मकवानपुर । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सीसीटीभी क्यामेरा जडान गरिएको हो ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले मंगलबार ‘सीसीटीभी निगरानी प्रणाली’ को हेटौंडामा उद्घाटन गरे । उक्त सीसीटीभी क्यामेरा संचालनमा आउने छन् । सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै अपराध रोकथाममा प्रविधिको प्रभावकारी प्रयोग गर्ने उद्देश्यसहित सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त क्यामेरा ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी गरिने व्यवस्था मिलाइएको छ । चितवनकाे नारायणगढ, सिन्धुलीकाे भिमान र मकवानपुरक हेटौंडाकाे रातमाटे लगायतकाे संवेदनशील स्थानमा अत्याधुनिक बिएलएच क्यामेरा र रडार प्रणाली जडान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रणालीमार्फत कम्तीमा ९० दिनको डेटा भण्डारण गर्न मिल्ने व्यवस्था रहेको बताइएकाे छ । विद्युत् अवरोधको अवस्थामा पनि प्रणाली बन्द नहुने गरी युपिएस समेत जडान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
सार्वजनिक खरिद प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेर उक्त प्रणाली खरिद गरिएको सीसीटीभी २ करोड ८४ लाख ११ हजार रुपैयाँ लागत रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
मकवानपुर । महिनावारी भएको बेला छाउगोठमा बस्दा सर्पले डसेर महिलाको निधन भएको प्रति अनेमसंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वार्ड नं.१ की २८ वर्षिया महिला कमला आउजीको छाउगोठमा सर्पले टोकेर निधन भएपछि संघले यस्तो ध्यानाकर्षण जनाएको हो । आउजीको २७ असारमा निधन भएको थियो ।

“छाउगोठमा सर्पको टोकाइले अकालमा मृत्यूवरण गर्नुपरेको घटनाले अखिल नेपाल महिला संघलाई स्तव्ध तुल्याएको भन्दै अनेमसंघ कैलाली जिल्ला ईञ्चार्ज रुकमणी देवकोटाले विज्ञप्ति मार्फत संघको ध्यानाकर्षण जनाउनु भएको हो ।
कानुनतः अवैध मानिएको छाउपडी प्रथा अझै पनि सुदूरपश्चिमका पहाडी र तराई जिल्लाहरुमा नारीहरुको लागि अभिश्रापको रुपमा रहेको अनेमसंघ कैलाली जिल्ला ईञ्चार्ज देवकोटाले विज्ञाप्तिमा भन्नुभएको छ ।
“मौलिक र मानव अधिकार उल्लङ्घन मात्र होइन राज्यको कानुनको खिल्ली उडाउने गरि संस्कारको नाममा यस्ता कुरीतिहरु समाजमा कायम रहनु अत्यन्तै दुःखद कुरा हो” विज्ञप्तिमा भनिएको छ ।
अनेमसंघले कमलाको निधनप्रति गहिरो शोक प्रकट गर्दै उनका ३ अबोध सन्तानहरुको पालनपोषण र शिक्षादीक्षाको लागी सम्बन्धित निकायसँग माग गरेको छ ।
कुरीति र अन्धविश्वासलाई पूर्णतः नकार्दै र आफ्ना सम्पूर्ण तहका महिला दिदीबहिनीहरुलाई छाउगोठलगायत अन्य कुप्रथा बिरुद्व लाग्न अनेमसंघले अपिल गर्दछ ।
सभ्य र समतामूलक समाज आधुनिक युगको अपरिहार्यता हो । कुरीति र कुसंस्कार विकास र समृद्धिको वाधक हुन् । कुरीति र कुप्रथा बिरुद्व सबै एकजुट हुनुपर्ने बेला आएको विज्ञप्तिमा उल्लेख छ । कुनैपनि नारी कुप्रथाको शिकार भई शोषणमा पर्ने, हेपिने, दुव्र्यवहारको शिकार हुने र अकालमा मृत्युवरणसम्म गर्नुपर्ने प्रवृत्तिको अन्त्यको लागि सबैको तर्फबाट पहल आवश्यक भएको अनेमसंघले जनाएको छ ।
सोचाईं र व्यवहारमा परिवर्तन ल्याई कुप्रथा र सबैखाले शोषणको अन्त्य गर्न अनेमसंघले अहम् भूमिका खेल्ने कुरामा प्रतिवद्धता जनाउँदै यस्ता दुःखद घटना हुन नदिन पहलकदमीको लागी अनेमसंघले राज्यका सम्पूर्ण निकाय, संघ संस्था, राजनैतिक पार्टीलगायत सम्पूर्ण नागरिक समाजलाई आह्वान गरेको छ । (more…)
मकवानपुर । हेटौंडा काठमाडौं जोड्ने छोटो दुरीको भैंसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडक खण्ड अन्तर्गत कुलेखानी जलाशयको ड्याम मुनी सिमखेलामा बेलिब्रिज निर्माणकाे कार्य सुरु भएकाे छ । आइतबारबाट सिमखोलामा बेलिब्रिज जडान सुरु गरिएको हाे ।
