मकवानपुर । नेकपा एमालेले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्वीप जारी गरेको छ।
महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पठाइएको पत्रमा भनिएको छ ‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापा भएको जानकारी गराइन्छ । पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म हेटौँडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयअनुसार निर्देशन गर्दछु।’
यसै बिच जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका रामबहादुर थापा बादललाई सहयोग गर्ने भएको छ ।
आफ्नो उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि एमालेबाट औपचारिक पत्र प्राप्त भएकाले राप्रपाले एमालेका उम्मेदवार बादललाई मतदान गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।
राप्रपाले बादलको पक्षमा मतदान गर्न पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिइसकेको छ । राप्रपाको प्रदेशसभामा २ सांसदको प्रतिनिधित्व छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुन् ।
यस्तै राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न हेटौँडा आउने प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई आवास र खानपानको व्यवस्थापनका लागि होटल संचालन गर्न दिइने भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रियसभा उपनिर्वाचनमा मतदान गर्न हेटौँडा आउने मतदाताहरुका लागि आवास र खानपानको प्रबन्ध मिलाउन होटल संचालन गर्न दिने निर्णय गरेको हो ।
जेठ ६ गते विहान ९ बजेदेखि सुरु हुने मतदानका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवि माद्यमिक विद्यालयको भवनमा ३ वटा मतदान केन्द्र स्थापना गरिएको र आवश्यक शान्ति सुरक्षाको समेत व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानएको छ ।
निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सांसद्, प्रदेशका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय ३८ जना गरी कुल ३ सय ४७ जना मतदानमा सहभागि हुनेछन् ।
रिक्त राष्ट्रियसभाको १ पदको उपनिर्वाचनमा एमालेबाट थापा, माओबादी केन्द्र सहितको दलको समर्थनमा प्रदेश नीति तथा योजना आयोगका पूर्व अध्यक्षसमेत रहेका डा. खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन ।
मकवानपुर । आज जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवस हाे । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रितकाे मृत्यु भएकाे थियाे । दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।
नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । भण्डारी र आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’
माधव नेपालद्वारा जारी विज्ञप्ती
मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जली !
२०७८ जेठ ३ गते २८ औं मदन-आश्रित स्मृति दिवस ! नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता कमरेड मदन भण्डारी र संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको २८ वर्ष पूरा भएको छ। सर्वप्रथम म उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो हुनुहुन्थ्यो । सिद्धान्तकार, विचारक, व्याख्याता र एक दुरदृष्टियुक्त नेता हुनुहुन्थ्यो । उहाँले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेर संसारभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय र असाध्यै बलशाली बनाउनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यसैगरी कुशल संगठक कमरेड जीवराज आश्रितले नेकपा (एमाले)को संगठन विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो । पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप संगठन निर्माणमा उहाँले खेल्नु भएको भूमिका अतुलनीय छ। सोभियत संघ विघटनपछि कम्युनिष्ट आन्दोलन रक्षात्मक मात्रै होइन अलमलमा थियो । विशाहीनता र जडताको गोलचक्करमा परेको तथा ओरालो लागेको कम्युनिष्ट आन्दोलनलाई जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर तत्कालीन महासचिव कमरेड भण्डारीले नयाँ उचाई प्रदान गर्दै नयाँ आशा र विधान प्रदान गर्नुभयो । मार्क्सवादका मूलभूत पक्षको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई सुवृत बनाउन जवसको अग्रणी भूमिका छ। जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंपा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु । यतिबेला हामी नेकपा (एमाले)को आन्तरिक जीवनमा असाध्ये संगीन परिस्थितिको सामना गरिरहेका छौं।
