे ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार थाहा नगरपालिका–१, कुन्छालमा गाडीको ठक्करबाट सिताराम महर्जनको घाइते भएका थिए ।
कुन्छाल स्थित चित्लाङ-चन्द्रागिरी सडकखण्डमा सडक छेउमा हिडिरहेका स्थानीय ७० वर्षीया महर्जनलाई नम्बर नखुलेकाे गाडीले ठक्कर दिंदा घाइते भएका थिए । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बज्रबाराहीमा सामान्य उपचार पश्चात थप उपचारकाे लागि काठमाडौंस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
सशस्त्र प्रहरी बलको अस्पताल पुर्याउँदा महर्जनको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार महर्जनलाई ठक्कर दिने गाडीको भने पहिचान हुन सकेको छैन भने गाडीको खोजी गरिरहेको छ ।
मकवानपुर । देशको राजधानी काठमाडौ जोड्ने देशकै जेठो मार्ग त्रिभुवन राजपथ शुक्रबार र शनिबार दिनको ४ घण्टा बन्द रहने भएको छ।
राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-९ लामीडाँडादेखि थाहानगरको सिमभञ्ज्याङसम्मको सडकखण्डमा १३ र १४ असार दुई दिन दिउँसो १२ बजेदेखी ४ बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सडक मर्मत तथा खतरनाक भूस्खलन क्षेत्रको सुधार कार्यकालागि सो सडकखण्डमा अस्थायी रूपमा सवारीसाधन आवागमन संचालनमा रोक लगाइएको जनाइएको छ।
सडकखण्डको राँगी भञ्ज्याङ मोडमा अविरल वर्षाले सडक भत्किएको र ह्युमपाइप विछ्याउने कार्यका लागि दुई दिन दिनको ४ घण्टा बन्द गरिने प्रशासन कार्यालयबाट प्रकाशित सूचनामा उल्लेख छ।

चितवन । चितवनको रत्ननगरनगरपालिका स्थित भद्रकाली माध्यमिक विद्यालयमा राष्ट्रिय सेवादल (एनसिसी) तालिम सुरु भएको छ । नेपाली सेनाले सञ्चालन गर्ने उक्त तालिम सोमबारबाट सुरु भएकाे हाे ।
रत्ननगर नगरपालिका वडा नं. १६ हात्तिगाडेमा रहेको उक्त विद्यालयमा सुरु भएको तालिमको नयाँ सबुज गण भरतपुरका सेनानी जित बहादुर थापा र वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा वडाध्यक्ष थापाले अनुशासित विद्यार्थीले देशको भविष्य सुन्दर बनाउन सक्ने भन्दै अनुशासनलाई प्राथमिकतामा राखेर तालिम पुरा गर्न सहभागीहरुलाई आग्रह गरे ।
सेनानी जित बहादुर थापाले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । यसैगरी उपसेनानी विशाल जीसीले तालिमको महत्व र उद्देश्य बारे प्रकाश पारेका थिए। युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम संचालन गरिएको उनले बताए ।
सय कार्य दिनकाे उक्त तालिम ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुनेछ भने २१ दिन राष्ट्रिय सेवा दलको मध्य तालिम शिक्षालयमा नवलपरासी हात्तीखोरमा सञ्चालन हुनेछ । तालिममा ३० जना विद्यार्थी सहभागी छन् ।
मकवानपुर । भनिन्छ भगवानले दिए भने कसैले खोस्न सक्दैन, भगवानले खोसे भने कसैले दिन सक्दैन । यस्तै भएकाे छ हेटौंडाकाे पहाडी परिवारलाई ।
हेटौंडा ५ बस्ने रेवती पहाडी श्रीमती छोरा बुहारी र नातिनिहरुसँगै रमाउँदै आएका थिए । भगवानले दिएकाे खुसी यही थियाे । पेशाले शिक्षक उनकाे परिवारमा भगवानले सबैथाेक एकै पटक खाेसेर लालान र फेरी कसैले दिन सक्दैनन् भन्ने छदै थिएन् । तर शनिबार बिहान उनकाे परिवारकाे खुसी एकै पटक खाेसियो । चितवनमा भएकाे दुर्घटनामा उनकाे परिवारकाे ३ जनाकाे मृत्यु भयाे । जसमा १ जना गर्भवती थिइन्,उनकाे बुहारी रेनुका ।
