मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा ३ जम्बोमा घरायसी विवादको क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट उनको श्रीमान् ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार आपसी विवादको क्रममा विकले सुनारलाई कुटपिट गरि धकेल्दा अचेत भएका उनकाे हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । विकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर /जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध सहति २ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोप्य सूचनको आधारमा हेटौंडा १४ घर घई हेटौंडा ५ मा डेरा गरी बस्ने २६ वर्षीय सन्देश दुलालको डेराकोठामा तलासी गर्दा लागु औषध भेटेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार लागुऔषध डाईजेपाम १८ एम्पुल, फेनारगन १६ एम्पुल, नुफिन १६ एम्पुल गरी ५० एम्पुल सहित दुलाललाई नियन्त्रणमा लिएको हो ।
यसैगरी प्रहरी हेटौंडा ४ बाट अर्का युवालाई पनि नियन्त्रणमा लिएको छ । ओखलढुंगा जिल्ला पोखरेली गाउँपालका ४ घर भई मकवानपुर हेटौंडा ४ मा डेरा गरी बस्ने ३० वर्षीय गणेश प्रसाद घिमिरेलाई नियन्त्रणमा लिएको हो । घिमिरेको हाउभाउमा शंका लागेपछि जाँच गर्दा निजको साथबाट लागुऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुफिन ५ एम्पुल गरी १४ एम्पुल बरामद गरिएको रिमालले बताए ।
मकवानपुर/ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको चुनौतीलाई समाजले अस्वीकार गरेको गुनासो गरिएको छ । परिवारले हुर्काइको क्रममा, समाजले सामाजिकीकरणको सवालमा, स्कुलले शिक्षा आर्जनको समयमा यौनिक तथा लैङ्कि अल्पसंख्यकहरुमाथि विभेद गरिरहेको उनीहरुले बताएका हुन् ।
“संविधानले प्रदान गरेको अधिकार पनि कार्यान्वयनमा छैन”, यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघको उपाध्यक्ष भूमिका श्रेष्ठले भनिन् “पाइलै पिच्छे विभेद र तिरस्कार सहेर पनि हामी संघर्ष गरिरहेका छौ ।” अमेरीकी सरकारबाट विश्वको साहसी महिलाहरुको सूचिमा सुचिकृत भइ हालै सम्मानित भएकी भूमिका श्रेष्ठले हेटौंडामा आयोजित एक कार्यक्रममा भनिन् “संघर्ष गर्न नडराएकै कारण आज हाम्रो समाज विस्तारै परिवर्तन हुदै आएको आभाष गर्दछौं ।”
आफ्नो पहिचान बताएपछि विभिन्न प्रकारको विभेद खप्नु परेको उनले बताइन् । नेपाल सरकार जनसेवा श्री पाँचौबाट पनि २०७८ द्वारा विभूषित भएकी श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई संविधानतः प्रदत्त अधिकारको उपभोगमा समेत समस्या भएको बताइन् । आफ्नो इच्छा चाहाना भन्दा फरक तरीकाले बाँच्न बाध्य रहेको उनले गुनासो गरिन् ।

“स्कुलको पाठ्यक्रममा पनि विभेदीत शब्दावली छन्, बाटो घर परिवार स्कुल सबैतिर हेपिएर बाँचेका छौ, अवार्ड पाउँदा एकदम खुसि भएँ, विगतको दिन सम्झिएँ’ पुरस्कृत हुँदाको अनुभव स्मरण गर्दै उनले भनिन् ‘नीतिगत रूपमा र कानुनी रूपमा सुधार आवश्यक छ, सामाजिक न्याय संबिधानले दिएको छ, हामीलाई छैन, समानताको हक छ, हामीले पाएकै छैनौ, अवार्डले जिम्मेवारी बोध गराएको छ ।” हाम्रो समाजमा महिला र पुरूष बाहेक पनि मान्छे छ भन्ने समुदायलाई बुझाउन बाँकी रहेको उनले बताइन् ।
पहिचानको आधारमा नागरिकता दिन अझै पनि मेडिकल प्रमाण माग्ने गरेको, वैवाहिक सम्बन्ध बसाउन हक संविधानले दिए पनि व्यवहारमा नभएको उनले बताइन् ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको चुनौती र समाधानका उपायबारे हेटौंडामा भएको कार्यशालामा श्रेष्ठले यस्तो बताएकी हुन् । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी मनिषा ढाकालले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले भोग्दै आएको समस्याबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । यसैगरी निल हिरा समाज अध्यक्ष पिंकी गुरुङले सामाजिक, बहिस्कार, शिक्षा आर्जनमा असहजता, यौन दुव्र्यवहारका बाबजुत पनि आफूहरु निरन्तर संर्घषमा लागिरहेको बताइन् ।
