हेटाैंडामा “स्मृतिमा अप्सरा” वृत्तचित्र सार्वजनिक तथा श्रद्धाञ्जली कार्यक्रम (वृत्तचित्र सहित)
Tags: No Comments
मकवानपुर/ साहित्यकार अप्सरा तिम्सिना लम्सालको स्मृतिमा तयार पारीएको वृत्तचित्र “स्मृतिमा अप्सरा” सार्वजनिक गरिएको छ । आँचल साहित्य कला पुञ्जको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम तथा वृत्तचित्र सार्वजनिक गरिएको हो । वृत्तचित्र एनएस टेलीभिजनले तयार पारेको हो ।
भर्चुअल बसाईमा आयोजना गरिएको श्रद्धाञ्जली समारोह तथा वृत्तचित्र सार्वजनिक कार्यक्रममा साहित्यकार माया ठकुरीले अप्सराको स्मृत अझै ताजै रहेको बताउनु भयो । साहित्यकार अप्सराको रचना शत्तिको उच्च मुल्य रहेको बताउनु हुर्दै ठकुरीले भन्नुभयो “मोफसलमा रहेर उहाँले साहित्य सिर्जना, शिक्षण पेशा, परिवारक सामाजिक जिम्मेवारीबाट आफू समेत प्रभावित छु ।” “अप्सरा बहिनीले मलाई दिनु भएको उहाँका केही कृतिहरु मसँग अझै छन्, अब व्यक्ति हैन, पुस्तकालयलाई ति कृति उपलब्ध गराउने छु, उहाँको रचनालाई धेरैभन्दा धेरैले पढुन् भन्ने मेरो चाहाना सधैं रहने छ,” साहित्यकार ठकुरीले भन्नुभयो ।
साहित्यकार तिम्सिनाको स्वर्गारोहणपछि उहाँको स्मृतिमा तयार पारीएको वृत्तचित्रबाट उहाँलाई अझै चिनारी बढाएको कथाकार ललिता दोषिले बताउनु भयो । यसैगरी साहित्यकार तुल्सि थापाले सचेत सिर्जनशिल क्षमताकी धनि साहित्यकार अप्सराको साहित्यक भाषा अत्येन्तै मिठासपूर्ण भएको बताउनु भयो ।

कार्यक्रममा व्याङ्ग्यकार आर.सी चौलागाईं, साहित्यकारहरु उज्वल शर्मा भण्डारी,देवराज तिवारीलगातले उहाँको सपनालाई पूर्णता दिन सक्दा मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो । रमाइलो व्यवहार, मृदुभाषी स्वाभव सधैं स्मरणमा रहेको उहाँहरुले बताउनु भयो ।
साहित्यसँगै उहाँको शिक्षण सिप पनि अति नै राम्रो भएको नेपाल राष्ट्रिय शिक्षक संगठनका श्रीराम दाहालले बताउनु भयो । “उहाँले शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण योगदान गर्नुभएको थियो, स्थानीय संघसंस्थाहरुमा पनि उहाँको नेतृत्व रहेको थियो, आफ्नो तर्फबाट सके र भ्याएजति लगााब राख्ने स्वाभावको हुनुहुन्थ्यो” दाहालले भन्नुभयो ।
आँचल साहित्य कला पुञ्जकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार निरा शर्मा, सुबास खनाल, दीपक गौतम, शान्तिप्रिय बन्दना, गणेशकुमार पौडेल, डीबि बर्तौलालगायतले साहित्यकार तिम्सिनाको अभावले मकवानपुर र सिङ्गो राष्ट्रको लागि अपुरणीय क्षति पुगेको बताए । वक्ताहरुले स्वार्गिय साहित्यकार तिम्सिनाको कृति रचनाहरुको बारेमा स्मरण गरेका थिए ।
उहाँको स्मरणमा आँचल साहित्य कला पुञ्जले “स्मृति ग्रन्थ” प्रकाशनको अन्तिम चरणमा पुगेको आँचलले जनाएको छ । साहित्यकार स्वर्गीय अप्सरा तिम्सिना लम्सालको जीवनीमा आधारित वृत्तचित्र हेटौंडाको युट्युब च्यानल एन.एस. टेलिभिजनले सार्वजनिक गरेको हाे । एन.एस. टेलिभिजनका सम्पादक महेन्द्र ओझाको छायाङ्कन/सम्पादन र कृष्ण मरासिनीको चित्र सजावट तथा सञ्चारकर्मी अच्युत घिमिरे बुलबुलको आवाज रहेको वृत्तचित्र यहाँ हेर्न सक्नुहुने छ :
महिलामाथि अन्याय कहिलेसम्म ?
Tags: No Comments

सात महिनाको गर्भ लिएर उहाँ सम्बन्ध विच्छेदको लागि अदालत आइपुग्नु भयो । जिल्ला कानुनी सहायता समितिको परिसरमा भेटिनु भएको उहाँले गर्भको बच्चा जन्मञ्जेल पनि श्रीमानसँग बस्न सक्ने अवस्था नभएको बताउनु भयो ।
- मकवानपुर / घटना ‘क’ ‘श्रीमानसँग छुट्टिएर आफ्नो जीवन सहज होला भन्ने सोचेको थिएँ आज डेढ बर्ष वित्यो । अदालत धाईरहनु परेको छ । श्रीमानसँग रहदाको पीडा र यो परिस्थितीमा अदालत धाइरहनु पर्दाको पीडा उस्तै उस्तै छ । मुद्दा चलिरहदाको संघर्ष, कुरा काट्नेहरुको शब्दवाण हामी महिलाहरुको लागि धेरै पीडादायि छ’ उहाँले एकै स्वासमा भन्नुभयो । उहाँ अर्थात हेटौडा उपमहानगरपालिका– १७ की ३१ वर्षिय महिला ।
‘एक दिन हैन, दुई दिन हैन कति सहनु, मैले हिंसा सहेपछि उसलाई झन् हिम्मत जाग्दो रहेछ, घरमा सँधैको रडाको । अनि रोजे छुट्टीएर एक्लो हुने बाटो । अहिले लाग्छ, उबेला हिंसा चुपचाप सहेर बस्न भन्दा गाह्रो अदालत धाउनुमा छ । हरेक दिन यो भयो र उ भयो भनिरहन दिक्दारी, मानसिक पीडा, कहिले त मनोबल नै सबै हराउँछ, फेरी सारा हिम्मत जुटाउँछु र अदालतको बाटो लाग्छु ।’
पहिला एउटै विकल्प सम्बन्ध विच्छेद गरे दुईटा सन्तान मज्जाले पाल्न सक्छु भन्ने लाग्यो उहाँले भन्नुभयाे – ‘श्रीमानले दिनहुँ रक्सि पिएर मरणासन्न हुने गरि पिट्थे, बालबच्चाहरु समेत वास्ता नगर्ने, दिनरात झगडा गर्ने, पोईला जा भन्ने, अर्कासँग बात लगाउने जस्ता झन्झटबाट मुक्ति पाउन मुद्दा हालेर सम्बन्ध विच्छेद त गरियो तर त्यसबेला भएका सम्झौताहरु पूरा नहुँदा अदालत धाउँदा झन पिडाबोध भईरहने रैछ ।
