मकवानपुर । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भइ बनेकाे नेपाल कम्युनिष्ट पार्टी सर्वाेच्च अदालतको आदेशले खारेज भइ नेकपा एमाले पुनस्थापित भएसँगै पार्टी संघ संघठन पुनर्गठन कार्यले निरन्तरता पाएको छ ।
यसै सन्दर्भमा युवा संघ मकवानपुरका उपाध्यक्ष किरणमान बलको संयोजकत्वमा युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटी गठन भएको छ । युवा संघ मकवानपुरको शनिबार भएको बिस्तारित बैठकले जिल्ला कमिटीको सचिवको जिम्मेवारी सगुन स्याङ्तानलाई दिएको छ ।
बिस्तारित बैठकले रिक्त रहेका पदहरुमा समेत सदस्यहरु थप गरी १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको सचिव सगुन स्याङ्तानले जानकारी दिए । बिस्तारित बैठकमा प्रमुख अतिथि समेत रहेका नेकपा एमाले केन्द्रीय सदस्य केदार न्यौपानेले अनुशासनसहितका युवाहरुले बिग्रँदै गएको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सक्ने बताए । ‘युवाले सही र गलत बुझेर अघि बढ्नुपर्छ’ न्याैपाने भने– ‘विश्लेषणात्मक आलोचनात्मक भएर अघि बढ्न सक्ने युवाहरु सफलता उन्मुख हुनेछन् ।’
कार्यक्रममा पूर्वमन्त्री एबम् एमाले केन्द्रीय सदस्य तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, युवा संघ केन्द्रीय सचिव आरती पाठक, केन्द्रीय सचिवालय सदस्य प्रकाश बानियाँ, केन्द्रीय सदस्यहरु गोविन्द दुलाल, राजप्रकाश भण्डारी, समिर स्याङ्तान लगायतको सहभागिता रहेको थियो । बिस्तारित बैठकले स्थानीय तहमा कमिटीको बिस्तार लगायत राजनीतिक योजना निर्माण गरेको बताइएको छ ।

