मकवानपुर । पछिल्लो पटक १८ महिना बागमती प्रदेश सरकारको नेतृत्व गरेका नेकपा माओवादी नेता तथा प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेश सभामा एक घण्टा सम्बोधन गर्दै अर्को सरकार गठनलाई मार्ग प्रसस्त गरेका छन् ।
आइतबार उनले विश्वास मत लिने कार्य सूचिमा रहेको भए पनि बदलिएको सत्ता समीकरण अनुसार विश्वासको मतमा प्रवेश नै नगरी नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गरेका हुन् । यसअघि प्रदेश सभाको फेस गर्ने तर राजिनामा नदिने बताउदै आएका जम्कट्टेलले सम्बोधनको अन्तमा नयाँ सरकार गठनको लागि मार्ग प्रसस्त गरेको घोषणा गरे।
“सरकारमा रहनको लागि विश्वासको मत पाउनु पर्छ” उनले भने । संसदको पहिलो र दोस्रो ठुला दलहरु मिलेर सरकार बनाउने स्थिती बनिसकेको अवस्थामा आफूले लिने विश्वासको मतले सार्थकता पाउने अवस्था नभएको भन्दै उनले विश्वासको मत नलिने र समिकरण अनुसार नयाँ सरकार बनाउनको लागि मार्ग प्रसस्त गर्ने सभालाई जानकारी गराए ।
आइतबारको संसदमा उनले आफ्नो नेतृत्वमा गरेको सरकारी कामको बचाउ गर्दा एक घण्टा सम्बोधन गरेका थिए । आफ्नो कार्याकालमा संदसभित्र प्रतिपक्षिदलले अमर्यादित हर्कतहरु गरेको आरोप लगाउँदै काम चलाउ सरकारका मुख्यमन्त्री जमकट्टेलले अब माओवादी प्रतिपक्षमा हुदाँ आफूहरुले मर्यादा ‘क्रस’ नगर्ने घोषणा गरे ।
जम्कट्टेलले देशलाई द्वन्द्वमा फसाउने काम नयाँ गठकन्धनबाट भइरहेको टिप्पणी गरे । संविधान संशोधनको नाममा २ ठुला दलले देशलाई इतिहासमा फर्काउने काममा अग्रसर भएको जम्कट्टेलले बताए ।
प्रदेशसभा बैठकमा धारणा राख्दै जम्कट्टेलले दुई ठुला दलले अदृश्य सहमति गरेर समावेशी सहभागिता हटाउने प्रयत्न भएको बताए । राजनीतिक स्थिरताको नाममा संविधान संशोधन गरेर उत्पीडित वर्गको अधिकार माथि हस्तक्षेप गर्न नयाँ समीकरणका दलहरू अघि बढेको उनको भनाई छ ।
दुई ठुला दलले अदृश्य रूपमा राजनीतिक सहमती छोपेर राखिएको उनले बताए । दलले गर्ने राजनीतिक सहमति गोप्य नहुने र जनतालाई ढाँट्न दलहरूले राजनीतिक सहमति गरेको उनले स्पष्ट पारे । मुख्यमन्त्री जम्कट्टेलले बहुमत हुँदैमा सरकार निरन्तर नजाने दाबी गर्दै अब बन्ने मन्त्रीहरुको कार्यकाल बढीमा ४ महिना हुने ठोकुवा गरे ।
संविधान संशोधन गरे समानुपातिक निर्वाचन प्रणाली हटाउने प्रयत्न भएको भन्दै उनले भने “निर्वाचन प्रणाली परिवर्तन गरेर समावेशिता हटाउने काममा दुई ठुला दलहरू लागेका छन् ।” निर्वाचन प्रणाली फेर्ने नै भए पूर्ण समानुपातिक प्रणालीमा अघि बढ्नुपर्ने उनले बताए । “यसले नेपाललाई अग्रगामी रूपमा स्थायित्व दिन सक्छ । संशोधन नै गरेर कार्यकारी भूमिकामा जान तयार हुनुपर्छ” उनले भने ।
मुख्यमन्त्री जम्कट्टेलले राष्ट्रिय सहमति अंक गणित नभएको बताए । संसद्भित्र र बाहिर रहेका सरोकारवालाको सहमति नै राष्ट्रिय सहमति भएको उनको भनाई छ । प्रदेशलाई अधिकार आउँछ भन्नेमा विश्वस्त नरहेको उनको भनाई छ । अहिलेको समीकरणले प्रदेशलाई अधिकार दिने र संघीयता बलियो नबनाउने उनले बताए ।
मन्तव्यको अन्तमा जमकट्टेलले नयाँ सरकारको लागि मार्ग प्रसस्त गरेपछि सभामुख भुवन पाठकले कार्य सूचिमा भएको विश्वासको मत लिने कार्यक्रम कार्य सूचिबाट हटाएका थिए । बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थागित गरिएको छ ।
मुख्यमन्त्री जम्कट्टेलले आइतबार नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने बताइएको छ । उनको राजिनामा पछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आव्हान गर्नेछन् ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारबाट बाहिरिदै गर्दा संघीयता र संविधान कार्यान्वयनमा चिन्ता व्यक्त गरेका छन्। आइतबार आफ्नो १८ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले वर्तमान सत्ता गठबन्धनको अस्पष्ट भविष्यले संविधान र संघीयतामाथि थप चुनौती सिर्जना गरेको बताए।
उनका अनुसार, एमाले-कांग्रेस गठबन्धन केवल संविधान संशोधन र राजनीतिक स्थिरताका लागि मात्र नभएको स्पष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले प्रदेश र स्थानीय सरकारलाई संविधान बमोजिम अधिकार दिन अनिच्छुक रहेको आरोप लगाए।
