मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म हुने तय भएकाे महाधिवेशन स्थगित भएको छ। कोरोना सङ्क्रमणका कारण राप्रपाका तीनै जना अध्यक्षसहितकाे शनिबारकाे बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।
कोभिड–१९ महामारी अत्यन्तै भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै आगामी जेठ २२–२५ सम्म काठमाडौँमा हुने भनिएको पूर्वघोषित पार्टीको केन्द्रीय महाधिवेशन हाललाई स्थगित गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ। महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गरिने पनि पार्टीले जनाएको छ।
बैठकले कोरोना भाइरस सङ्क्रमणको दर उच्च बन्दै गइरहेको तर नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर बनिरहेकोमा चिन्ता व्यक्त गरेको छ। नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न पनि राप्रपाले सरकारसँग माग गरेको छ।
