मकवानपुर । साहित्य सङ्गमद्वारा मकवानपुरका ९ जना स्रष्टा सम्मान गरिएको छ । २०७९ सालमा साहित्य तथा अन्य विधामा पुस्तक प्रकाशन गरेका मकवानपुरे ९ जना स्रष्टालाई सङ्गमले सम्मान गरेको हो ।
शनिबार सङ्गमको ३ सय ३५ औँ साहित्य सन्ध्यामा उनीहरु सम्मानित भएका हुन । सङ्गमले ‘छेलिएका अनुहार’ पुस्तकका लेखक प्रताप विष्ट, ‘शिक्षकको भाषा’ का छवि अनित्य, ‘छैनौ कसोरी तिमी’ का पुरूषोत्तम आचार्य, ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ का मसान उपासक, ‘खुसी’ लघुकथा सङ्ग्रहका किशन पौडेल, कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ का सुभाषचन्द्र पौडेल, ‘कोरिएका धर्साहरू’ कविता सङ्ग्रहका ऋत्विक के. बी., ‘अभियुक्त समय’ कविता सङ्ग्रहका समर्पण न्यौपाने, ‘कठघरामा देश’ का सर्जक बिर्खे अन्जानलाई सम्मानित गरेको हो ।
साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्यामा सम्मानित स्रष्टाहरू के.बी, न्यौपाने,अनित्य,पौडेल,अन्जान,पौडेल भीमफेदीया तथा कार्यक्रमका समीक्षक हरिकृष्ण काफ्ले तथा शान्तिप्रिय वन्दनाले रचना वाचन गरेका थिए।
यसैगरी कविहरू दिनेश शर्मा,सुवास खनाल,जनार्दन खनाल,मनोज पोखरेल,कुवेर पराजुली,कृष्टिना कार्की,सरजु भण्डारी,दीपिका लम्साल,बिजनेस सन्जेल,प्रकृति अर्याल,अनसूया खनाल,रिजन राना,सुवास सजल,रोशनी चौलागाई,बैकुण्ठ लामिछाने,ठाकुराम भण्डारी,कमल नेपाल,विष्णु न्यौपाने,पुण्यशिला श्रेष्ठ, ऋषि के.बी,सानुभाइ विश्वकर्मा,लक्ष्मी कँडेल,ऋषिराम पाण्डे,ओमभक्त भण्डारी,स्वस्तिका बानियाँ,रजनी पौडेल, सम्प्रस पौडेल र सन्जित श्रेष्ठलगायतका स्रष्टहरुले रचना वाचन गरेका थिए।
साहित्यकार नवराज शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्य तथा सङ्गम अध्यक्ष डीबी बर्तौलाको सभापतित्वमा सम्मान तथा सन्ध्या भएकाे हाे ।
मकवानपुर । मकवानपुरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बसामाडी जेसीजको आयोजनामा जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिता असोज २४ गतेबाट हुने भएको हो ।
जेसीजले मगलबार हेटौंडामा पत्रकार भेटघाट गर्दै २१ औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता असोज २४ देखि २७ गतेसम्म संचालन गरिने जानकारी गराएको हो ।
जेसीआई बसामाडीका अध्यक्ष जनक भण्डारीले २० वर्षबाट निरन्तर रुपमा भइरहेको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिता निरन्तरताको लागि असोज २४ गतेबाट हुने जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका १२ देखि १५ वटा टिमको सहभागिता रहने भण्डारीले बताए । प्रतियोगिताको प्रथम हुने टिमले नगद ६० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ३० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
जेसीआई बसामाडीको २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले हात पारेको थियो ।
यस्तै प्रतियोगिताभर विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको लागि करिब साढे ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगितालाई हेटौंडाको स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्दै आएका छन् ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुर अध्यक्षमा डीबी बर्तौला निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा बर्तौलले ९७ मत ल्याउदै अध्यक्षमा निर्वाचित भएका हुन ।अध्यक्षका प्रत्याक्षी पुरुषोत्तम आचर्यले ८१ मत प्राप्त गरे ।
शनिबार भएको संगमको १६ औ अधिबेशनबाट बर्तौताको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचनबाट चयन भएको हो ।
कोषाध्यक्ष र सहसचिव पदका उम्मेदवार भने निर्विरोध भएका छन । कोषाध्यक्षमा मनु तिमल्सिना र सहसचिवमा भावना तिमल्सिना न्यौपाने निर्बिरोध निर्वाचित भएका हुन ।
अन्तिम मत परिणाम हेर्नुहोस
अध्यक्ष
डिबि बर्तौला : ९७ (विजयी)
पुरुषोत्तम आचार्य : ८१
उपाध्यक्ष
एस के निधन : ५६
सानू खनाल :१२१ (विजयी)
सचिव
मनोज पोखरेल : ११० (विजयी)
यश लामा : ६७
सदस्यहरु
कुबेर परजुली:८३ (विजयी)
कृतिका लौडारी : ९९ (विजयी)
मिनप्रसाद लामिछाने : ७६
रजनी पौडेल : १२४ (विजयी)
बैकुण्ठ लामिछाने : ७५
सिएम रिमाल : ७९
स्वस्तिका बानियाँ : ११८ (विजयी)
कुल मत : २४४
खसेको मत :१८२
