मकवानपुर । बागमती प्रदेश सरकारले प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी दोस्रो संशोधन ऐनलाई स्वीकृत गर्दै प्रदेश सभामा पठाउने निर्णय गरेकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको उक्त ऐनलाई प्रदेश सभामा पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
उनका अनुसार सामाजिक विकास मन्त्रालय मार्फत प्रदेशमा अपांगता भएका व्यक्तिहरुको अधिकार व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको । यसैगरी २०८२ भदौमा भएकाे जेनजी आन्दोलनमा क्रममा आगजनीका कारण खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिन्सी सामानमा भएको क्षतिलाई मिनाहा दिएर लगत कट्टा गर्ने निर्णय समेत बैठकले गरेकाे उनले बताए ।
५ लाख माथिको जिन्सी सामानको लगत कट्टा गर्न मन्त्रिपरिषदको निर्णय हुनु पर्ने कानूनी व्यवस्था रहेकोले उक्त मन्त्रालयको १ करोड ६० लाख रुपैयाँको जिन्सी सामग्रीहरु लगत कट्टा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

