मकवानपुर । मुक्तक मञ्च मकवानपुरको बिषेश कार्यक्रममा मिथिला सानु सुनिएका छन् ।
हेटौंडामा शनिबार भएको मुक्तक मञ्चको ११औँ विशेष शृङ्खलामा मकवानपुरका मुक्तककारद्वय मिथिला अधिकारी र सानु खनालका १०/१० वटा मुक्तक सुनिएका हुन। अधिकारी साहित्यमा नव सर्जक हुन भने खनाल मकवानपुरे साहित्यमा परिचित छन् ।
स्थानीय मुक्तककारहरू हेमन्त ढुङ्गेल,ओमभक्त भण्डारी, समीर पाख्रिन, देवराज तिवारी, सुवास सजल, केशव समर्पण, चिरञ्जीवी लामिछाने, रजनी पौडेल, वैकुण्ठ लामिछाने, सुवास सजल, सागर तिमल्सिनाले मुक्तक वाचन गरेर विशेष शृङ्खलाला रौनकता थपेका थिए ।
मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डी.बी. बर्तौलाको अध्यक्षता र अग्रज साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यता भएको कार्यक्रममा स्थानीय साहित्य सङ्घ संस्थाहरूका पदाधिकारीसहित साहित्यकारहरुको उपस्थिति थियो ।
मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले महालक्ष्मी साहित्य पुरस्कार साहित्यकार डा.गोविन्दराज भट्टराईलाई प्रदान गरेकाे छ । शनिबार भट्टराईलाई ५१ हजार राशीको महालक्मी साहित्य पुरस्कारबाट हेटौडामा सम्मानित गरिएकाे हाे ।
महालक्ष्मी विकास बैंकका प्रबन्धक शम्भु पराजुली, साहित्यकार केदारनाथ खनाल, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेलले भट्टराईलाई पुरस्कारसहित सम्मान गरेका थिए । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् ।
महालक्ष्मी विकास बैंकले स्थापना गरेकाे उक्त पुरस्कारकाे २१ औं संस्करण बैंक र समाजले संयुक्त रुपमा प्रदान गरेकाे हाे । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई महालक्ष्मी साहित्य पुरस्कारबाट यस वर्ष सम्मान गरिएकाे समाजका अध्यक्ष माधव पाेखरेलले जानकारी दिए ।
त्यस्तै, समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई प्रदान गरेकाे छ । ७ हजार ५ सय रुपैयाँ राशीकाे उक्त पुरस्कार ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापना गरेको हुन् । मकवानपुर क्याम्पसमा पत्रकारिता विषयका प्राध्यापक पत्रकार श्रेष्ठ हेटौडाबाट प्रकाशित हुने समृद्ध समाज दैनिकका सम्पादक तथा रेडियाे निकाशका स्टेशन म्यानेजर हुन् ।

यसैगरी मातृभूमि साहित्य समाज मकवानपुरले ५ जना व्यक्तित्वलाई शुक्रबार सम्मान गरेकाे छ । समाजले शुक्रबार ४ पुरस्कारबाट ५ जना व्यक्तित्वलाई सम्मान गरिएकाे समाजका अध्यक्ष पाेखरेलले बताए ।
समाजले श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कारबाट मकवानपुरका साहित्यकार आरआर चौलागाईंलाई सम्मान गरेकाे छ । उक्त पुरस्कारकाे राशी १५ हजार रुपैया रहेकाे छ । यस्तै ईश्वर स्मृति मातृभूमि पुरस्कारबाट शैलेन्दु प्रकाश नेपाल सम्मानित भएका छन् । उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
यस्तै १५ हजार रुपैया राशी रहेको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार चितवनका साहित्यकार लकाश पौडेललाई प्रदान गरिएकाे अध्यक्ष पोखरेलले जानकारी दिए । शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मानबाट २ जना सम्मानित भएका छन् । उक्त सम्मानबाट हेटौंडाका शिक्षाविद् रामचन्द्र आचार्य ‘फुर्सती’ र महिलातर्फ अमर माध्यमिक विद्यालयका प्रअ मालती उप्रेती सम्मानित भएका छन् ।
