मकवानपुर । बामगती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बुद्द लामा नियुक्त भएका छन्।
बानियाँ मुख्यमन्त्रीमा नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता प्राप्तपछि बिहीबार बसेको पहिलो बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा लामालाई नियुक्त गर्ने निर्णय गरेको हो। लामा नेपाली कांग्रेस मकवानपुर सभापति हुन्।
यस्तै, बैठकले प्रदेश सरकारको प्रवक्ताकाे जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङलाई दिने निर्णय गरेकाे छ । यसअघि खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ प्रवक्ताको जिम्मेवारी थिए।
यसैगरी बैठकले ६ जना सचिवको पदस्थापन गर्ने निर्णय गरेकाे प्रवक्ता तामाङले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा इश्वरचन्द्र मरहठ्ठा, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको सचिवमा इन्द्रदेव भट्ट, युवा तथा खेलकुद विकास मन्त्रालयकाे सचिवमा वीरेन्द्रदेव भारती, श्रम रोजगार तथा यातायात मन्त्रालयको सचिवमा बलराम ढकाल, आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवमा झलकराम अधिकारी र पूर्णबहादुर दर्जी सामाजिक विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका र अस्ट्रेलियाको मेरिब्रेक सिटी काउन्सिलबीच भगिनी सम्बन्ध विस्तार गर्न परामर्श सम्बन्धमा निर्णय भएको प्रवक्ता तामाङले बताए ।
बागमती प्रदेशमा कार्यरत कर्मचारीहरुको महंगी भत्तामा बृद्धि गरिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । विनियोजन विधेयकमै उल्लेख भएर आएअनुसार प्रदेशमा कार्यरत कर्मचारीको महंगी भत्ता ३ हजार रुपैयाँबाट बढाएर ५ हजार रुपैयाँ पुर्याउने निर्णय गरिएको प्रवक्ता तामाङले बताए ।
मकवानपुर । बागमती प्रदेशकाे मन्त्रिपरिषद् विस्तार गरिएकाे छ । प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले शुक्रबार ५ जनालाई मन्त्री पदमा नियुक्ति गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएकाे हाे ।
मुख्यमन्त्री बानियाँले नियुक्त गरेका पाँचै जना मन्त्रीले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नव नियुक्त ५ मन्त्रीहरुलाई शुक्रबार सपथ गराएका हुन् ।
मुख्यमन्त्री बानियाँले युवा तथा खेलकुद मन्त्रीमा उर्मिला नेपाल, सामाजिक विकास मन्त्रीमा कन्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्रीमा सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बिनु रायमाझी र आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रभात तमाङलाइ नियुक्त गरेका हुन् ।
यस अघि २० साउनमा मुख्यमन्त्री नियुक्त भएसँगै बानियाँले विना विभागीय मन्त्रीमा नियुक्त गरेका शिवराज अधिकारीले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री बानियाँले यसअघि आफू सहित ९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । त्यतिबेला आफूसहित कांग्रेसबाट ३ र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो ।
पुरा भएन सहमति
मुख्यमन्त्री बानियाँले आफ्नो नेतृत्वको सरकार निर्माण गर्दा निवर्तमान मुख्यमन्त्री बहादुर सिं लामासँग गरेको सहमती भने कार्यान्वयन गरेनन् । लामाले नियुक्त गरेका तर सपथ लिन नभ्याएका ३ मन्त्रीहरुलाई बानियाँले आफ्नो नेतृत्वको सरकारमा सामेल गराउने सहमती गरेका थिए । तर अन्ततः बानियाँले आफू पक्षधरलाई मात्रै मन्त्रीमा सामेल गराए, लामा पक्ष हेरेको हेर्यै भएको छ ।
मन्त्री नियुक्त भएर पनि सपथ लिन नभएका सांसदहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गिता गुरुङले मन्त्रीको हल्लामात्रै पाए जिम्मेवारी पाएनन् ।
बानियाँ नेतृत्वकाे मन्त्रिपरिषद् यस्तो रहेकाे छः
(१) इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
(२) मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
(३) शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय
(४) किरण थापामगर मन्त्री, स्वास्थ्य मन्त्रालय
