मकवानपुर । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
दलका प्रमुख सचेतक एका लाल श्रेष्ठले प्रदेश सभा सबै सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए । त्यस्तै प्रमुख सचेतक श्रेष्ठद्वारा जारी सूचनामा भनिएकाे छ‘ प्रदेश सभा बैठक बस्नु अघि दिउँसो १ बजे नेकपा(एमाले) संसदीय दलको बैठक बस्ने भएकाले दलको कार्यालयमा उपस्थित हुन सांसदहरुलाई जानकारी गराइन्छ ।’
मुख्यमन्त्री बानियाँले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसुची रहेको छ । बानियाँले साउन २७ गते नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन्।यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्विप जारी गरेकाे थियो ।
कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ २० साउनमा आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेपालकाे संविधान अनुसार मुख्यमन्त्रीमा नियक्ति हुनेले ३० दिन भित्र प्रदेश सभामा विश्वासकाे मत लिनु पर्ने हुन्छ । ११० सदस्य रहेको बागमती प्रदेशसभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन चाहिन्छ ।

