मकवानपुर । नेकपा (माओवादी केन्द्र) काे आज पालिकाको सम्मेलन हुदैछ । पार्टीले आज शनिबार ७ सय ५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको हाे । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिका स्तरीय सम्मेलन हुने भएकाे छ ।
मकवानपुरका १० स्थानीय तह मध्य आज थाहा नगरपालिकाको मात्रै सम्मेलन हुने माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिएका छन् । उनका अनुसार आज थाहा नगरपालिकाको र १३ गते बाँकी ९ वटा पालिकाको अधिवेशन गर्ने तयारी रहेकाे छ । मकवानपुरका पालिकामा रहेका १ सय २ वडामध्ये अधिकाँशमा सहमतिबाटै अधिवेशन सम्पन्न भइसकेको र बाँकी वडा अधिवेशन आज सम्पन्न गरिने भएकाेले पालिका अधिवेशन मशिर १३ गते गर्न लागिएकाे पाख्रिनले बताए ।
पालिकासम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई शनिबार दिउँसो १ बजे एकैपटक सम्बोधन गर्ने कार्यक्रम तय भएकाे छ ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । पार्टीकाे प्रदेश सम्मेलन आउँदाे मङ्सिर २५ गते हुदैछ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।
माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति तय गरेको हाे । पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ ।
वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।
वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १ सय ५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २ सय , उपमहानगरमा ३ सय र महानगरमा ४ सय प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने पार्टीले जानकारी दिइएको छ ।