(५) उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
(६) कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय
(७) डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
(८) प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय
(९) भरतबहादुर के.सी. मन्त्री, वन तथा वातावरण मन्त्रालय
(१०) सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय
(११) जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय
(१२) कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय
(१३) विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय
(१४) विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय

मकवानपुर । बागमती प्रदेशकाे मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज सरकार विस्तारको तयारी गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषदमा पाँच जना मन्त्री नियुक्तिको तयारी गरिएकाे हाे । १४ मन्त्रालय रहेकाे बागमतीमा प्रदेशमा २० साउनमा मुख्यमन्त्री नियुक्त बानियाँले रिक्त पाँच मन्त्री नियुक्तिको तयारी गरेका छन् । बानियाँले मुख्यमन्त्री नियुक्त भएकाे दिन एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए ।
मुख्यमन्त्री सहित काँग्रेसकाे भागमा ८ र एमालेकाे भागमा ६ मन्त्रालय छ । प्रदेशकाे रिकत् आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्तकाे तयारी गरिएकाे हाे । मुख्यमन्त्री बानियाँले काँग्रेसका कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् भने काठमाडौं रहेका उनीहरूलाई शुक्रबार नै हेटौंडामा बोलाइएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
प्रदेश प्रमुख कार्यालय स्रोतले भने मन्त्रिपरिषद विस्तारबारे नाम आइनसकेको तर आजै नियक्ति र शपथ हुने सम्भावना भने रहेको जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबारको प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री बानियाँले पक्षमा ६३ मत प्राप्त गरे । उनको विपक्षमा २२ सदस्यकाे मत पर्यो ।
प्रदेश सभाका ७ जना सदस्य भने मत विभाजन हुँदा तटस्थ बसेका थिए । कुल ११० सदस्यीय प्रदेश सभामा ५६ प्रदेश सभा सदस्यकाे समर्थन भए सरकार गठन हुन्छ भने विश्वासकाे मतकाे लागि समेत पर्याप्त हुन्छ । उनलाई नेपाली कांग्रेसका ३६ र नेकपा एमालेका २७ सांसदले मत दिएका छन् । कांग्रेसका रामकृष्ण चित्रकार देश बाहिर रहेकाले एक मत प्राप्त भएन ।
प्रदेशसभाको मंगलबारकाे बैठकमा कूल ९२ सदस्य उपस्थित थिए । सभामुखले भने मत विभाजनमा सहभागी भएनन् । गत साउन २० मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिक विश्वासको मत लिएका हुन् ।
उनी आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बनेका थिए । कांग्रेस र एमालेले मुख्यमन्त्रीकाे विश्वासकाे पक्षमा मत दिन ह्वीप जारी गरेका थिए ।
मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
दलका प्रमुख सचेतक एका लाल श्रेष्ठले प्रदेश सभा सबै सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए । त्यस्तै प्रमुख सचेतक श्रेष्ठद्वारा जारी सूचनामा भनिएकाे छ‘ प्रदेश सभा बैठक बस्नु अघि दिउँसो १ बजे नेकपा(एमाले) संसदीय दलको बैठक बस्ने भएकाले दलको कार्यालयमा उपस्थित हुन सांसदहरुलाई जानकारी गराइन्छ ।’
मुख्यमन्त्री बानियाँले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसुची रहेको छ । बानियाँले साउन २७ गते नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन्।यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्विप जारी गरेकाे थियो ।
कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ २० साउनमा आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेपालकाे संविधान अनुसार मुख्यमन्त्रीमा नियक्ति हुनेले ३० दिन भित्र प्रदेश सभामा विश्वासकाे मत लिनु पर्ने हुन्छ । ११० सदस्य रहेको बागमती प्रदेशसभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन चाहिन्छ ।