मकवानपुर । नेकपा (माओवादी केन्द्र) काे आज पालिकाको सम्मेलन हुदैछ । पार्टीले आज शनिबार ७ सय ५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको हाे । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिका स्तरीय सम्मेलन हुने भएकाे छ ।
मकवानपुरका १० स्थानीय तह मध्य आज थाहा नगरपालिकाको मात्रै सम्मेलन हुने माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिएका छन् । उनका अनुसार आज थाहा नगरपालिकाको र १३ गते बाँकी ९ वटा पालिकाको अधिवेशन गर्ने तयारी रहेकाे छ । मकवानपुरका पालिकामा रहेका १ सय २ वडामध्ये अधिकाँशमा सहमतिबाटै अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडा अधिवेशन आज सम्पन्न गरिने भएकाेले पालिका अधिवेशन मशिर १३ गते गर्न लागिएकाे पाख्रिनले बताए ।
पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई शनिबार दिउँसो १ बजे एकैपटक सम्बोधन गर्ने कार्यक्रम तय भएकाे छ ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । पार्टीकाे प्रदेश सम्मेलन आउँदाे मङ्सिर २५ गते हुदैछ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।
माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति तय गरेको हाे । पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ ।
वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।
वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १ सय ५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २ सय , उपमहानगरमा ३ सय र महानगरमा ४ सय प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने पार्टीले जानकारी दिइएको छ ।
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । शुक्रबार (आज)बाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ ।
एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
१० देखि १२ मंसिर गरी तीन दिनसम्म हुने सो महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ । सो महाधिवेशनमा सहभागी हुन र अवलोकन गर्न देशभरबाट झन्डै ५ लाख नेता÷कार्यकर्ता शुक्रबारसम्म चितवन आइपुग्ने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश नेताहरू बिहीबार नै चितवन आइपुगेका छन् ।
बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हँुदै छन् । कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको एमालेले जनाएको छ । नारायणी नदीको नरायणढगढतर्फको किनारामा मात्रै सहभागी नअट्ने भएकाले नवलपरासीको गैंडाकोटतर्फको किनारामा पनि बस्ने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउँदै पर्चापम्प्लेटमा भने बन्देज लगाएको छ । मतदानका लागि १ सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गर्दै छ । नारायणगढ बजार क्षेत्रमा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाउने व्यवस्था गरिएको छ ।
नारायणगढ बजार क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको हसिया हथांैडा अंकित झन्डा र ब्यानर सजाएर बजारलाई झकिझकाउ र सुन्दर बनाइएको छ । अत्यावश्यक गाडी नरोकिने महाधिवेशन उद्घाटन क्रममा चितवनमा यात्रुलाई सहज हुने गरी ट्राफिक व्यवस्थापन मिलाइएको स्थानीय प्रशासनले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइनेछ । नारायणगढ र भरतपुरका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक गाडी नरोकिने र अरू गाडीका लागि वैकल्पिक बाटोको व्यवस्थापन मिलाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट ओहोरदोहोर गर्ने बसलाई वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । पूर्वबाट चितवन हुँदै गुड्ने गाडीलाई बाइपास रोड खुला हुनेछ । पूर्वबाट काठमाडांै ओहोरदोहोर गर्ने गाडी भरतपुरको जिल्ला प्रशासन कार्यालय चोक, बाइपास– आँपटारी हुँदै चल्न पाउनेछन् ।
पूर्वबाट पश्चिम चल्ने गाडीलाई प्रशासन कार्यालय चोकबाट दक्षिण बाटो हुँदै नारायणी पुलसम्मको वैकल्पिक बाटो तय गरिएको छ । पश्चिमबाट छुट्ने गाडी नवलपरासीतिर नारायणी पुलको नजिकबाट शिवघाट जाने बाटो हुँदै पूर्वतर्फ र काठमाडांै चल्न मिल्ने चितवन प्रशासनले जनाएको छ । त्यसैगरी, पूर्वबाट पश्चिम चल्ने गाडी आँपटारी–बाइपास हुँदै जिल्ला प्रशासन कार्यालय चोकबाट घुमेर नारायणी पुलतर्फ जानुपर्नेछ ।
पूर्व–पश्चिम चल्ने यात्रुवाहक गाडी नारायणीको पुल हुँदै चल्न पाउने तर नारायणघाटको मुख्य बजारमा प्रवेश गर्न नपाउने प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । उनका अनुसार नारायणीको पुलमा अरू भीडभाड गर्न रोकिनेछ । त्यस्तै, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्र अत्यावश्यक बाहेकका गाडी प्रवेशमा रोक लगाइएको छ । शुक्रबार बिहान १० बजेदेखि बेलुकासम्म ती क्षेत्रमा गाडी छिर्न पाउनेछैनन् ।
तर, अत्यावश्यक एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, मृत्युसंस्कारलगायतका गाडी चल्नेछन् । यात्रा गर्नेलाई सकेसम्म सहज हुनेगरी व्यवस्थापन मिलाएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । १५ सय सुरक्षाकर्मी परिचालन महाधिवेशनको सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । एक एआईजी र दुई डीआईजीको कमान्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइएको छ । एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ कार्की र दिवेश लोहनीको कमान्डमा महाधिवेशनको सुरक्षाका लागि सुरक्षाकर्मीहरू परिचालित छन् ।
चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झन्डै १ हजार ५ सय सुरक्षाकर्मी परिचालन हुनेछन् । महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका ८ सय, सशस्त्र प्रहरीको ४ सय ५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुनेछन् । त्यस्तै, चितवनसँग सीमाना जोडिएको नवलपुरको गैंडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिनेछन्
महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक अस्मान तामाङले जानकारी दिए । महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउन आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ ।
भीआईपी बस्ने ठाउँ र महाधिवेशनस्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख अधिकारीले जानकारी दिए । महाधिवेशन स्थलमा सार्दा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरी परिचालन हुनेछन् ।
चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र
एमाले चितवनले महाधिवेशनको प्रचारप्रसार गर्न जिल्लाका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको जनाएको छ । जिल्लामा रहेका ९८ वटै वडामार्फत निमन्त्रणापत्र पठाइएको १०औं महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले जानकारी दिए । उद्घाटन सत्रमा जिल्लाभित्रबाट उल्लेख्य सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाइएको उनले बताए ।
