मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिकामा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । अर्को एकजना बेपत्ता भएका छन् ।
राक्सिराङ ४ स्थित मनहरी खोलाको गोराङ्दी दोभानमा खोल तर्ने क्रममा सांझ ५ बजे तिर खोलाले बगाएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । कैलास कालिकाटरबाट आउने खोला र राक्सिराङ खैराङबाट आउने खोलाको संगम गोराङ्दी दोभानमा घटना भएको हो ।
उनीहरूलाई खोलाले बगाएको स्थानीयले देखेको तत्काल खोजी गर्दा कैलाश गाउंपालिका ७ का सुनबहादुर प्रजाको शव भेटिएको थियो ।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार अर्को एक जना अझै बेपत्ता छन् । बेपत्ता हुने को थिए भन्ने खुल्न सकेको छैन । लगातार झरि पर्दा यस क्षेत्रको बाटो जोखिमपूर्ण भएको मल्लले बताए । खोलाको बाटोको तुलनामा पाखोको बाटो सुरक्षित हुंदा हुदै खोलै खोला हिड्दा दुर्घटना भएको उनले बताए ।
उद्दारको लागि राक्सिराङको चैपुरबाट प्रहरी टोली, गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ र स्थानीय युवाहरू अहिले राती पनि खटिरहेको अध्यक्ष मल्लले बताए ।
मकवानपुर । अनलाइन गेम खेलेकाे आराेपमा ११ जना युवा प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन गेम खेलेकाे भन्दै मकवानपुर, बारा र गाेर्खा जिल्लाकाे ११ जना युवाहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ईलोक्ट्रोनिक्स सामान, नगद सहित अनलाइन जुवा खेलाउने ११ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले बिशेष सूचनाको आधारमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं ४ कमलडाँडा स्थित रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तल्ला भाडामा लिई संचालन गरेको सूर्यप्रसाद टेक्नोलोजि प्राईभेट लिमिटेडमा पैसाको हार जित हुने गरी अबैध रुपमा अनलाई गेम जुवा खेल्ने खेलाउने गरेको सुराकी पाएको थियो ।
सुराकीपछि स्थलगत छापामार्दा प्रहरीले नगद १ लाख ४५ हजार ७५ रुपियाँ सहित १ सय १० थान मोवाइन समेत बरामद गरेको छ । साथै डेस्कटप कम्प्युटर ५ थान, ल्यापटप ३ थान, राउटर ४ थान, बरामद गरेको छ ।
खेलमा सहभागी मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं ९ लामसुरे बस्ने २३ वर्षिय निशान आचार्य, हेटौंडा ४ कमलडाँडा बस्ने २४ वर्षिय राजिव गौतम, हेटौंडा ११ बस्ने २७ वर्षिय मधुकर बानियाँ, हैटौंडा १४ चुरीयामाई बस्ने २४ वर्षिय निमा थिङलाई पक्राउ गरेको छ ।
यसैगरी हेटौंडा १२ बस्ने २३ वर्षिय बिकाश बल, मकवानपुर मनहरी गाउँपालिका वडा ४ मसिने बस्ने २० वर्षिय जोसिल खत्री, जिल्ला गोरखा पालुङटार नगरपालिका वडा ७ बस्ने २२ वर्षिय डुलास तामाङ, २० वर्षिय तिकमान तामाङ, २१ वर्षिय राजु तामाङ, पालुङ्टार नगरपालिका वडा ८ बस्ने २५ वर्षिय अमोश तामाङ, बारा जिल्ला निजगढ नगरपालिका वडा ४ बस्ने २० वर्षिय अर्पण खडकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट बरामद गरिएको सामान, घर तथा अन्य विवरणबारे अनुन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
उनीहरुलाई सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धका कसुर मुलुकी अपराध संहिता २०७४ बमोजिम सजाय हुने प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
मकवानपुर । प्रहरी सहायक निरीक्षक राजेश प्रसाद साह जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । मकवानपुरगढी गाउँपालिका–५ स्थित अस्थायी प्रहरी पोष्ट धादिङमा कार्यरत साह जेठ महिनाको मकवानपुर जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार साहलाई जिल्लाको जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरी अपराध नियन्त्रण तथा अनुसन्धान शाखा दरबन्दी भई मकवानपुरको धादिङमा कार्यरत प्रहरी सहायक निरिक्षक साहले जिम्मेवारी प्रशंसनीय ढंगबाट सम्पादन गरेको, प्रहरी भवनलाई जनप्रतिनिधिसँग समन्वय गरी मर्मत संभार गरी कार्यालयलाई व्यवस्थित बनाएको उनकाे उत्कृष्ठ कार्य विवरणमा उल्लेख छ ।
