मकवानपुर । मकवानपुर प्रहरीले ३८ किलो गाजाको धुलो सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँ पालिका ७ का ३५ बर्षिय हरि कृष्ण अधिकारी र ३५ बर्षिय कृष्ण राई रहेको प्रहरीले जनाएको छ ।
मसिर २२ गते विहीबार मनहरी स्थित राष्ट्रिय निकुञ्ज सुरक्षाको लागि खटिएको नेपाली सेनाको गस्तिले निकुञ्ज क्षेत्रमा अधिकारी र राईलाई सामान बोकी शंकास्पदरुपमा हिडिरहेका देखि प्रहरीलाई खबर गरेको थियो ।
सेनाको खबर पछि ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृणराज ढकाल सहितको टोलीले प्लास्टिकको ३ वटा बोरामा शंकास्पद सामान बोकी हिडेका अधिकारी र राईलाई पक्राउ गरेको हो ।
उनिहरुले ल्याएको बोरामा ३८ किलो गाँजाको धुलो फेला परेकोमा निजहरुको सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा २०० ग्राम र लागूऔषध नाइट्राभेट २७ ट्याब्लेटसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौंडा–१२ बस्ने २५ वर्षीय बिशाल घलान, हेटौंडा–१३ बस्ने २१ वर्षीय विजय रिजाल, हेटौंडा–१७ बस्ने २० वर्षीया शर्मिला भोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार हेटौडा बसपार्कमा शंकास्पद रुपमा हिडिरहेका घलान रिजाल र भाेम्जनलाई चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध बरामद भएपछि पक्राउ गरिएको हो । उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाइएको छ ।
मकवानपुर । गत आम निर्वाचन २०७९ को समिक्षात्मक समाचार लेखेको आरोपमा मकवानपुरमा २ जना पत्रकाहरु पिटिएका छन् । यही विषयलाई लिएर अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुर परीसर अशान्त बनेकाे छ ।
नेपाली काँग्रेसभित्र आन्तरीक द्वन्द्व रहेको र अन्तरघातकै कारण गठबन्धनले हार व्यहोर्नु परेको समिक्षात्मक समाचार लेखेको कारण आपसमा भनाभनपछि हातपात भएको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर १ ख बाट नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरेको घाइते पत्रकारहरुले बताएका छन् ।
बागमती एक्सप्रेस साप्ताहिकमा आएको समाचारको विषयमा विवाद हुँदा पत्रिकाको प्रकाशक रमेश बञ्जरा इन्द्र र पत्रकार रामकुमार रिजाल एलन माथि कुटपटि भएको हो । हेटौँडाको एक होटलमा आइतबार राति करिब सवा ९ बजेको समयमा कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएका टोलीले आफूहरुलाई एक्कासी कुटपिट गरेको पत्रकारहरुले आरोप छ । करिब एक दर्जन कार्यकर्ताले बञ्जरा र एलनमाथि आक्रमण गरी घाइते बनाएका बताइएको छ । घाइते दुई पत्रकारले भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्न लागेका छन् ।
यसैबीच नेकपा एसनिकट समाजवादी प्रेस संगठनले एलनलाई कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाही गर्न माग गरेको छ । संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेट्वालसहितको टोलीले कुटपिट गरेको र पत्रकार महासंघ बागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको हो । महासचिव मगर सामान्य घाइते भएको तथा एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको संगठनका महासचिव भूपराज खड्काले बताए ।
