मकवानपुर । नेकपा एमाले मकवानपुरले विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको छ । एमाले मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि खटिन ६५ जनाकाे विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएकाे हाे ।
एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंमसेवक विभाग, वन तथा वातावरण विभाग, स्वास्थ्य विभाग तथा जनसंगठन समन्वय संयन्त्रको बिहीबारकाे संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली (स्वंमसेवक दस्ता) बनाउने निर्णय गरेको हो । बैठकले ६५ जनाको जिल्लास्तरको द्रुत टोली बनाउने निर्णय गरेको छ ।
बैठकमा जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरको विपद् प्रतिकार्य टोली बनाउने योजना समेत पारित भएकाे छ । जिल्ला विपद् विभाग प्रमुख शिवहरिका अनुसार जिल्लास्तरको र गाउँगाउँमा निर्माण गरिने प्रतिकार्य टोलीले विपद्को पूर्वानुमान, पूर्वतयारी वा विपद्ले समस्या बनाएको स्थानमा पुगेर नागरिकको जीवन रक्षा र भौतिक संरचनाको सुरक्षाको दृष्टिकोणले सरकारी निकायसँग समन्वय गरि काम गर्नेछ । विपद् प्रतिकार्य टोली निर्माणका लागि विभागले विपद् प्रतिकार्य सम्बन्धी तालिम दिने भएकाे छ ।
‘जिल्लाको टोली भन्दा गाउँको टोली प्रभावित क्षेत्रमा तत्काल पुग्ने भएकाले हरेक पालिकामा विपद् प्रतिकार्यको लागि समूह तयार बनाउन लागिएको हो’ विभाग प्रमुख दाहालले भने ‘एमाले मकवानपुर नागरिकको सुरक्षामा संवेदनशील भएर अघि बढेको छ ।’ बैठकमा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टी पङ्क्तिलाई परिचालित गर्न आवश्यक योजना निर्माण गरिएको बताए । सरदर भन्दा यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको सन्दर्भलाई दृष्टिगत गरी आवश्यक कार्ययोजनासहित सम्भावित विपद् व्यवस्थापनमा पार्टीले टोली परिचालन गर्न लागेको जानकारी दिए ।
बैठकमा जिल्ला बिपद् ब्यबस्थापन विभागका सचिव सुरेश बेरोजगार, बन तथा वातावरण विभाग सचिव कृष्ण बिडारी, स्वास्थ्य विभाग सचिव उमेश अधिकारी, जनसंगठन समन्वय संयन्त्र उपप्रमुख मिलन पाठक तथा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य आकाश अधिकारीले आफ्नो धारणा राखेका थिए ।
जिल्ला विपद् विभागका प्रमुख शिवहरि दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएकाे बैठकमा एमाले बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्ले, पार्टी जिल्ला सचिव सिता विष्ट, उपसचिव आरती पाठक, जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेल, उपप्रमुख मिलन पाठक, पार्टी जिल्ला सदस्यहरु पन्चमाया स्याङ्गतान लगायतको आतिथ्यता रहेकाे थियाे ।

