मकवानपुर । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकाे भातृ तथा शुभेच्छुक संघ संस्था समन्वय विषयगत समितिको विज्ञमा हेटाैडाका रामबहादुर भण्डारी मनाेनयन भएका छन् ।
नेपाली कांग्रेसको विधान, २०७ (संशोधन सहित) को ३६ (१) (ङ) अनुसार नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रकाश अधिकारी संयोजक रहेकाे उक्त समितिको विज्ञका रुपमा भण्डारीलाई नियुक्त गरिएकाे हाे ।
२०७७ फागुन १ गतेकाे नियुक्ती पत्रमा भनिएकाे छ ‘प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा रही सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पु–याउनु हुनेछ भन्ने विश्वासका साथ नियुक्त हुनु भएकोमा बधाई छ ।’
लामाे समयदेखि शिक्षण पेशामा संलग्न भण्डारी हेटौँडा क्याम्पसका सहायक क्याम्पस प्रमुख छन् ।भण्डारी हेटाैडा उपमहानगरपालिका वडा नम्बर १८ का स्थायी बासिन्दा हुन् ।

मकवानपुर । राष्ट्रियसभा उपनिर्वाचनको लागि ३ जनाको उम्मेद्वारी दर्ता भएको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभाकाे १ पदकाे लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनको लागि सत्तारुढ दल नेकपा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका एमाले स्थायी कमिटि सदस्य रामबहादुर थापा “वादल” नेकपा माओवादी केन्द्र तथा नेपाली कांग्रेसको समर्थनमा डाक्टर खिमलाल देबकोटा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेद्वारी दर्ता भएको गरेका हुन् ।
बादलको मनोनयनमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले प्रस्ताव गरेका छन भने सामजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकि छिन् । डाक्टर देबकोटाको प्रस्ताबक नेकपा माओवादी केन्द्र वागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेल छन भने समर्थकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छिन् । तामाङको प्रस्तावक नेमकिपा वागमती प्रदेश सांसद सुरेन्द्रराज गोसाई छन भने समर्थक पनि नेमकिपाकी सांसद सिर्जना सैजु रहेकी छिन् । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेापल समूहको समर्थन रहेको छ ।
यसै गरी नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गृहमन्त्री बादलले नेकपा एमालेको मत आफुले प्राप्त गर्ने बताएका छन् । राष्ट्रियसभा उपनिर्वाचनको लागि शुक्रबार उम्मेद्वारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बादलले एमालेको सबै भोट आफुले प्राप्त गर्ने बताए ।
राष्ट्रियसभामा बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित रामबहादुर थापा बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । साेही अनुसार नेकपा माओवादी केन्द्रले बादललाइ कारवाही गरे उनको स्थान खाली भएको थियो । सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन गर्न लागेको हो ।
राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानकाे लागि हेटौंडा ४ मा रहेकाे भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ । क र ख मतदान केन्द्र रहने छन्र भने उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।
बागमती प्रदेशसभा सदस्य १ सय १० जना र प्रदेशका १३ जिल्लाका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ जना गरी ३ सय ४८ जना मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना हुने प्रदेश निर्वाचन कार्यालय हेटाैडाका निमित्त प्रमुख गाेविन्द प्रसाद पाैडेलले जानकारी दिए ।
१ सय १० सदस्यीय प्रदेशसभामा एमालेका ५७, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना छन् भने जनता समाजवादी पार्टीका १ जना सदस्य छन् । एमालेका ५७ जनामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद रहेकाे बताइएकाे छ ।
शुक्रबार दर्ता भएका उम्मेदवारको विरोधमा वैशाख २५ गते उजुरी दिने, २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेकाे प्रदेश निर्वाचन कार्यालयका प्रमुख पाैडेलले बताए ।
मकवानपुर । बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन जेठ ६ गते हेटाैडामा हुने भएकाे छ । बागमती प्रदेशकाे राजधानी हेटौंडामा हुने उपनिर्वाचन हेटाैडा ४ स्थित भुटनदेवी माविमा मतदान स्थल ताेकिएकाे छ ।