सम्बन्धविच्छेद पश्चात् आमाको साथमा अदालत आईपुगेकि उनले अदालतको परिसरमा आफ्नो पीडा पोखिरहिन् । समस्यामा परेपछि समस्या निराकरणको लागि हामी अदालतको बाटो समाउछौं, अदालतले हामीलाई बिना झण्झट न्याय दिने गरोस् तब पो अदालतप्रति अझै सम्मान जाग्ने थियो ।’
घटना ‘ख’,
सात महिनाको गर्भ लिएर उहाँ सम्बन्ध विच्छेदको लागि अदालत आइपुग्नु भयो । जिल्ला कानुनी सहायता समितिको परिसरमा भेटिनु भएको उहाँले गर्भको बच्चा जन्मञ्जेल पनि श्रीमानसँग बस्न सक्ने अवस्था नभएको बताउनु भयो । आराम गर्नुपर्ने, पोषिलो तथा स्वास्थ्यबर्धक खाने कुरा खानु पर्ने बेलामा अदालतको ढोका ढकढक्याउन बाध्य भएको भन्दै उहाँले आफूमाथि चाँडै अदालतले न्याय दिलाउने आशा व्यक्त गर्नु भयो ।
कोरोना भाईरसको संक्रमणका कारण देशमा लकडाउन भएपछि सम्बन्ध विच्छेदको मुद्दा ह्वात्तै बढेका छन् । लकडाउनको समयमा अदालतहरु पनि बन्द भए, महिला हिंसाको घटनाहरु दर्तामा आएनन् तर, लकडाउन खुलेपछि महिला हिंसाको रुप देखिन थालेको छ । जिल्ला कानुन सहायत समितिकी अधिवक्ता अप्सरा बस्नेतका अनुसार अहिले उजुरीको दर बढेको छ ।
कामको शिलशिलामा छरिएर रहेका परिवार एकै छानामुनि हुँदा, काम नभई घरैमा बेरोजगारी बनेर बस्दा उब्जने मानसिक विचलन लगायतको सर्वत्र प्रभाव महिलामाथि परेको अधिवक्ता बस्नेतले बताउनु भयो । लकडाउनपछि अदालतहरु खुलेलगत्तै जिल्ला अदालतमा दैनिक ४/५ वटा मुद्दा सम्बन्ध विच्छेदका लागि नै दर्ता भएको जिल्ला अदालतले जनाएको छ ।
जिल्ला अदालत मकवानपुरको तथ्याङक अनुसार अदालतमा दर्ता भएका २ हजार ३५ मुद्दा मध्ये ५ सय ३१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन । ५ सय ३१ वटा मुद्दा मध्ये ३ सय ८० ओटा फैसाला भैसकेका छन भने अझै १ सय ५१ वटा सम्बन्ध विच्छेदका मुद्दा फर्स्यौट हुन बाँकी नै रहेका छन ।
धेरैजसो सम्बन्ध विच्छेका कारक तत्वहरुमा घरेलु हिंसा, श्रीमान अर्को केटीसँगको सम्बन्धमा रहनु नै भएको माईती नेपाल मकवानपुर संयोजक माया लामा बताउनुहुन्छ । त्यसैगरी पछिल्लो समय आजकल सम्पतिको लागि पनि सम्बन्ध विच्छेद हुने गरेको लामाले बताउनु भयो । सम्बन्ध विच्छेदका कारण सबैभन्दा बढि बालबालिकाहरुको स्याहार सुसारमा पर्ने गरेको छ । मेलमिलापमा सम्बन्ध विच्छेद भएको छ भने बच्चा कोसँग बस्ने राख्ने पहिले नै यकिन भैसकेको हुन्छ भने मेलमिलाप बाहेकका सम्बन्ध विच्छेदमा भने बालबालिकाहरुलाई परामर्श दिएर पठाउने गरेको पाईएको छ ।
मुलुकी संहितामा सम्बन्ध विच्छेदको दायरा फराकिलो बनाएसँगै अदालतमा यसबारे मुद्दाको चाप बढेको छ । श्रीमान श्रीमति सम्बन्ध विच्छेद गर्ने सवालमा आपसमा राजि भएर अदालत आउने हो भने, मुद्दाको किनारा पनि चाँडै लाग्ने गरेको छ । मिलेमतोमा भने आजकल धेरै सम्वन्धविच्छेद हुने गरेको उहाँको भनाई छ । यदि श्रीमतिले चाहेको खण्डमा कुनै पनि सम्पति नलिने सर्तमा तीन दिनमा सम्बन्ध विच्छेद हुने र यदि अंशवण्डाको केश भएमा भने एक वर्षसम्म मुद्दा लम्बिने गरेको लामाले बताउनु भयो ।
मुद्दाको सङख्या केहि वर्ष यता बढ्दो
मकवानपुर जिल्ला अदालतमा केहि वर्ष यता मुद्दा चापमा बृद्धि हुन थालेको छ । गत आर्थिक वर्षमा कोभिड १९ का कारण बन्दाबन्दि हुनुपुर्व अघिल्ला आर्थिक बर्षको सोहि अबधिको भन्दा धेरै मुद्धा दर्ता भएको मकवानपुर जिल्ला अदालतका श्रेष्तेदार तिर्थराज भट्टराईले बताउनु भयो । आर्थिक वर्ष ०७४।०७५ मा मकवानपुरमा एक हजार ३ सय ३५ वटा मुद्दा दर्ता भएका थिए । यस्तै ०७५।०७६ मा १ हजार ४ सय १९ वटा मुद्दा दर्ता भएका थिए भने गत आर्थिक वर्षमा बन्दाबन्दि भन्दा अगावै १ हजार १ सय ४८ वटा मुद्दा दर्ता भएको श्रेष्तेदार भट्टराइले बताउनु भयो । गत आर्थिक वर्षमा ७० प्रतिशत भन्दा माथि मुद्दा फर्स्यौट गर्ने लक्ष्य भए पनि बन्दाबन्दिका कारण काम प्रभाबित भएको उहाँको भनाइ छ ।
एक वर्ष भित्रै मुद्दा फर्स्यौट गरिसक्ने तयारी
जिल्ला अदालत मकवानपुरमा ११ वटा मुद्दा दुइ वर्षसम्म फर्स्यौट हुन सकेका छैनन । कतिपय मुद्दाहरुमा बादी प्रतिबादि उपस्थित नहुने, प्रतिबादि फरार रहने विभिन्न जग्गा सम्बन्धी मुद्दामा फिल्ड भ्रमण गर्नु पर्ने लगायतका कारण मुद्दाहरु धेरै समय सम्म रहेको भट्टराईले बताउनु भयो । अब चालु आर्थिक वर्षबाट भने एक वर्ष भित्रमा नै सबै मुद्दा फैसाला हुने गरि योजना बनाइएको उहाँको भनाइ छ ।
५५ प्रतिशतभन्दा धेरै मुद्दा फैसाला
गत आर्थिक वर्षमा मकवानपुरमा ५ सय ३१ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा जिल्ला अदालत मकवानपुरमा १ हजार १ सय ४८ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७५।०७६ का ८ सय ८७ वटा मुद्दा जिम्मेवारी सरेर गत आर्थिक वर्षमा आउदा कुल २ हजार ३५ वटा मुद्दा भएका थिए ।
