मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज मङ्गलबार ल्याउँदै छ । प्रदेशसभाकाे आजकाे लागि आह्वान गरिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरिने छ ।
प्रदेश सभमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । संसद्मा पेस गर्ने गरी सरकारको नीति तथा कार्यक्रम सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार मङ्गलबार साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा पेस गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले स्वीकृत भएकाे छ ।
के के भए अन्य निर्णय ?
- भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको बागमती प्रदेश सहरी नीतिलाई सरकारले स्वीकृत ।
- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको ‘जीवनाशक विषादी व्यवस्थापन’ सम्बन्धी विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने ।
- कृषि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३ को मस्यौदालाई मन्त्रिपरिषद्को समितिमा पठाउने।
- बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा तयार पारिएको प्रदेश जनसङ्ख्या नीति २०८३ लाई पनि अध्ययन र परिमार्जनका लागि समितिमा पठाउने ।
- खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले प्रदेशको विद्युत् विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्नका लागि स्वीकृति प्रदान ।
मकवानपुर । प्रतिनिधि सभामा विपक्षी दलहरूले बेल घेराउ गरेका छन् । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठन भएकाे प्रतिनिधि सभाकाे बिहीबारकाे बैठकमा विपक्षी दलहरुले पहिलो पटक बेल घेराउ गरेका हुन् ।
प्रतिपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाले बेल घेराउ गरेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधि सभाका सांसदहरुकाे प्रश्नकाे जवाफ दिन उपस्थित नभएकाेले उनीहरुले बेल घेराउ गरेका हुन् । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ मा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता सांसदहरूसँग प्रश्नोत्तर गर्ने व्यवस्था छ । त्यही व्यवस्थालाई कार्यान्वयनमा नल्याइएको भन्दै तीन दलले बेल घेराउ गरेका हुन् ।
बेल घेराउलाई कांग्रेसका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर समर्थन गरे । विपक्षी श्रम संस्कृति पार्टीका सांसदहरू भने सदनको बैठक छोडेर बाहिरिएका थिए । विपक्षीको बेल घेराउबिच सभामुख डोलप्रसाद (डीपी) अर्यालले सदन सुचारु गरेका थिए । विपक्षीको नाराबाजीबिच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधि सभाबाट पारित पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो विधेयक माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
दफावार छलफलपछि अर्थमन्त्री वाग्लेले विधेयक पारित गरियोस् भन्दै पेस गरेपछि सत्ता पक्षका सांसदको बहुमतले पारित भएको हो । विधेयकमा दफावार छलफल र पारित गर्ने प्रक्रियामा विपक्षी सांसदहरू सहभागी भएनन् ।
मकवानपुर। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार बिहिन बनाउन नहुने बताउनु भएकाे छ । शनिबार हेटौंडा साम्पाङले सुकुम्बासी समस्या समाधान गर्नु पर्ने र जनतालाई घरबाहर बिहिन बनाउन नहुने बताउनु भएकाे हाे ।
सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साम्पाङले हेटौंडा ११,स्थित थानाभर्याङका भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सामुदायहरुसँगकाे छलफलमा अव्यवस्थित रुपमा बसोवास गर्दै आएका मानिसको समस्याहरुलाई हल गर्नुपर्ने बताउनु भयो ।, उनीहरुलाई बिस्तापित गर्नु नहुने र घर भत्काएर जनतालाई लखेट्ने कार्यतर्फ सरकार लाग्नु नहुने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो ‘नेपालमा भएका अव्यवस्थित बसोबासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैं लागि परेकाे छु ।’
उहाँले भन्नुभयो ‘सबै जनताले बाँच्न पाउनुपर्छ किनकी मौलिक हक हो संविधानले दिएको ।’ सबै मानिसकाे बाँच्न पाउने मौलिक हक भएको बताउँदै घर बनाएर बस्न पाउनुपर्ने सबै जनताको अधिकार भित्र पर्ने उहाँले बताउनु भयो । ‘अहिले राज्यले जनताकाे घरलाई आतंक फैलाउने हिसाबले भत्काएकाे छ यसकाे पक्षमा हामी छैनौं’ साम्पाङले भने ‘मेचिदेखि महाकालीसम्मका सबै एकजुट भएर सरकारकाे घरबारबीहिन बनाउन निरकुंश कदम विरद्ध आवाज उठाउनु पर्छ ।’ उहाँले भन्नुभयो ‘उक्त कार्यमा जनताको साथमा आफू सदैव रहने प्रतिवद्धता व्यक्त गर्दछु।’