यस्तै, २०७९ बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीहरुलाई व्यवस्थित तरिकाले तालिम संचालन गरी परिचालन गरेको, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था, क्लब र जनतासँग सुमधुर सम्बन्ध बनाई समन्वय गरी चुस्त दुरुस्तरुपमा प्रहरी परिचालन गरी अपराध नियन्त्रण न्युनीकरण गरेको विवरणमा उल्लेख गरिएको छ ।
मकवानपुर । वैदेशिक रोजगारको क्रममा भएको ठगी, मृत्यु तथा विदेशी रोजगारदाता कम्पनी वा व्यक्तिसँग असुल गर्न बाँकी २ करोड ५२ लाख ५७ हजार रुपियाँ सम्बन्धित परिवारलाई उपलब्ध गराइएको छ ।
हेल्भिटास नेपालको सहकार्यमा मकवानपुरमा सञ्चालित सुरक्षित आप्रवासन स्रोत केन्द्रले उक्त रकम पीडितलाई फर्काउन सफल भएको हो । पीडितहरुलाई न्यायमा पहुँच वृद्धिको लागि सहयोग गर्ने क्रममा १८ वटा ठगीको, १५ वटा उद्दार तथा २४ वटा मृत्युको घटनामा उक्त रकम दिलाउन सफल भएको सुरक्षित आप्रवासन सामी परियोजना कार्यक्रम संयोजक अन्जिता थापा मगरले बताइन् । लामो समयको पहलपछि उक्त रकम पीडितलाई दिलाउन सफल भएको उनले बताइन् ।
केन्द्रमा ठगीको ५० वटा, उद्दारको २५ वटा तथा मृत्युको २८ वटा केस दर्ता भएकोमा अन्य केसहरुको काम प्रक्रियामा रहेको बताइएको छ ।
विदेश जान चाहनेहरुलाई आवश्यक सूचना तथा परामर्श, विदेशमा रहेकाहरुको परिवारलाई वित्तिय शिक्षा तथा मनोसामाजिक परामर्श, र वैदेशिक रोजगारबाट फर्किएकाहरुबाट सूचना तथा अनुभव आदन प्रदानको लागि यो परियोजनाले समुदायस्तरका काम गर्ने गरेको छ ।
एकीकृत ग्रामिण विकास सेवा संस्थाको साझेदारीमा यो परियोजना स्थानीय तहमार्फत नै सञ्चालन हुदैं आएको छ । केन्द्र मार्फत गतवर्ष ६४ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको थियो भने यो वर्ष ८५ जनालाई यो सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुर, सुरक्षित आप्रवासन परियोजना अन्तरगत मनोसामाजिक परामर्शकर्ता पार्वती बिकले बताइन् ।
परियोजनाको वार्षिक समिक्षाको लागि आयोजना गरिएको कार्यक्रममा हेल्भिटास नेपाल कार्यक्रम अधिकृत उमा पौडेलले केही स्थानीय तहहरुले वैदेशिक रोजगारको सवाललाई महत्व दिएको भए पनि धेरै जसो स्थानीय तहहरुले वैदेशिक रोजगारको सवाल आफ्नो सवालको रुपमा नलिएको गुनासो गरिन् ।
“स्थानीय तहहरुले नीति तथा कार्यक्रम ल्याएका छन्, धेरैले वैदेशिक रोजगारको क्रममा हुने समस्या, चुनौती तथा त्यसलाई व्यवस्थित गर्न आवश्यक तयारीबारे कुनै नीति नै लिएका छैनन्” पौडेलले भनिन् ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले परिवारलाई समृद्ध, सुमधुर र वित्तिय रुपमा सफल बनाउन यो परियोजनाको महत्वपूर्ण योगदान रहेको बताइन् । विगतका जनप्रतिनिधिहरुले भौतिक विकास निर्माणमा चासो राखेको भएपनि अवका जनप्रतिनिधिहरुले सामाजिक विकासमा ध्यान दिने अपेक्षा आफूले राखेको लामिछानेले बताइन् ।
एकीकृत ग्रामिण विकास संस्थाका सचिव मिनराज पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा समुदाय स्तरमा रहेर सेवा प्राप्त गरेका महिलाहरुले आफ्नो विगतको समस्या र सफलताको बारेमा अनुभव आदन प्रदान गरेका थिए ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ हनुमानगेट नजिक बस, ट्याङ्कर र बाइक शुक्रबार एक आपसमा ठोकिँदा घाइते भएकामध्ये ट्याङ्कर चालक सन्जीव रानाको मृत्यु भएको छ । मृत्यु हुने राना बर्दघाट–१ नवलपरासीकाे भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
शुक्रबार विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख २७५८ नम्बरको ट्याङ्कर र हेटौंडामा विरगंजतर्फ जाँदै गरेको बा ८ ख ६३४६ नम्बरको बस आपसमा ठोक्किएको दुर्घटना भएकाे थियो । बसको पछाडि आइरहेको लु ४६ प ६१३० नम्बरको मोटरसाईकल पनि बसमा ठोकिएकाे थियाे । दुर्घटनामा ट्याङ्कर चालक राना सहित १६ जना घाइते भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे थियाे । घाइते रानालाई शुक्रबार राति नै उपचारका लागि चितवन पठाइएकोमा शनिबार बिहान डाक्टरले मृत्यु घोषणा गरेको हो ।
घाइतेमध्ये ट्याङ्कर चालक र मोटरसाइकल चालकलाई उपचारका लागि चितवन पठाइएको थियो । मोटरसाइकल चालकको अहिले चितवनमा उपचार भईरहेको र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ । यस्तै अन्य घाइते १४ जनालाई उपचारका लागि हेटौंडा अस्पतालमा राखिएकोमा केही भने डिस्चार्ज भइसकेका प्रहरीले जनाएकाे छ ।