मकवानपुर । बागमती प्रदेश सरकारले पर्यटन प्रवद्र्धनको लागि विभिन्न स्थानलाई योजनाबद्ध विकास गर्ने भएको छ । यसै शिलशिलामा प्रदेशको दोलखा जिल्लाको डाङडुङे डाँडालाई फिल्म सिटी बनाउने तयारी गर्ने घोषणा गरेको छ, जसले स्थानीय पर्यटन र आर्थिक विकासमा सघाउ पुर्याउने लक्ष्य राखेको छ।
फिल्म सिटी निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको छ, यसअघि संघीय सरकारले पनि यसको पहल गरेको थियो र प्राविधिक अध्ययन समेत गरिएको थियो। डाङडुङे डाँडामा बन्ने फिल्म सिटीले फिल्म उद्योगको भविष्य, दोलखाको आर्थिक र सामाजिक रुपान्तरणमा योगदान पुर्याउने विश्वास लिइएको छ।
खरिढुंगा समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने भएको छ । बागमती प्रदेश सरकारले दोलखाको डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने घोषणा गरेको हाे । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा डाङडुङे डाँडामा फिल्म सिटी निर्माण गर्ने गरी घोषणा गरेको हो । उक्त कार्यकाे लागि प्रदेश सरकारले बजेट समेत विनियाेजन गरेकाे छ ।
प्रदेशभित्रको मौलिकता एवम् सांस्कृतिक विविधता झल्काउने चलचित्रहरूको निर्माणलाई प्रोत्साहन गर्ने तथा पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रूपमा विकास गर्न सरकारले बजेटको व्यवस्था गरेको बजेट वक्तव्यमा उल्लेख छ । डाङडुङे डाँडामा अन्तर्राष्ट्रियकरण चलचित्र नगरी (फिल्म सिटी) निर्माणका लागि यस अघि नै संघ सरकारले पहल गरेको थियो ।

संघीय सरकारको बजेट मार्फत थालिएको उक्त पहलसंगै प्राविधिक सम्भाव्यता अध्ययन प्रतिवेदन समेत तयार गरिएको थियो । भीमेश्वर नगरपालिका वडा नम्बर ९ मा अवस्थित डाङडुङे डाँडा समुन्द्री सतहदेखि २ हजार ९०० मिटरदेखि ३ हजार ४०० मिटरको उचाइमा रहेको छ । सफा आकाश, हिमालको काख, हरियाली जंगल, अनि टाढाटाढासम्म देखिने धवल पर्वतशृंखला डाङडुङे डाँडाबाट देखिने पर्यावरण हो ।
छिनभरमा नै फेरिने मौसम, बादलले ढाकेका थुम्का, चौँरी चरण अनि हरियाली वातावरण डाङडुङे डाँडाको पहिचान हो । त्यसो त डाङडुङे डाँडामा चदै गरेका चौरीका घाटीमा बाँधिएका घण्टीका आवाजले सो क्षेत्रको वातावरणलाई थप रोचक बनाउँछ । डाङडुङे डाँडामा उभिँदा प्रकृतिले चलचित्रको पर्दा खोलेजस्तो लाग्छ ।
उक्त स्थानमा बन्ने चलचित्र नगरीले फिल्म उद्योगको भविष्य मात्र होइन, दोलखाको आर्थिक र सामाजिक स्वरुप नै परिवर्तन गर्ने सामथ्र्य बोकेको छ । सपनाको रूपमा रहेको सो क्षेत्र सम्भावनाको अवसरका रूपमा अघि बढाउने बागमती सरकारको लक्ष्य रहेको छ । काठमाडौंबाट ११८ किलोमिटर पूर्व, दोलखा सदरमुकाम चरिकोटबाट केही घण्टाको यात्रामा अवस्थित डाङडुङे डाँडा सेतीदेवी सामुदायिक वन क्षेत्रमा पर्दछ । त्यहाबाट देखिने दृश्यहरूले चलचित्र सुटिङ मात्र होइन, पर्यटकको मन जित्न पनि सक्षम छ ।
उक्त क्षेत्रमा ५० प्रजातिका जैविक प्राणी, १४ प्रजातिका गुराँस, स्वयम्भू, फूलचोकी, गौरीशंकर, गणेश, जुगल, लाङटाङ, धौलागिरी हिमश्रृंखला, सिन्धुपाल्चोकदेखि ओखलढुंगासम्मका भूभागहरू दृश्यावलोकन गर्न सकिन्छ । जसले फिल्म सुटिङलाई नै एक महाकाव्यिक अनुभव बनाउनेछ ।
उक्त स्थानमा बन्ने चलचित्र नगरीले फिल्म उद्योगको भविष्य मात्र होइन, दोलखाको आर्थिक र सामाजिक स्वरुप नै परिवर्तन गर्ने सामथ्र्य बोकेको छ । सपनाको रूपमा रहेको सो क्षेत्र सम्भावनाको अवसरका रूपमा अघि बढाउने बागमती सरकारको लक्ष्य रहेको छ ।
बागमती सरकारद्वारा बजेट विनियोजन गरेर आगामी आर्थिक वर्षमा संरचनाहरूको विकासमा अघि बढ्ने तयारी गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुनदराज काफ्लेले जानकारी दिए । तत्कालीन समयमा तयार गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार, ७६.२५ हेक्टर क्षेत्रमा बन्ने चलचित्र नगरीको लागि ३२ करोड रुपैयाँ लगानीमा भौतिक पूर्वाधार निर्माण र ७४ करोड ३७ लाख प्राविधिक र सुधारात्मक संरचनामा खर्च अनुमान रहेको थियो ।
हाल उक्त रकम र प्रतिवेदनमा केही परिवर्तन गरेर संरचना निर्माणमा अघि बढ्ने सरकारको तयारी रहेको उनले बताए । सो क्षत्रेमा फिल्म सिटी निर्माण पश्चात निर्माण लागत मात्रै होइन, यसको प्रभाव झनै ठुलो रहने उनले बताए । ‘रोजगारी, पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक उत्थानले दोलखा सहित आसपासका जिल्लाका नागरिकको जीवन स्तरमा सुधार हुने छ’ उनले भने । डाङडुङे डाँडाको फिल्म सिटीले नेपाली फिल्म उद्योगको भविष्य, पर्यटनको पाटो, र ग्रामीण विकासको एउटा नमुना हुने उनको विश्वास छ ।