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि संसदकाे पहिलो बैठकमै यी मुद्दालाई मुख्य एजेण्ड बनाएर उठाएको उहाँले बताउनु भयो । ‘सरकारले गरेको कामहरुको आफूले मूल्यांकन गर्दै खराब तथा नकारात्मक कामहरुलाई विशेष रुपमा उठाउँछौ’ साम्पाङले भन्नुभयो ‘सरकार गरेको खराब कामहरुलाई खबरदारी गर्दै आएको र उक्त कार्यमा आफू सधैं अग्रह स्थानमा रहेको छु ।’ अन्य प्रतिनिधि कोही जनताहरुको पक्षमा नभएपनि आफू जनताको पक्षमा रहने उहाँकाे भनाई थियाे ।
मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ अब प्रदेशमा ८ वटा मात्रै मन्त्रालयहरु रहने छन् । मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ वटा मन्त्रालयबाट घटाएर ८ वटा कायम गर्ने निर्णय गरेको हो । यो सँगै जिल्ला स्थित सरकारी कार्यालयहरुकाे समेत सङ्ख्या घटाइएको छ ।
सत्तारुढ दल एमालेसमेतको सहमतिमा ९ साउनबाट लागु हुनेगरी ६ वटा मन्त्रालय घटाएको हो । लामो समयदेखि कांग्रेस-एमालेबीच मन्त्रालय घटाउने विषयलाई लिएर विवाद हुँदै आएको थियो । मन्त्रालय घटाउन मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजेका लागि बोलाइए पनि एमालेले ९ वटा कायम गर्नुपर्ने अडान लिएपछि करिब २ घण्टा ३५ मिनेट ढिलो गरी सुरु भएको थियो ।
मुख्यमन्त्री बानियाँले मन्त्रालयको संख्या ८ कायम गर्ने अडान लिएपछि एमालेका मन्त्रीहरू बाध्य भएका थिए । स्रोतका अनुसार बागमती प्रदेशमा रिक्त रहेको सभामुख पद एमालेलाई दिने, मुख्यमन्त्रीमा आफ्नो निरन्तरता र मन्त्रालय संख्या घटाउने विषयमा सत्तारुढ दलबीच सहमति बने पनि अन्तिम समयमा एमालेले मन्त्रालयको संख्यालाई लिएर विवाद सिर्जना गर्न खोजेको थियो ।
अब बागमती प्रदेशमा बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिरिषद्सहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्क्षी वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय मात्र हुनेछ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा दामोदर खनाल नियुक्त भएका छन् ।
बिहीबारको मन्त्रिपरिषद्को वैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुर बकैयाका खनाललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रभात तामाङले जानकारी दिए ।
खनाल नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ को सभापति हुन् भने बकैया गाउँपालिकाकाे २०७४ सालको निर्वाचनबाट निर्वाचित अध्यक्ष समेत हुन् । यसअघिका सल्लाहकार कांग्रेस मकवानपुर सभापति बुद्ध लामा गत २१ फागुन भएकाे प्रतिनिधिसभाका निर्वाचनमा उम्मेदवार भएपछि प्रमुख सल्लाहकार पद रिक्त रहेको थियो ।
सरकारका प्रवक्ता तामाङका अनुसार बैठकले बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा.प्रेमनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरेको उनले बताए ।
अन्य निर्णयहरुः
- सामाजिक विकास मन्त्रालयमा कार्यरत प्रदेश सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत थप जिम्मेवारी हेर्ने गरी खटाउने
- यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका बाबुराम पुरीलाई सो मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मात्र जिम्मेवारी तोकियो ।
- नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामालाई नियुक्त गर्ने ।
- प्रदेशको ११औँ तहमा कार्यरत स्वास्थ्य सेवाका डा.अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गर्ने ।
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीले स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत ।
- जेनजी आन्दोलनको क्रममा जलेका कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापनका लागि नयाँ नीति पारित ।
- गरिबी निवारण नीति २०८२ र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ लाई स्वीकृति ।
- प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ को मस्यौदा र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति ।
- त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति (पहिलो संशोधन) गठन आदेश २०८२ स्वीकृत ।
- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहहरूलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम स्वीकृत ।