मकवानपुर । मनोसामाजिक समस्या भएकाहरुको सवालमा सम्मानजनक भाषा र मताधिकारको बारेमा भएको विभेदकारी व्यवस्थामा सुधार गर्न माग गर्दै कोशिस नेपालको सहजिकरणमा मनोसामाजिक समस्या सञ्जालले मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलामार्फत निर्वाचन आयोगका आयुक्तको ध्यानाकर्षण गराएको छ ।
नेपालको संविधान २०७२ को प्रस्तावनाको चौथो हरफमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लङ्गिक विभेद र सब प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चितता गर्न समानुपातिक समावेशी र सहभागिता मूलक सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरिएपनि यस अनुरुप नभएको भन्दै ध्यानाकर्षण गराइएको हो ।
नेपालका निर्वाचन सम्बन्धी बनेका विभिन्न कानुन, निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले प्रदेश तथा संघीयसभामा निर्वाचित भई वा आफ्नो मतदान गरी अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने भन्ने व्यवस्था भएपनि तर मतदाता नामावली ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐनहरुमा प्रचलित नियमावली तथा निर्देशिकाहरूमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति चुनावी प्रक्रियामा भाग लिई मतदान गर्न र उम्मेदवार हुन अयोग्य हुन्छन् भनी किटान गरिएको व्यवस्था प्रति ध्यानाकर्षण गराइएको हो ।
विभेदकारी व्यवस्थाका कारण एक मानसिक स्वास्थ्य अवस्था वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ ले प्रत्यायोजन गरेको नागरिक तथा नागरिक अधिकारको उपभोग गर्नबाट वञ्चित रहने मनोसामाजिक समस्या सञ्जाल सदस्य सानुकान्छी थिङले बताइन् ।
विशेषगरी मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको विरुद्ध कायम रहेका विभेदकारी निर्वाचन सम्बन्धी कानुनी व्यवस्थालाई महासन्धि २००६ को धारा ४ को १ ख बमोजिम खारेजी वा संशोधन गरी एक व्यक्तिको नागरिक अधिकार हनन हुन नदिन माग गरिएको कोसिस नेपालकी सुनिरा स्याङ्तानले बताइन् ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामाकाे राप्तीखाेला छेउमा शिशुकाे शव फेला परेकाे छ । हेटौडा १० राप्तीखोलाको छेउमा शुक्रबार उक्त शव फेला परेको हाे ।
मकवानपुर प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका क्षेत्रका विभिन्न स्थानबाट फोहाेर संकलन गरी ल्याउँदा उक्त शव आएकाे हाे । शुक्रबार बिहान ना ४ त २६९८ नम्वरको ट्याक्टरले उपमहानगरपालिकाले फोहोर जम्मा गरी फाल्ने स्थानमा ल्याएकाे फोहोर छुट्याउने क्रममा बाेरा भित्र प्याक गरिएकाे अवस्थामा शिशुकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ ।
फाेहाेर जम्मा गर्ने स्थान ल्याण्डफिल साइटमा जलाउने फोहोर र नजलाउने फोहोर छुट्याउँदा फोहोरको बोरा भित्र शिशु (बालिका) को शव फेला परेको प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । मृतक शिशुको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल राखिएकाे मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको मनहरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी नयाँबस्ती बस्ने २९ वर्षीय अबिनाश गोले रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी–६ सुनाचुरीमा काकरभिट्टाबाट काठमाडौं तर्फ जादै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको गाेलेकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार बस र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेका छन् ।
भोलि चन्द्रग्रहण : भरणी नक्षत्र र मेष राशिलाई कष्ट
Tags: No Comments
मंगलबार (भोलि) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । बेलुकी ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिनेछ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहणको सुरु हुने जनाएको छ । यस्तै, बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने भएको छ । १ घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिनेछ ।
चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार, मंगलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक हुने देखिएको छ ।
चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चांग’मा उल्लेख छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि ‘राष्ट्रिय पञ्चांग’मा उल्लेख छ ।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार, चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । जसअनुसार मंगलबार बिहान ८ बजेर ११ देखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुनेछ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।
यसअघि ८ कात्तिकमा कृष्ण औंसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औंसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैन : धर्मशास्त्रविद्
उता, धर्मशास्त्रविद्ले शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा जोड दिइका छन् ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म घरघरमा विशेषरूपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवं कात्तिक स्नान गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीले कात्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन् । यस वर्ष १४ असोजमा अस्त भएको शुक्र ६ मंसिरमा उदय हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवं वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले बताए । केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ ।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शुक्र अस्त भएकाले चतुर्मास व्रत समापन गर्नुहुन्छ कि हुन्न भनी दैनिक धेरैले सम्पर्क गर्ने गरेको बताउँछन् । तिथिअनुसार प्रत्येक वर्ष मनाइने चाडबाड मनाउन र नियमित व्रत समापन गर्न शुक्र एवं वृहस्पति अस्तले फरक नपर्ने उनले बताए । पुराण वाचन, विवाह, व्रतबन्धजस्ता कर्म भने शुक्र एवं वृहस्पति अस्तका बेला गर्नु नहुने शास्त्रीय वचन छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको विशेष पूजा समापन गर्न गरिने हवनका लागि अग्नि जुराउनुपर्दैन । त्यसपछि भने अग्नि जुरेका दिनमा मात्र चतुर्मास व्रत समापनसहित तुलसीको विशेष पूजा उद्यापन गरिन्छ । राजधानी दैनिकबाट
मकवानपुर । मकवानपुरमा भएकाे सवारी दुर्घटनामा घाइते भएका पुरुषको मृत्यु भएको छ । गत चैतमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिकामा भएको दुर्घटनामा घाइते भएका प्रकाश मोक्तान रहेका छन् ।
गत चैतमा मनहरी–८ सिमपानीमा ज्यामिरेतर्फ जादै गरेको ना १ ह ५६८२ नम्बरको अटोले ना ५१ प २०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार मनहरी–९ मगरचोक बस्ने ३२ वर्षीय लाल मोक्तान र राक्सिराङ गाउँपालिका–४ बस्ने ३६ वर्षीय प्रकाश घाइते भएका थिए । उनीहरुको उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज लगिएको थियो ।
मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार प्रकाशको उपचार सम्भव नभएपछि घरमा ल्याईएकोमा उनको शनिबार मृत्यु भएको हो । अटो चालक अंगभंग मुद्दामा मुद्दा चलाएपनि धरौटीमा छुटेको कार्कीले बताए ।
सवारी दुर्घटनामा २ जना घाइते
मकवानपुरमा सवारी दुर्घटना २ जना घाइते भएका छन् । शनिबार मकवानपुरकाे मनहरी गाउँपालिका र बकैया गाउँपालिकामा भएकाे सवारी दुर्घटनामा उनीहरु घाइते भएका हुन् ।
पूर्व पश्चिम सडकखण्ड अन्तर्गत मनहरी गाउँपालिका–७ बिजौनामा भारतीय एम्बुलेन्सको ठक्करबाट मोटरसाइलमा सवार एक जना घाइते भएका छन् । शनिबार बिआर–०५ पि २०५७ नम्बरको एम्बुलेन्सले प्रदेश ३–०२–००९ प ४८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा पर्सा ठोरी बस्ने २५ वर्षीय दिनेश सापकोटा घाइते भएका हुन् । उनको उपचारको लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।
यसैगरी मकवानपुरको बकैंया गाउँपालिका–५ मा ना.३ ख.६५५ नम्बरको ट्रकको ब्रकेफेल भएर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ट्रक चालक बारा कोल्बी नगरपालिका– १ बस्ने ५१ को शंकर चौधरी घाइते भएका हुन् । प्रहरीका अनुसार घाइते चौधरीको प्राथामिक स्वास्थ्य केन्द्र छतिवनमा उपचार भइरहेको छ । चिउरा/भुसा बोकेको उक्त ट्रकको ब्रेक फेल भएर अनियन्त्रित हुँदा सडकबाट करिब ३० मिटर तल खसेको थियो ।