उद्घाटन कार्यक्रममा एमाले कार्यकर्ता मात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आमसर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको बताएको छ । चितवनबाट मात्रै उद्घाटन सत्रमा १ लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको सुवेदीले जानकारी दिए । महाधिवेशनको उद्घाटनका लागि भव्य मञ्च तयार भएको छ । सय जना अतिथि रहनेगरी आकर्षक मञ्च निर्माण गरिएको छ । १६ फिट अग्लो मञ्चमा चार खण्ड रहेका छन् ।
माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्डमा केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहनेछ । ७२ कलाकारले एकैपटक प्रस्तुति दिन सक्नेगरी मञ्च निर्माण गरिएको छ । मञ्च आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो बनेको एमालेका केन्द्रीय सदस्य विनोद श्रेष्ठले बताए । नारायणी नदीको पुलबाट र गैंडाकोटतर्फको नदी किनारबाट समेत हेर्न मिल्नेगरी मञ्च बनाइएको छ ।
महाधिवेशनका लागि चितवनका ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । जिल्ला प्रवेश गर्ने नाकादेखि बन्द सत्र हुने सौरहासम्म स्वागत गेट बनाइएको छ भने उद्घाटन स्थल ’round ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्न ‘सेल्फी प्वाइन्ट’ बनाइएको हो । कार्यक्रममा आउने सहभागीले सजिलै आफ्नो तस्बिर आफैंले लिन सक्नेगरी ‘सेल्फी प्वाइन्ट’ बनाइएको हो ।
नेता मदन भण्डारी, लेनिनका तस्बिर पनि ‘सेल्फी प्वाइन्ट’मा राख्ने व्यवस्था गरिएको एमाले केन्द्रीय सदस्य श्रेष्ठले जानकारी दिए । चितवनतर्फ २१ र नारायणी पारि गैंडाकोटतर्फ चार ‘सेल्फी प्वाइन्ट’ रहेको छ । मुख्य मञ्चको दायाँ भागमा एमालेको झन्डा बोकेको गैंडा आकृति निर्माण रहने जानकारी दिँदै उनले त्यसको केही मिटरको फरकमा मजदुरले उचाल्दै गरेको पृथ्वी राखिएको जानकारी दिए ।
महाधिवेशन उद्घाटनस्थल ’round २३ ठाउँमा एमालेको प्रचारप्रसार गर्ने खालका तस्बिर राखिनेछ । गैंडाकोट क्षेत्रमा पर्ने नारायणी नदी किनारमा ठूलो आकारको बोर्ड राखिएको छ । जनताको बहुदलीय जनवाद (जबज) जिन्दावाद लेखिएको बोर्डलाई नारायणी वारि कार्यक्रम हुने स्थलबाट सेल्फी लिन सकिने बनाइएको छ ।
बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी
महाधिवेशनमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हुने भएका छन् । एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्वाचित र मनोनित गरी २ हजार १ सय ७५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने जानकारी दिए । यसअघि कात्तिक २७ गते देशभरिबाट १ हजार १ सय ९९ प्रतिनिधि सहभागीका लागि निर्वाचित भएका थिए । यही मंसिर ७ गते बसेको स्थायी कमिटी बैठकले कुल निर्वाचित प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनयन गरेको थियो । यसैगरी, महाधिवेशनमा १ सय ३० पर्यवेक्षक सहभागी हुने भएका छन् ।
प्यानल बनाए कारबाही, पर्चा–पम्प्लेटमा पनि बन्देज
महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १०औं महाधिवेशनमा भने रोक लगाएको हो ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताए । कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उनले चेतावनी दिए । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ ।
यस्तो छ निर्वाचन कार्यक्रम