‘वर्तमान सत्ता गठबन्धनको अन्त्य स्पष्ट छैन। संघीयताको भविष्य अनिश्चित छ’ जम्कट्टेलले भने ‘केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रदेशका अधिकारका बारेमा छलफल हुँदैन। प्रदेशलाई सरकारको मान्यता दिइदैन।’ मुख्यमन्त्री जम्कट्टेलले प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकारलाई केन्द्रको अंगको रूपमा मात्र हेर्ने गरेको आरोप लगाए। संविधानको प्रभावकारी कार्यान्वयन र संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण अत्यावश्यक रहेकाे उनले बताए ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीकाे विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेको पार्टीले जनाएकाे छ ।
राप्रपाले प्रदेशमा अब बन्ने काङ्ग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्ने वा नगर्ने विषयमा निर्णय नभइसकेकाे संसदीय दलका उपनेता गिरबहादुर तामाङले जानकारी दिए । प्रदेश सभामा राप्रपाकाे १२ सांसद छन् । मुख्यमन्त्री जम्कट्टेलले आइतबार अपराह्न १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने बताइएकाे छ ।
संघीय सरकारको सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारमा पनि फेरबदल हुने छ । संघीय सरकारमा माओवादी केन्द्रको नेतृत्वकाे सरकार संसदबाट अल्पमतमा परेपछि सरकार परिवर्तन भइसकेको छ । यसैगरी बागमती प्रदेशमा माओवादी केन्द्रका जम्कट्टेल नेतृत्वको सरकार छाडेर नेकपा एमालेले समर्थन फिर्ता लिएको २ हप्तापछि उनले विश्वासकाे मत लिने भएका हुन् ।
जम्कट्टेलले प्रदेश सभाकाे फेस गर्ने भएपनि अंकगणित अनुसार विश्वासको मत पाउने छैन । विश्वासकाे मतमा उनी अल्पमतमा परेसँगै नयाँ सरकार गठनकाे बाटो खुल्नेछ ।
७ राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभाकाे ठुलो दल कांग्रेसकाे ३७ र दोस्राे ठुलाे दल एमालेकाे २७ सांसद छन् । माओवादी केन्द्रकाे २१ सांसद रहँदा एकीकृत समाजवादीकाे ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।
मकवानपुर । मकवानपुरबाट प्रतिनिधि सभामा निर्वाचित सांसद महेश कुमार बर्तौला नेकपा एमालेकाे तर्फबाट मुख्य सचेतकमा नियुक्त भएका छन् । बर्तौला बुधबार सत्तारुढ दलको मुख्य सचेतक नियुक्त भएका हुन् ।
एमालेबाट मकवानपुरको क्षेत्र नम्बर–२ बाट निर्वाचित बर्तौलालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बर्तौलालाई बुधबार मुख्य सचेतक पदमा मनोनित गरेकाे हुन् । संसदीय दलका नेता समेत रहेकाे ओलीले नेकपा एमाले संसदीय दलको विधान २०७७ तथा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा ऐन २०७३ अनुसार बर्तौलालाई मुख्य सचेतकमा नियुक्त गरेका थिए ।
बर्तौलालाई प्रतिनिधि सभा मुख्य सचेतक पदमा साउन २ गतेबाट लागू हुनेगरी मनोनयन गरेको हो । सांसद बर्तौलाले पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा ऐन २०७३ ले निर्धारण गरे अनुसारको सेवा सुविधा पाउने छन् । मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने तथा सत्तारुढ दलकाे समेत प्रमुख सचेतकको समेत नेतृत्व गर्ने व्यवस्था छ ।
बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका थिए । एमालेका तत्कालिन प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि बर्तौलालाई प्रमुख सचेतक नियुक्त गरिएको थियो ।

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री बनेका छन् भने मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।
आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा कांग्रेस–एमालेका १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबिच असार १७ मा प्रतिनिधि सभाको बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै ओली प्रधानमन्त्री बनेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।
कहिले कहिले प्रधानमन्त्री बने ओली ?
ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसदमा रहेका ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए ।
यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् ।