काठमाडौं । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको विकृति र बिसङ्गती हटाउने गरि काम गर्ने बताएका छन् । स्वास्थ्य क्षेत्रमा कमिकमजोरीका कुराहरू सुनिने गरेको भन्दै मन्त्री थापाले यसको न्यूनीकरणका लागि सदैव तत्पर रहने बताए ।
भक्तपुरको सुर्यविनायक नगरपालिका ९ नखेलस्थित नन्दिकेशर महादेव मन्दिरमा भैरहेको श्रावणी मेलामा प्रमुख अतिथि रहनु भएका मन्त्री थापाले स्वास्थ्य सेवाबाट कोहि पनि वन्चित हुन नहुने बताए । जनताको काम गर्न मन्त्री पदमा रहेकाे भन्दै उनले लोभ लालचमा आफू नफस्ने समेत स्पष्ट पारे ।
आफूले मन्त्रीको पदभार ग्रहण गरेकै दिन क्यान्सरका विरामीहरुलाई १ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेकाे समेत उनले जानकारी दिए । ‘विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार सहयोग गर्ने गरेको थियो । अबदेखि एक लाख दिने निर्णय भएको छ’ मन्त्री थापाले भने ।
भक्तपुरमा धेरै धार्मिक स्थल भएकोले यसको प्रवर्द्धनमा प्रदेश सरकार लाग्ने उनले बताए । सबै धार्मिक स्थलमा दर्शनका लागि सहज पहुँचका लागि प्रदेश सरकारसँग समन्वय गर्ने जानकारी दिए । प्रदेश सभा सदस्य निर्वाचित भएपछि नै स्वास्थ्य, शिक्षा, पुर्वाधारसङ्गै धार्मिक पर्यटन प्रवर्द्धन एवम् अन्य विकास निर्माणमा आफूले सहजीकरण गरिरहेको उनले बताए ।
मकवानपुर । बागमती प्रदेश कांग्रेसको भौतिक पूर्वाधार, निर्माण तथा यातायात विभागमा २४ जना सदस्य मनोनित गरिएकाे छ । कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले उक्त विभागमा २४ जना सदस्य मनोनीत गरेका हुन् ।
काठमाडौंमा शनिबार भएको सदस्य मनोनित कार्यक्रम प्रदेश अन्तरगतकाे १३ जिल्लाका २४ सदस्यलाई विभागमा मनोनीत गरिएको हाे । विभागमा मनोनित सदस्यमा चेत बहादुर तामाङ, सन्तोष कुमार रोक्का, नेत्रमान प्रधान, रामेश्वर पुडासैनी, राजकुमार चौरेल, बिनुलक्ष्मी ताम्राकार, खड्कप्रसाद शिवाकोटी, बिकास काजी श्रेष्ठ, म्हेन्दो लामा, छिरिङ डोल्मा लामा छन् ।
यसैगरी चेतना थापा कार्की, निर्मल लामा स्याङतान, कविता भट्टराई, हरी पनेरू, पदमबहादुर भण्डारी, अशोककुमार तण्डुकार, शिवकुमार खड्का, बाबुराम प्रधान, राज ढुँगाना, दीपेन्द्र खरेल, कमल खत्री, रमेश पौडेल, राजन कार्की र निर्मल थापालाई विभागको सदस्यमा मनोनित गरिएकाे छ । सदस्यहरुलाई शनिबार नै प्रमाणपत्र वितरण समेत गरिएको थियो ।
सदस्य मनोनीत कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँले अहिले ब्यवस्था जोगाउन र देशको समृद्धिको लागि प्रमुख दुई ठूला दल मिलेर सरकार बनाएकाे बताए । ‘सरकारलाई असफल हुने छुट छैन’ उनले भने । ‘प्रत्यक्ष निर्वाचनमा नै समानुपातिक, समावेशी सहभागीता सुनिश्चितता गरी संविधान संशोधन आवश्यक रहेको छ’ उनले भने ‘राणा, राजा र माओवादीसम्मलाई मिलाएर देश र जनताको हितमा काम गरेको कांग्रेस पछि पर्नुमा आन्तरिक मनमुटाव प्रमुख कारण हाे । उनले यसमा केन्द्रीय नेतृत्व तहले विशेष ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा प्रदेश सदस्य जगदिश नरसिं केसी, बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भंडेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी ९० जनाले नेकपा एमालेको सदस्यता लिएका छन् ।