शानिबार ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए । सोही दिन बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ । मंसिर ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सुब्बाले जानकारी दिए ११ गते बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।
सयवटा विद्युतीय मतदान मेसिन प्रयोग
चुनावमा सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । ९२ वटा मेसिन चुनावका लागि प्रयोग गरिने र तीनवटा मेसिन नमुना मतदानका लागि कार्यालय अगाडि खुला राखिनेछ । पाँचवटा मेसिन जगेडामा राखिने र कुनै मेसिनमा गडबडी आएमा प्रयोगमा ल्याइने आयोगले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न सरदर आधा घण्टा लाग्ने अनुमान छ ।
एउटा मेसिनमा झन्डै २२ जनादेखि ३० जनाले मतदान गर्नेछन् । मतदान सकिएको झन्डै २ घण्टाभित्र नतिजासमेत आउनेगरी मतगणनाको व्यवस्था गरिनेछ । हरेक मेसिनबाट अलगअलग मतगणना गर्ने भएको हुँदा त्यति समय नलाग्ने आयोगको भनाइ छ । आपसी सञ्जालमा जोडिएको खण्डमा त्योभन्दा चाँडो नतिजा आउन सक्छ । नेकपा एमालेको विधानअनुसार विभिन्न ५० वटा क्लस्टरमा चुनाव गर्नुपर्नेहुन्छ ।
१५ जना पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी हुनेछ । केन्द्रीय अनुशासन आयोगमा १५ र केन्द्रीय लेखा आयोगमा १५ गरी ३० जना निर्वाचित हुनेछन् । निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न सहज बनाउन शनिबार राति नै मोबाइलमा उम्मेदवारको विवरण उपलब्ध गराउनेछ । १२ गते बिहानसम्म उम्मेदवारको तस्बिर, क्रम नम्बर र नामसहितको प्रकाशितप्रति प्रतिनिधिको हातहातमा पु¥याइनेछ । मतदान गर्न सजिलोका लागि प्रतिनिधिलाई प्रकाशितप्रति साथै लैजान छुट दिइने बताइएको छ । राजधानी डेली डटकमबाट
- थममायाथापा, संयोजक, अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समिति
महिला आन्दोलनको इतिहासमा र महिला अधिकारको पक्षमा अनेमसंघले आफ्नो स्थापनाकालदेखि नै संघर्ष गर्दै आएको छ । २००८ सालमा स्थापना भएकोअखिल नेपाल महिला संघले उठाउँदै आएका मुद्दाहरुलाई अझ संगठित रुपमा सूचीकृत गरेर अनेमसंघले महिला आन्दोलन अगुवाइ गर्दै आएको छ।
वि.सं. २०५५ सालमा विराटनगरमाअखिल नेपाल महिला संघको ऐतिहासीक चौथो राष्ट्रिय सम्मेलन भएको थियो । त्यही सम्मेलनले महिला हिंसा विरुद्ध र महिलाहरुको आर्थिक, सामाजिक, राजनीतिक अधिकारको सवाललाई सुत्रवद्ध गरी १४ बुँदे कार्यक्रम पारित गरेर आन्दोलनकै रुपमा अभियान रुपमा संचालन गर्यौ । जस्तो सम्पूर्ण क्षेत्रमा एक तिहाइ महिला सहभागिताको कुरा, समाजमा भएका कुरीति कुसंस्कार अन्त्यगर्ने कुरा, समाजमा लामो समयदेखि रहेको पितृसत्तात्मक र सामन्ती सोच र चिन्तनको रापतापमा बनेका विभिन्न कानुन नियमलाई परिवर्तन गर्नेदेखि लिएर संविधानमा महिलाको मुद्दा सुचिकृत गर्नको लागि संघर्ष गर्दै आयो ।
२०५५ सालमा संगठनको सम्मेलनले १४ बुँदे कार्यक्रम अघि बढाइ सकेपछि २०५६/५७ सालमा मुलुकी ऐन ११औँ संसोधन भएको थियो । संसोधनकोलागि अनेमसंघका तत्कालीन अध्यक्ष, वर्तमान सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीको अगुवाइमा संसदमा मुलुकी ऐन ११औँ संसोधन विभिन्न महलमा भएका महिलाको लागि विभेदकारी व्यवस्था हटाउन, भएका कानुनी व्यवस्थाहरु संसोधन गरी समान कानुन बनाउनकालागि पहलगर्ने काम भएको थियो । त्यसमा खास गरी पैत्रिक सम्पत्तिमा छोराछोरीकोे बराबरी हक कायम गर्ने कुरा, श्रीमान श्रीमतीको बीचमा भएका विभिन्नखालको विभेदकारी कानुनी व्यवस्था संशोधन गर्नेदेखि समान अधिकारको पक्षमा झण्डै २०÷२२ वटा विभदेकारी व्यवस्थाहरुलाई परिवर्तन गर्यौँ । त्यो परिवर्तनलाई अभियानको माध्यमबाट समुदायसम्म पुर्याउन र संवैधानिक व्यवस्थाको लागि गर्न निरन्तर रुपमा सशक्तअभियान सञ्चालन गर्यौ ।