वागमती एक्सप्रेसमा हालै सम्पन्न चुनावमा कांग्रेसभित्रको घात-अन्तर्घातको समाचार प्रकाशित भएको थियो ।मकवानपुर कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी समाचार झूट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिएको थियो ।
पत्रकार महासंघ मकवानपुर शाखाले पनि पत्रकार एलन, रमेश माथिको कुटपिटको भत्सना गरेको छ ।समाचारका विषयमा चित्त नबुझे खण्डन गर्ने र कानूनी उपचारको बाटो खोज्ने उपाय हुँदाहुँदै समाचार लेखेकै विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमण हुनु अत्यन्तै निन्दनीय कार्य भएको र उक्त घटनामा छुट्याउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरलाई समेत दुव्र्यवहार भएकोले पत्रकारमाथि आक्रमण तथा दुव्र्यवहार घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सचिव शुभलक्ष्मी विश्वकर्माद्धारा हस्ताक्षरीत विज्ञप्तिमार्फत माग गरिएको छ ।
यस कुटपिटमा संलग्न रहेको आरोपित पक्षले भने राजनीतिक आरोप प्रत्यारोपको कुरा भन्दा पनि मादकपदार्थ सेवन गरिरहेको बेला भनाभन भएको र सामान्य हात हालाहाल भएको दाबि गरेको छ । अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा यसै बिषयलाई लिएर सामान्य झडपको अवस्था सिर्जना भएको छ । विवादका क्रममा जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका पत्रकारहरु माथि आक्रमण गर्दै नेपाली काग्रेस निकट तरुण दल सम्बद युवाहरुले नारा जुलुस गरिरहेका छन् ।
मकवानपुर । नेपालको संविधानले धारा ४२ सामाजिक न्यायको हक अन्तरगत अपाङ्ता भएका व्यक्तिहरुको सामाजिक न्यायको सवाल सम्बोधन गरेको छ । जसको उपधारा (१) मा “आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ” भनेको छ ।
तर संविधानले तोके अनुसारको सामाजिक न्याय आफूहरुमाथि नभएको अपाङ्ता भएकाहरुले गुनासो गरेका छन् । उक्त धाराको उपधार ३ मा “अपांगता भएका नागरिकलाई विविधताको पहिचान सहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ” भनिएको छ । तर आफूहरुले अपाङ्ता भएकै कारण पाइलै पिच्छे विभेदपूर्ण व्यवहार सामना गर्नुपरेको ह्वीचियर प्रयोगकर्ता सरिता तामाङले बताइन् ।
अपाङ्ता दिवस मनाउँदै गर्दा सबै तहको सरकारले अपाङ्ता भएकाहरुप्रति आफूको दायित्वबोध भएको बताउने गरेको भएपनि दिनदिनै आफूहरुले समस्या झेल्नु परेको उनीहरुले बताएका छन् ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले ३१ औं अन्तरट्रिय अपाङ्ता दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यालयमा सेवा लिन जाँदा बाटो, सेवा लिने कार्यकक्षदेखि शौचालय प्रयोगमा समेत आफूहरुले समस्या भोग्नु परेको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अस्विन लम्सालले बताए ।
समावेशी विकासको लागि रूपान्तरीत समाधान पहुँच र समतामूलक विश्वको लागि उर्जावान र सृजनशीलको प्रावधान भन्ने नाराका साथ डिसेम्बर ३ मा अपाङ्ता दिवस मनाइएको छ । तर सरोकारवालाहरुले आफूहरुलाई कतैबाट पनि सामाजिक न्यायको अभाष नभएको गुनासो गरेका छन् । “सेवा लिन जाने कार्यालयहरु नै अपाङ्गमैत्री छैनन” अध्यक्ष लम्सालले भने “त्यस्ता कार्यालयबाट हामीले कसरी सेवा लिने ?”
