मकवानपुर । बागमती प्रदेश प्रहरीले नजिकिदै गरेको बडा दशै, शुभ दिपावली र छठलगायत चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको छ ।
बुधबार प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुख समेतको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यद्वारा विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । चाडपर्वको समयमा हुने अपराधिक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर सहित नियमित तथा सरप्राईज चेकजाँचको व्यवस्था मिलाउने भएको छ ।
यसैगरी नियमित नियमित मोवाईल गस्ति परिचालन गर्ने, नियमित पिकेट डिउटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, बैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा कालो बजारी तथा कृतिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाइने छ ।
चाडपर्वको बेलामा हुनसक्ने झैझगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागु पदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरी सहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने तयारी भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए ।
सवारी दुर्घटना न्यूनिकरणका लागि नियमित राजमार्ग गस्ति परिचालन गर्ने, सवारी साधनहरुका गति नियन्त्रणका लागि राडरगन सहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरुमा रात्रीकालिन वेश स्थापना गर्ने, साथै सुरक्षा योजना अनुसार मातहत कार्यालयबाट काम कारवाही भए नभएको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयबाट नियमित अनुगमन एवं सुपरिवेक्षणको व्यवस्था मिलाइने रेग्मीले बताए । चाडपर्व लक्षित सुरक्षा योजना अनुरुप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी जम्मा ५ हजार ३ सय ३२ जना प्रहरी टोली परिचालित हुनेछन ।
यसै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले विशेष सुरक्षा योजनामा उल्लेख गरिएका गतिविधिहरुलाई प्रभावकारी कार्यान्वयन गर्नुका साथै चाडपर्वको समयमा हुन सक्ने संभावित अपराधहरुको न्युनिकरणमा आ–आफ्नो कार्यालयले तोकिएको संख्यामा प्रहरी परिचालनको लागि आवश्यक निर्देशन दिएका छन् ।
मकवानपुर । मकवानपुरको बकैयामा खाेलामा डुबेर एक जानकाे मृत्यु भएकाे छ । बकैयाकाे ल्वाजाेर खाेलामा डुबेर एक युवकको ज्यान गएको हाे।
सोमबार दिउँसो बकैया-४ बाममारामा रहेको ल्वाजोर खोलामा नुहाउन गएका तामाखोला बस्ने बिष्णु बहादुर खत्रीको भान्जा भरतपुर -१६ फुर्तिचोक बस्ने कृष्ण बहादुर थापाको छोरा १६ बर्षीय सचिन थापाकाे खोलाको डुबेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
आज सोमबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा थापा ल्वाजोर खोलामा डुबी घाइते भएका थिए । घाइते सचिनकाे प्रहरी चौकी हात्तिसुँडेकाे प्रहरी टोलीले उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन लगिएकाे थियो । छतिवनमा उपचार पश्चात् थप उपचारको लागि चुरेहिल अस्पताल ल्याएकोमा डाक्टरले दिउँसाे ३ बजेर १० मिनेटमा मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । थापाको शव अहिले चुरेहिल अस्पतालमै रहेको जनाइएको छ ।
मकवानपुर । व्यक्तिले आत्महत्या गर्नुअघि केही न केही प्रतिकृया जनाउने बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले बताएका छन् । आइतबार बागमती प्रदेशकाे राजधानीमा हेटौडामा भएकाे प्रदेश स्तरीय आत्महत्या रोकथाम सचेतनामुलक कार्यक्रममा प्रमुख बज्राचार्यले भने– ‘व्यक्तिले आत्महत्या गर्नु अघी जनाउने प्रतिक्रिया समयमानै पहिचान गरी परामर्श दिन सकेमा आत्महत्या न्युनिकरणमा सहयोग पुग्नेछ ।’