प्रदेश सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री नीति बनाएर कार्यान्वयमा ल्याउनु पर्ने र यसको लागि आफूहरुले सहकार्य गर्न तत्पर रहेको गुरुङले बताइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, महिला तथा बालबालिका महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले नीति निमार्ण तहमा संलग्नहरुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको चुनौतीबारे जानकारी गराउन र यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री नीति बनाउन सहकार्य गर्न आफूले समन्वय गर्ने बताए । यसैगरी सामाजिक विकास मन्त्रालय महिला बालबालिका महाशाखाकी चन्दकुमारी व्यान्जनकार जिल्लाका सञ्चारकर्मीहरु तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागु औषध र नगद सहित एक युवालाई नियत्रन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा वडा १४ घर भइ हेटौंडा २ मा बस्दै आएका २१ वर्षीय अजय गोलेलाई नियन्त्रणमा लिएको हो ।
उनलको डेराकोठामा चेकजाँच गर्दा लुकाई राखेको लागुऔषध डाईजेपाम ५८ एम्पुल, फेनारगन ५७ एम्पुल, नफिन ५७ एम्पुल बरामद गरिएको थियो । यसैगरी उनको साथबाट लागुऔषध नाईट्रोभेट ८१ ट्बलेट, लागु औषध ओनारक्स ३ बोतल, ट्रमाञ्जोल २१ क्याप्सुल र नगद २९ हजार ६ सय ५० फेला पारेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए ।
मकवानपुर । मध्यवर्ती क्षेत्र खारेजको माग गर्दै हेटौंडामा विरोध प्रदर्शन गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२, १३ र १४ का स्थानीयहरुले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै प्रभावित वडाका संर्घष समितिले विरोध प्रर्शन गरेका हुन् । निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्र विस्तारले मानव बस्ती क्षेत्रलाई नै प्रभावित पार्ने र मानवीय सुरक्षा नै नरहेको भन्दै स्थानीयहरुले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।
संर्घष समितिको विरोध प्रर्दशनलाई सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले समर्थन गरेकाे छ । उनीहरुले हेटौंडा–१३ पदमपोखरीमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सेनाको क्याम्प राख्ने तयारी गरिएकाले सो कदम तत्काल रोक्न माग गर्दै विरोध गरेका छन् । स्थानीयले निकुञ्जले क्याम्प राखेर आतंक सिर्जना गर्न खोजेको र स्थानीयलाई दुःख दिने नियत राखेको भन्दै त्यसको विरोध गरेका हुन् । यसविषयमा वडा, उपमहानगर, प्रदेश तथा संघीय प्रतिनिधिलाई समेत जानकारी गराइसकेका बताइएको छ ।
निकुञ्जको सुरक्षाका लागि सेनाको क्याम्प मानववस्तीको बीचमा नभइ चुरेको डाँडापारी राख्न उनीहरुले आग्रह गरेका छन् । निकुञ्जले स्थानीहरुसँग छलफल नै नगरी मध्यवर्ती क्षेत्र विस्तार गर्दै मानिसहरुलाई दुःख दिने उद्देश्यले बस्तीको बीचमा सेनाको क्याम्प राख्ने तयारी गरेकाले संघर्ष समिति बनाएर विरोधमा उत्रिएको उनीहरुको भनाई छ ।
निकुञ्जले क्याम्प खडा गरेपछि स्थानीयलाई घाँसदाउरा तथा गोठालो जान समेत अवरोध सिर्जना गर्ने भएपछी स्थानीयवासी त्यसको विरुद्धमा उत्रिएका हुन् । हेटौंडा–१२, १३ र १४ नम्वर वडाका स्थानाीय जनप्रतिनिधिहरुले पनि आफूहरुसँग समन्वय नै नगरी निकुञ्जले काम गरेको बताएका छन् । यसअघि पनि निकुञ्जले स्थानीय तह र वडासँग कुनैपनि समन्वय नगरी एकलौटी रुपमा आफ्नो काम गरिरहेकाले तत्काल त्यसलाई रोकेर छलफलमा आउन हेटौंडा १३ का वडा अध्यक्ष मनोज कुमार वाइवाले आग्रह गरे ।
विरोध प्रदर्शनका क्रममा सामुदायिक वनमा भइरहेको प्रतिगमन बन्द गर, संरक्षण क्षेत्र विस्तार बन्द गर, मानव अधिकारको सम्मान गर, वन्यजन्तु आतंक नियन्त्रण गर, प्रदेश वन ऐन संसोधन गर, मानव अधिकार विरोधी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र राष्ट्रिय पर्सा निकुञ्ज मध्यवर्ति क्षेत्र खाजेर गरलगायतका नाराहरु लगाइएको थियो ।