समाजले असार ५ गते शुक्रबार ५ जान र असार ६ गते शनिवार २ जना गरी ७ जना व्यक्तित्वलाई एकै थलाेमा कार्यक्रम गरी सम्मान गरेकाे हाे ।
शनिबारकाे पुरस्कार समर्पण कार्यक्रमा विभिन्न साहित्यकारहरुले कविता गजल प्रस्तुत गरेका थिए ।

‘चिउरी, चेपाङ र चमेरोः एक नयाँ आयामको खोजी’ सार्वजनिक
Tags: No Comments
मकवानपुर । ‘चिउरी, चेपाङ र चमेरोः एक नयाँ आयामको खोजी’ पुस्तक सार्वजनिक गरिएकाे छ । बुधबार बागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्री मसिना खड्काले डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यद्वारा लिखित पुस्तक सार्वजनिक गरेकी हुन् ।
पुस्तक सार्वजनिक गर्दै चेपाङको संस्कृतिसँग जोडिएको चिउरीको रुख जोगाउन सके पश्चिम मकवानपुरमा बसोबास गर्ने चेपाङ समुदायको आर्थिक समुन्नति हुने बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्काले बताइन् । मनहरीस्थित डिभिजन वन कार्यालय राप्ती परिसरमा बुधबार पुस्तक सार्वजनिक कार्यक्रममा मन्त्री खड्काले चिउरी बहुउपयोगी बृक्ष भएकाेले यसको संरक्षणसँगै उपयोगितामा बारे जनचेतना आवश्यक भएकाे बताइन् । खड्काले चिउरीको संरक्षण गर्दै यसका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन र नीतिगत व्यवस्थाका लागि प्रदेश सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाइन् ।
त्यसैगरी बागमती प्रदेश सरकारका पूर्व राज्यमन्त्री एबम् चेपाङ अगुवा सन्तबहादुर चेपाङले चिउरी प्रवर्धनका लागि आफूले पटक पटक पहल गरेको बताउँदै अहिले वन तथा वातावरण मन्त्रालयमार्फत बजेट बिनियोजन हुनुपर्ने चिउरी संरक्षणको लागि अन्य मन्त्रालयले कार्य गर्न लागेकामा असन्तुष्टि समेत जनाए ।
वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले २८ बर्ष अघि आफू कबुलियती वनको प्राविधिकको रुपमा आउँदा पनि चिउरी संरक्षणकै बहस भइरहेको र अहिले पनि त्यही बिषयमा बहस भइरहेको पाइएकाले सरकारले गर्नुपर्ने काम र समुदायले निर्वाह गर्नुपर्ने भूमिका स्पष्ट नभएसम्म प्रश्न उठिरहने बताए । दाहाले चिउरी संरक्षणलाई आर्थिक पाटोसँग जोडेर अध्ययन गरिनुपर्ने भन्दै हरेक दृष्टिकोणले चिउरीको संरक्षण हुनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले चिउरी संरक्षण, सालक संरक्षणमा डिभिजन वन कार्यालय राप्तीले अग्रसरता देखाइ काम गरिरहेकाे बताए । कार्यक्रममा डिभिजन वन कार्यालय चितवनका प्रमुख लोकराज नेपाल, चिउरीको बिषयमा पिएचडी अध्ययन गरिरहनु भएका श्रीहरि भट्टराई, राक्सिराङ गाउँपालिका ८ नम्बर वडाध्यक्ष हविल प्रजा, ५ नम्बर वडाध्यक्ष हरि प्रजा, कार्यपालिका सदस्य सिंगलाल प्रजासहितका जनप्रतिनिधिहरु, विभिन्न सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरु, चिउरी व्यवस्थापनमा ध्यान दिइरहेका विभिन्न सामुदायिक वनका प्रतिनिधिहरु र उपभोक्ताहरुले चिउरीको जगेर्ना, विकास र बजार व्यवस्थापनमा चासाे व्यक्त गरेका थिए ।