मकवानपुरगढी–२ मा शनिवार भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेताद्वय मदन मुक्तान र टेकबहादुर थिङ तथा माओवादी केन्द्रका नेता रामबहादुर लुङ्बाको नेतृत्वमा ९० जना नेकपा एमालेमा प्रवेश गरेको एमाले गाउँकमिटी सविच रोमनाथ रेग्मीले जानकारी दिए ।
एमाले रोजेका तीनै जना नेताहरुले २०७४ पछिको पाँच वर्ष एमालेले नेतृत्व गरेको गाउँ सरकार र हाल कांग्रेस–माओवादीले नेतृत्व गरेको सरकारको २ वर्षको कामलाई मुल्यांकन गरेरै पार्टी प्रवेशको निर्णय लिएको बताए । कार्यक्रममा उनीहरुले एमाले रोज्नुको कारण बताउँदै पूर्वाधार, शिक्षा र रोजगारी सृजनाको सबालमा एमाले नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदस्य तथा मकवानपुरगढी इञ्चार्ज निर्मला लम्साल, पार्टी जिल्ला सदस्य तथा मकवानपुरगढी इञ्चार्ज बिदुर हुमागाईं, जिल्ला सदस्य तथा सहइञ्चार्ज मेम्मर लो, पार्टी गाउँ कमिटी अध्यक्ष जितबहादुर घिमिरेलगायतले मकवानपुरगढीको विकास, रोजगारी सृजनासँगै नागरिकको हकअधिकार रक्षाका लागि एमाले प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाए ।
पार्टी वडा कमिटी अध्यक्ष चन्द्रबहादुर आलेको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी गाउँ कमिटी उपाध्यक्ष चन्द्र योञ्जन, सचिव रोमनाथ रेग्मी, सदस्यहरु कृष्ण पुडासैनी, उत्तम अधिकारीलगायतको आतिथ्यता थियो ।
एमाले मकवानपुरगढी गाउँ कमिटीको शुक्रबार मक्राञ्चुलीमा भएको दोस्रो पूर्ण बैठकले पार्टीको संगठन निर्माणलाई सशक्त बनाउँदै सदस्य विस्तारमा जोड दिने कार्ययोजना तयार गरेको थियो । पार्टी केन्द्रीय सदस्य केदार न्यौपाने, पार्टी जिल्ला अध्यक्ष श्रीधर पोख्रेललगायतको उपस्थितिमा भएको बैठकले वार्षिक कार्ययोजना पास गरेसँगै अभियानलाई शनिवारबाट सुरु गरिएको पार्टी गाउँ कमिटी अध्यक्ष घिमिरेले बताए ।
मकवानपुर । बागमती प्रदेश प्रमुखको जिम्मेवारीबाट बिदा भएका यादव चन्द्र शर्माले शुक्रबार नव नियुक्त प्रदेश प्रमुखको जिम्मेवारी लिई आएका दीपक प्रसाद देवकोटालाई स्वागत गरे । निवर्तमान भइसकेपनि शर्मा प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक, सरकारका मन्त्री लगायतसँगै नयाँ प्रदेश प्रमुख देवकोटाको स्वागतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
राष्ट्रपतिले प्रदेश प्रमुख परिवर्तन गर्दा काठमाडौंमै रहेका शर्मा नयाँ प्रदेश प्रमुखलाई स्वागत गर्न विहानै हेटौंडा आइपुगेका थिए । नयाँ प्रमुख देवकोटाले विगतका परिपाटी भन्दा पृथक रुपले निवर्तमान प्रदेश प्रमुखबाट स्वागत तथा आतिथ्यता पाए । विगतमा निवर्तमान भई जाने प्रदेश प्रमुखले यस खालको स्वागत तथा पदस्थापनामा सहभागिता गराउने गरेका थिएनन् । शर्माले नयाँ प्रदेश प्रमुखलाई कार्यालयमा स्वागत गर्दै पदस्थापना सहभागिता जनाए अनि बधाई दिए ।
