मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारबाट बाहिरिदै गर्दा संघीयता र संविधान कार्यान्वयनमा चिन्ता व्यक्त गरेका छन्। आइतबार आफ्नो १८ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उनले वर्तमान सत्ता गठबन्धनको अस्पष्ट भविष्यले संविधान र संघीयतामाथि थप चुनौती सिर्जना गरेको बताए।
उनका अनुसार, एमाले-कांग्रेस गठबन्धन केवल संविधान संशोधन र राजनीतिक स्थिरताका लागि मात्र नभएको स्पष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको वर्तमान सरकारले प्रदेश र स्थानीय सरकारलाई संविधान बमोजिम अधिकार दिन अनिच्छुक रहेको आरोप लगाए।
‘वर्तमान सत्ता गठबन्धनको अन्त्य स्पष्ट छैन। संघीयताको भविष्य अनिश्चित छ’ जम्कट्टेलले भने ‘केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रदेशका अधिकारका बारेमा छलफल हुँदैन। प्रदेशलाई सरकारको मान्यता दिइदैन।’ मुख्यमन्त्री जम्कट्टेलले प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकारलाई केन्द्रको अंगको रूपमा मात्र हेर्ने गरेको आरोप लगाए। संविधानको प्रभावकारी कार्यान्वयन र संघीयतालाई बलियो बनाउन प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण अत्यावश्यक रहेकाे उनले बताए ।