बदर मत : ३
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा भएको अन्तर जेसीस फुटसल प्रतियोगिताको उपाधि सौराहा जेसीजले जितेको छ । फाइनलमा आयोजक प्रस्तावित मकवानपुरगढी जेसीजलाई ७–२ गोलान्तरले पराजित गर्दै सौराहाले जेसीज कप फुटसलको उपाधि हात पारेको हो ।
बिजेता सौराह जेसीसले उपाधीसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्दा मकवानपुरगढीले ५० हजारमा चित्त बुझायो । सौराहाको लागि जीत दिलाउन असिम भट्टराईले ४ र शिखर लम्सालले ३ गोल गरे । यस्तै आयोजकको तर्फबाट विवश थिङले सान्त्वना २ गोल गरेका थिए । सौराहले पालुङ जेसीजलाई र मकवानपुरगढीले वीरगञ्जलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगितामा अनुशासित टिमको उपाधी सूर्योदय जेसीजले प्राप्त गर्दा विधागत उत्कृष्ट पुरस्कार सौराहाका खेलाडीले प्राप्त गरे । उत्कृष्ट खेलाडी असिम भट्टराई, उत्कृष्ट गोलरक्षक सौगात रिजाल र सर्वाधिक गोलकर्ता शिखर लम्साल घोषित भइ नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिम तथा बिधागत उत्कृष्ट खेलाडीलाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
मकवानपुरगढी जेसीज (प्र) ले मकवानपुरगढी गाँउपालिकालाई नेपाल भरका जेसीजका शाखामाझ पर्यटन प्रवद्र्धधन, औद्योगिक प्रतिष्ठानहरुलाई खेलकुदमा लगानी गर्दै सामाजिक उत्तरदायित्व बहन एवम् खेलकुदको विकास गराउने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।
भदौ १५ र १६ गते मकवानपुरगढी फुटसल मैदानमा भएको प्रतियोगितामा १८ वटा समूहले सहभागिता जनाएका थिए ।
मकवानपुर । कुनै समय मकवानपुरमा बनेका ठेकी देशभरी बिक्रि हुन्थे । मानिसहरु खोजिखोजि मकवानपुरे ठेकी लिन आउथे तर अहिले यो लोभ भएको छ । यो ठेकी बन्ने काठ चाही के को हो भनेर सोध्यो भने यो दार हो भन्ने हामी मध्ये धेरैलाई थाहा छैन । मकवानपुर जिल्लामा दार करिव नगन्य र लोप हुने अवस्थामा छ ।
यसै तथ्यलाई मध्यनजर गरेर डिभिजन वन कार्यालय मकवानपुरले यसको प्रवर्धन गर्न अभियान नै संचालन गरिरहेको छ । अभियान अन्तरगत मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको विरुवाको वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा दारको संरक्षणको लागि वृक्षारोपण गरिएको हो ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै दार प्रजातीको विरुवाको संरक्षण गर्न सबैसँग आग्रह गरे । विश्वमा धेरै प्रजातीको विरुवा लोप हुदै गएको र यसले मानिसलाई संकटमा पार्न सक्ने भएकोले संरक्षण आवश्यक भएको दाहालले बताए । ‘दार, विजय साल, सादन लगायतका प्रजातीहरु लोप हुदै गएको र यसको संरक्षण गरि भावी पुस्तालाई उपहार दिनु पर्छ’ सचिव दाहालले भने ‘लोप हुन लागेका प्रजातीको संरक्षणमा लाग्न वनकर्मी, जनप्रतिनिधी, संरक्षणकर्मी, सामुदायिक वन, स्थानीय लगायतलाई आग्रह गर्दछु ।’ लोपोन्मुख प्रजातीको विरुवाको संरक्षण गर्न नेपाल सरकारले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिवद्धता जनाईसकेको हुँदा दारको संरक्षण गरि मकवानपुरको दारको ठेकीलाई आर्थिक उपार्जनको रुपमा विकास गर्नु पर्ने उनले बताए ।
डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाले यस क्षेत्र दारको लागि उपयुक्त स्थान रहेको हुँदा चरीचरण नियन्त्रण गरी दारको संरक्षण गर्न आग्रह गर्दै वन कार्यालयले सदैव सहयोग गर्ने बताए । बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले दारको संरक्षणमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा डिभिजवन वन कार्यालय राप्ती, मनहरी प्रमुख विष्णुप्रसाद आचार्यले मकवानपुरमा धेरै प्रकारका बहुमूल्य प्रजातीका विरुवाहरु रहेको बताउदै दारको संरक्षण गरी लोप भएको दारको ठेकीको पहिचान बचाउन सबैलाई आग्रह गरे ।
१ हजार दारको विरुवा रोपण गरिएको कार्यक्रममा बकैया गाउँपालिका–१२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, बकैयाका प्रमुख नरेश पुर्वे, मकवानपुरगढीका प्रमुख डटेन्द्र गोले, शिवम सिमेन्टका अच्युत अधिकारी, सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता थियो । दार संरक्षण समितिका अध्यक्ष मान बहादुर मुक्तानको सभाध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रम गरिएको हो ।
दार के हाे ?