उनले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण कार्यहरुबारे नव नियुक्त प्रदेश प्रमुखलाई सुनाए पनि । नयाँ प्रदेश प्रमुख देवकोटालाई एक विशेष समारोहका बीच भव्य स्वागत एवम् बधाई ज्ञापन गरियो भने निवर्तमान प्रदेश प्रमुख शर्मालाई बिदाई गरियो ।
स्वागत तथा बिदाई समारोहमा निवर्तमान र नवनियुक्त दुवैले आफूहरु राजनीतिक सहयात्री भएको भन्दै एकले अर्कालाई साथ दिँदै अगाडी बढ्नुपर्ने बताए । आफ्नो कार्यकालमा गरिएका विभिन्न महत्वपूर्ण कार्यहरुबारे निवर्तमान प्रदेश प्रमुख शर्माले अवगत गराउँदा प्रदेश प्रमुख देवकोटाले त्यसलाई अनुशरण गरी अघि बढ्ने प्रतिबद्घता व्यक्त गरे । विगतमा एक प्रदेश प्रमुखले अर्को प्रदेश प्रमुखलाई औपचारिक रुपमा यस खालको वातावरणमा आफ्नो कार्यकालको उपलब्धि र आफ्ना योजनाहरुबारे जानकारी आदान प्रदान गर्ने गरिएको पाइएको थिएन ।
शर्मा प्रदेश प्रमुखका रुपमा २०७८ भाद्र ४ गते नियुक्त भएका थिए । प्रमुख शर्माको कार्यकालमा १८ ओटा विधेयकहरु प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईँले बताए । यस्तै, प्रदेशस्तरको चिट्टा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी प्रदेशसभामा सन्देश सहित मिति गत वर्ष जेठमा शर्माले फिर्ता गरिदिएका थिए ।
प्रमुख शर्माको कार्यकालमा ११ ओटा अध्यादेश जारी भएको थियो भने केही प्राविधिक त्रुटिहरुका कारण प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी नगरिएको चापागाईँको भनाई छ ।
संविधानले निर्दिष्ट गरेका कार्यहरुबाहेक शर्माले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्य तथा विपन्न उत्थानका लागि सहयोग पुग्ने कार्यक्रमको अगुवाई गरे । बागमती प्रदेशमा रहेका सिमान्त समुदाय वनकरिया, सुरेल र हायु समुदायको उत्थानका लागि आफ्नो तर्फबाट सघाउ पुर्याउने प्रयत्न गरे । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको हांडीखोला ट्वाङ्ग्राका वनकरिया समुदायलाई उनीहरुकै नाममा जग्गा दिने गरी प्रदेश सरकारले बस्ती स्थानान्तरण गर्ने वातावरण बनाउन तत्कालीन राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकारलाई आग्रह गरे ।
तर जग्गा प्राप्त हुन नसक्दा उनीहरुको वसोबासको स्थायी व्यवस्था हुन सकेन । दुई खोला विचको टापु, वन्यजन्तुको प्रकोप र चितुवा आतङ्कले गर्दा त्यो समुदायका बालबालिकाहरु नियमित स्कुल जान सक्ने अवस्था छैन ।
यस्तै,
दोलखा जिल्लाको गौरिशङ्कर गाउँपालिकाको सुरीमा रहेको सुरेल समुदायका समस्याहरुको विषयमा गत वर्ष फागुणमा बस्तीमै पुगेर शर्माले अन्तरक्रिया गरे । यसपछि सुरीका विभिन्न ३ वटा विद्यालयमा अध्ययनरत सो समुदायका ४० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला, कापी, कलम विद्यालयलाई खेलकुद सामगी लगाएत करिब ६ लाख बराबरको सामग्री संरचना नेपाल नामक संस्थाले उपलब्ध गरायो र यो सहयोगलाई प्रत्येक शैक्षिक सत्रमा निरन्तरता दिने सहमती भएको छ ।
यही समयमा बुढानिलकण्ठ विद्यालय काठमाडौमा कक्षा ५ मा २ जना सुरेल विद्यार्थीलाई छात्रवृती सहित पढन व्यवस्था गरिएकोमा १ जना मात्र योग्य विद्यार्थी पाईएको र त्यसमा पनि छात्रा भएकाले अभिभावकहरुको रुची नदेखिएकोले अवसर प्राप्त हुन नसकेको शर्माले बताए ।
