मकवानपुर । अतिरिक्त हुलाक खारेज गर्ने सरकारको घोषणाले आफूहरूको ध्यानाकर्षण भएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मकवानपुरले बताएको छ । एसोसिएसनले अतिरिक्त हुलाक खारेज गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउदै आपत्ती समेत जनाएका छन ।
संघीय अर्थमन्त्रीले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै देशभरका अनिरिक्त हुलाक खारेज गरिने बताएका थिए ।
सरकारको उक्त कदमको बिरोध गर्दै एशोसियसन मकवानपुरका अध्यक्ष सानुराज शाह र केन्द्रिय महासचिव अर्जुन सापकोटालगायत एशोसिएसनको समूहले बुधबार जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यलय मकवानपुर र मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय तथा प्रतिनिधिसभा सांसद दिपकबहादुर सिंह र महेश बर्तौलामार्फत् केन्द्रिय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
‘अतिरिक्त हुलाकमा मकवानपुर जिल्लामा १ सय १४ जनासहित देशभरका करिब १० हजार ५ सय ५८ कर्मचारी आवद्ध छन् । सरकारले अतिरिक्त हुलाक खारेज गर्दा उनीहरु सबै बेरोजगार हुन्छन् । त्यसकारण हुलाक खारेज गरिनुहुन्न’ ज्ञापनपत्र बुझाएपछि पत्रकारहरुसँग कुराकानीमा केन्द्रिय महासचिव सापकोटाले भने । अतिरिक्त हुलाक खारेजी गर्ने हो भने ती कार्यालय काम गर्दै आएका कर्मचारीलाई राज्यले जीवन निर्वाह स्वरुप केही रकम प्रदान गर्नु पर्ने उनी हरुको माग छ ।
‘अतिरिक्त हुलाक खारेजी गर्ने हो भने १० वर्षदेखि २० वर्षसम्म काम गरेका कर्मचारीलाई ५ लाख, २० देखि ३० वर्ष काम गरेकालाई ७ लाख, ३० देखि ४० वर्ष काम गरेकालाई ९ लाख र ४० वर्षभन्दा बढी काम गरेकालाई १० लाख रुपैयाँ दिएर मात्रै हटाउन हामीले सरकारसँग माग गरेका हौँ ।’ सापकोटाले भने ।
जिल्ला अध्यक्ष शाहले थोरै तलब सुविधामा पनि इमान्दारितापूर्वक काम गर्दै आएका कर्मचारीलाई सरकारले बिचल्ली पार्न नहुने बताए । उनले आफूहरुको माग राज्यले सम्बोधन नगरे चरणवद्ध आन्दोलन गर्न बाध्य हुने बताए । ‘राज्यले हाम्रो मागलाई बेवास्था गरेमा जिल्ला हुलाक सेवा बन्द गराउनेतर्फ हाम्रो आन्दोलन केन्द्रित हुनेछ । त्यसकारण अतिरिक्त हुलाक खारेजी नगर्न जोडदार माग गर्दछौँ ।’ उनले भने ।