२ हजार ३५ वटा मुद्दा मध्ये १ हजार १ सय २१ वटा मुद्दाको अन्तिम किनारा लागिसकेको जिल्ला अदालत मकवानपुरका श्रेष्तेदार भट्टराइले बताउनु भयो । ९ सय २१ ओटा मुद्दा भने चालु आर्थिक बर्षमा सरेका छन् । गत आर्थिक वर्षमा १ सय ९६ वटा लागु औषध,६१ वटा जबरजस्ती करणी, ७४ वटा सवारी ज्यान सम्बन्धी मुद्दाहरु दर्ता भएका थिए ।
मकवानपुर / विगत ६ वर्षदेखि स्वास्थ्य उपचारमा समस्या भोग्दै आएको भिमफेदी कारागारमा अब छुट्टै स्वास्थ शाखा तयार गरिएको छ । कारागार भित्रको स्वास्थ्य शाखामा जानको लागि स्वास्थ्यकर्मीहरु उत्साहि नहुने र आर्थिक व्यवस्थापनमा समेत सधैंजसो समस्या हुने गरेको कारण कैदीबन्दीहरुलाई व्यवस्थित स्वास्थ्योपचार सेवा हुन सकेको थिएन ।
प्रेसर,सुगरलगायतको औषधि नियमित सेवन गर्नुपर्ने कैदीबन्दीहरुलाई समेत यस अघि औषधि उपलब्धतामा समस्या थियो । हाल कारागारको बाहिरी परिसरमा अक्सिजन सहितको २ शैयाको छुट्टै मेडीकल कक्ष स्थापना गरिएको कारागार प्रशासन प्रमुख प्रकाश खनाल बताउनु भयो । ‘कारागारको आन्तरिक प्रशासनलाई मेडीकलको व्यवस्था गर्न दिन विभिन्न चुनौति हुने देखिएपछि आफ्नै निगरानिमा रहने गरी छुट्टै मेडीकल कक्षको व्यवस्था गरे’ खानालले भन्नुभयो ।
नेपाल हेल्थ सोसाइटीको सहयोगमा एकजना स्टाफ नर्स उक्त मेडीकलमा रहने व्यवस्था प्रशासनले गरेको छ । खनालका अनुसार ८१ प्रकारका औषधिहरु हाल व्यवस्था गरिएको छ भने झण्डै ३ महिनालाई पुग्ने सेनिटाइजर मौज्दात रहेको छ । मेडीकल व्यवस्थापनको लागि छुट्टै बजेट प्राप्त नहुँदा, आन्तरीक खर्च कटौति गरेर हालको व्यवस्था गरिएको उहाँले बताउनु भयो । मेडीकल कक्ष अबकाे २/३ दिन भित्र मै सुचारु गर्ने गरी तयारी थालिएको उहाँले बताउनु भयो ।
कोरोनाबाट सुरक्षित कारागार
कारागारमा हाल ९ सय ३१ जना कैदीबन्दी रहेका छन् । हावापानीको दृष्टिले समेत अति उत्तम रहेको यो कारागारमा कैदीबन्दीको सधैं चाप हुने गरेको छ । कोरोनाको संक्रमणको कारण लकडाउन जारी रहदा पनि अदालतहरु चल्न थालेपछि कैदीबन्दीहरु ल्याउने लैजाने कार्य जारी रहने नै भयो । कारागार प्रशासनको उच्च सतकर्ताको कारण हालसम्म कारागारभित्र कोरोना संक्रमण नभेटिएको खनालले बताउनु भयो ।
उहाँका अनुसार कारागारभित्र २ वटा क्वारेण्टाइन निर्माण गरिएको छ । जसमा लकडाउनको अवधिमा ११ जनासम्म कैदीबन्दी राखिएको थियो । हाल उक्त क्वारेण्टाइनमा २ जना कैदीबन्दी रहेको खनालले बताउनु भयो । ‘कारागारमा दीर्घ रोगि तथा वृद्धहरु समेत भएकोले धेरै नै स्वास्थ्य सतकर्ता अपनाएका छौ’ उहाँले भन्नुभयो । कोरोना संक्रमणको कारण कैदीबन्दी भेटघाटमा समेत उच्च स्वास्थ्य सतकर्ता अपनाउने गरिएको उहाँले बनाउनु भयो ।
कारागार मै थन्कियो कैदीबन्दीको सिर्जना

कोरोना संक्रमणको कारण लकडाउन भएपछि कैदिबन्दीहरु पनि मारमा परेका छन् । कारागार भित्र रहदा मन बहलाउँदै तयारी गरिएको बाँसका मुडा, माला (पोते), गलैचालगायतको सामग्री खपत नभएपछि मकवानपुरको भिमफेदी गाउँपालिकामा रहेको भिमफेदी कारागारमा तयारी अवस्थाका सामग्रीहरु भण्डारणमा नै थन्किएका छन् । कोरोना संक्रमणको कारण नेपालमा लकडाउन हुनुभन्दा अगावैदेखिका उत्पादनहरु कारागारको भण्डारण कक्षमा थन्केका छन् ।
कारागारमा उत्पादन गरिएका यस्ता सामग्रीको मुख्य बजार चीन हो । चीनमा कोरोना संक्रमण सुरु भए लगतै माग आउन बन्द भएको कारागारका चौकिदार सुरेश मोक्तानले बताउनु भयो । ‘हाम्रा उत्पादनहरु अब कुहिने डर भयो, सरकारले विकल्प खोजिदिनु प-यो’ उहाँले भन्नुभयो ।
कारागार प्रशासनका अनुसार यहाँ बाँसका मुडाहरु मात्रै ३ हजार थानभन्दा बढी छन् । विश्वव्यापि माहामारीको कारण उत्पादित सामग्रीहरुको खपत रोकिएको र कच्चा पदार्थ ल्याउनमा समेत समस्या भएको कारागार प्रशासन प्रमुख प्रकाश खनालले बताउनु भयो । कार्यालय, घरहरु तथा होटलहरुमा प्रयोगमा ल्याइने ठुला मझौला तथा साना विभिन्न आकारका डाइनिङ टेबल, तथा कुर्सि आकारमा मुडाहरु कारागारमा थन्किएका छन् ।

कारागारमा निर्माण भएका मुडाहरु अतेन्तै बलियो र आकर्षक भएको भिमफेदी गाउँपालिका उपप्रमुख पार्वती रानाले बताउनु भयो । ‘एकदम राम्रा र बलिया मुडाहरु निर्माण हुन्छन् तर खपत मै समस्या देखिएको छ’ उपाध्यक्ष रानाले भन्नुभयो । कारागारमै आएपछि एकअर्काबाट सिकेर विभिन्न सिपको विकास गर्दै थोरै भएपनि आम्दानीको स्रोतको रुपमा लिइएको गलैचा उद्योगहरुको उत्पादनले बजार नपाएपछि समस्या भएको कारागारका चौकिदार मोक्तानले बताउनु भयो ।
साउन लाग्दैछ । धार्मिक आस्था राख्नेहरुका लागि यो महिना विशेष मानिन्छ । साउनलाई ‘पवित्र महिना’को रुपमा लिने गरिन्छ । त्यही कारण यस अवधिमा शरीरलाई शुद्ध राख्ने, भक्ति-आराधना गर्ने, सात्विक भोजन लिने गरिन्छ । अर्थात साउनमा मासुजन्य वा गरिष्ठ एवं तामासी परिकार त्याग्नु उपयुक्त मानिन्छ । कतिपयले प्याज, लसुन जस्ता खानेकुरा समेत त्याग्ने गर्छन् ।
साउन महिनामा माछामासु त्याग्नु उपयुक्त मानिन्छ ? के यो धार्मिक आस्थासँग मात्र जोडिएको कुरा हो ?