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिब रामशरण सापकोटाले राज्यले बिकृत अवस्थालाई व्यवस्थापन गर्नुपर्ने धारण लिए अघि बढेको बताए । “अपाङ्गताको अवस्थालाई सकेसम्म कम गर्ने, भएकालाई राज्यले व्यवस्थापन गर्ने गर्नुपर्छ, जो अपाङ्गता भैसकेको छ, उहाँको सार्थक जीवन यापन गर्न समन्वय सहजीकरण गर्नतर्फ ध्यान दिएका छौँ” सापकोटाले भने “राज्यले चाहेजती गर्न नसकेको होला, तर फरक व्यवहार गर्नुहुदैन भन्नेमा हामी लागेका छौ ।”
अपाङ्गता भएकाहरुको समस्यालाई सम्बोधन गर्न बागमती प्रदेश सरकारले नीतिको ड्राफ बनाएको छ,तर त्यो पुरा भएको छैन । सबै वर्ग र समूदायको सम्मानको लागि प्रदेश सरकारले नीतिको अन्तिम रुप दिएको मन्त्रालयका प्रवक्ता रुद्रहरी भण्डारीले बताए । यसैगरी सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कंडेलले अपाङता भएकाहरुको समस्यालाई ध्यानमा राखेर दोभाषे तालिम, अटिजम भएका बालबालिकाको पुनर्थापना तथा शिक्षा कार्यक्रम, सहायता सामग्री वितरण गरिरहेको बताए ।
अपाङ्गताको हितको लागि धेरै नीति बन्नुपर्ने बनेका नीति,निर्देशिका नियमावली अपाङ्गता भएकाहरूले सम्पत्तिको रूपमा ग्रहण गर्नसक्ने हुनुपर्ने राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेश अध्यक्ष लम्सालले बताए ।
संघीय संरचना अनुसार संघीय सरकारले नीति नबनाउदा स्थानीय तहमा समेत नीति बन्न नसकेन र ग्रामीण भेगमा धेरै अपाङ्गता भएका व्यक्तिको समस्यालाई सम्बोधन हुन पाएको उनले बताए । अपाङ्गता भएका वर्गिय ब्यक्तिको समस्या सम्बोधन गर्न मन्त्रालयहरूले कार्यक्रम बनाउनु पर्ने लम्सालले बताए ।
“अपाङता अभियान सशक्त हुन सकेको छैन, सबै बर्गका अपाङ्गता भएकाहरूको हितमा समन्वयात्मक रूपमा काम गर्नुपर्छ, दिवसमा मात्रै हैन, सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने आवश्यकता छ” लम्सालले भने । संबिधानलाई संस्थागत गर्दै, अपाङ्गताको सवालमा समाबेशी र पहुँचको सवालको सम्बोधन हुनुपर्ने उनले बताए ।
स्पाइनल कट इन्जुरी भएकालाई झनै बढी समस्या हुने गरेको सहभागीहरुले बताए । अरुले गाडी रोक्न लगाउँदा गाढी रोक्छ, तर हामीलाई देखेपछि चढाउन मान्दैनन्, सार्वजनिक कार्यालयहरुमा रहेका वा सार्वजनिक स्थानहरुमा रहेका शौचालयहरु हामीले प्रयोग गर्नै मिल्दैन एक अपाङगता भएका सहभागीले भने ।
अपाङ्ग महसंघ बागमती प्रदेश सल्लाहकार सरिता तामाङले अपाङ्गता भएकालाई आत्मनिर्भर बनाउन तर्फ सरकारले ध्यान दिएको दिनुपर्ने बताइन् । क्षमता अनुसारको सिपको सम्बोधन हुनेगरी कार्यक्रम ल्याउनु पर्ने तामाङले बताइन् ।
कार्यक्रममा अपाङ पद्धति जीवन स्वावलम्बन केन्द्र ललितपुरका अध्यक्ष गणेश केसीले अपाङता भएकाहरुको समस्या र आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार ७९ किलो लागूऔषध गाँजा सहित भारतीय ट्रकलाई नियन्त्रणमा लिएकाे छ । जिल्लाको मनहरी गाउँपालिकामा भारतीय ट्रकबाट उक्त परिमाणको गाँजा प्रहरीले बरामद गरेको हाे ।
भारतीय ट्रकलाई लागुऔषध गाजाँ लोड गर्दागर्दै प्रहरीले नियन्त्रणमा लिएको हाे । मनहरी गाउँपालिका–६ कत्लेखोलास्थित पुर्वपश्चिम सडक खण्डमा डब्लु बि ५९सि६७३५ नम्बरको भारतीय ट्रकलाई उक्त परिणामकाे लागुऔषध गाँजा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उक्त गाँजा ईलाका प्रहरी कार्यालय मनहरी र सशस्त्र प्रहरी बल आईआरटी पोष्ट कत्ले खोलाबाट खटिएको संयुक्त टोलीले ट्रकमा गाँजा लोड गर्दै गरेको अवस्थामा फेला पारी बरामद गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनका अनुसार, हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ । लागुऔषध लोड गर्ने र ओसारपसारमा संलग्न ब्यक्तिको नाम प्रहरीले खुलाएको छैन ।