मकवानपुर । देशको राजधानी काठमाडौ जोड्ने देशकै जेठो मार्ग त्रिभुवन राजपथ शुक्रबार र शनिबार दिनको ४ घण्टा बन्द रहने भएको छ।
राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-९ लामीडाँडादेखि थाहानगरको सिमभञ्ज्याङसम्मको सडकखण्डमा १३ र १४ असार दुई दिन दिउँसो १२ बजेदेखी ४ बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सडक मर्मत तथा खतरनाक भूस्खलन क्षेत्रको सुधार कार्यकालागि सो सडकखण्डमा अस्थायी रूपमा सवारीसाधन आवागमन संचालनमा रोक लगाइएको जनाइएको छ।
सडकखण्डको राँगी भञ्ज्याङ मोडमा अविरल वर्षाले सडक भत्किएको र ह्युमपाइप विछ्याउने कार्यका लागि दुई दिन दिनको ४ घण्टा बन्द गरिने प्रशासन कार्यालयबाट प्रकाशित सूचनामा उल्लेख छ।


