यौन दुर्व्यबहार आरोपित २ शिक्षक प्रहरीको नियन्त्रणमा
Tags: No Comments
मकवानपुर । स्कुले छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका २ जना शिक्षकहरूलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुर जिल्ला बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका ३ शिक्षक मध्ये २ जना शुक्रबार पक्राउ परेका हुन् । शुक्रबार राति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याईएको प्रहरीले जनाएको छ ।
अर्का एक शिक्षक भने २५ चैतमै आफैं प्रहरीको सम्पर्कमा आएका थिए । आरोपित शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आए पनि अन्य दुई फरार रहेकोमा ढिलो गरी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्की अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ । जनता माबिका तीन जना शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुर्व्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै २२ चैत्रमा विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्रा विद्यार्थीहरुको आरोप छ । निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक,विद्यालय व्यवस्थापन,राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।
बिद्यालयमा तोडफोड भएपछि बाहिरिएको यो घटना बिरुद्व स्थानीय स्तरमै मिलाउन खोज्दा अधिकरकर्मीहरूले बिरोध जनाएका थिए । सुरक्षा चुनौतीका बिच २४ चैत्रको मध्य रातमा केही छात्राहरूको अभिभावक र छात्राहरूले समेत जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका थिए ।
आरोपित शिक्षकहरू र पीडत छात्राहरू स्थानीय भएको कारण जाहेरी र पक्राउपछि सुरक्षा चुनौती रहेको बताईएको छ । बिद्यार्थीहरूले गत ७ चैतमा बिद्यालय प्रशासनसमक्ष आफूहरू शिक्षकद्वारा पीडित भएको भन्दै निवेदेन दिएका थिए ।
मकवानपुर । मकवानपुरमा ४ जनाले हतियार बुझाएका छन । जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लाका इजाजत प्राप्त हातहतियारहरु चैत मसान्तभित्र अनिवार्य बुझाउन आग्रह गरेपनि ४ जनाले मात्र हतियार बुझाएका हुन ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई भरभर्दो एवं विश्वसनीय बनाउन मकवानपुर प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन अनुरोध गरेकोमा ४ जनाले मात्र हतियार बुझाएका हुन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले ४ जनाले मात्र प्रहरी कार्यलयमा हतियार बुझाएको बताए ।
जिल्लामा दर्ता गराएका ४९ थान हातहतियार मध्ये ४ जनाले मात्र हतियार बुझाएका हुन् । जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हतियार नबुझाउनेहरुको विषयमा सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिईने बताए । उनले जिल्लामा ४९ थान हातहतियार दर्ता भएकोमा उक्त हतियारहरु ३८ जना व्यक्ति र संस्थाहरुको नाममा रहेको बताए ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन ।
मदन भण्डारी राजमार्ग अन्तर्गत बकैया ५ मा राति साँडे २ बजे विरगंजबाट हात्तीसुँडे तर्फ जाँदै गरेको ना १ क ९९५२ नंबरको ट्रक आफै अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार दुर्घटनामा ट्रकमा सवार २ जना घाईते भएका छन् । घाइते २ जनाको हात,खुट्टा र टाउकोमा चोट लागेको र उपचारको लागि गए रातिनै हेटौंडा ल्याईएको छ ।
मकवानपुर/मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मौलिक अधिकारलाई मानव अधिकारको रुपमा परिभाषित गरे पनि राज्यले उक्त अधिकार समान ढँगले प्रदान गर्न नसकेको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् ।
मानव अधिकारको विषय राजनितिसंग पनि जोडिने हुनाले राजनितिक दलहरुले मानव अधिकारका विषयलाई घोषणापत्र बाटै सम्बोधन र अँगिकार गर्नुपर्ने बताउँदै सभामुख श्रेष्ठले समृद्ध मुलुकबाट मात्रै मानव अधिकारका विषयहरु सुनिश्चित हुने बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले आज हेटौंडामा आयोजना गरेको मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना सम्बन्धि प्रदेशस्तरीय कार्यक्रममा सभामुख श्रेष्ठले देशको आर्थिक स्थितीले मानव अधिकारको अवस्था दर्शाउने बताउँदै जनताले संविधान प्रदत्त अधिकार प्राप्तीका लागि देश समृद्ध र विकसित हुन आवश्यक रहेको औंल्याए ।
