मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले लोक सेवा आयोग बागमती प्रदेश सदस्यमा रामबहादुर खड्कालाई नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख देवकोटाले खड्कालाई लोक सेवकाे सदस्यमा बिहीबार नियुक्त गरेका हुन्। प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित समितिको सिफारिसमा सोही ऐनको दफा ४ को उपदफा २ बमोजिम खड्कालाई सदस्य पदमा नियुक्त गरिएको हो ।
दोलखा जिल्ला गौरिशंकर गाउँपालिका ५ का खड्कालाई प्रदेश लोक सेवा आयोगको सदस्यमा नियुत्तिको लागि २ मंसिर २०८१ को प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख समक्ष सिफारीस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदकाे सिफारिस अनुसार उनलाई प्रदेश प्रमुखले सदस्य पदमा नियुक्त गरेका हुन् । उनको सपथ ग्रहण अर्को साता हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
प्रदेश लोक सेवका तत्कालिन सदस्य सुदर्शन ढकालले ११ कात्तिकदेखि लागु हुने गरी २ कात्तिकमा राजिनामा दिएपछि यो पद रिक्त थियो । ढकालले आफू भन्दा जुनियरलाई अध्यक्ष पदमा नियुक्ति गर्न लागिएकाे भन्दै राजिनामा दिएका थिए ।
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषदमा ४ जना सदस्य नियुक्त गर्ने निर्णय गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ४ जनालाई परिषद्काे सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
परिषद्को सदस्यमा मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनिया, ललितपुरका रवी महर्जन र रामेछापकी कल्पना खड्कालाई नियुक्त गर्ने निर्णय गरिएकाे सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । ५ सदस्य रहने परिषदमा एक सदस्यको कार्यअवधि बाँकी रहेकाे छ । हाललाई परिषदमा रिक्त रहेकाे सदस्य पदमा ४ जनालाई नियुक्त गरिएको लामिछानेले बताए ।
मन्त्री लामिछानेका अनुसार बैठकले प्रदेश सुशासन केन्द्रको वार्षिक प्रतिवेदनलाई प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले प्रदेश सरकारका २ सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरेलाई युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको समेत जिम्मेवारी तोकिएको प्रवक्ता सुरजचन्द्र लामिछाने बताए ।
यस्तै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृति प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।
मकवानपुर । निर्वाचन आयोगले १६ मंसिरमा हुने उपनिर्वाचनकाे लागि नमुना मतपत्र सार्वजनिक गरेकाे छ । ३२ जिल्लाकाे ४१ स्थानमा हुने उपनिर्वाचनको नमुना मतपत्र आयोगले शुक्रबार सार्वजनिक गरेकाे हाे ।
आयोगले मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिइ कायम रहेका १२ जना उम्मेदवारको चुनाव चिन्ह समावेश गरेर नमुना मतपत्र सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिह्न मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका आयोगद्वार जारी विज्ञप्तिमा जनाइएकाे छ।
स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ । यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू आयोगले शुक्रबार नै वेबसाइटमार्फत सार्वजनिक गरेको हाे ।
आयोगले नमुना मतपत्रमा २०७९ को निर्वाचनमा दलहरुले समानुपातिकतर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरिएकाे तथा नयाँ दल प्रतिस्पर्धामा आएको खण्डमा आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएको दलको वर्णानुक्रमका आधारमा क्रम निर्धारण गरिएको जनाएकाे छ । स्वतन्त्र उम्मेदवारको हकमा दल पछिको क्रममा वर्णानुक्रमअनुसार मतपत्रमा चुनाव चिन्ह समावेश गरिएको छ ।
उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर १६ गते ४१ स्थानमा उपनिर्वाचन हुनेछ । ३३ जिल्लका ४४ स्थानमा उपनिर्वाचन गरिने कार्यतालिका रहे पनि ३ स्थानमा निर्विरोध भएकाे छन् ।
मकवानपुर । बागमती प्रदेश सरकारले बैठकले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति सम्बन्धी नियमावली २०८१ र प्रदेश स्वास्थ्य सेवा दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेकाे छ ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बिहवारकाे प्रदेश मन्त्रीपरिषद्काे बैठकले उक्त नियमावलीमा आवश्यक छलफलका लागि मन्त्रस्तरीय समितिमा पठाउने निर्णय समेत भएकाे जनाकरी दिए । यसैगरी एसियाली विकास बैङ्क एडीबीको ऋण सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि सहमति प्रदान गर्ने निर्णय भएकाे समेत लामिछानेले बताए ।
यसैगरी मन्त्रिपरिषद् बैठकले एक जना सचिवको पदस्थापन र २ जना सचिवको सरुवा गरेको छ । सङ्घीय सरकारबाट सरुवा भई आएका सचिव वेदप्रसाद भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाको बैठक तथा प्रशासन महाशाखाको जिम्मेवारी तोकिएको सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।
यसैगरी बैठकले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव रुद्र लामिछानेलाई गरिबी निवारण तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ । उक्त मन्त्रालय हालै मात्र गठन भएकाे हाे । यस्तै नीति तथा योजना आयोगमा कार्यरत केशवराज सुवेदीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे शासकीय सुधार तथा समन्वय महाशाखाकाे समेत थप जिम्मेवारी तोक्ने बैठकले निर्णय छ ।
मकवानपुर । १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन अन्तरगत आइतबार उम्मेदवाहरुले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ ।
हेटौंडा-१२ मा नेपाली कांग्रेस, नेकपा एमाले,नेकपा माओवादीसहित अन्य दल तथा स्वतन्त्र समेत गरी १४ जना उम्मेदवारले उम्मेदवारी दिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार ९ जना दलका उम्मेदवार र ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । १४ जना मध्ये ११ जना पुरुष र ३ जना महिला उम्मेदवार छन् ।
२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा हेटौंडा १२ काे वडाध्यक्ष पदमा विजयी ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरकाे प्रमुख निर्वाचित भएपछि रिक्त रहेकाे पदमा उप निर्वाचन हुन लागेकाे हाे । हेटौंडा-१२ मा उम्मेदवारी दिने उम्मेदवारहरुमा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादीका रविनकुमार प्रधानले उम्मेदवारी दिएका छन् ।
यसैगरी राप्रपाबाट प्रेमबहादुर भ्लोन, रास्वपाका आशाबिर बल, जसपाका छविलाल वाईबा,मंगोल नेशनल अर्गनाइजेशनका दिपा लामा, नेमकिपाका फुलमाया तितुङ, नेकपा एसबाट बलराम बलले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्र तर्फ अर्जुन घलान, कुमार पोखरेल,गिताकुमारी नेवार, छत्रप्रकाश अधिकारी, युनेश लामा सिन्तानले उम्मेदवारी दिएकाे कार्यालयले जनाएकाे छ ।
निर्वाचन कार्यतालिका अनुसार मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म आइतबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
उम्मेदवारले मङ्सिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारीकाे नाम फिर्ता लिन सक्ने छ भने् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यतालिका रहेकाे छ ।