खासमा धार्मिक विधी–विधानहरु जीवन पद्धतीसँग जोडिएको छ । साउन महिनामा माछामासु त्याग्नु वा सात्विक भोजन ग्रहण गर्नुको पछाडि पनि खास अर्थ छ ।
वर्षायाम, संक्रमण र पाचन तन्त्र
साउन मध्य वर्षाको सिजन हो । वर्षायाममा संक्रामक रोग फैलने भय उच्च हुन्छ । यसबेला भाइरल ज्वरो, हैजा, मलेरिया, डेंगु, टाइफाइड, जन्डिस, चिकनगुनिया, पेटको संक्रमण, हेपटाइटिस जस्ता संक्रामक रोगले सताउन सक्छ ।
साथसाथै झिंगा, लामखुट्टे, साङ्ला आदिको प्रजनन दर बढ्ने वा फैलने भएकाले यिनै माध्यामबाट विभिन्न संक्रमण सर्ने जोखिम हुन्छ । अर्कोतिर खानेकुरा चाडै सड्ने, गल्ने हुन्छ । लामो समय राखिएको सलाद, बासी खानेकुरा एवं सागपात समेत अस्वस्थ्यकर हुनसक्छ ।
अर्कोतिर वर्षायाममा पिउने पानी दुषित हुन्छ । धेरैजसो स्थानमा दूषित पानीकै कारण हैजा फैलने गर्छ । त्यसैले वर्षायाममा शारीरिक स्वास्थ्य कायम राख्नु चुनौतीपूर्ण हुन्छ । यतिबेला हामी संक्रामक रोगको चपेटामा पर्न सक्छौं ।
त्यसो त यस वर्षायामको समयमा हाम्रो पाचन यन्त्र पनि कमजोर हुन्छ । खानेकुराहरु पचाउने क्षमतामा ह«ास आउँछ ।
यसरी खानपानकै कारण विभिन्न रोग लाग्ने भय भएकाले साउनमा उपवास वा सात्विक भोजन उपयुक्त हुने देखिन्छ । साउन महिनाको हरेक सोमबारलाई विशेष दिन मानिन्छ र त्यस दिन भगवान शिवको पूजा आराधाना गरिन्छ । यस दिन शरीर शुद्ध गरेर उपवास बस्ने गरिन्छ । यसर्थ यो महिनाभर चार वा पाँच पटकसम्म उपवास बस्ने प्रचलन छ ।
उपवास एक धार्मिक विधान हो । यद्यपि यो पाचन यन्त्रसँग जोडिएको एक वैज्ञानिक विधी पनि हो । उपवासको क्रममा जब हामी कुनैपनि अन्न ग्रहण गर्दैनौं, पाचन यन्त्रले विश्राम पाउँछ । पाचन प्रणाली सुधार्ने एवं बलियो बनाउने प्राकृतिक काइदा हो यो ।
उपवासको क्रममा वा भोकै बस्दा खानेकुराको तलतल लाग्न सक्छ, वेचैनी वा छटपटी हुनसक्छ । त्यसैले यतिबेला आफुलाई भक्ति–आराधनामा लगाइयो भने मन अन्यत्र भड्किदैन । आस्था एवं श्रद्धाले मनलाई शान्त र स्थिर राख्छ । त्यसैले पूजा–आराधना पनि शारीरिक र मानसिक स्वास्थ्यसँग जोडिएको छ ।
अन्धविश्वास कि विज्ञान ?
साउनमा पूजाआजा गर्नु, शारीरिक शुद्धतामा ख्याल गर्नु, सात्विक खानपान अपनाउनु परम्परादेखि चलिआएको विधी–विधान हुन् । यसलाई धर्मसँग जोडिएका कारण कतिपयले अन्धविश्वास भनी तर्क गर्ने गरेका छन् । जबकी यि विधी विधानको पछाडि वैज्ञानिक अर्थ भेटिन्छ ।
वर्षायाममा संक्रामक रोग फैलने र पाचन यन्त्र समेत कमजोर हुने भएकाले यतिबेला सात्विक एवं सुपाच्य खानेकुरामा जोड दिइएको बुझिन्छ ।
माछामासु छाड्नैपर्छ ?