उपनिर्वाचनका लागि बागमती प्रदेशसभा सदस्य १ सय १० जनाले भुटनदेवी मावी (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २ सय ३८ जनाले भुटनदेवी मावी (ख) केन्द्रबाट मदतान गर्ने भएका छन् । राष्ट्रिय सभा सदस्यकाे लागि कुल ३ सय ४८ मतदाता रहेकाे बागमती प्रदेशमा बैशाख २३ गते विहीबार अन्तिम नामावली प्रकाशन भएको छ ।
मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने तथा मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजुरी नपरेको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटाैडा मकवानपुरका निमित्त प्रमुख गोबिन्द प्रसाद पौडेलले बताए । प्रमुख पाैडेलका अनुसार बैशाख २४ गते शुक्रबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।
उपनिर्वाचनमा राष्ट्रिय ५ राजनीतिक दलले भाग लिने भएका छन् । उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आयोगमा दल दर्ता गराएको आयोगले जनाएको छ ।
उपनिर्वाचनका लागि एमालेलाई सूर्य र क्रम १, कांग्रेसलाई रुख र क्रम २, नेकपा (माओवादी केन्द्र लाई गोलाकारभित्र हँसिया हथौडा चिन्ह र क्रम ३, राप्रपालाई हलो चिन्ह र क्रम ४ तथा नेमकिपालाई मादल चिन्ह र क्रम ५ को क्रममा मतपत्रमा समावेश गरिने भएको छ ।
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी ( एमाले) बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो।
नेकपा एमालेको बिधान, २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको हो । बोर्डको सदस्यमा मुख्य सचेतक दीपक निरौला (पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बिजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन् । बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यबस्था रहेको छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने छ ।
मुख्य सचेतकमा निरौला
यसै गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालिन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री नियुक्त भएपछि रिक्त रहेको पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) दलको बिधान, २०७७ को दफा १३ बमोजिम निराैलालार्इ मुख्य सचेतकमा मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरिएकाेमा विहीबार बागमती प्रदेश सभा सचिवालयलाई जानकारी गराईएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकार संचार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताइएकाे छ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संचार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका हुन ।
बिहीबार नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको टोलीसँग भेटघाट गर्दै मुख्यमन्त्री पौडेलले संचार क्षेत्रका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा संचार क्षेत्रलागि सहयोग पुग्ने खालकाे कार्यक्रम समेट्ने प्रतिबद्धता व्यक्त उनले व्यक्त गरे ।
प्रदेश सरकारले संचार क्षेत्रको विकासमा यस अघि पनि विभिन्न योजना अघि सारेको र प्रदेशमै पहिलो प्रेस रजिष्ट्रार कार्यालय स्थापना गरेर त्यसमार्फत संचार क्षेत्रका समस्या समाधानमा टेवा पुगेको उनले दावी गरे । मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि पत्रकार महासंघमार्फत समानुपातिक विज्ञापन, जिल्ला महासंघ शाखामा सूचना केन्द्र स्थापनाका लागि आगामी आर्थिक बर्षमै नीति तथा कार्यक्रम र बजेटमा व्यवस्थापन गरिने बताए । उनले भने ‘सरकार पत्रकार र संचारमाध्यमको बृद्धि विकासका लागि सकारात्मक छ ।’
भेटघाटकै क्रममा महासंघका अध्यक्ष शिव देवकोटाले मुख्यमन्त्री पौडेलसमक्ष प्रस्ताव पत्र पेश गरेका छन् । संचारग्राम निर्माण र संचालन, प्रदेशभित्र संचालित संचारमाध्यममा समानुपातिक विज्ञापन, संचारक्षेत्रलाई उद्योगमा समेटन र मान्यता दिनुपर्ने, सुत्केरी पत्रकार महिला र कोरोना संक्रमित पत्रकारलाई लेखनवृत्ति, स्नातक र स्नात्तकोत्तर अध्ययनका लागि संचारकर्मीलाई छात्रबृत्ति वितरणलगायत माग राख्दै प्रस्ताव पत्र बुझाइएको अध्यक्ष देवकाेटाले बताए ।