मकवानपुर । जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठ राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त भएका छन्।
निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा निर्वाचन आयोगको मंगलबार बसेको बैठकले श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको हो। राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उनलाई वैशाख १६ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको आयोगले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य प्रतिनिधित्व गरेका रामबहादुर थापालाई कारबाही गरेपछि रिक्त रहेको सिटमा जेठ ६ मा उपनिर्वाचन हुन लागेको हो।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन सरेको छ । आउँदाे बैशाख १८ गते हुने भनिएको निर्वाचन दोश्रो पटक पनि सरेको हो । गत चैत्र २३ गते तय भएको निर्वाचनलाई मकवानपुर उद्योग वाणिज्य संघले कोभिडको कारण देखाउँदै बैशाख १८ लाई तय गरेको थियो ।
देशभर फैलिरहेको कोभिड–१९ (कोरोना भाईरस) काे प्रकोप थप भयावह हुँदै आएकाे कारण आशन्न निर्वाचन पुनः सरेको हो । नयाँ निर्वाचनको मिति भने मकवानपुर उद्योग वाणिज्य संघको बैठकले तय गर्ने जनाईएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सहित आसन्न निर्वाचनका उम्मेद्वारहरु, मउवासंघ कार्यसमितिको बैठकमा निर्वाचनको नयाँ मितिको विषयमा छलफल हुँदा असारभित्र अनकुलता हेरेर निर्वाचन गर्न प्रशासनले सुझाव दिईएको बताईएको छ ।
मकवानपुर । प्रेस संगठन नेपाल मकवानपुरले जिल्ला सचिवालय समिति गठन गरेको छ । नेकपा (माओवादी केन्द्र) मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिनको विशेष उपस्थिति तथा प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापाको अध्यक्षतामा हेटौंडामा शनिबार बसेको बैठकले ११ सदस्यीय सचिवालय गठन गरेकाे हाे ।
जिल्ला सचिवालय समितिमा संयोजक थापा, सहसंयोजक एमपी शर्मा, सदस्यहरु शुभलक्ष्मी विक, सरला अधिकारी, अशोकसुजन श्रेष्ठ, ईच्छापूर्ण कार्की, रुपा गुरुङ, दिलबहादुर लामा, नवराज वाईबा, रञ्जिता डंगोल, भावना रिजाल रहेका छन् । त्यस्तै, प्रेस संगठनको बैठकले मकवानपुरको निर्वाचन क्षेत्र अनुसार संयोजक पनि तोकेको छ ।
जसअनुसार प्रतिनिधी सभा मकवानपुर १ ‘क’ मा रुपा गुरुङ, ‘ख’मा एमपी शर्मा, मकवानपुर २ ‘क’ मा ईच्छापूर्ण कार्की र ‘ख’मा दिलबहादुर लामालाई चयन गरेको छ । साथै प्रेस संगठन मकवानपुरको बैठकले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लाको पत्रकारिता, मिडिया र पत्रकारको विकास र प्रबद्र्धनका लागि गर्नुपर्ने नीति तथा कार्यक्रम तयार गरेको छ ।
मकवानपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भइ बनेकाे नेपाल कम्युनिष्ट पार्टी सर्वाेच्च अदालतको आदेशले खारेज भइ नेकपा एमाले पुनस्थापित भएसँगै पार्टी संघ संघठन पुनर्गठन कार्यले निरन्तरता पाएको छ ।
यसै सन्दर्भमा युवा संघ मकवानपुरका उपाध्यक्ष किरणमान बलको संयोजकत्वमा युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटी गठन भएको छ । युवा संघ मकवानपुरको शनिबार भएको बिस्तारित बैठकले जिल्ला कमिटीको सचिवको जिम्मेवारी सगुन स्याङ्तानलाई दिएको छ ।
बिस्तारित बैठकले रिक्त रहेका पदहरुमा समेत सदस्यहरु थप गरी १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको सचिव सगुन स्याङ्तानले जानकारी दिए । बिस्तारित बैठकमा प्रमुख अतिथि समेत रहेका नेकपा एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले अनुशासनसहितका युवाहरुले बिग्रँदै गएको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सक्ने बताए । ‘युवाले सही र गलत बुझेर अघि बढ्नुपर्छ’ न्याैपाने भने– ‘विश्लेषणात्मक आलोचनात्मक भएर अघि बढ्न सक्ने युवाहरु सफलता उन्मुख हुनेछन् ।’
कार्यक्रममा पूर्वमन्त्री एबम् एमाले केन्द्रीय सदस्य तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, युवा संघ केन्द्रीय सचिव आरती पाठक, केन्द्रीय सचिवालय सदस्य प्रकाश बानियाँ, केन्द्रीय सदस्यहरु गोविन्द दुलाल, राजप्रकाश भण्डारी, समिर स्याङ्तान लगायतको सहभागिता रहेको थियो । बिस्तारित बैठकले स्थानीय तहमा कमिटीको बिस्तार लगायत राजनीतिक योजना निर्माण गरेको बताइएको छ ।
मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् । शनिवार विशेष कार्यक्रम बीच धरहरामा राखिएको शिलालेख अनावरण गरे प्रधानमन्त्री ओलीले नव निर्मित धरहराकाे उद्घाटन गरेका हुन् धरहराकाे २० औँ तलाको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टिसमेत गरे ।
कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहकाे अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहरा पूर्णरुपमा तयार भइ नसकेकोले अवलोकन गर्न भने पाइने छैन ।
वि.सं. २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान शुरु गरेका थिए ।
२०७२ साल बैशाख २ गते गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानी काठमाडाैंको सुन्धारामा रहेको धरहरा ढलेको थियो । धरहरा ढल्दा ६० जनाले जीवन गुमाएका थिए । सयौँ मानिस घाइते भएका थिए । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न छ वर्ष लाग्यो । छ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित २३ तला हुनेछ । समग्रमा धरहरा २५ तलाको हुनेछ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत रु तीन अर्ब ४८ करोड रहेको छ । पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर राखिएको छ । २२ औं तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।

दुईवटा लिफ्ट र रंगरोगनको काम सकिएको छ । हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम जारी छ । धरहरालाई बलियो, आकर्षक र अपांगमैत्री बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ ।
धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २०औँ तला बाहिर २.५ मिटर चौडाइको बार्दली समेत बनाइएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।
धरहराको इतिहास
विसं. १८८२ मा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तल्ले धरहरा बनाउन लगाएको इतिहास छ । विसं. १९१३ मा बज्र (चट्याङ) ले भत्केपछि विसं १९२३ मा धरहराको जीर्णोद्धार गरिएको थियो । विसं. १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनःनिर्माण गरिएको थियो । पुनःनिर्माणका क्रममा ११ तले धरहरालाई नौ तलामा सीमित गरिएको थियो ।
यो धरहराभन्दाअघि विसं. १८८१ मा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो । विसं १८९० मा भत्किएपछि लगनटोलको धरहरा पुनःनिर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ ।