मकवानपुर । आसन्न स्थानीय तह सदस्य निर्वाचन,२०७९ को लागि मकवानपुर जिल्लाका १ हजार ८ सय जना कर्मचारीहरु विभिन्न मतदान केन्द्रमा खटिने भएका छन् ।
मकवानपुरको दश वटा स्थानीय तहका मतदान केन्द्रहरुमा उक्त सख्यामा सरकारी कर्मचारी खटिएका हुन् । आगामी ३० बैशाख शुक्रबार हुने स्थानीय तहको चुनावमा दश स्थानीय तहका १ सय २ वटा वडामा रहेका ३ सय ६५ मतदान केन्द्रमा कर्मचारीहरु खटिएका हुन् । उनीहरु निर्वाचनको तीन दिन अघि खटिएका मतदान केन्द्रमा पुग्नुपर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदात अधिकृतको निर्देशनमा काम गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
अघिल्ला निर्वाचनमा शान्तिपूर्ण निर्वाचन हुने वा नहुने भन्ने आशंकाको कारण कर्मचारी निर्वाचन विशेष कार्यक्रममा जान इच्छुक नहुने गरेपछि कर्मचारी व्यवस्थापनमा समस्या हुने गरेको थियो । तर यसवर्ष यो समस्या नभएको कार्यालयले जनाएको छ । शान्तिपूर्ण हुने निर्वाचन र प्रदेश राजधानी थपिएपछि कर्मचारीको सङख्या ह्वात्तै बढ्दा सहज भएको हो ।
जिल्लाको १ सय ६५ वटा मतदान स्थलमा १ हजार ८ सय कर्मचारी खटाउँदा पर्याप्त रहेको शर्माले बताए । मकवानपुर जिल्लामा ३ हजार ४ सय जना सरकारी कर्मचारी कार्यरत छन् । अझै एक हजार ६ सय कर्मचारी मौज्दात रहेका छन् ।
कर्मचारी पर्याप्त भएका कारण पनि यस पटकको स्थानीय तहको चुनावमा शिक्षकहरुलाई नखटाइने भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी अपुग भएपछी शिक्षकलाई पनि खटाउनेगरी तयारी भएको थियो । तर, भएका सबै कर्मचारीलाई पनि नखटाउने भएपछी शिक्षकहरुलाई यस पटक नखटाउने भएको सहायक निर्वाचन अधिकृत शर्माले बताए।
यसैबिच जिल्ला प्रशासन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको निर्वाचन सुरक्षाबारे सबै तयारी पुरा गरेको छ । जिल्ला मकवानपुरमा आन्तरिक सुरक्षा योजना निर्माण कार्य एकसाता अगावै बाट तयारी गरिएको हो । निर्वाचन लक्ष्यित सुरक्षा योजना अनुसार जिल्लाको १९ वटा निर्वाचन स्थललाई अति संवेदनशिल मानेर सुरक्षा व्यवस्थापन कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जिल्लामा रहेका १ सय ६५ वटा निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षाको व्यवस्था मिलाइने तयारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार १९ वटा अतिसंवेदनशिल, ६० वटा संवेदनशिल र ८६ वटा सामान्य गरी तीनभागमा मतदान स्थललाई विभाजन गरिएको छ । जिल्लाको राक्सिराङ, कैलाश, बागमती र बकैया गाउँपालिकाको केही स्थानलाई अतिसंवेदनशिलमा राखिएको छ । जिल्लामा ३ सय ५९ वटा निर्वाचन केन्द्र रहेका छन् ।
‘विगतको निर्वाचनको समिक्षासहित सञ्चार र यातायातको पहुँचको आधारमा निर्वाचन स्थललाई विभाजन गरेका प्रजिअ पाण्डेले बताए । गत हप्ताबाटै निर्वाचन स्थल र केन्द्रका लागि आवश्यक पर्ने सुरक्षा रणनीति तय गरिएको उनले बताए । संघीय सरकारले स्थानीय तहको निर्वाचनको एकीकृत सुरक्षा नीति पास गरिसकेका कारण काम गर्न थप सहज भएको उनले बताए ।
‘मतदान स्थलको संवेदनशिलताका आधारमा विशेष सुरुक्षा योजना बनाएर लागू गरिएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार अतिशंवेदनशीत मानिएका केन्द्रमा अनुभवी सुरक्षाकर्मी तथा कर्मचारीहरु खटाइएको छ । “सुरक्षाको लागि आवश्यक सबै तयारी हामीले गरेका छौ, मतदातालाई कुनै समस्या हुने छैन” श्रेष्ठले भने ।
उनले निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दलसँग पनि निरन्तर संवाद र छलफल गरिरहेको बताए । ‘निर्वाचन कार्यालयले प्राविधिक तयारी गरिरहेको छ । हामीले सुरक्षा र अन्य तयारी गरिरहेका छौं । राजीतिक दललाई पनि संवेदनशील भएर कार्यक्रम आयोजना गर्न हामीले भनेका छौं ।’, उनले भने । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरुले पनि आफ्नो गतिविधिलाई तिव्रता दिएका छन् ।
मकवानपुर । मकवानपुरको बकैयामा लोडर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।निजगढ काठमाडौ दुत मार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाख र लेनडाडाँ नजिक लोडर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइने भएकाे मकवानपुर प्रहरीले जनाएको छ।
फास्ट ट्रयाकमा काम गरिरहेको लोडर एक्कासि सिमात खोलमा खस्दा लोडर रहेका ६ जना मध्य २ जनाको मृत्यु भएकाे हाे । घाइते भएका ४ जना मध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। मृतक दुवै जना तथा घाइते मध्ये ३ जना चिनियाँ नागरिक रहेकाे १ जना नेपाली नागरिक रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए।
घाइतेलाई उद्धार गरी हेटौंडा ल्याइएको बताइएकाे छ । मकवानपुर प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान खुलिसकेको छैन।
मकवानपुर । सरकारले नेपाल प्रहरीको प्रमुख (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) धिरजप्रताप सिंहलाई र सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्याललाई बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई प्रहरी महानिरीक्षक(आईजीपी) मा सशस्त्र अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई महानिरीक्षक आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) मा कार्यरत सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले सिंहलाई आइजिपी नियुक्त गरेको हो ।
प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ ।
हालका आइजिपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा अवधिका कारण आइतबारदेखि अवकाश पाउँदै छन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
सशस्त्र प्रहरीका अर्याल आईजीपीका लागि एक्ला दाबेदार थिए । एआईजीका दुई दरबन्दीमध्ये रामशरण पौडेलले आइतबारदेखि अवकाश पाउँदै छन् । सशस्त्र प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट आईजीपी नियुक्त गर्नुपर्ने व्यवस्था छ । अहिलेका आईजीपी पुष्पराम केसीले आजैदेखि अवकाश पाउँदै छन् । आइतबारबाटै अर्यालले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
मकवानपुर । मकवानपुर ट्राफिकले सवारी चालकले लागु पदार्थ सेवन गरे नगरेकाे चेक गर्ने भएकाे छ । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन (लापसे) गरि सवारी चलाउने चालकहरु पहिचान गर्न लापसे चेक गर्ने भएको हाे।
लागुपदार्थ सेवन चेकका लागि मकवानपुर ट्राफिक प्रहरीले सडकमै ड्रग-युरिन टेस्ट गरेर चालकले लागुपदार्थ सेवन गरे नगरेको पत्ता लगाउने अभियानको थालनी गरेको छ । सवारी चालकले लागु पदार्थ सेवन गरी सवारी चलाउने गरेकाे गुनासो आएकाेले कार्यालयले पिसाबको माध्यमबाट ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको मकवानपुरका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए । लागु पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना समेत बढ्ने भएकाेले त्यसको नियन्त्रणका लागि पनि ड्रग-युरिन टेस्ट जाँच सुरु गरेको थापाले जानकारी दिए । उक्त अभियानको थालनी बैशाख १६ गते शुक्रबारबाट गरिएकाे छ ।
