मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री बनेका छन् भने मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।
आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा कांग्रेस–एमालेका १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष ओलीबिच असार १७ मा प्रतिनिधि सभाको बाँकी कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै ओली प्रधानमन्त्री बनेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ सोमबार बिहान ११ बजे हुने तय भएको छ ।
कहिले कहिले प्रधानमन्त्री बने ओली ?
ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसदमा रहेका ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए ।
यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री पुनः नियुक्ति गरेकी थिइन् ।