यस्तै, प्रमुख शर्माको अगुवाईमा देशका सात वटै प्रदेशका प्रदेश प्रमुखहरुको सहभागितामा चितवनको सौराहमा बैठक आयोजना गराए । सन्तुलित प्रादेशिक विकास गर्न, प्राकृतिक स्रोत साधनको दिगो उपयोग गर्न, स्वदेशमा नै रोजगारी सिर्जना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न, कृषी उपज बढाउन स्वदेशी पूँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न, नवप्रवर्तनलाई प्रोत्साहन गर्नका लागी आवश्यक नीति र योजना तयार गर्न, उद्यमशीलताको विकास गर्ने आधारहरु तयार गर्न र प्रदेशहरुको आन्तरिक आय वृद्धि गरी स्रोत परिचालन गर्ने फराकिलो आधार तयार गर्न लगायतका उद्घेश्यसहित प्रदेश प्रमुखहरुको संयुक्त भेलाको आयोजना गरिएको शर्माको भनाई छ ।
यस्तै, प्रदेश प्रमुख शर्माले २०८१ मंसिरमा चिनको युनान प्रान्तको भ्रमण गरे । भ्रमणमा बागमती प्रदेश र युनान प्रदेशको बिचमा भगिनी सम्बन्ध स्थापना गर्ने, आधुनिक कृषी प्रणाली, टनेल इन्जिनियरिङ र डेटाबेस इन्फर्मेसन टेक्नोलोजी सम्बन्धी उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुका लागि युनान विश्वविद्यालयमा भर्ना लिने विषयमा र हेटौडा उपमहानगरपालिका तथा कुन्मीङ महानगरपालिका बिच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा कुराकानी भएको शर्मा बताउँछन् ।
प्रमुख शर्माको कार्यकालमा बागमती प्रदेशमा ३ जना मुख्यमन्त्रीले पद तथा गोपतियताको सपथ ग्रहणं गरे । बागमती प्रदेशसभामा ३ वटा नीती तथा कार्यक्रम प्रस्तुत गरिएको थियो भने निर्वाचन पछाडि बनेको प्रदेश सभालाई सम्बोधन गरिएको निवर्तमान प्रदेश प्रमुख शर्माले बताए ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारमा नियुक्त भएका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । बुधबार हेटौंडामा नेपाली काँग्रेसबाट बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त बहादुरसिंह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथै शुभकामना ज्ञापन गरेकाे हाे ।
पार्टी प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरे । नवनियुक्त मन्त्रीहरुले कसरी प्रदेशको हितमा जनपक्षीय काम गर्नुपर्छ भन्ने पार्टीले सुझावसमेत दिएको कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले बताए ।
मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीसँगको समन्वय र सहकार्यबाट प्रदेशबासीको हितमा काम गर्ने प्रतिवद्धता जनाए । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री लामासहित आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकास मन्त्री हरिप्रभा खड्की, खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण श्रेष्ठ र विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठ नियक्त भएका छन् ।
बधाई तथा शुभकामना कार्यक्रममा प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोल, मकवानपुर जिल्ला सभापति बुद्ध लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।