गत वर्षकाे ११ र १२ असोजकाे अविरल वर्षासँगै आएको बाढीले सिमखाेलामा रहेकाे पुल क्षतिग्रस्त भएकाे थियाे । पहिले भएकाे पुलकाे दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राख्न लागिएको हो । आइतबार बिहानदेखि जनशक्ति र उपकरण प्रयोग गरेर बेलिब्रिज जडानको काम भइरहेको छ । पुल एक सातामा निर्माण सम्पन्न हुने पुल भएर सवारीसाधन सञ्चालन गर्न बढीमा दुई साता लाग्ने यातायात पूर्वाधार निर्देशनालयले जनाएकाे छ ।
सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे-भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डुखोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको छ । सिमखोलामा ६० मिटर लामो बेलिब्रिज हाल्नुपर्ने भएकाले २ वटा बेलिब्रिज झिकेर ल्याएको पूर्वाधार निर्देशनालयले जनाएकाे छ । साउनको पहिलो साता नै बेलिब्रिज हालेर सवारी साधन आउजाउ गराउने लक्ष्यका साथ काम भइरहेको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश सरकारले सिमखोलामा बेलिब्रिज निर्माणका लागि ठक्का आह्वान गरेकाे थियाे । यातायात पूर्वाधार निर्देशनालय हेटौंडा मार्फत सो पुल निर्माणका लागि ठेक्का आह्वान भएको थियाे । बेलिब्रिज निर्माणका लागि निर्देशनालयले १६ फागुन २०८१ मा टेन्डर आह्वान गरेको थियाे । माण्डु खोलाको बेलिब्रिज निकालेर ल्याउने र सिम खोलामा उक्त पुल अड्याउनका लागि निर्माण गरिने पक्की टेको र पहुँच मार्ग निर्माण गर्न टेन्डर आह्वान गरेकोमा गौरव इन्जिनियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फ्लो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । घट्टेखोला र माण्डु खोलामा पक्कि पुल निर्माण गरेर सञ्चालनमा आइसकेकाेले त्यसस्थानमा रहेको बेलिब्रिज सिमखोलामा प्रयोगमा ल्याइएकाे बताइएकाे छ ।
सिमखाेलाकाे पुल बाढीकाे कारण क्षतिग्रस्त भएपछि गत असोजबाटै पुल भत्किएकाे स्थान भन्दा केही तलबाट खोलामा डाइभर्सन निर्माण गरेर सवारी सञ्चालनमा गरिएकाे छ ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५ राजदमारबाट जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राती १ बजेको समयमा स्थानीय मिलन थिङको घरमा जुवा खेली रहेका उनीहरुलाई मकवानपुर प्रहरीले पक्राउ गरेकाे हाे ।
जुवा खेलिरहेकाे सूचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरवारी र प्रहरी चौकी हात्तिसुडेबाट खटिएको प्रहरी टोलीले घरपेटी मिलनसहित मकवानपुरको बकैया, बागमती, हेटौंडा, रौतहट, सिन्धुली जिल्लासहितका २२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपपुरले जनाएको छ ।
प्रहरीले मिलनसहित बकैया–४ जुरेलीका ५५ वर्षीय गेहेन्द्र बहादुर थिङ, बकैया–७ का ३८ वर्षीय रोहन लुङबा, हेटौंडा–१८ का ४५ वर्षीय कमल थापा, ३५ वर्षीय अशोक श्रेष्ठ, हेटौंडा–८ कमानेका ५३ वर्षीय फडिन्द्र प्रसाद घिमिरे, ३६ वर्षीय चित बहादुर पाख्रिन, हेटौंडा–१६, हटियाका ४६ वर्षीय रमेश महतलाई पक्राउ गरेकाे छ । यसैगरी हेटौंडा–९ लामसुरेका ३७ वर्षीय दिनेश लामा, हेटौंडा–४ का ५२ वर्षीय कृष्ण लामा, बागमती गाउँपालिका–६, पाथीभाराका ४५ वर्षीय शेर बहादुर राना, ३३ वर्षीय दिपक दोङ, झुरझुरेका ४६ वर्षीय रवि चौधरीलाई पक्राउ गरेकाे छ ।
यस्तै बागमती–७ का ४० वर्षीय राज कुमार फुयाल, २२ वर्षीय बिजय तामाङ, बागमती–५ का ३० वर्षीय अणराज राउत, रौतहट जिल्लाको गौर नगरपालिका–९ का ५५ वर्षीय ईश्वर चौधरी, रौतहट बोधिमाई–८ का ३५ वर्षीय बिजय साह कलवार, सिन्धुलीकाे मरिण गाउँपालिका–३ का ४९ वर्षीय बेनी बहादुर मुक्तान, मरिण गाउँपालिका–६ का ४३ वर्षीय उमेश माझी, कमलामाई नगरपालिका–१० का ५५ वर्षीय शेर बहादुर थापा र सिन्धुलीको दुधौली–२ का ३७ वर्षीय कैलाश धामी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ३ सेट कौडा, ८ लाख ३६ हजार ४० रुपैयाँ नगद बरामद गरेकोले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
