मकवानपुर । बागमती प्रदेशका १० जिल्लाका ६४ स्थानमा १२० वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सीसीटीभी क्यामेरा जडान गरिएको हो ।
बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले मंगलबार ‘सीसीटीभी निगरानी प्रणाली’ को हेटौंडामा उद्घाटन गरे । उक्त सीसीटीभी क्यामेरा संचालनमा आउने छन् । सार्वजनिक सुरक्षालाई सुदृढ बनाउँदै अपराध रोकथाममा प्रविधिको प्रभावकारी प्रयोग गर्ने उद्देश्यसहित सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याइएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएकाे छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त क्यामेरा ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी गरिने व्यवस्था मिलाइएको छ । चितवनकाे नारायणगढ, सिन्धुलीकाे भिमान र मकवानपुरक हेटौंडाकाे रातमाटे लगायतकाे संवेदनशील स्थानमा अत्याधुनिक बिएलएच क्यामेरा र रडार प्रणाली जडान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रणालीमार्फत कम्तीमा ९० दिनको डेटा भण्डारण गर्न मिल्ने व्यवस्था रहेको बताइएकाे छ । विद्युत् अवरोधको अवस्थामा पनि प्रणाली बन्द नहुने गरी युपिएस समेत जडान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
सार्वजनिक खरिद प्रक्रिया अनुसार बोलपत्र आह्वान गरेर उक्त प्रणाली खरिद गरिएको सीसीटीभी २ करोड ८४ लाख ११ हजार रुपैयाँ लागत रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