राजमार्गम हुइकिने सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागु पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरीले लापसे चेकजाँच अभियानको थालनी गरेकाे हाे । ठूला, साना सबै सवारी साधनका चालकहरुले लापसे गरे नगरेकाे परीक्षण गरिने बताइएकाे छ । शुक्रबारकाे अभियानमा २२ सवारी चालकको लापसे चेक गर्दा ३ जनामा पेजेटिभ भेटिएको थियाे । पेजेटिभ भेटिएका चालकलाई आवश्यक कारवाही गरिएको ट्राफिक कार्यालयले जनाएकाे छ ।
हेटौंडा ७ नागस्वतीमा बर्ड फ्लु भेटियो, कुखुरा नस्ट गर्न टोली जांदै
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा बर्ड फ्लु भेटिएको छ ।
नागस्वतीको कुखुरा व्यवसायी राजन खड्काको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु भेटिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताए ।
उनको फार्ममा रहेका ४ हजार कुखुरा मध्ये सयौको सङ्ख्यामा कुखुरा मरिसकेको बताईएको छ । ९ बैशाखमा बर्ड फ्लु शंका लागेपछि पशुसेवा बिभाग काठमाडौ नमुना पठाईएकोमा ७ दिनपछि आज बिहिवार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको प्रमुख डाक्टर ठाकुरले बताए ।
रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बैठक बसि बर्डफ्लु प्रमाणित भएको फार्मको कुखुराहरू नष्ट गर्ने टोली फिल्डमा जांदै गरेको मकवानपुरका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
आदर्श पोल्ट्री फार्ममा रहेको कुखुरामा बर्ड फ्लू प्रमाणित भए पनि आसपासका कुखुरा फार्ममा गरिएको नमुना परिक्षण भने नेगेटिभ आएको डाक्टर ठाकुरले बताए ।
आवश्यक स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर कुकुरा नस्ट गरिने उनले बताए । बर्ड फ्लू प्रमाणित भएको रिपोर्ट आएपछि बर्ड फ्लू नियन्त्रण समितिको बैठक बसेर व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयपछि कुखुरा नस्ट गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
र्यापिड टेस्टको आधारमा किसानले क्षतिपूर्ति नपाउने र प्रमाणित रिपोर्ट ढिलो गरि आउने परिपाटीको कारण किसान समस्यामा पर्ने गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारीले आक्रोश व्यक्त गरे। र्यापिड टेस्टलाई आधार मानेर क्षतिपूर्ति दिन सकेमात्र किसानलाई राहत हुने अधिकारीले बताए । “राज्यले परीक्षण खर्च बचाउन खोज्दा किसान मारमा परे, र्यापिड टेस्ट गर्दा ज्यूदो रहेको कुखुराको राज्यले क्षति पाउनुपर्छ, नत्र रिपोर्ट आउदा खोर खालि हुन्छ” उनले भने “किसानलाई न्याय दिइन्न भने हामी व्यवसायीको साथ प्रशासनलाई पनि हुन्न ।”
बैठकमा पशुपंछि तथा मत्से बिकास निर्देशनालयका निर्देशक मोगलप्रसाद साहले बर्ड फ्लु नियन्त्रण नियमावली २०७६ अनुसार नियन्त्रण तथा नियमन गरिने र कानुनतः किसानलाई राहत उपलब्ध हुने बताए ।
बैठकमा प्रहरी निरीक्षक बलराम श्रेष्ठ, कुखुरा व्यवसायी संघ अध्यक्ष गोकुलनाथ पौडेललगायतको उपस्थिति थियो । बैठकमा सहभागी किसानहरूले रिपोर्ट ढिलो प्राप्त हुदा नोक्सान बढ्ने गरेकोमा टिप्पणी गरेका थिए । बैठकले छिटोछिटो रूपमा रिपोर्ट उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।