माछामासु छाड्नैपर्छ भन्ने छैन । यद्यपि खानपानमा आवश्यक सर्तकता भने अपनाउनै पर्छ । वर्षायाममा खानेकुरा पोषण भन्दा पनि रोगको स्रोत बन्ने भय हुन्छ । यतिबेला तामासिक वा मसलेदार, चिल्लो–चाप्लो, मासुजन्य परिकारले पेटको संक्रमण एवं पाचन यन्त्रको समस्या निम्त्याउन सक्छ ।
कतिपयले माछामासु छाड्नै सक्दैनन् । यस्तो अवस्थामा मासुको मात्रा कम र साग–सब्जीको मात्रा बढाउन सकिन्छ ।
मकवानपुर / १८ वर्ष अगाडी विवाहको पूर्वसन्ध्यामा उनीसंग मिठामिठा कल्पनाहरु थिए । विवाहपछिको कर्म घरसंग जोडिएका परिवारका सदस्यहरुमाथि प्रयाप्त माया, ममता, सदभाव भरौंला । उनीहरुबाट पनि उसैगरी मायाममता, स्नेत, तथा आडभरोसा पाइएला । नयां सदस्यहरुबीच सुन्दर संसार बसालाैला ।
हरेक कुरामा जीवन साथिको साथ जनमभर पाइएला, दुखसुख त सबैलाई आउँछ, तर मिलेर मुकाविला गरौंला । उनी अर्थात मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेकी सरस्वती विश्वकर्माको मनमा यस्तै मिठा कल्पना थिए १८ वर्ष अगाडी । तर त्यो कल्पना, कल्पनामै सिमित भैदियो, जीवनसाथीको साथ जनमभर हैन, एक वर्षपनि बितेन सोचे जसरी । १७ वर्षको उमेर हेटौंडा–११ स्थित कृष्णबहादुर विकसंग विवाह गरेकी सरस्वतीलाई विवाहको केही महिनामै श्रीमानले मरणासन्तहुने गरी पिट्न थाले ।
आफ्नो लागि आवश्यक सानासाना सामानहरु (सिन्दुर चुरा पोते) किनिमाग्दा पनि पिटाइ खेप्नुपर्ने दैनिकी सुरु भए सरस्वतीका । विस्तारै ठिक होला, श्रीमानको व्यवहार सुध्रेला भनेर सहेरै बसिन, आफूमाथि हुनेगरेको पीडादायिको व्यवहारको बारेमा माइती वा कतै भनिनन् । विवाहको पछिल्लो साल (१८ वर्षको उमेरमा) छोरा जन्मियो । उनीसंगै छोराको लागि आवश्यक सामग्रीहरु पनि किन्न पर्ने दिन आए । यसै पनि सरस्वतीको खर्च बढ्यो । उनको आफ्नो आयस्रोत नभएको कारण पूर्ण रुपमा श्रीमान कृष्णबहादुरमाथि आश्रित थिइन् । त्यसमाथि काखे बच्चा । सरस्वतीका अनुसार उनका श्रीमान कृष्णबहादुर निर्माण मजदुरको रुपमा कार्यरत हुन् ।
दिनभर काम गरेर साँझ फर्कदा मदिरा सेवन गरेर फर्केने र आफूलाई मरणसन्न हुने गरि पिट्ने गरेको कारण आफ्नो स्वस्थ्य रोगि हुदै आएको उनी बताउँछिन् । “माग्दा पैसा नदिने, उपचार गर्न नलैजाने, उल्टै दिनहुँ पिटाई कति सहनु” उनी भन्छिन् “सबैतिरको आश मारेर, मर्ने सोच बनाएर विष खाएँ तर माइतीले थाहा पाएर अस्पताल पुर्याएछन् र फेरी बचाए ।” उनी भन्छिन् “त्यसपछि त श्रीमानले झनै वास्तै गर्न छाड्यो ।”
“न राम्रो खान दिनु न लगाउन, पैसा कहिल्यै नदेखाउने भएपछि उपचार कसरी गर्नु । उनको मुटुको भल्बले नै काम गर्न छाडेको थियो । लालनपालनको निहुँमा दिनहुँ घर झगडा र पिटाई भोग्दै आएकी सरस्वतीको मुटुमा पाइप राख्नुपर्ने र उपचारमा धेरै खर्च लाग्ने निश्चित भएपछि कृष्णबहादुरले झनै वास्ता गर्न छाडेको सुनाउँछिन सरस्वती । माइतीको सहयोग तथा दाताहरुको चन्दाबाट ७ लाख रुपियाँ खर्चेर ८ वर्ष अगाडी मुटुको भल्ब फेरेर बाँचेकी सरस्वतीलाई श्रीमान कृष्णबहादुरले “अंश माग्न बाँचेकी” भन्दै पिट्नेक्रम जारी राखे ।
अहिले मासिक १ हजार ४ सयको औषधि खर्च मकवानपुर जिल्ला दलित महिला संघले सहयोग गर्दै आएको छ । पारिवारीक बिमेलको कारण छोरा पढ्नबाट बञ्चित भयो । माइती र दिदीबहिनीको आडमा कोठामा बस्दै आएकी सरस्वतीको १७ वर्षिय छोरा अहिले भारतमा काम सिक्दैछ । धेरै बोल्दा र तनाव लिंदा छाति र मुटु बेस्सरी दुख्छ” सरस्वती भन्छिन् “लामो समय धेरै नै पीडा सहेर बसे, अब अंश लिएर छुट्टिए सुखको श्वास फर्नेछु ।”
१८ वर्ष लगातार हिंसा भोग्दै र सहदै आएकी सरस्वती भन्छिन् “पैसाले श्रीमान्–श्रीमतीको जस्तो सम्बन्धमा पनि फाटे ल्याउने रहेछ । जिन्दगीमा के सोचेको थिए पैसा नहुदा सबै सपना उडे ।” उनी भन्छिन् “मैले फजुल खर्चको लागि कहिल्यै पैसा मागिन, उसले कमाएको हिसाब पनि कहिल्यै खोजिन तर अतिआवश्यक पर्दा, २/४ पैसा मागेकै निहुँमा पिटाई र गालि नभोगेको नसुनेको दिन भएन ।” जिल्ला कानून सहायता समितिमार्फत निशुल्क मुद्धा लडेर उनी अहिले श्रीमानसंग अंश लिने अन्तिम चरणमा छिन् ।
मकवानपुर जिल्ला पदमपोखरीकी ३७ वर्षिय शोभा स्याङ्तान श्रीमानसंगको अंश मुद्धाटुङ्गो लागेपछि मालपोत कार्यलयमा जग्गा कित्ताकाटको लागि लाइनमा भेटीइन् । २०७३ चैत्र महिनामा जिल्ला कानून सहायता समितिमार्फत अंश मुद्धा दायर गरेकी शोभा झण्डै २ वर्षको अन्तरालमा अंश आफ्नो नाममा गरेर श्रीमानसंग छुट्टीदै छिन् । उनी भन्छिन् “छुट्टिनु पर्दा मलाई अहिले पनि रमाइलो लागेको छैन ।”
२०६४ सालमा मागि विहे गरेकी शोभाले विहेको केही दिनबाटै श्रीमानको हेंला गालि र पिटाई सहन सुरु गरिन् । सधैंजसो रात भागेर/लुकेर काट्नु पर्ने उनको बाध्यता थियो । “भान्छामा नुन,तेल,चामल सकिएपछि भन्न परीहाल्यो, भन्यो कि पिटाई खाइन्थ्यो,” शोभा भन्छिन् “आफ्नो कमाइ नभएपछि श्रीमानबाटै हेलाको जिन्दगी बाँच्नुपर्ने रहेछ ।” शोभाका अनुसार पैसा र घरेलु आवश्यकताका कुनै पनि कुरा उनले श्रीमानलाई सुनाउनै हुन्नथ्यो । साँझ रक्सी खाएर आउने र “तँलाई पैसा चाहिएको थियो हैन भन्दै कलह सुरु हुने । खुकुरी लिएर सिधैं काट्न तयार हुने गर्दथे उनका श्रीमान सूर्यबहादुर रुम्बा । “एक दशक त्रासमा बाँचे, केही काम गरौंला र आफैं पैसा कमाउला भन्ने आशमा धेरै समय गुजारे” शोभाले भनिन् “पढेको छैन,जागिर पाइन्न, खेतिपाति गरेर उब्जाउ गरेको उनैको हुने मैले कहाँबाट पैसा कमाउनु ?”
