मकवानपुर । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले मानवीय सेवा मानव जीवनको सर्वोच्च काम भएको बताएका छन् । मकवानपुरको हेटौंडामा आज मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन गर्दै प्रम प्रचण्डले यस्तो बताएका हुन् ।
“मानवताको निम्ति पीडितहरूको निम्ति सेवा गर्नुभन्दा ठूलो धर्म केही पनि छैन” उनले भने “हाम्रो परम्परा हाम्रो संस्कृति हाम्रो प्रचलन पनि मन्दिरमा जाने भेटी चढाउने चलन छ, दानभन्दा ठूलो धर्म अरु केही छैन ।” राज्यले मानव सेवा आश्रमले गरेको कामको उच्चमुल्याङ्कन गर्ने उनले बताए । अर्थमन्त्री र अर्थ सचिवलाई पनि आश्रमबारे जानकारी गराउनुपर्ने उनले बताए ।
सहयोगापेक्षी सडक मानव मुक्त प्रदेशको अभियानमा प्रदेश सरकार नै लागेको बेला यो आश्रमको काम उच्च रहेको उनलेे बताए । सहयोगापेक्षि मानवहरुलाई उद्धार गर्नको निम्ति आश्रमलाई गाडीको आवश्यकता महसुस गरेको बताउँदै उनले भने “मैले यसबारे सहयोग गर्ने बचन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नै घोषणा गरेको थिएं, म सहयोग गर्न तत्पर छु । ” राष्ट्रिय सभागृहमा भनिएको कुराको कार्यान्वयन प्राविधिक कारणले ढिलो भएपनि अब रफ्तार लिने आश्वासन उनले दिए ।