२०६२/६३ को जनआन्दोलनसम्मआइपुग्दा राजा ज्ञानेन्द्रले संसद विघटन गरेर शासन सत्ता हातमा लिने काम भएपछि निरकुशता विरुद्धमा आन्दोलन गर्नकालागि सबै पार्टीका महिला संगठनहरुको ‘संयुक्त महिला संघ संघर्ष समिति बनायौँ । त्यो संघर्ष समिति अनेमसंघको पहल रअगुवाइमा गठन भएको थियो । त्यही संघर्ष समितिकै अगुवाइमा जनआन्दोलनमा महिलाहरुको बढीभन्दा बढी सहभागी गराउन भनेर आह्वान ग-यो र महिलाहरुको व्यापक उपस्थितिमा १९ दिने जनआन्दोलन सफल भएको थियो ।
जनआन्दोलन सफल भएपछि २०६३ जेठ ४ गते पुनःस्थापित संसदको पहिलो बैठक बस्यो । त्यो बैठकमा राजाको अधिकार कटौती गर्ने, गणतन्त्र घोषणागर्ने जस्तो ऐतिहासिक र महत्वपूर्ण मुद्दाहरु सम्बोधनगर्यो तर महिला अधिकारको बारेमाविशेष प्रस्तावमा कुनै बिषय नआएपछि त्यही ‘संयुक्तमहिला संघ संघर्ष समितिको अगुवाइमा फेरि संघर्ष गर्नुपर्यो ।
२०६३ जेठ १२ गते तत्कालीन अनेमा संघको अधक्ष्य एवं प्रतिनिधिसभा सदस्य विद्यादेवी भण्डारीको प्रस्ताप र प्रतिनिधिसभा सदस्यहरु कमलापन्त, एनपी साउँद र नवराज सुवेदीको समर्थनमा महिला सम्वन्धी विशेष प्रस्तापको रुपमा सार्वजनिक प्रस्ताव संसदमा दर्ता गरियो । ती प्रस्तावमा ४ वटा विषय थियो ।जसमा राज्यको हरेक निकायमा महिलाहरुको १ तिहाइ सहभागिता, आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्ने, विभेदपूर्ण कानुनहरु खारेज गर्नुपर्ने र महिला हिंसाको अन्त्य गर्नु पर्ने यी ४ वटा प्रस्ताव संसदबाट पास गराउनका लागि सबै पार्टीहरुलाई सहमति जुटाउन र संसदबाट पास गराउनको लागि निकै कसरत र मेहनत गर्नु परेकोे थियो ।
पुनस्थापित संसदले पास गरेका ति प्रस्तावलाई संवैधानिक हैसियत दिन अन्तरिम संविधानमा राख्नका लागि ‘अन्तरिम संविधान मस्यौदा समितिसँग व्यापक छलफल र अन्तरक्रिया भयो । त्यसपछि २०६३ माघ १ गते अन्तरिम संविधान जारी भयो । त्यसपछि २०६४ सालमा पहिलो र २०७० सालमा दोस्रो संविधानसभा गठन भयो । अन्तरिम संविधानमा उल्लेख भएका महिला अधिकार सम्बधित भएका प्रवधानहरुलाई नयाँ संविधानमा समावेस गराउनको लागि संविधानसभा अन्तर्गत गठन भएका विभिन्न १४ वटा विषयगत समितिहरुसँग अन्तरक्रिया, छलफल, भेटघाट, ध्यानाकर्षण गराउने जस्ता कामहरु निरन्तर नै गर्यौँ । संविधानमा समावेस गराउन सफल पनि भएका छौँ । त्यसैले यतिबेला अनेमसंघको मूलजिम्मेवारी भनेको संविधानलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पहल गर्ने नै प्रमुख दायित्व रहेको छ ।
पार्टी विधानको कार्यान्वयन
हाम्रो पार्टी नेकपा एमालेले असोज १५ देखि १७ सम्म ऐतिहासिक विधान महाधिवेशन गर्यो । त्यो विधान महाधिवेशले परित गरेको विधानमा पार्टीको हरेक कमिटीमा ३३ प्रतिशत महिला सहभागिता हुने भन्ने व्यवस्था भएको छ । यो अत्यन्तै सकारात्मक र महिला आन्दोलनले शुरुदेखि उठाउँदै आएको विषय पनि हाे । त्यसमा पनि कम्युनिष्ट पार्टी भन्ने बित्तिकै समानता र सामाजिक न्यायको लागि लड्ने पार्टी हो र कम्युनिष्ट पार्टीको भावना, वैचारिक र राजनीतिक उद्देश्य लक्ष्य अनुसार पनि यो निर्णय गर्न आवश्यकै थियो । त्यसैले पार्टीको आगामी मंसिर १० गतदेखि हुने महाधिवेशनबाट पार्टी नेतृत्वमा १ तिहाइ महिला सुनिश्चित हुनेछन् ।
