अनिल पराजुली । कतार केन्द्रीय बैंक (क्यूसीबी) ले नयाँ नोटहरु सार्वजनिक गरेको छ । पाँचौ संस्करण अन्तर्गत बैंकले एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सय रियालको नोट सार्वजनिक गरेको हो ।
केन्द्रीय बैंकले दुईसय रियालको नोट भने पहिलो पटक ल्याईएको हो ।
बैकले पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ नोट बारे जानकारी दिएको थियो । कतारको राष्ट्रिय दिवस अर्थात डिसेम्बर १८ शुक्रवारदेखि नयाँ नोटहरुको मान्यता लागू हुने बैंकले जानकारी दिएकोे छ । बैकले सार्वजनिक गरेको नयाँ नोटहरु मध्ये दुई सय रियाल नयाँ थपिएको नोट हो ।
नयाँ नोटहरु नयाँ डिजाइनमा रहेका छन् भने उक्त नोटको अगाडि डिजाइनहरूले परम्परागत ज्यामितीय ढाँचा, कतार राज्यको झण्डा, कतार फ्लोरा (ड्रेमा) र ऐतिहासिक कतार वास्तुकलाको प्रतिनिधित्व गर्ने एक ओरन्टे गेटमा आधारित साझा विषयवस्तूहरु समावेश गरेका छन् ।

त्यस्तै नोटको पछाडिको डिजाइनमा कतारी परम्परा, इस्लामी इतिहास, संस्कृति, वनस्पति, जीवजन्तु, शिक्षा, खेलकुद र अर्थव्यवस्थाको विकास झल्काउने विषयवस्तुहरू समावेश छन् । यसअघिका पुरानो नोटहरु तीन महिना भित्र स्थानीय बैंकमा र त्यसपछि राष्ट्र बैंकमा साट्न सकिनेछ बताइएको छ ।
नयाँ नोटहरुमा ६४ सुरक्षाका उपायहरु राखिएको कतार क्यूबीसीका कार्यकारी निर्देशक मोहम्मद जसीम अल कुवारीले जानकारी दिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।
कतार
मकवानपुर । काठमाडौं महाराजगञ्जमा रहेको कतार भिसा सेन्टर (क्यूभिसी) आगामी १० डिसेम्बर अर्थात् मंसिर २५ गतेबाट फेरि सञ्चालनमा आउने भएको छ। कोरोना महामारीका करण बन्द रहेको भिसा सेन्टरले अहिले एपोइन्टमेन्टका लागि बुकिङ खुल्ला गरिसकिएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएको छ।
भिसा सन्दर्भ नम्बर र भिसा केन्द्रमा आवेदकको पासपोर्ट नम्बर, आवेदकहरूको छनौट गरेको मिति र समय प्रयोग गरेर कतार भिसा सेन्टरको वेबसाइट मार्फत अपोइन्टमेन्ट बुक गर्न सकिने जनाएको छ। भिसा सेन्टरले रोजगारीका लागि कतार आउने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप सेवा दिनेछ। यसका अलावा सेन्टरमा कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रक्रिया पूरा गर्न पाउनेछन्।
यसैगरी सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि हुनेछन्। यसअघि ती सबै काम कतारमै हुने गरेको थियो। अब यी सबै काम नेपालबाट पूरा हुनेछ। जसका कारण नेपाली कामदारले कतार आइपुग्नासाथ आफ्नो परिचयपत्र पाउनेछन्। सेन्टर आइतवार देखि बिहिबारसम्म बिहान साढे ८ देखि साँझ साढे ४ बजेसम्म संचालन हुने जनाएको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा दिल्ली क्यापिटल्स प्रवेश गरेको छ ।यूएईको शेख जायद स्टेडियममा राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली १६ अंक सहित क्वालिफायर पुगेको हो । बेङ्ग्लोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
अंक तालिकाको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स र दिल्लीबीच आगामी बिहीबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा क्वालिफायर–१ मा प्रतिस्पर्धा हुनेछ । विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टीमले इलिमिनिटर विजेताबीच खेल्नेछ ।
