मकवानपुर । बागमती प्रदेश सरकारले प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी दोस्रो संशोधन ऐनलाई स्वीकृत गर्दै प्रदेश सभामा पठाउने निर्णय गरेकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको उक्त ऐनलाई प्रदेश सभामा पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
उनका अनुसार सामाजिक विकास मन्त्रालय मार्फत प्रदेशमा अपांगता भएका व्यक्तिहरुको अधिकार व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको । यसैगरी २०८२ भदौमा भएकाे जेनजी आन्दोलनमा क्रममा आगजनीका कारण खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिन्सी सामानमा भएको क्षतिलाई मिनाहा दिएर लगत कट्टा गर्ने निर्णय समेत बैठकले गरेकाे उनले बताए ।
५ लाख माथिको जिन्सी सामानको लगत कट्टा गर्न मन्त्रिपरिषदको निर्णय हुनु पर्ने कानूनी व्यवस्था रहेकोले उक्त मन्त्रालयको १ करोड ६० लाख रुपैयाँको जिन्सी सामग्रीहरु लगत कट्टा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आव २०८३/०८४ को बजेट सर्वसहमतिले पारित भएको छ । शनिबार बसेको प्रदेश सभाको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८३ सर्वसहमतिले पारित गरेको हो ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा पेश गरेको प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन गरियोस् र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई पारित गरियोस् भन्ने प्रस्तावलाई पारित गरेको हो ।
मन्त्री तामाङले पेश गरेको उक्त प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईले निर्णयार्थ प्रस्तुत गर्नु भएकाे थियो । उपसभामुख चापागाईले निर्णायार्थ प्रस्तुत गरेको प्रस्तावको पक्षमा मात्रै सांसद रहनु भएकाे थियो । प्रस्तावको पक्षमा बढी सांसद रहेकाले उपसभामुख चापागाईले सरकारको विनियोजन विधेयक र अर्थ विधेयक सर्वसहमतिले पारित भएको घोषणा गर्नु भएकाे थियो ।
प्रदेश सभामा सरकारको बजेटमाथि सांसदहरुले गत असार १६ देखि निरन्तर छलफल गर्दै आएका थिए । सांसदहरुले बजेटमाथिको छलफलमा राखेका धारणा बारेमा शुक्रबार र शनिबारको बैकठले विभागीय मन्त्रीहरुले जवाफ दिएका थिए । बागमती सरकारले असार १ मा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट पेश गरेको थियो ।
बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ। सरकारकाे नेतृत्व कांग्रेलले गरेकाे छ ।
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटाले हेटौंडा–काठमाडौँ मार्गमा पर्ने जीर्ण चिसापानी पुलको स्थलगत निरीक्षण गर्नुभएको छ । मंगलबार मन्त्री देवकोटाले भीमफेदी–कुलेखानी खण्डअन्तर्गतको उक्त पुलको अवस्थाबारे जानकारी लिनुभएको हो ।
हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने र फर्कने हजारौँ सवारीसाधन गुड्ने यो पुल करिब ३० वर्ष पुरानो हो । काठ, फलाम, ढुङ्गा र सिमेन्ट प्रयोग गरी परम्परागत शैलीमा निर्माण गरिएको यस पुलको काठ कुहिएपछि संरचना जोखिमपूर्ण बनेको छ । पुल जुनसुकै बेला भत्किएर दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मन्त्री देवकोटाले असार महिनाभित्रै मर्मत सम्पन्न गर्न निर्देशन दिनुभएको छ । उहाँले तोकिएकै समयमा काम सक्ने गरी आवश्यक जनशक्ति परिचालन गर्न समेत कर्मचारीहरूलाई निर्देशित गर्नुभयो ।