शोभाको श्रीमान ४० वर्षिय सूर्यबहादुर रुम्बा मालपोत कार्यालय परिपरमै भेटिए । शोभाको लागि अंशको जग्गा कित्ताकाट गर्न आएका उनीसंग कुरा गर्नखोज्दा उनले घरेलु मामिला भन्दै बोल्न चाहेनन् । “अदालतसम्म पुगेर टुङ्गेको कुरा अब किन पत्रकारलाई भनिराख्नुपर्यो” सूर्यबहादुरले भने । “श्रीमतीहरुले पनि हामीलाई पाल्दे के फरक पर्छ र ?” उनले हाँसोको शैलीमा यत्ति भने ।
विवाह भएको केही महिना पनि नबित्दै श्रीमानले आफ्नो लागि आवश्यक आर्थिक सहयोग केही नगरेपछी शोभाको लागि माइती नै सबै थोक भैदियो । घर–माइति नजिकै भएको कारण पनि उनी सबैजसो आवश्यक कुराको जोहो माइती कै भरमा पुरा गर्दै आइन् । श्रीमानले बिरामी हुँदा उपचार समेत नगरिदिएपछि स्वास्थ्य उपचार, लत्ताकपडालगायतमा माइतीबाटै दाजुभाइ र बहिनीहरुले सहयोग गर्न थाले ।
“उपचार खर्च माग्दा मेरो पैसा सिद्धाउने भइस् मलाई छोडेर जा बरु भन्दै कुट्थे” शोभा भन्छिन् “कहिल्यै पैसा दिएको थाहा भएन, पैसा माग्दा जहिले लात्तिले हान्नेगर्थे, म सकेसम्म किन घर बिगार्नु भनेर सहेर बसेको १० वर्ष ।” निर्माण मजदुर उनका श्रीमानले पैसा कमाए पनि रक्सि खाएर सिद्धयाउने गरेको तर घरको आवश्यकतालाई बेवास्ता गर्ने गरेको शोभाको बुझाई छ । “रक्सि नखाई कहिल्यै घर नआउने, खाएर आएपछि कहिल्यै राम्रो व्यवहार नगर्ने, जहिले पनि निस्केर जा भन्ने, ननिस्कीए खुकुरीले हान्न तयार हुने” शोभाले स्मरण गरिन् “कहिले गाउँले आएर बचाउँथे कहिले नजिकैको माइती गएर लुक्थे ।”
शोभा आफ्नो खेतबारीबाट पनि आर्जन गर्थिन तर त्यसको मूल्य कहिल्यै नभएको उनी बताउँछिन् । “काम त मैले पनि गर्थे नि, खेतबारीमा । तर त्यो सबै उनैको हुने मैले कसरी पैसा कमाउने त” शोभा भन्छिन् “घरगोठ र खेतिपातिमा हामीले गरेको कामको पैसा आउन्न, पढेको छैन जागिर खान काँ जाउ ?”
नुवाकोट विदुरकी ३२ वर्षिय गोमा कुमालको ११ वर्ष अगाडी मकवानपुर हेटौंडा–१४ का जनकलाल कुमाल संग विहे भएको थियो । पारिवारीक सल्लाहमा मागि विहे भएको उनीहरुको घर राम्रै चलेको थियो । विहे अगाडी सिलाईकटाई काम गर्दै आएकी गोमालाई विहेपछि श्रीमान जनकले काम नगर्न भने ।
विहे गरेको पछिल्लो साल छोरा जन्मियो, जनक पैसाको राम्रो व्यवस्था नभएको भन्दै साउदी गए । पैसा पठाउँछु छोराको लालन पालन र आफ्नो आवश्यकता पुरा गर्नु भनेर राम्रा सपना जनकले नै गोमालाई देखाए । तर वचन दिएजस्तो व्यवहारमा उनी साँचो देखिएनन् । गोमा भन्छिन् “महिना मरेपछि पैसा पठाउछु भनेर गएको मान्छेले रुदा कराउँदा ६ महिनापछि १५ हजार पठाए । त्यसपछि कस्तो नोट देख्न पाइएन ।”
आफ्नो र छोराको लागि आवश्यक खर्च नभएपछि गोमाले फोन गरेर पैसा माग्दा किन चाहियो भनेर जनकले गालि गर्ने गरेको बताउँछिन । “कहिले छोरो बिरामी पर्थ्याे, कहिले आफूलाई पनि सञ्चो हुन्नथ्यो । पैसाको त आवश्यक परिरहन्थ्यो नि तर, तँलाई किन पैसा दिनु भनेर हकार्ने गर्न थाले ।” विदेश जाँदा सल्लाहमै गएको मान्छे एकाएक बदलिएपछि गोमाले पनि केही भनिनन् । पैसा लगायत सबै सहयोग माइतीकै भरमा बसिन । “फर्केर घर आएपछि पहिले कै जस्तो हाँसीखुशी परिवार बस्ला भनेर, सोचिरहे तर उनी आए, परिवारमा खुसी आएन” गोमा भन्छिन् ।
“४ वर्षपछि घर आएका उनले पनि एक पैसा मलाई देखाएनन्, पैसा आमाजुलाई दिए, आफू पनि रित्तै छु भने ।” विदेशबाट लामो समयपछि फर्केका श्रीमानबाट मायाको साटो उनले दिनुहँ कुटाई सहनु पर्यो । “जत्तिबेला पनि रक्सि खाने पिट्ने गर्न थाले” उनी भन्छिन् “हामीलाई भरणपोषण गर्ने त कता हो कता उल्टै रक्सि खान पैसा ले भनेर पिट्थे ।”
गोमाका अनुसार केही समय नेपाल बसेर जनक फेरी मलेसिया गए । छोरा स्कुल पढाउने बेला भो, गोमालाई पैसाको खाँचो बढ्दै गयो । “छोरालाई स्कुल भर्ना गर्नु पर्यो, पैसा पठाउनु भन्दा तैले पढाए नी भैगो नी भनेर झपार्ने गर्ने थाले” गोमा भन्छिन् “अनि माइतीको दाजु आएर म पढाउँछु भान्जोलाई भनेर लिएर गए ।
अहिले उनको १० वर्षिय छोरो निजि स्कुलको कक्षा ५ मा पढ्छन्, सबै खर्च मामाले गरिदिन्छन् । श्रीमानले खाने लगाउने र उपचार गर्ने केही खर्च नदिएपछि गोमा ८ वर्षदेखि माइती नुवाकोट मै बस्दै आएकी छन् । २०७५ वैशाखबाट उनले श्रीमान् जनकलालसंग अंश सहित सम्बन्ध विच्छेदको मुद्धा हालेकी छन् ।
मुद्धाको तारिखको लागि जिल्ला अदालत मकवानपुरमा भेटिएकी गोमाले सम्बन्ध विच्छेदपछि पुरानै काम गर्ने योजना बनाएको सुनाइन् । गोमा अहिले रात्रीबस चढेर हेटौंडा आउँछिन्, कार्यालय समयमा अदालतको काम भ्याउछिन् र रात्रिबसमै नुवाकोट फर्किछिन् । “जति पिटे पनि आफ्नो परिवारको इज्जत भनेर कतै रिपोर्ट गरिन्, सुध्रने आशामा सहेरै बसे, नाता मात्रै राखेर किन पीडा बल्झाइरहनु अब आफ्नो सुर गर्छु भनेर मुद्धा हालेको” उनले भनिन् ।
