मकवानपुर । हेटौंडा खानेपानी बोर्डका ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्न पाउने भएका छन् । बुधबार खानेपानी व्यवस्थापन बोर्ड र एनएमबी बैंकबीच अनलाइनमार्फत महसुल भुक्तानी गर्ने सहमती भएसँगै ग्राहकले पानीकाे महशुल अनलाइन मार्फत भुक्तानी सुविधा प्राप्त गरेका हुन् ।
अनलाइनमार्फत महसुल भुक्तानी गर्ने प्रणाली कार्यान्वयन गर्ने सहमतिपत्रमा बोर्ड अध्यक्ष प्रताप बिष्ट र बैंका प्रमुख कार्यकारी अधिकृत सुरेश उपाध्यायले हस्ताक्षर गरेका छन् । सहमतिसँगै बैंकाे इएनएमबी एपको उद्घाटन गरी शुभारम्भ समेत गरिएको छ। उक्त एप मार्फत खनेपानी उपभाेक्ताले पायक पर्ने स्थान तथा समयमा सहजै बिलकाे भुक्तानी गर्न सकिने भएको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले पानीको महसुल अनलाईन भुक्तानी गर्न मिल्ने भएपछि सहज हुने बताइन् । पानी अभावकै कारण कतिपय स्थानमा द्वन्द्व हुने गरेकाे बताउँदै उनले नेपालमा खानेपानी पर्याप्त स्रोत रहेकाेले समस्या नरहेकाे बताइन् । उनले पानीकाे स्राेत व्यवस्थापन गरी शुद्ध पिउने पानी जनतालाई वितरण गर्नु पर्ने जानकारी दिइन् ।
बोर्डकाे ग्राहक २७ हजार रहेकोमा ३० प्रतिशतले अनलाइनमार्फत नै महशुल भुक्तानी गर्दै आएका छन् । ६ महिनाअघिसम्म खानेपानी बोर्डमा महशुल तिर्न दैनिक २ सयभन्दा बढी उपभोक्ता कार्यालय परिसरमै लाइन लाग्ने गरेकामा अहिले आधाभन्दा धेरै घटेको बताइएकाे छ ।
खानेपानी बोर्ड अध्यक्ष विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरको मेयर लामाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष बिष्णुगोपाल महर्जन र एनएमबी बैंक हेटौंडाका शाखा प्रमुख उज्वल रिजाल लगायतको उपस्थिति रहेको थियो ।
बकैयाको पोल्टामा जिल्ला लिग क्वालिफाईको उपाधी
Tags: No Comments
मकवानपुर । मकवानपुर जिल्ला लिग क्वालिफाई फुटबल प्रतियोगिताको उपाधि बकैया युवा क्लबले हात पारेको छ ।
शनिबार पिप्ले–क्याम्पा रंगशाला हेटौंडामा भएको फाइनल खेलमा हेटौंडा १२ को पञ्चशिल युबा क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै बकैयाले उपाधि आफ्नो पोल्टामा पारेको हो । बकैयाको जितका लागि बकैया युवा क्लबका अभिषेक ब्लोनले २ र छेवंग लामा, सुजन गुरुङले एक एक गोलको योगदान गरे ।
छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पञ्चशील युवा क्बलले जनहित युबा क्लबलाई ३ –० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बकैया युबा क्लबले जनप्रवाह क्लबलाई १०–० गोलको फराकिलो अन्तरले हराउँदै उपाधी रक्षाको लागि फाइनल प्रबेश गरेको थियो ।
१२ टिमको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट फरवार्ड बकैयाका अभिषेक ब्लोन, वेस्ट डिफेन्डर बकैयाका तारा नेगी, वेस्ट मिडफिल्डर पञ्चशिल युबा क्लबका सुकरा राज गोले , गोलरक्षकमा बकैयाका सरोज ब्लोन , बेस्ट कोच कृस्ना लो र सर्वाधिक गोलकर्ता खेलाडीमा बकैयाका सुजन गुरुङ घोषित भए ।
फाइनल प्रबेश गरे संगै मकवानपुर जिल्ला लिगका लागि बकैया युबा क्लब र पञ्चशिल युवा क्लब छनोट भएको छ । ती दुबै क्लबले आगमी चैतमा हुने मकवानपुर जिल्ला लिग खेल्न पाउँनेछन् ।