प्रदेशको सामाजिक विकास मन्त्रि कुमारी मोक्तानले सरकारले लिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउने गरी कामलाई प्राथमिकताका आधारमा अघि बढाएको बताइन् । कार्यक्रममा प्र्रदेश नीति तथा योजना आयोग बागमतीका सदस्य प्रल्हाद लामिछानेले मानव अधिकारको विश्वव्यापी घोषणामा नेपाल पक्षराष्ट्र भएकोले कार्ययोजना अनुसार राज्यका सबै संयन्त्रले काम गर्नुपर्ने बताए । यस्तै पाँचौ राष्ट्रिय कार्ययोजनामा मौलिक अधिकार अन्तर्गत रहेको खाद्य अधिकारमा पोषण तथा खाद्य सुरक्षा तथा वातावण र दीगो विकास अन्तर्गत जलवायुको समस्यापनि कार्ययोजनामा समावेश गर्न सुझाव दिए ।
साथै कार्ययोजनालाई कायान्वयन गराउन तिनवटै तहमा व्यवस्था गरिएको समन्वय समितिलाई निर्देशन समितिको रुपमा पििरभाषित गरेमात्रै राज्यले लिएको लक्ष्यमा पुग्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन सचिव नारायणप्रसाद पोखरेलले नेपालले सबैखाले संयन्त्रहरूको समन्वयमा मन्त्रालयका योजनामा मानव अधिकार कार्ययोजनाले समेटेका विषयलाई प्रदेशमा शान्ति सुरक्षा, कारागारमा बन्दिको अधिकार, आवास, शिक्षा, स्वास्थ तथा खाद्यको क्षेत्रलाई प्राथमिकताका साथ काम गर्दै आएको बताए ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले राज्यले लिएका जिम्मेवारी कार्यान्वयन पक्ष कमजोर देखिएको बताए । यसलाई कार्यान्वयन गर्नु सबैको दायित्व भएको भन्दै तिनै तहको सरकार र सरोकारवाला पक्षको समन्वय जरुरी रहेको बताए।
इन्सेक केन्द्रीय कार्यालय प्रलेख तथा पैरवि विभाग प्रमुख सम्झा श्रेष्ठले मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययाजना सम्बन्धि कार्यपत्र प्रस्तुत गरेकी थिइन् । इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमले मानव अधिकारको विश्वव्यापी घोषणापत्र २०६१ देखि नेपालमा मानव अधिकारको सम्बद्र्धन र संरक्षण सम्बन्धि योजनाहरु कार्यान्वयन हुँदै आएको बताए । नेपालमा हालसम्म चारवटा योजना तर्जुमा भैसकेको बताउँदै पाँचौं कार्ययोजना कार्यान्वयनको चरणमा रहेकोले सबै मिलेर यसको कार्यान्वयन गर्न आग्रह समेत गरे ।
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा यस मकवानपुर जिल्ला भित्र १० वटा स्थानीय तहमा निर्वाचन सुरक्षा अवस्था बारे मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अनुगमन गरेका छन् ।
जिल्लाको १६५ वटा मतदान स्थल र ३५६ वटा मतदान केन्द्रहरू कायम भएसँगै प्रजिअले सुरक्षा व्यवस्था बारे अनुगमन गरेका हुन् ।
सुरक्षाका दृष्टिकोणले १६५ वटा मतदानस्थलमध्ये १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) रहेका बताइएको छ।
जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका निम्ति गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको प्रजिअ पाण्डेले बताए ।

विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशत भन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट भइसकेको र बाँकी मतदानस्थल तथा मतदानकेन्द्रहरूको निरीक्षण जारी रहने बताइएको छ ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू मिति २०७८ साल चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीहरूको लागि ११ चैतमा नै सूचना जारी गरिएको छ । हाल हातहतियार बुझ्ने कार्य भइरहेको प्रशासनले जनाएको छ ।
जिल्लामा १ हजार ४७३ जना म्यादी प्रहरी छनौट गरी २८ चैतबाट जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा तालिम प्रदान गर्ने कार्य प्रारम्भ गरिएको छ । यसका साथै स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदानस्थल /मतदानकेन्द्रहरूमा खटिने कर्मचारीहरूको विवरण तयारीको कार्य समेत भइरहेको छ ।