“आफैंले गर्दै आएको काम गर्न पाएको भए आफ्नो खुट्टामा उभिने थिए, न काम गर्न दिए न लालनपालनको जिम्मेवारी लिए” गोमा भन्छिन् “पैसाको कारण कष्टकर बन्दै आएको दीन गुजार्न अहिले अंश सहतिको सम्बन्ध विच्छेदको फैसला कुरिरहेको छु ।” समान्य साक्षर उनीसंग अब अंश लिएर सिलाई कटाइको टेलर सञ्चालन गर्ने र आफ्नो भविष्य सहज बनाउने सपना सुरक्षित छ । “छोरालाई दाइले पढेसम्म पढाउछु भन्नु भएको छ, मलाई पनि अहिले त सबै आर्थिक सहयोग गरिरहनु भएको छ उहाँहरुले नै, मुद्धा सकिएपछि म आफैं काम सुरु गर्छु ।” “आफैं पैसा कमाउँछु, अरुसंग हात फैलाउनु पर्दाको दीन सम्झेर रुनमात्रै मन लाग्छ” उनले भनिन् ।
उनी नेपाल प्रहरीको हवल्दारकी श्रीमती । “सरकारी नोकरी भएका श्रीमान्ले सुखैसंग पाल्छन्”, विहे अघि उनलाई सबैले यसै भन्दथे । उनी अर्थात् हेटौंडा–८ कमाने कि ३५ वर्षिय पूर्णकुमारी देवकोटा । २०६३ सालमा सोही ठाँउ निवासी बद्रीप्रसाद घिमिरेसंग मागि बिहे भएको थियो । विवाहको केही दिनमै बद्री कामको शिलशिलामा जिल्ला बाहिर गए, पूर्ण कुमारी घरैमा । आफ्नो कुनै पेशा र रोजागारी नभएको कारण पूर्ण कुमारी श्रीमानकाे तलबको अपेक्षा गर्न थालिन् । आक्कल झक्कलमात्रै घर आउने बद्रीले पूर्णकुमारीलाई खासै माया गर्दैनथे, पैसाको कुरा सुनाउँदा, झर्किन्थे र रिसाउँथे ।
“सम्बन्ध साह्रै राम्रो नि हैन, खत्तम पनि हैन भन्ने अवस्थामा २ छोराहरु जन्मिए” पूर्णकुमारी भन्छिन् “बच्चा भएपछि पैसा बढी चाहिने, पैसा बढी मागि भनेर भेट भयो कि कुट्न थाले । बद्रीले ३ वर्ष अगाडी अर्को विहे गरेर बाहिरै राखेका रहेछन् पूर्ण कुमारीले पत्तो पाइनन् । उनि भन्छन् “मलाई अति नै सताउने, पिट्ने र पैसा पटक्कै नदिने गर्न थालेको पनि ३ वर्ष नै भयो ।” अहिले बद्री अवकाश प्राप्त पछि घरैमा छन् ।
“दोस्रो विहेपछि पनि दुबैलाई मिलाएर राख्छु भनेकोले कतै उजुरी गरिन, अहिले त बस्नै नसक्ने भए” पूिर्णकुमारी भन्छिन् “शरिर भरी निलडाम हुन्छ, अरुले सोध्दा लडेर ठोक्किएको भन्दै बस्छुे, आँखामा हानेर रगत नै जमेको छ अझै त्यतिबेला पनि कसैलाई भनिन्, आखिर मैले सहिरहेपनि उनले पिट्न छाड्ने हैन रहेछन् । उनी भनिछन् “सौतातर्फ एउटा छोरा छ, उनीहरुको लगाइखुवाई हेर्दा साह्रै धनाढ्य परिवारको जस्तो छ, तर,त्यही हाम्रो अवस्था आङ ढाक्नै समस्या,बाच्चाहरुलाई शिक्षा दिक्षा पुर्याउन कहालि अवस्था लाग्दो छ ।”
श्रीमानले छोराहरुको शिक्षादिक्षा र लालनपालनका पनि कुनै वास्तै नगर्ने र आफूलाई पनि दिनुहुं पिट्ने गरेपछि उनले जिल्ला कानूनी साहायत समिति मार्फत मुद्धा हालेकि छन् । मुद्धाबारे बुझ्न जिल्ला कानुनी सहायता समितिमा भेटिएकी पूर्णकुमारीले आफ्नो र सन्तानको लालनपालन र शिक्षा दिक्षा दिलाइपाउँ भनेर मुद्धा दर्ता गरेकी हुन् । श्रीमानले वेपास्ता गरे पनि सासु, जेठाजु, जेठानीहरुले सहयोग गर्ने गरेको पूर्णकुमारी बताउँछिन् ।
मकवानपुर भीमफेदी–१ कि सेतिमाया पाख्रिन र हेटौंडा–२ का कृष्णबहादुर बलले पनि २०७५ भदौ १४ गते जिल्ला अदालत मकवानपुरबाट अंशसहित सम्बन्धि विच्छेद गरेका छन् । यसैगरी मकवानपु राक्सिराङ्ग–१ कि सुनिता रुम्बा र सोही स्थानका जयराम रुम्बाले पनि २०७५ भदौ ३ गते जिल्ला अदालत मकवानपुरबाट अंश सहित सम्बन्ध विच्छेद गरेका छन् । सेतिमाया र सुनिता दुबैले श्रीमानबाट आर्थिक सहयोग नपाएको भन्दै मुद्धा दायर गरेका थिए । विरामी पर्दा स्वास्थ्य उपचार नगर्ने, आवश्यक सामग्रि खरिदको लागि पैसा नदिने र लालनपालनमा चासे नदिएको भन्दै उनीहरुले अंश सहित सम्बन्ध विच्छेद गरेको बताइएको छ ।
पर्सा मधुवन गाउपालिका–३ माइति भएकी सविना मोक्तानले पनि र मकवानपुर भिमफेदी–१ का श्रीमान् श्रीराम मोक्तान विरुद्ध अंश सहित सम्बन्ध विच्छेदको मुद्धा जिल्ला अदालतमा २०७५ असोज १० गते दर्ता गराएकि छन् । विदेश रहेका श्रीमान्ले आफ्नो नाममा पैसा नपाठाउने,फोनमा राम्ररी कुरा नगर्ने गरेपछि आफूले बाध्य भएर यस्तो कदम चालेको उनले बताइन् । सासु र नन्दको नाममा पैसा पठाउने, आफूलाई समस्या पर्दा उनीहरुले नदिने भएपछि अंश सहित सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेको उनले बताइन् ।
यि उदाहरण मात्रै हुन् । पछिल्लो सयम आर्थिक कारण परिवारमा विचलन आएर सम्बन्ध विच्छेद गर्नेहरु ह्वात्तै बढेको तथ्याङ्कले नै देखाउँछ । जिल्ला अदालत मकवानपुरमा आर्थिक वर्ष २०७४/०७५ मा दर्ता भएका ४१३ सम्बन्ध विच्छेदका उजुरीहरु मध्ये २९१ वटा फैसला भएको थियो । यसैगरी चालु आवको साउनदेखि कात्तिकसम्म दर्ता भएका सम्बन्ध विच्छेदका १२७ उजुरी मध्ये ४१ वटा फर्स्याैट भैसकेका छन् ।