२०७६ सालपछि एन्फा रेलिगेटेड लिग गर्नुपर्ने नियम लागू भएपछि मकवानपुरले लिग सुरु गरेको मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चनले बताए । करिब ४ लाख ८५ हजार लागत अनुमान गरिएकाे प्रतियाेगितामा बागमती प्रदेश खेलकुद परिषद् र नारायणी कलेज हेटौडाले सहयाेग रहेकाे थियो ।
युद्ध प्रसाद स्मृति सम्मानबाट आचार्य सम्मानित
Tags: No Comments
आचार्यकाे पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृह विमोचन

पुरूषोत्तम आचार्यकाे पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृह विमोचन गरिएको छ । शनिबार हेटौडामा आयोजित एक कार्यक्रमबीच आचार्यकाे जुनेली गृह विमाेचन गरिएकाे हाे ।
प्रगतिशील लेखक नवराज शर्मा. साहित्यकार निमेष निखिल प्राध्यापक निरा शर्मा, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, हेटौडा उपमहानगरपालिका ४ नं वडा अध्यक्ष नविन सिग्देल,प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी लेखक पुरुषोत्तम आचार्यलगायतले जुनेलीकाे गृह विमोचन गरेका हुन् । जुनेलीकाे गृह विमाेचनसँगै कृतिमाथि टिप्पणी गरिएकाे छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्राध्यापक निरा शर्मा, कमला बराइली र राजनीतिकर्मी प्रदीप वालाचनले आचार्यको कृतिमाथि टिप्पणी गरेका थिए ।
जुनेलीमाथि टिप्पणी गर्दै निमेष निखिलले लेखन र व्यवहारमा उस्तै रहेका कवि आचार्यको पुस्तकले जनयुद्धकाे चित्रण गरेकाे बताए । समाजमा रहेका शोषित र पीडित वर्गले भोग्नुपरेको अन्यायको पक्षमा बोलेको पुस्तकलाई जनयुद्धकाे ऐनाकाे रुपमा लिन सकिने उनले बताए । ‘जनयुद्ध समाप्त भई शान्तिप्रक्रिया पछिको समाजको अवस्थाबारे आचार्यले अर्काे पुस्तक प्रकाशन गरी चित्रण गर्नु पर्छ अनी मात्र पूर्णता पाउने छ’ उनले भने ।
प्राध्यापक निरा शर्माले साहित्यकाे एउटा विधा खण्डकाव्य रहेकाे तथा लोक लयमा आधारित जुनेली कृति द्वन्द्वात्मक भौतिकवादमा आधारित रही लेखिएको बताइन् । जुनेली शाेषक र शासितकाे कथा समेत भएकाेले हरेक व्यक्तिलाई नेपाली समाजको चरित्र चित्रण गरिएकाे उनले बताइन् । ‘समाजमा वर्गका आधारमा रहेका शोषित र शोषक रहेका छन् । उनीहरुकाे कथालाई जुनेलीले बाेलेकाे छ’ उनले भनिन् ।
यसैगरी अर्का टिप्पणीकर्ता कमला बराइलीले कृतिले दलितहरुकाे अवस्था चित्रण गरेकाे बताइन् । उनले भनिन् समाजका हरेक तहमा दासत्वकाे अवशेष रहेकाेले अव त्यस्ताे स्वीकार गर्न नसकिने बताइन् । निवर्तमान बागमती प्रदेश सभा सदस्य प्रदीप वालाचनले जुनेलीका पात्रका चरित्रहरूमा आफैंलाई पाउने बताए। ‘जनयुद्धकाे समयकाे सामाजिक विषयवस्तुलाई लेखकले यसरी उल्लेख गर्दा गर्व लाग्छ’ उनले भने ‘नारीहरूको दिनचर्या, बेहोर्नुपरेका हिंसा, गोठाले जीवनको चर्चा पुस्तकमा रहेकाेले आफ्नै जीवन तथा घरको कथा जुनेलीले बाेलेकाे छ ।’
कार्यक्रममा साहित्यकार आचार्यले जुनेलीका केही काव्य वाचन गरेका थिए । जुनेलीकाे कथामा रहेर कलाकारहरु आईपी आचार्य नमस्ने दिवाकर पराजुली र इलिसा पराजुलीले नाटक समेत प्रस्तुत गरेका थिए ।
प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षता तथा प्रगतिवादी लेखक नवराज शर्माको प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा प्रदेशसभा सदस्य माननीय प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानलगायतकाकाे आतिथ्यता रहेको थियो ।