निरीक्षणका क्रममा मन्त्री देवकोटाले संघीय राजधानी र प्रदेश राजधानी जोड्ने यो सडक यात्रुको मुख्य रोजाइमा पर्ने भएकाले तत्कालका लागि सवारी चापलाई ध्यान दिएर मर्मत गर्न लागिएको बताउनुभयो । उहाँले सो स्थानमा नयाँ पक्की पुल निर्माणका लागि स्रोत सुनिश्चित भई ठेक्का प्रक्रिया अघि बढिसकेको र सम्झौता भएलगत्तै काम सुरु हुने जानकारी दिनुभयो ।
पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार असार २०–२२ गतेभित्र काम सक्ने गरी मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । कार्यालयका सब–इन्जिनियर वसन्त पौडेलका अनुसार तानसेनमा पक्की पुल बनेपछि प्रयोगविहीन अवस्थामा रहेको बेलीब्रिजका सामग्री ल्याएर यहाँ मर्मत सुरु गरिएको हो । करिब १० लाख रुपैयाँको लागतमा २० दिनभित्र मर्मत सक्ने गरी श्री गौरव नेपाल इन्जिनियर्स प्रा।लि।लाई जिम्मेवारी दिइएको छ ।
मर्मतका क्रममा पुलका कुहिएका काठ र खिएका फलामका पार्टपुर्जाहरू परिवर्तन गरिनेछ । नयाँ पुल नबनुञ्जेल पुरानै पुलबाट सुरक्षित यात्रा गर्ने वातावरण सुनिश्चित गर्न यो अल्पकालीन मर्मत गरिएको हो । सोही स्थानमा करिब ९ करोड रुपैयाँको लागतमा ५५ मिटर लामो र ११ मिटर चौडा नयाँ पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको सब–इन्जिनियर पौडेलले बताउनुभयो । चालू आर्थिक वर्षभित्रै ठेक्का सम्झौता भई आगामी आर्थिक वर्षबाट नयाँ पुलको निर्माण सुरु हुनेछ ।
साँघुरो र जीर्ण पुलका कारण जोखिमपूर्ण यात्रा गर्न बाध्य चालक, यात्रु र स्थानीय बासिन्दाहरू पुल मर्मत हुने र नयाँ पुल बन्ने खबरले हर्षित भएका छन् ।
मकवानपुर । रास्वपाको बागमती प्रदेश सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित हुनु भएकाे छ । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित ३ जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित हुनु भएकाे हाे ।
निर्वाचित अर्यालले ४१६ र डा. लामिछानेले ४१४ मत प्राप्त गरे पाए । अर्याल निवर्तमान समितिमा प्रवक्ता हुनुहुन्थ्यो । सभापति पदमा अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।
रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौंडामा उद्घाटन भएको थियो । निर्वाचन प्रक्रिया भने शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा भएको थियो । नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हाे ।
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनबाट सञ्जीव पाठक सभापतिमा चयन हुनु भएकाे छ । शनिबार हेटौंडामा भएको प्रथम अधिवेशनले ५ वर्षे कार्यकालका लागि मनहरीका पाठकको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
अधिवेशनबाट उपसभापति टाकाराज थापा (सुरेश) सचिव विशभ अधिकारी, सहसचिव शान्ति थापा विडारी चयन हुनुभएको छ । यसैगरी सदस्यमा सम्झना पुडासैनी, पदम थिङ, सफल दुतराज, हलिया शेख, हरिहर खतिवडा र देवकुमार अर्याल चयन हुनुभएको छ । हरिहर खतिवडा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापति तथा देवकुमार अर्याल क्षेत्र नमबर २ को सभापतिको रुपमा पनि निर्वाचित हुनुभएको नवनिर्वाचित सचिव विशभ अधिकारीले जानकारी दिनुभयो ।
मकवानपुरका १० वटै पालिकाबाट ४ सय ५० भन्दा बढी प्रतिनिधिको सहभागितामा अधिवेशन सम्पन्न भएको हो । नवनिर्वाचित जिल्ला समिति सदस्य मध्येबाट एकजनालाई कोषाध्यक्षमा मनोनित गरिने पनि सचिव अधिकारीले जानकारी दिनुभयो ।