नेपालीमा दार वा गित्थी वा पारो भनेर चिनिने यसको बोटानिकल नाम Pouzolzia rugulosa हो जुन Urticaceae परिवार अन्तर्गत पर्दछ । सन् २००९ बाट यसको बोटानिकल नाम Pouzolzia rugulosa लेख्न सुरु गरिएको छ । जर्मन वनस्पतिशास्त्री Georg Rutholf Boehmer को सम्मानमा यसको वानस्पतिक नाम बोइमर राखिएको हो ।
यो एक सानो देखि उचाईमा ३० फिट सम्म हुने मध्यम आकारको सदावहार रुख हो । यसको पातलाम्चो र लामो र टुप्पोतिर चुच्चो परेको, अल्टरनेट भई तीनवटा मुख्यनशाहरु र पातको किनारामा दाँतिहरु रहेको हुन्छ । पातको माथिल्लो सतहमा रातो थोप्लाहरु हुन्छन् भने तल्लो सतह नरम मखमली (सेतो) हुन्छ । पातको लम्बाई ५.५ देखि १८ सेन्टिमिटर सम्म लामो र २ देखि ४.५ से.मि. चौडाईको हुन्छ । यसको बोक्राको रंग गाढा खैरो भई माथिल्लो सतहमा स–साना मध्यम चतुर्रभुजाकार खस्रो र गहिरो चिरा वा धाँजाहरु फाटेको हुन्छ ।
यसको काठ गाढा रातो, मध्यम किसिमको कडापना तथा तौल भएको चिल्लो र समान वा एकैनासे दानादार हुन्छ । यसको फूल सानो हरियो रंगको भई साधारण किसिमको स्पाईक (सानो डाँक्ला) मा अडिएर रहेको हुन्छ । यसको फल दुबै तिर चुच्चो परेको सुख्खा, एकबिजिय हुन्छ । यो प्रकाश मन पराउने (Light Demander), सुक्खा खप्ने (Draught Hardy), तुषारो नसहने (Frost Tender) र पानि नजम्ने , हल्का भिरालो स्थानमा राम्रो संग हुर्कने प्रजाति हो । यसले साना बिरुवा हुँदा मुना राम्रो दिएतापनि ठुलो रुख भएपछी कम मुना मात्र दिन्छ ।
भौगोलिक वितरण (Geographic Distribution)
वन बिभाग (२०७७) अनुसार यो प्रजाति समुद्र सतहबाट ३०० देखि १७०० मिटरको उचाईमा नेपाल लगायत भारतको गढवाल तथा भुटान सम्म केही भिरालो तथा सुख्खा पाखाहरुमा पाईन्छ । नेपालमा यो प्रजाति प्रायजसो माथिल्लो उचाईको साल वन तथा १५०० मिटर सम्मको टुनी, चाँप, गमारी, सौरका वनमा पूर्वदेखि पश्चिम सम्म ३९ वटा जिल्लामा पाइन्छ । दारको मुख्य प्राकृतिक बासस्थानमा उदयपुर, धनकुटा, पाँचथर, इलाम क्षेत्र, मकवानपुर, चितवनको र नुवाकोटको त्रिशुली क्षेत्र, गोर्खा, तनहू पर्वतको काली गण्डकी किनार, पाल्पा, गुल्मी, दाङ्गको चुरे क्षेत्र, सल्यान,जारजरकोट, सुर्खेत, र डोटी र डडेधुराको चुरे क्षेत्र दारका जङ्गलहरू रहेका छन् ।
मकवानपुरमा दारको छुट्टै अध्ययन छ या छैन त्यसको तथ्यांक हामीसंग छैन तर हाम्रो छलफलको क्रममा पत्ता लागेको चाही मनहरी क्षेत्र, भैंसे भीमफेदी खण्ड, मकवानपुरगढी, ठिंगन, बागमतीको उत्तरी भेगमा यसको उपस्थिति ब्यापक थियो र अहिले थोरै भएपनि प्राकृतिक अवस्थामा र केहि निजि किसानको जग्गामा पाइएको छ । अन्यत्र कहाँ कहाँ कुन अवस्थामा छ खोजि र अध्ययन गर्नुपर्ने छ ।
उपयोगिताः