आफ्नो सन्तानलाई सुरक्षित प्राप्तिकाे लागि उनी श्रीमान् र सासु आमा सहित भरतपुर अस्पताल जादै थिइन् । शनिबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन जिल्लाको राप्ती नगरपालिका–४ मा हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रोबस र धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नब्बरको यात्रुबाहक बस ठोक्किएर दुर्घटना हुन्छ ।
दुर्घटनामा परेकाे उक्त माइक्राेबसमा दोस्रो सन्तान प्राप्तिकाे लागि भरतपुर अस्पताल जाँदै गरेकी हेटौंडा–५ की २७ वर्षीया रेनुका कँडेल पहाडीसँगै उनका श्रीमान ३५ वर्षीय सरोज र सासुआमा ५५ वर्षीया मैयाकुमारीसँगै ज्यान गुमाए । चितवनको राप्ती नगरपालिका-३ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाए। उक्त दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे ।
हेटौंडामै स्वास्थ्य जाँच गराउँदै आएकी रेनुका सुरक्षित सन्तान प्राप्तिकाे लागि चितवन जाँदै गरेकाे बताइएकाे छ । चिकित्सकले रेनुकाको सुत्केरी हुने मिति आइतबार तोकिदिएको थियो । श्रीमान् सरोजले सुत्केरीपछि केही दिन अस्पतालमै बस्नुपर्ने हुन सक्छ भन्दै सार्वजनिक माइक्रोबसमा यात्रा गर्ने निर्णय लिएकाे मामा नवराज बताउँछन् । ९ र ४ वर्षीया छोरीलाई बुबा (रेवती) सँगै घर छाडेर अर्काे सन्तान हेर्ने सपना बाेकेर गर्भवती श्रीमतिसँगै आमालाई साथी लिएर भरतपुर हिँडेका सरोजसँगै हजुरबुबा र नातिनीले नयाँ सदस्यसहितकाे खुसी घरमा भित्र्याउन पाएनन् ।
घरका ३ सदस्यकाे एकै पटक मृत्यु भएपछि मामा अचेत भएपछि मामा नवराज दिदी, भाञ्जा र भाञ्जी बुहारीको शव सनाखत गर्न चितवन पुगे । श्रीमति, छोरा, बुहारी र गर्भमा रहेको नाती पुस्ताको एकै पटक मृत्यु भएपछि रेवती पहाडी अचेत अवस्थामा रहेको ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेले जानकारी दिए । ‘रेवती सर अचेत हुनुहुन्छ । हामी पनि शोकमा छौं’ उनले भने ।
दुर्घटनामा परी हेटौंडा–४ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, माइक्रोबस चालक हेटौंडा–१० का ३१ वर्षीय राजु थिङ र रौतहट जिल्लाको चन्द्रनिगाहपुर–६ की ३५ वर्षीया सीता चौधरीको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु भएकी एक युवतीको सनाखत हुन सकेको छैन । अन्दाजी १९ वर्षीय युवतीको सनाखत हुन नसकेको प्रहरीले उल्लेख गरेको छ । रुपाखेती हाल हेटौंडा–४ मा बस्दै आएका थिए ।
दुर्घटनामा परी घाइते भएकाहरु भरतपुरस्थित पुरानो मेडिकल कलेज, एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइते मध्ये हेटौंडा–४ का ३१ वर्षीय विष्णु लम्साल, हेटौंडा–१२ का ३२ वर्षीय सिंहवीर घलान र हेटौंडा–१३ का १६ वर्षीय सक्षम थापा मध्यम घाइते रहेको प्रहरीले उल्लेख गरेको छ । हेटौंडा–८ की ३४ वर्षीया गंगा घलान गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
बस चालक मोरङ जिल्लाको बेलबारी नगरपालिका–७ का २७ वर्षीय सुमन चौधरी सामान्य घाइते भएकोमा उपचारपछि प्रहरीले नियन्त्रण लिएकाे बताइएको छ ।