दिल्लीसँग पराजित भएको बैंगलौरको पनि प्लेअफको स्थान सुरक्षित भएको छ । कोलकाता नाइट राइडर्ससँग समान १४ अंक भए पनि नेट रन रेटको आधारमा बैंगलोर तेस्रो स्थानमा छ ।
बैंगलौरले शुक्रबार कोलकाता र सनराइजर्स हैदरावाद मध्ये एक टीमसँग अबुधाबीमा इलिमिनिटरमा खेल्नेछ । दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय पारी खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए । यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी ९ रनमा आउट भए ।
मार्कुस स्टोनिस १० र ऋषव पन्त ८ रनमा अविजित रहे । तर, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने प्लेइङ सेटमा परेनन् । बेङ्ग्लोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो । बेङ्ग्लोरका लागि देवदूत पडीकलले ५० रनको अर्धशतकीय पारी खेले । एबी डी भिलियर्सले ३५ रन र कप्तान विराट कोहलीले २९ रन बनाए । यस्तै शिवम् दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए ।

कागिसो राबाडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए । जितसँगै दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ । दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहदै क्वालिफायरमा पुगेको हो । दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ ।
पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ । दिल्लीसँग पराजित बेङ्ग्लोर पनि प्ले अफमा पुगेको छ । चौंथो स्थानको कोलकता नाइट राइडर्स भन्दा नेट रन रेटले अघि रहेपछि बेङ्ग्लोरले प्ले अफमा स्थान बनाएको हो ।
बेङ्ग्लोरले १४ खेलमा १४ अंक जोडेको छ । अब बेङ्ग्लोरले दोस्रो क्वालिफायरमा कोलकाता र सनराइजर्स हैदराबादमध्ये एक टिमसँग खेल्नेछ । क्वालिफायरमा पुग्ने अन्तिम टिमको टुंगो लिग चरणको अन्तिम खेलले तय हुनेछ । लिग चरणको अन्तिम खेलमा मुम्बई र हैदराबादबीच खेल हुनेछ ।
मुम्बईले जित निकालेमा कोलकाता प्ले अफ पुग्नेछ । हैदराबादले जित निकालेमा कोलकता प्ले अफबाट बाहिरिनेछ ।
- अनिल पराजुली
कतार /मकवानपुर जिल्ला छतिवन निवासी मृगौला पीडित रामकृष्ण बजगाईलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सहयोग रकम पठाएका छन् । छतिवन जुरेली घर भई हाल दक्षिण कोरियामा कार्यरत अभिनय न्यौपानेको पहलमा संकलन गरिएको १ लाख १ हजार ५ सय ६८ रुपियाँ मृगौला पीडित बजगाईलाई हस्तान्तरण गरिएको हो ।
कोरियाबाट संकलन गरि पठाईएको सो रकम नेपालमा रहेका नबिन न्यौपानेले पीडित बजगाईको काठमाडौं स्थित डेरामा पुगेर हस्तान्तरण गरेका थिए । दक्षिण कोरियामा रहेका ३५ जना नेपालीले सहयोग रकम जुटाएर पठाएका थिए । मृगौला पीडित बजगाईले सहयोग प्राप्त भएपछि सहयोगिहरुलाई आभार व्यक्त गरे । दुबै मृगौलामा समस्या आएपछि मकवानपुर जिल्ला बकैया गाउँपालिका–४ जुरेली निवासी ३३ बर्षीय बजगाईले आर्थिक सहयोगको याचना गरेका छन् ।