त्यसको साथै, अखिल नेपाल महिला संघले चाहिँ पार्टी विधानमा व्यवस्था भएको एक तिहाइको प्रावधानमा टेकेर ५० प्रतिशत महिला सहभागिताको लागिआगामी दिनमा निरन्तर लाग्नुपर्ने आवश्यकता छ । अर्को महत्वपूर्ण कुरा के हो भने अनेमसंघको मान्यता पार्टीको हरेक कमिटीको पदाधिकारीमा पनि १ तिहाइ महिलाहरुको सहभागिता हुनुपर्छ भन्ने हाम्रो माग हो । यसबारेमा पार्टीले पक्कै पनि सकारात्मक ढंगले सम्बोधन गर्छ भन्ने लाग्छ ।
अर्को मूल कुरा महिलाहरुको राजनीतिकसँगै सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्नुछ । अहिलेसम्म हामीले भन्दै आएको राजनीतिक अधिकार सुनिश्चित हुँदै गएपनिअझै पनि सांस्कृतिक हिसाबले, सामाजिक हिसाबले रुपान्तरणको अभिभारा अझै पनि हामीले पुरा गर्नुपर्नेछ । राजनीतिक अधिकार त हामीले धेरै हदसम्म प्राप्त गरेका छौँ। तर सामाजिकअधिकारहरु, सामाजिक सांस्कृतिक रुपान्तरणका,बिषयहरुअझै बाकी छन् ।
मान्छेको विचार, सोच चिन्तनहरु अझै पनि परिवर्तन गर्नुछ । त्यसको निम्ति लगातार हामीले संघर्ष र आन्दोलन सञ्चालन गर्नु पर्नेछ । संघर्ष र आन्दोलनभन्दाखेरि मुर्दावाद र जिन्दावादको आन्दोलनको कुरा भन्दापनि समाजमै गएर त्यस्ताखालका कुरीति, कुसंस्कारलाई कसरी परिवर्तन गर्ने, कुरीतिहरुलाई कसरी जरैदेखि अन्त्यगर्ने भन्ने बारेमा एकदमै मसिनो ढंगले सामाजिक रुपान्तरणको अभियानहरु संचालन गर्नु आवस्यक छ । सामाजिक रुपान्तरण गर्ने भनेको कुनै १ जना व्यक्तिलाई रुपान्तरण गर्ने होइन कि सिंगो समाज परिवर्तका लागि, समाजका हरेक व्यक्ति र परिवारको सोच र अभ्यास बदल्नुपर्छ, जुनकामगर्न समय लाग्छ ।
मान्छेको चेतना हिजोदेखि भइरहेको जुनखालको सोच छ, त्यो परिवर्तनकालागि निकै मेहनत गर्नुपर्छ । त्यसकालागि अखिल नेपाल महिला संघले लगातार अभियानहरु अगाडि बढाइरहेको छ । ती अभियानहरु सफल बनाउनकालागि सबैभन्दा पहिलो कुरा, हाम्रो संगठनको संरचनाहरु बलियो हुनुपर्यो । संगठनका संरचना आधारभूत तह र टोलटोलसम्म पुग्नुपर्छ, ती टोलटोलमा पुगेको संगठनले घर भित्रैसम्म परिवर्तन र सामाजिक न्याय, मानव अधिकारको कुरा पुर्याउन सक्नुपर्छ । सचेतनाका कार्यक्रम गर्ने भनेको फेरि महिलाहरुसँग मात्रै होइन पुरुषहरुसँग पनि पुग्नुपर्छ । उहाँहरुलाई पनि हामीले सँगसँगै बुझाउनुपर्छ ।
जबसम्म समाजमा महिला, पुरुष रथका २ पाङग्रा हुन्न एउटा मात्रको अभावले सिँगो समाज पछाडी पर्छ भन्नी कुरा सबैले बुझ्न सक्छन् । त्यतिबेलामात्रै परिवर्तन हुन्छ । किनभने लामो समयदेखि समाजमा सामन्ती तथा पितृसत्तात्मक सोच, र चिन्तन रहँदै आएको समाजमा महिलाहरुलाई मान्छे नै नसम्झिने, उनीहरुमाथि हिंसा, विभेद, अत्याचार गर्ने खालको संस्कारका रुपहरु अझै यथावत छन् । यसको रुपान्त्रण लागि हाम्रो संगठनले संरचनागत रुपमै व्यापक परिचालनगर्ने योजनाबनाउनु पर्छ ।
अनेमसंघको भूमिका अहिले अनेमसंघले गर्ने भनेको मूल कुरा संविधानमा भएका विषयहरु कार्यान्वय नगर्नु र गराउनु नै हाे। संविधानमा के के अधिकारहरु छन् बुझाउनुपर्यो । संविधानको मौलिक हकमा महिलाका के के अधिकार सुनिश्चित भएका छन् र त्यो कार्यान्वयन भएको छ कि छैन भनेर कार्यान्वयन गर्ने कुरामा सरकारलाई दबाब दिने, आवश्यक परेको ठाउँमा पार्टीलाई दबाब दिने, संविधान कार्यान्वयनका लागिआवश्यक नीति कानुनहरु बनाउनुपर्यो । त्यसका साथै संवैधानिक र कानुनी हिसाबले हामी जति बलियो छौँ, ती कुरा सबै महिलाहरुलाई बुझाएपछि मात्र हामी बलियो छौँ ।