यो बेला हामी माथि प्रश्न छ, के हामी जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिकर लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक-आर्थिक रूपान्तरण, राष्ट्रिय पूंजीको विकास र समाजवादमा पुग्ने हाम्रो सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका हाँ ?” हामी माथि प्रश्न छ, ‘जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य मान्यतालाई स्वयम् हामीले आत्मसात गरीरहेका छौं?’ अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ । नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट हामी कसैलाई छैन। यी तमाम दायित्व पूरा गर्नका लागि आजको सन्दर्भमा एकताबद्ध, सुसंगठित, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त हो । नेकपा (एमाले) को विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै उहाँहरुले देखेको सुन्दर सपना साकार पार्न सक्नेछौं । फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्र उहाँहरप्रतिको सम्मान हुनेछ । देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिंडूने प्रण गरौ । यो नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। अहिले हामी कोरोनाको दोस्रो लहरका कारण हामीले युगकै असाध्यै कठिन परिस्थिति सामना गरिरहेका छौं । यो विषम परिस्थितिमा सवैसँग आवश्यक सहकार्य गर्दै सम्पूर्ण शक्ति र संयन्त्र कोरोना विरुद्धको लडाईमा परिचालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ । कोरोना महामारीविरुद्ध जारी स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्दै संक्रमणको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकीय भूमिका निर्वाह गर्न सिंगो पार्टी पंक्ति सहित आम जनसमुदायलाई हार्दिक अपील समेत गर्दछु।
मिति: २ जेठ, २०७०
माधवकुमार नेपाल वरिष्ठ नेता नेकपा (एमाले)


मकवानपुर । नेपाली काँग्रेसले आज जेठ २ गते आइतबारदेखि सातै प्रदेशमा काेराेना भाइरसकाे अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । पार्टीको कोभिड–१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता–कार्यकर्ताको संलग्नतामा जुम प्रविधिमार्फत कार्यक्रम गर्न लागिएको पार्टी कार्यालयले जनाएको छ ।
कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, पार्टीको क्षेत्रीय कार्यसमितिका सभापति, पालिकाका सभापति तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायतको सहभागिता रहनेछ ।
कार्यक्रमको प्रमुख अतिथि कांग्रेसका सभापति शेरबहादुर देउवा र विशिष्ट अतिथिका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य नेतासमेत सहभागी हुने पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । सबै प्रदेशको संयोजन कांग्रेसका सहमहामन्त्री तथा समितिका संयोजक डा. प्रकाशशरण महतले गर्नेछन् ।

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म हुने तय भएकाे महाधिवेशन स्थगित भएको छ। कोरोना सङ्क्रमणका कारण राप्रपाका तीनै जना अध्यक्षसहितकाे शनिबारकाे बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै आगामी जेठ २२–२५ सम्म काठमाडौँमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ। महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने पनि पार्टीले जनाएको छ।
बैठकले कोरोना भाइरस सङ्क्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ। नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।
मकवानपुर । नेकपा एमालेका नेता एवं बागमती प्रदेशका प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधनप्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका सचिव निमा लामाले शोक वक्तव्य जारी गर्दै चौलागाईको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
चौलागाईको निधनले बागमती प्रदेशसभाले एक प्रखर, प्रभावशाली एवं गहन विचारक गुमाएको जनाईएको छ शाेक वक्तव्यमा भनिएकाे छ नेपालको राजनैतिक परिवर्तनका हरेक आन्दोलनमा उनले खेलेको भूमिका र सामाजिक क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उपेक्षित एवं उत्पिडित वर्गको उत्थान र अधिकार स्थापित गर्न गरेको त्याग नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल सधैं स्मरण गर्ने छ ।
यसैगरी प्रदेशसभा सचिवाललयले प्रदेश सभा बागमती प्रदेश फेसवुक पेजमा प्रदेश सभाका माननीय सदस्य पशुपति चौलागाईकाे निधनमा दुख व्यक्त गर्दै समवेदना प्रकट गरेकाे छ ।
बागमती प्रदेशसभा सदस्य चौलागाईँको कोरोना संक्रमणका कारण मनमोहन मेमोरियल अस्पताल काठमाडाैंमा मंगलबार साँझ निधन भएको अस्पतालले पुष्टि गरेको थियाे । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।
एमालेका प्रभावशाली नेता मानिने चौलागाई दोलखाबाट दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए ।
चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा मनाेनित सभासद रहेका चौलागाई एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् । उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए । प्रदेशको चुनावपछि उनलाई वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि प्रबल दाबेदार मानिएका थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका उनी एमालेका प्रभावशाली नेतामा गनिन्थे ।काठमाडौं पेप्सिकोलामा बस्दै आएका चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