मकवानपुर । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मानवीय सेवा मानव जीवनको सर्वोच्च काम भएको बताएका छन् । मकवानपुरको हेटौंडामा आज मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन गर्दै प्रम प्रचण्डले यस्तो बताएका हुन् ।
“मानवताको निम्ति पीडितहरूको निम्ति सेवा गर्नुभन्दा ठूलो धर्म केही पनि छैन” उनले भने “हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो प्रचलन पनि मन्दिरमा जाने भेटी चढाउने चलन छ, दानभन्दा ठूलो धर्म अरु केही छैन ।” राज्यले मानव सेवा आश्रमले गरेको कामको उच्चमुल्याङ्कन गर्ने उनले बताए । अर्थमन्त्री र अर्थ सचिवलाई पनि आश्रमबारे जानकारी गराउनुपर्ने उनले बताए ।
सहयोगापेक्षी सडक मानव मुक्त प्रदेशको अभियानमा प्रदेश सरकार नै लागेको बेला यो आश्रमको काम उच्च रहेको उनलेे बताए । सहयोगापेक्षि मानवहरुलाई उद्धार गर्नको निम्ति आश्रमलाई गाडीको आवश्यकता महसुस गरेको बताउँदै उनले भने “मैले यसबारे सहयोग गर्ने बचन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नै घोषणा गरेको थिएं, म सहयोग गर्न तत्पर छु । ” राष्ट्रिय सभागृहमा भनिएको कुराको कार्यान्वयन प्राविधिक कारणले ढिलो भएपनि अब रफ्तार लिने आश्वासन उनले दिए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव हुदैछ । खेल क्षेत्रको विकासका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना पौष ५ गेते देखि १७ गतेसम्म हुने बृहत् खेलकुद तथा व्यापार महोत्सवको लागि मूल आयोजक समिति गठन भएको छ ।
समिति अध्यक्ष वेष खड्गीको अध्यक्षतामा १०१ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन भएको हो ।खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको संयोजकत्वमा विभिन्न खेल संघका पदाधिकारी रहने गरी खेलकुद संयोजक समिति गठन गरिएको छ भने पूर्व अध्यक्षहरु रहेको सल्लाहकार समिति निर्माण भएको छ ।
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न खेलकुद प्रतियोगिता हुनेछ । महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीको महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुनेछ ।
यस्तै कराँतेको जिल्लास्तरी प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन हुनेछ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ ।
सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट भएको आम्दानीको करिब २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य रहेको अध्यक्ष खड्कीले बताए ।
‘मकवानपुर खेल क्षेत्रको उर्वरभूमी हो । आर्थिक अभावकै कारण धेरै खेलाडीले बीचमै खेल छोड्नुपरेको छ । आर्थिक अभावमा उपचार हुन नसकेको अवस्था छ’, अध्यक्ष खड्कीले भने, ‘यो सबै समस्याको समाधानका लागि आर्थिक जोहो गर्ने उद्देश्यले खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्न लागेका हौं । हाम्रो उद्देश्य पवित्र छ, तसर्थ सबै संघसंस्था र आम जिल्लाबासीबाट सहयोग प्राप्त हुनेमा विश्वस्त छौं ।’ महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने अध्यक्ष खड्कीले जानकारी दिए ।
महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा मकवानपुरमा क्रियाशिल खेलकुदसँग सम्बन्धित सबै संघसंस्थाको प्रतिनिधित्व रहने बताइएको छ ।