यसको सबैभन्दा बढी र हामीलाई थाहा भएको उपयोगिता चाही काठबाट बनाईने भाँडाकुँडाको लागि हो । यो प्रजातिको काठको स्पेसिफिक ग्राभिटी ०.६५ रहेको हुनाले तुलनात्मक रुपमा अन्यप्रजातिको भन्दा यसको तौल कम हुन्छ जसले भाँडाहरु तुलनात्मक रुपमा हलुका र सहज हुन्छन । यसको काठ मुलत पहाडी भेगमा विभिन्न किसिमका भाँडाकुँडाहरु जस्तै कप, प्लेट, हर्पे, दुँधेरो (दुधदुहुने भाँडो), ठेकी (दही राख्ने वा जमाउने भाँडो) आदि वनाउन प्रयोग गरिन्छ । यी काठका भाडाकुडामा खाध्य वस्तु भण्डारण गरेमा खाध्यवस्तुको स्वाद राम्रो हुने र दहि राम्रोसंग जम्ने विश्वास गरिन्छ । यसको अर्को अत्यधिक प्रयोग डालेघाँसको लागि हुने गरेको छ । गाईबस्तुले निकै मन पराउने हुनाले जंगलको प्राकृतिक अवस्थामा र किसानले सुक्खा याममा घाँसको रुपमा खपत गर्ने गरेका छन् । यसैगरी यसको औषधीय महत्व पनि रहेको छ ।
यो प्रजातिको बोक्रा काटेको घाउबाट रक्तस्राव रोक्न र घाँउ चाँडै निको गाराउनमा प्रयोग गरिन्छ । यसको वोक्रमाहुने चिप्लो पदार्थ सेल रोटी तथा कोदोको रोटी फुलाउनको लागि समेत प्रयोग गर्ने गरिन्छ भने छालामा फोका उठेमा सोको उपचारमा समेत स्थानीय समुदायहरुले यसको प्रयोग गर्ने गरेको पाईन्छ । त्यसै गरी यसको पातलाई कुटेर पेष्ट वनाई धाउमा र हाटखुट्टा भाचिएकोमा र मधुमेह रोगको परम्परागत ओषधिउपचारमा प्रयोग गरिन्थ्यो तर अहिलेको आधुनिक औषधि पद्धतिमा यो चलन क्रमश कम हुदैंछ । साथै यो कम्जोर, भिरालो जमिन, सुक्खा क्षेत्रमा पनि सहज हुर्कने हुनाले क्षतिग्रस्त जमिन र भू क्षयको पुनस्र्थापनामा निकै उपयोगी मानिन्छ ।
प्रसारण विधी र खेतीबिस्तार (Propagation and Cultivation)
यसको बीउ असोज देखि पौष महिनाको बीचमा पाक्ने गर्दछ । यसको बीउहलुका र १ मिलिमिटर (सानो बिउ) सम्मको हुन्छ । यसको नर्सरी प्रविधिअन्य धेरै मासिना बीउहुने वनप्रजातिको विरुवा उत्पादनसँग मिल्दोजुल्दो रहेको छ । बिउ संकलन गरेपछि नर्सरीको सफा जमिनमा माटोमा बालुवा मिक्स गरेर वा ट्रे मा वालुवा माटोको मिश्रणमा पातलो गरि छर्ने र त्यसमाथि पातलो बालुवा छरेर थोरै चिस्यानमा यसको बिरुवा राम्रो उम्रन्छ ।
सम्भव भएसम्म यसलाई प्लास्टिकको झिल्लीले छोप्ने वा छहारीको व्यवस्था गर्ने तर सिधै माथिबाट पानीको थोप्ला पर्न नदिने । पानीको ठुलो थोप्ला भएमा भाचिने र मर्ने हुन्छ । बढी पानि भएमा बिउ बगाउने र सानोमा नै बिरुवा मर्ने डर हुन्छ । सानोमा बिरुवा अत्यन्त सानो उम्रने हुँदा निकै स्याहार गर्नुपर्ने हुन्छ । यो प्रजातिको प्रसारण कलमी हाँगा कटिंग विधिबाट समेत गर्न सकिन्छ । पछी बिरुवालाई स्थानीय माग अनुसार साना वा ठुला पोलिथिन ब्यागमा सारेर वृक्षारोपण स्थलमा लगेर रोप्ने तर यो बिरुवालाइ गाईबस्तु र जंगली जनावरबाट जोगाउन सुरुमा नै बारबेरको राम्रो व्यवस्था गर्नु पर्दछ ।