डिभिजन वन कार्यालय राप्ती र राक्सिराङ गाउँपालिकाको संयुक्त पहलमा प्रकाशित पुस्तक मन्त्री खड्काले चेपाङ समुदायलाई हस्तान्तरण गरी सार्बजनिक गरेका थिए । पुस्तकका सन्दर्भमा लेखक एबम् डिभिजन वन कार्यालय राप्तीका प्रमुख बिष्णुप्रसाद आचार्यले स्पष्ट पारेका थिए । कार्यक्रम सुरु हुनुअघि डिभिजन वन कार्यालय राप्तीको परिसरमा मन्त्री खड्काले चिउरीको बिरुवा रोपेका थिए ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा चितवनको राप्ती नगरपालिका, मकवानपुरको राक्सिराङ गाउँपालिका क्षेत्रबाट चिउरी संरक्षणकर्मी सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको राजमार्ग बिस्तारको सवाल पुनः तात्ने भएको छ । चार दशकदेखि विवादको अवस्थामा रहेको राजमार्ग विस्तारको सवाल फेरि चर्चामा आउने भएको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका लागि सडक डिभिजन कार्यालय हेटौंडाले आज सूचना प्रकाशित गरेको छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्मको संरचना भत्काउनका लागि आज पत्रिकामा सूचना प्रकाशित गरिएको हो । सूचना प्रकाशन गर्ने र काम गर्न नसक्ने कारण यो पाटो विवादमै अल्झिदै आएको छ ।
यसअघि पनि हरेक वर्ष हेटौंडा बजार क्षेत्रका संरचना भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले सूचना प्रकाशित गरेको भएपनि भत्काउन सकेको थिएन । हरेक वर्ष सडक डिभिजन कार्यालयले राजमार्ग क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा आन्दोलन हुने मात्र गरेको छ ।
४ दशकदेखि विवादीत र टुङ्गो लाग्न नसकेको विषय हो राजमार्ग २५ मिटर चौडा पार्ने विषय । विभिन्न शहरको राजमार्ग चौडा गरिदा मकवानपुरको हेटौंडा क्षेत्र चौडा पार्ने विषय अन्यौलमा नै रहंदै आएको छ । यो विषयले टुङ्गो नपाउँदा पीडितहरुले आफ्नो घर जग्गाको स्वामित्व नै पूर्ण सदुपयोग गर्न नपाएको भन्दै समय समयमा आन्दोलित हुँदै आएका छन् । साघुँरो सडक र घना बस्तिको रहेको हेटौंडा बजार मानवीय बस्तिको रुपमा विकास गरेर बजारको वाइपासबाट बाटो लैजाने वा बजारको मध्यमा रहेको बाटोलाई चौडा गर्ने भन्ने बारेमा विवाद अझै कायम नै छ ।
पुर्व मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले हेटौंडा १५ रातोमाटेदेखि हेटौंडा –१० राप्तिपुलसम्म वाइपास बाटो विस्तार गर्ने विकल्प अघि सारेको थियो । उक्त विकल्पलाई कार्यान्वयन गर्दै प्रदेश सरकारले २ वर्ष अघि बजेटको व्यवस्था गरी मुख्य राजमार्गमा जोड्ने गरी ट्याक ओपन गरिसकेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघले व्यापारीहरुको हितलाई मध्यनजर गर्दै २५ मिटरको विकल्पमा १५ मिटर भत्काउने सहमति सहितको ज्ञापन पत्र २ वर्ष अगाडि नै संघीय सरकारको भौतिक मन्त्रालयमा ज्ञापन पत्र बुझाइसकेका छन् ।
विवादमा रहेको कारण आफूहरुले व्यापार व्यवसाय सञ्चालन गर्न, बैंकिङ कारोवार सञ्चालन गर्न समस्या झेल्नु परेको र लामो समयदेखि घरजग्गा विक्रि वितरणमा समेत रोकावट आएको कारण यसको चाँडोभन्दा चाँडो छिनोफानो लगाउन माग गर्दै भौतिक योजना मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर त्यसको पनि कुनै पहल कदमी अघि बढेन । मकवानपुर उद्योग वाणिज्य संघले नै टोलीको नेतृत्व गरेको थियो ।