२०७६ साल माघमा स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउने क्रममा बजगाईको दुबै मृगौलामा समस्या भएको चिकित्सकले जानकारी दिएका थिए । ८ महिनादेखि उनी उपचारका लागि पाटन, कान्तिपुर, टिचिङमा धाइरहेका छन् । हाल उनको काठमाडौं स्थित सुमेरु अस्पतालमा उपचार भईरहेको छ । बजगाइले हप्तामा २ पटक डाइलेसिस गर्नका लागि आइतवार र बुधबार अस्पताल जाने गरेका छन् । प्रत्येक हप्ता डाइलेसिस गर्नका लागि ३० देखि ३५ हजार रुपियाँ खर्च हुने गरेको उनले जानकारी दिए । डाइलेसिस गर्न जानकै लागि हाल उनी काठमाडौंमा डेरा लिएर उपचार गराईरहेका छन् ।
बजगाई करिव ७ बर्ष बैदेशिक रोजगारमा गएर नेपाल फर्किएका थिए । उनले बहराइनमा ३ वर्ष र कुवेतमा ४ वर्ष होटलमा काम गरेर केही रकम आर्जन गरेका थिए । उनले बैदेशिक रोजगारमा गएर आर्जन गरेको करिव १४ लाख मृगौलाको उपचारमै खर्च भईसकेको जानकारी दिए ।
चिकित्सकले मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको र प्रत्यारोपणका लागि कम्तिमा २५ देखि ३० लाख खर्च लाग्ने बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको कारणले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि ३३ वर्षीया बजगाइले जीवन रक्षा गरिदिन सार्वजानिक अपिल गरेका थिए ।
बजगाईलाई सहयोग गर्न चाहनेले आइएमइ ग्लोबल बैकको खाता नम्वर यू ५०७०१००००६५४ मा रकम जम्मा गर्न सक्नेछन् । उनलाई ९८६४३३९३०१, ९८६०२१८३३६,९८४९१४९१८५ मा सहयोग गर्नका लागि सम्पर्क गर्न अपिल गरेका छन् ।
करिब २८ वर्षअघि भारतको उत्तर प्रदेशमा रहेको बाबरी मस्जिद भत्काउन भूमिका खेलेको आरोपमा ४८ जनामाथि मुद्दा चलाइएकोमा उक्त मुद्दाकाे आज टुंगाे लागेकाे छ । २८ वर्षसम्म टुंगो नलागेको मुद्दाको फैसला आज गरिएको छ। भारतको सर्वोच्च अदालतले आज आडवाणीसहित ३२ जना आरोपीहरुलाई सफाइ दिएको छ।
हिन्दुवादी संगठनले तोडफोड गरी मन्दिर भत्काएको आरोपमा भाजपाका नेताहरुमाथि मुद्दा चलाइयो थियाे। हिन्दुवादी युवाहहरुले मस्जिदको माथिल्लो ढाँचामा टेकेरै मस्जिद भत्काएकाे आराेप लागेकाे थियाे। मस्जिद बनेको स्थानमा राम मन्दिर रहेको दाबी हिन्दुवादी संगठनले गर्दै आएकाे छ ।
भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक संघले उक्त स्थानमा मन्दिर रहेको दाबीसहित आन्दोलन गरेको थियो। मन्दिर बनाउन पर्ने मागसहित गरिएको आन्दोलनको नेतृत्व गरेका लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी लगायतविरुद्ध मुद्दा चलाइयाे । गत नोभेम्बरमा सर्वोच्च अदालतले बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर नै रहेको फैसला सुनाएको थियो। त्यसपछि त्यहाँ गुरु योजना बनाएरै मन्दिर बनाउने काम सुरु भइसकेको छ। बाबरी मस्जिद विवादमा फैसला सुनाउने न्यायाधीश एसके यादवले आज नै अवकाश पाउँदै थिए। २ हजार पन्नाको फैसलामा उनले सबै आरोपीलाई निर्दोष घोषणा गरेका हुन्।
उनले आफ्नो फैसलामा मुद्दा चलाइएका कोहीविरुद्ध सीबीआइले प्रमाणहरु फेला नपरेको उल्लेख गरेका छन्। बाबरी मस्जिदमा भएको घटना अचानक भएको घटना भएको भन्दै अदालतले विवादित मस्जिद अज्ञात व्यक्तिहरुले भत्काएको उल्लेख गरिएको छ। अदालतले पत्रपत्रिकामा लेखिएको विषयलाई प्रमाण मान्न अस्वीकारसमेत गरेको छ।
अदालतले प्रमाणको रुपमा प्रस्तुत गरिएको अडियो टेप, भिडियो विश्वास गर्न लायक नभएको उल्लेख गरिएको छ। अदालतमा प्रस्तुत गरिएका अधिकांश तस्विरहरुको नेगेटिभ प्रस्तुत नगरिएकोले त्यसलाई पनि प्रमाण मान्न नसक्ने अदालतले फैसला गरेको छ। एजेन्सी