अन्त्यमा, संविधान र कानुनमा भएको अधिकारका पक्षमा प्रभावकारी कार्यन्वयनको लागि महिलाहरुलाई तयार गराउन अभियान नै सञ्चालन गर्नुपर्छ । हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनेर घोषणा गरेका छौँ, हाम्रो संविधान विश्वकै उत्कृष्ट मध्येको संविधान हो । त्यति हुँदाहुँदै पनि ती संवैधानिक व्यवस्थाहरु कार्यान्वयनका लागि खबरदारी गर्नै पर्छ । समाजमा भएका विकृति विसंगति, कुरीति कुसस्कारलाई हटाउँदै महिला र पुरुष समान हो भन्ने सोच सबैमा ल्याउनुपर्छ । समाजलाई सभ्य र न्यायमूलक समाज बनाउनुपर्छ । यी नै अखिल नेपाल महिला संघको मूल लक्ष्य हो ।
मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले आठौँ पार्टी पुनर्गठन दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन गरेको छ ।
पार्टी पुनर्गठन दिवसको अवसरमा मंगलबार साँझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन सहितको कार्यक्रम गरेको हो । हेटौंडा चौकिटोल स्थित जिल्ला पार्टी कार्यलयबाट र्याली सहित बुद्धचोक आइ दीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विप्लव नेकपाका केन्द्रीय सदस्य एवं मकवानपुरका जिल्ला ईन्चार्ज इन्द्रबहादुर परियार (नयन) ले विप्लव नेतृत्वको नेकपाले दलाल पूजीवादी सत्ताको विरुद्धमा वैज्ञानिक समाजवादीको लक्ष बोकेर सर्घषमा अघि बढिरहेको बताए ।
उनले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालिक माओवादीका नेता अहिलेको जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनलाई अलपत्र पारेर पूजीवादी सत्तामा गएपछि विप्लवको नेतृत्वमा नेकपाको पुनर्गठन गरिएको बताए । उनले कुनैपनि हालतमा एमसीसी पास हुन नदिने समेत उद्घोष गरे ।
कार्यक्रममा जिल्ला सेक्रेटरी वाटर,जिल्ला सदस्य एवं नगर सेक्रेटरी सूर्य अर्याल,जनवर्गीय संगठनका ईन्चार्जहरु नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसअघि आजै विप्लव नेकपाले दिवसको अवसरमा पार्टी कार्यलयमा शुभकामना एवं चियापान कार्यक्रम गरेको नेकपा विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरका जिल्ला उपाध्यक्ष ललित घलानले जानकारी दिए ।
घदानले पुनर्गठन दिवसको अवरसरमा मंसिर ६ गते हेटौंडामा मोटरसाईकल र्याली र मंसिर ७ गते “राष्ट्रिय स्वाधीनता र वैदेशिक हस्तक्षेप” विषयक वक्तृत्वकला र जिल्लाको विभिन्न स्थानीय तहमा फुटबल खेलकुद कार्यक्रम गरिएको बताए ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने भएको छ । कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रदेश र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए । यसअघि जिल्ला अधिवेशन यही मंसिर १० गते हुने तय भएको थियो ।
मंसिर ६ गते मात्रै संघको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र संघीयतापछि पहिलो पटक हुन गइरहेको कांग्रेसको बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै सम्पन्न गर्नुपर्ने भएकाले जिल्ला अधिवेशनलाई सारिएको बानियाँले बताए ।
जिल्लाका पदाधिकारी, सल्लाहाकार, पूर्वअध्यक्षहरु र नव निर्वाचित महाधिवेशन प्रतिनिधि, संघीय क्षेत्र र प्रदेश सभापति र प्रतिनिधिहरुको छलफलबाट सर्वसम्मत रुपमा निर्णय गरी प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको बानियाँले जानकारी दिए ।
संघीयता पछि पहिलो पटक हुन गइरहेको कांग्रेसको प्रदेश अधिवेशन ऐतिहासिक र भव्य बनाउन सबै लाग्नुपर्ने उनले बताए ।