सडक दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने कार्यका लागि सडक विभागले तथ्याङ्क समेत संकलन गरेर गरेर सार्वजनिक गरिसकेको छ । ३ वर्ष अगाडि मकवानपुरको मनहरी बजार र बारा जिल्लाको सिमानाबाट बाटो चौडा कार्य सुरु गरेको थियो । दुबैतर्फबाट चौडा गर्दै आएको बाटो हेटौंडा बजारको मुख्य क्षेत्र प्रवेश गर्दैगर्दा बजारवासीहरुले अदालतमा रिट हालेपछि अदालतले तत्कालको लागि काम रोक्न आदेश दियो । त्यसपछि सडक चौडा गर्ने काम रोकिएको थियो ।
डिभिजन सडक कार्यालयले बजारको २५ मिटर क्षेत्र भित्र रहेको बैङ्क तथा वित्तिय संस्थाहरुलाई कार्यलय सार्न पत्र काटेपछि बैंकिङ कार्यालयहरु मुख्य राजमार्गबाट अन्यत्र सरिसकेका छन् । डिभिजन सडक कार्यालयका अनुसार हेटौँडाको मेनरोडमा पर्ने डेढदर्जन बैँक र केही सरकारी कार्यालयहरुलाई २५ मिटर क्षेत्रबाट सरेका छन् ।
सडक अतिक्रमण गरिएका चुरियामाईदेखि लोथरसम्म ४० किलोमिटर क्षेत्रमा सयौं घरटहरा भत्काउनुपर्ने सडक कार्यालयले लगत सार्वजनिक गरिसकेको छ । ढिलोचाँडो सडक सबैलाई फराकिलो चाहिन्छ, २५ मिटर नभइ १५ मिटर भत्काउने सहमति व्यवसायीहरुले दिएका छन् ।
मकवानपुर । अतिरिक्त हुलाक खारेज गर्ने सरकारको घोषणाले आफूहरूको ध्यानाकर्षण भएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मकवानपुरले बताएको छ । एसोसिएसनले अतिरिक्त हुलाक खारेज गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउदै आपत्ती समेत जनाएका छन ।
संघीय अर्थमन्त्रीले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै देशभरका अनिरिक्त हुलाक खारेज गरिने बताएका थिए ।
सरकारको उक्त कदमको बिरोध गर्दै एशोसियसन मकवानपुरका अध्यक्ष सानुराज शाह र केन्द्रिय महासचिव अर्जुन सापकोटालगायत एशोसिएसनको समूहले बुधबार जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यलय मकवानपुर र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय तथा प्रतिनिधिसभा सांसद दिपकबहादुर सिंह र महेश बर्तौलामार्फत् केन्द्रिय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
‘अतिरिक्त हुलाकमा मकवानपुर जिल्लामा १ सय १४ जनासहित देशभरका करिब १० हजार ५ सय ५८ कर्मचारी आवद्ध छन् । सरकारले अतिरिक्त हुलाक खारेज गर्दा उनीहरु सबै बेरोजगार हुन्छन् । त्यसकारण हुलाक खारेज गरिनुहुन्न’ ज्ञापनपत्र बुझाएपछि पत्रकारहरुसँग कुराकानीमा केन्द्रिय महासचिव सापकोटाले भने । अतिरिक्त हुलाक खारेजी गर्ने हो भने ती कार्यालय काम गर्दै आएका कर्मचारीलाई राज्यले जीवन निर्वाह स्वरुप केही रकम प्रदान गर्नु पर्ने उनी हरुको माग छ ।
‘अतिरिक्त हुलाक खारेजी गर्ने हो भने १० वर्षदेखि २० वर्षसम्म काम गरेका कर्मचारीलाई ५ लाख, २० देखि ३० वर्ष काम गरेकालाई ७ लाख, ३० देखि ४० वर्ष काम गरेकालाई ९ लाख र ४० वर्षभन्दा बढी काम गरेकालाई १० लाख रुपैयाँ दिएर मात्रै हटाउन हामीले सरकारसँग माग गरेका हौँ ।’ सापकोटाले भने ।
जिल्ला अध्यक्ष शाहले थोरै तलब सुविधामा पनि इमान्दारितापूर्वक काम गर्दै आएका कर्मचारीलाई सरकारले बिचल्ली पार्न नहुने बताए । उनले आफूहरुको माग राज्यले सम्बोधन नगरे चरणवद्ध आन्दोलन गर्न बाध्य हुने बताए । ‘राज्यले हाम्रो मागलाई बेवास्था गरेमा जिल्ला हुलाक सेवा बन्द गराउनेतर्फ हाम्रो आन्दोलन केन्द्रित हुनेछ । त्यसकारण अतिरिक्त हुलाक खारेजी नगर्न जोडदार माग गर्दछौँ ।’ उनले भने ।