बज्राचार्य बढ्दो आत्महत्याको दरलाई न्युनिकरण गर्न बागमती प्रदेश प्रहरीले विगतदेखिनै विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेकोमा यसलाई अझ बढी प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीत तह लगायत विभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्य गर्नु पर्ने बताए । उनले प्रहरीको सहकार्यमा हातेमालो गर्न अन्य निकायहरुलाई आह्वान समेत गरेका छन् । ‘आत्महत्या न्युनिकरणको लागि तत्कालै नीति बनाउन जरुरी रहेको छ’ बज्राचार्यले भने ‘सचेतनामुलक कार्यक्रममा समेत सवै पक्षको समन्वय र सहकार्य हुनुपर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको बताउँदै यसले प्रदेश सरकार लगायत सरोकारवाला निकायहरुलाई एकपटक झकझकाएको बताए । प्रहरीले प्रस्तुत गरेको कार्यपत्रले प्रदेश सरकारलाई आत्महत्या रोकथामको लागि नीति बनाउन मार्गदर्शन हुने उनले बताए । मुख्यमन्त्री पाण्डेले भने– ‘मानिसको जीवन सवैभन्दा महत्वपुर्ण भएको हुँदा यसलाई जोगाउन सवै पक्षले नैतिक शिक्षा लिन र दिन जरुरी रहेकाे छ ।’

त्यसैगरी कार्यक्रमा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले मानिसको जीवन अमुल्य भएकोले यसलाई जोगाउन सवै पक्षले आ-आफ्नो तबरबाट लाग्नुपर्ने र सचेतनामुलक कार्यक्रम समय समयमा गरिनु पर्ने बताए । हेटौंडा अस्पतालका चिकित्सक लव कार्कीले आत्महत्याको जोखिम क्षेत्र एवं वर्गको पहिचान गरी समयमानै मनोपरामर्श दिन ठाउँ ठाउँमा मनोपरामर्श केन्द्र स्थापना गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्वागत गरी सुरु भएकाे कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले आत्महत्याको वर्तमान अवस्था, चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपाय सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा प्रदेश स्तरीय आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम भएको हाे । कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राङ्गढबाट प्रभातफेरी भइ रोयल पाटी प्यालेस हेटौंडामा कार्यक्रम गरिएको थियो । विश्व आत्महत्या रोकथाम दिवसको रुपमा नेपाल प्रहरीले उपत्यकामा केन्द्रीयस्तरको, ७ वटा प्रदेश राजधानीमा प्रदेशस्तरीय र ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला स्तरिय आत्महत्या रोकथाम सम्बन्धी र्याली सहितको सचेतनामुलक कार्यक्रम आज देशैभरी एकैपटक संचालन गरेको छ ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । हेटौडा उपमहानगरपालिकामा मंगलबार दिउँसो भएकाे दुर्घटनामा घाइते भएका १ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । हेटौडा–५, शान्तिनगरस्थित भित्री सडकखण्डमा भदाै २८ गते मंगलबार भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अमृत मैनालीकाे मृत्यु भएको हाे ।
मंगलबार दिउँसो ४ बजेर २० मिनेटको समयमा शन्तिनगरतर्फबाट समीलतर्फ जाँदै गरेको ना ४३ प ८२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौंडा–४ का २८ वर्षीय मैनालीलाई थप उपचारकाे लागि चितवन मेडिकल लगिएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे थियाे । भरतपुर मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा बुधबार दिउँसो ४ बजेर ५० मिनेटमा डाक्टरले मैनालीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर लागूऔषधसहित २ जनालाई आज बिहान पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० आनन्द टोलबाट लागूऔषध खैरोहिरोईन ८ ग्राम २४० मिलिग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।
जिप्रकाका अनुसार हेटौंडा–१० आनन्द टोलस्थित इन्दिरा प्रजापतिको घरभाडामा बस्दै आएको २५ वर्षीय समिर सिद्धिकी र निजको श्रीमती रिजु कुमारी दासलाई प्रकाउ गरिएको हो । सुराकीको आधारमा उनीहरू माथि खानतालसि गरेको र लागु औषध फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
दम्पती पश्चिम भारत निवासी हुन् । उनीहरू माथि थप अनुसन्धान सुरू गरिएको कार्कीले बताए ।