वर्षौदेखिको योजना
यो स्थानलाई पर्यटकीय गन्तव्यसँगै फिल्मी शहरको रुपमा विकास गर्ने सरकारी तवरबाट वर्षौ अगाडिदेखि प्रयास जारी रहेको देखिन्छ । सरकारले २०७५ साल चैत दोस्रो भएको लगानी सम्मेलनमा सरकारले तयार पारेको परियोजनाको ‘सो–केस’ मा यो स्थान पनि परेको थियो । निकै लामो अध्ययनपछि राष्ट्रिय लगानी बोर्डले तयार पारेको देशभरको ४३ वटा परियोजनाहरुको ‘सो–केस’ को सूचीमा पर्यटन पूर्वाधारतर्फ दोलखाको यो क्षेत्रको प्रस्ताव पनि गरिएको अन्तर्राष्ट्रिय फिल्म सिटी समावेश गरिएको थियो ।
लगानी भित्र्याउन सरकारले २०७५ चैत १५ र १६ गते राजधानीमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेको थियो । लगानी सम्मेलन २०१९ को निर्देशक समितिको बैठकले स्वकिृत गरेका ४३ ठूला परियोजनामा दोलखाको फिल्म सिटीलाई पर्यटन पूर्वाधारतर्फ पाचौं नम्बरमा राखिएको थियो ।
डाङडुङे क्षेत्रको १५ सय रोपनी जग्गामा फिल्म सिटी निर्माण गर्न निर्णय वि.स २०७३ फागुनमा गरेको थियो । सोही वर्षको चैत १५ गते चलचित्र विकास बोर्ड र वन मन्त्रालयबीच वन क्षेत्रमा पर्ने उक्त १५ सय रोपनी जमिनमा फिल्म सिटी निर्माण गर्न दिने सहमतिमा हस्ताक्षर भएको थियो ।
चलचित्र नगरी बनाउने पूर्वाधार तयार गर्न मात्र त्यसयता सरकारले यो क्षेत्रमा करिब ५० करोड भन्दाबढी रकम खर्च गरिसकेको छ । लामोसाँघु–जिरी सडकको खरिढुंगादेखि डाङडुङे डाँडासम्म ६ किलोमिटर सडक कालोपत्रे, प्रस्तावित चलचित्र नगरी क्षेत्रमा बिजुली, खानेपानीलगायत पूर्वाधारमा सरकारी लगानी भएको छ ।

सो स्थानमा विंस २०६८ सालबाट फिल्म सिटी निर्माणको प्रारम्भिक प्रक्रिया थालिएको थियो । तत्कालीन नेपाल सरकारले थालेको उक्त प्रक्रियामा २०७०/०७१ मा २ करोड रुपैयाँ बजेटसहित गुरुयोजना प्रारम्भ गरिएको थियो । २०८१ मा सम्भाव्यता प्रतिवेदन सार्वजनिक गरी २०८२ भित्र निर्माण सुरु गर्ने तयारी थियो । तर सो योजना अघि बढ्न सकेन ।
चलचित्र विकास बोर्डले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सेतीदेवी सामुदायिक वनको एक हजार ५०० रोपनी क्षेत्रफलमा अतिथिगृह र छायाङ्कनस्थल लगायत संरचनाको निर्माण गर्ने गरी कार्य अगाडि बढाएकाे थियाे । यो ठाउँमा अन्तर्राष्ट्रिय चलचित्र नगरी आयोजना निर्माणका लागि मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सरकारका सूचना तथा सञ्चारमन्त्री माधव पौडेलको पालादेखि पहल शुरु भएको थियो ।
२०६८ बाट सो स्थानमा फिल्म सिटी निर्माणको प्रारम्भिक प्रक्रिया थालिएको थियो । तत्कालीन सरकारले थालेको उक्त प्रक्रियामा २०७०/०७१ मा २ करोड रुपैयाँ बजेटसहित गुरुयोजना प्रारम्भ गरिएको थियो । २०८१ मा सम्भाव्यता प्रतिवेदन सार्वजनिक गरी २०८२ भित्र निर्माण सुरु गर्ने तयारी थियो । तर, राजनीतिक अस्थिरता, सत्ता परिवर्तन, कार्यान्वयन प्रक्रियाको फितलोपनले सो योजना अघि बढ्न सकेन ।
फिल्म सिटी निर्माणपछिका सम्भावना ?
प्रदेश सरकारले सिनेमा सहर निर्माण पछि अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन गन्तव्यको रुपमा यि क्षत्रहरुको पहिचान बनाउने लक्ष्य राखेको छ । यसैगरी सांस्कृतिक कार्यक्रम, फिल्म महोत्सवको हवको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । स्थानीय, जिल्ला बाहिरमात्रै हैन बाह्य पर्यटकहरु पनि ट्रेकिङ, एड्भेन्चर, इको टुरिज्मको केन्द्रको रुपमा आकर्षण बढाउन सकिन्छ । यसरी विकास गर्न सकिएमा रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत पर्यटन आम्दानी र पूर्वाधार विकास गर्न सकिने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