दर्ता भएका मध्ये ४७ वटामुद्धा आर्थिक कारण सिर्जना भएको अदालतका श्रेस्तेदार केशव कौशिकले बताउनुभयो । “महिलाहरु आफ्नो अधिकार खोज्ने र पुरुषहरु पुरानै शैलीमा घर चलाउने खोज्ने विवादले पनि सम्बन्ध विच्छेदको उजुरीहरु बढेको अनुमान छ श्रेस्तेदार कौशिकको । “बादी प्रतिबादीसंग गहिरिएर कुरा खोतल्दै जाने हो भने सबैजसो सम्बन्ध विच्छदको उजुरीमा आर्थिक कारण जोडिने गरेको अधिवक्ता ललिता श्रेष्ठको अनुभव छ । यता श्रेस्तेदार कौशिकको भनाइले पनि यहि पुष्टी गर्छन उहाँ भन्नुहुन्छ “वैदेशिक रोजगारीको शिलशिलामा होस् वा स्वदेशमासंगै रहदा भएको विवादको कारण होस् कतै न कतै आर्थिक अधिकार, आर्थिक स्वतन्त्रता जोडिने गरेको पाइन्छ ।” कौशिकका अनुसार आव २०७४/०७५ मा ६३ वटा मानाचामल दिलाई माग गरिएको उजुरी दर्ता भएका थिए ।
२०७५ भदौ १ गतेबाट मुलुकी देवानि नयाँ संहिता लागु भएपछि पुरुषहरुले पनि सिधैं अदालत आएर सम्बन्ध विच्छेदको मुद्धाहरु दर्ता गर्ने क्रम ह्वात्तै बढेको छ । यो बीचमा दर्ता भएका १२७ वटा सम्बन्ध विच्छेदको उजुरीमा ८४ वटामा महिलाबादी रहेका छन् भने ४३ वटा पुरुषबादी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला तथा बालबालिका सेवा केन्द्रमा २०७५ साउनदेखि कात्तिकसमम्ममा दर्ता भएका १६६ वटा घरेलु हिंसा मध्ये १५० वटा आर्थिक कारण सिर्जना भएका हिंसाहरु रहेका छन् । जिप्रका महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी ना. नि. दीपा कार्कीका अनुसार श्रीमानहरुले जिम्मेवारी पूर्वक परिवारको लालनपालन नगर्ने र आर्थिक कारण देखाउँदै श्रीमतिलाई प्रताडित पार्ने गरेको कारण बढी उजुरीहरु दर्ता हुने गरेका छन् । यहि अवधिमा ८७ वटा लैङ्गिक हिंसाको उजुरी दर्ता भएको छ । लैङ्गिक हिंसाको पनि कतिपय कारण आर्थिक पक्ष नै रहेको पाइएको कार्कीले बताउनुभयो । यहाँ दर्ता भएका घरेलु हिंसाका उजुरीहरुलाई एक महिनासम्म तारेखमा राखेर सकेसम्म मेलमिलाप गराएर पठाउने गरिएको छ । दोहोरीएको र महिलाले मिलापत्र गरेर जान नचाहेको अवस्थामा भने मुद्धा अदालत पठाउने गरिएको कार्कीले बताउनुभयो । उहाँका अनुसार घरेलु तथा आर्थिक हिंसाका २० प्रतिशत मुद्धाहरु अदालत मै जाने गरेका छन् ।
यता हिंसामा परेका महिलाहरुको निशुल्क मुद्धा हेर्ने निकाय जिल्ला कानूनी सहायता समितिमा पनि मुद्धाको चाप बढेको छ । समितिमार्फत मुद्धा हेर्ने जिम्मेवारीमा रहेनु भएको अधिवक्ता अप्सरा बस्नेतका अनुसार आर्थिक वर्ष २०७५÷०७६ को ४ महिनामा २८ वटा उजुरी फस्र्यौटको शिलशिमा छन् । जसमध्ये सम्बन्ध विच्छेदका ७ वटा, मानाचामलका ४ वटा, अंश सहित सम्बन्ध विच्छेदका ३ वटा अंश दर्ता चलानको १० वटा, जग्गा, जालसाजि, तथा विविध गरी ४ वटा उजुरीहरु रहेका छन् । यो समितिमा अघिल्लो आवमा ९६ वटा उजुरी दर्ता भएका थिए । जसमध्ये सम्बन्ध विच्छेदका ३१ वटा, मानाचामलका १३ वटा, अंश सहित सम्बन्ध विच्छेदका १६ वटा अंश दर्ता चलानको २१ वटा थिए ।
अधिवक्ता बस्नेत भन्नुहुन्छ “एकातिर महिलाको आर्थिक अवस्था नाजुक नै छ, अर्कोतिर हाम्रो सामाजिक, साँस्कृतिक सोच पुरुषप्रधान नै छ यसले गर्दा पनि महिलाहरु आर्थिक रुपमा पछाडी छन् र आर्थिक हिंसाको दलदलमा छन् ।” उहाँ भन्नुहुन्छ “जो महिला आर्थिक कारण पछाडी छन् उनीहरु अन्य हरेक प्रकारको हिंसामा पनि छन् ।”
महिला अधिकारकर्मी तथा जिल्ला समन्वय समिति मकवानपुर उपभापति भगवति पुडासैनीको बुझाइमा आर्थिक हिंसा,आर्थिक कारण परिवारीक वेमल सिर्जना हुनुमा महिलाहरु केही हदसम्म आफ्नो अधिकार लिन खोज्ने तर पुरुषहरु आफ्नो बर्चश्व सुम्पिन नचाहनुको प्रतिफल हो । सम्पत्तिमा महिलाको समान हक कानूनले दिएको छ,तर पुरुष सहजै दिन नचाहने महिलाले खोसेरै लिनु पर्ने बाध्यकारी अवस्था सिर्जना हुदाँ कार्यान्वयनको चरणमा यि समस्या देखिएको बताउनुहुन्छ उपसभापति पुडासैनी । श्रमिान् श्रीमति जस्तो आजीवनसंगै रहने नाता सम्बन्ध पनि पैसाको कारण टुट्नु, पीडादायि भएको बताउँदै पुडासैनी भन्नुहुन्छ “विभिन्न हिंसा सहेर पीडादायि जीवन जिउनुको विकल्पमा सम्बन्ध विच्छेदको बाटो रोज्न दिदिबहिनीहरु बाध्य हुने गरेका हुन् ।”
समाचारमा प्रकाशित नाम र स्टाेरी सम्बन्धित व्यक्तिकाे सचेत सहमतिमा राखिएकाे हाे उहाँहरुकाे अडियाे टेप हामीसँग सुरक्षित छन् । महिला फिचर सेवामा सन् २०१८ मा प्रकाशित फिचर हामीले पुन प्रकाशन गरेका हाै ।