मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने भएको छ । कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रदेश र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए । यसअघि जिल्ला अधिवेशन यही मंसिर १० गते हुने तय भएको थियो ।
मंसिर ६ गते मात्रै संघको क्षेत्रीय अधिवेशन सम्पन्न भएको र संघीयतापछि पहिलो पटक हुन गइरहेको कांग्रेसको बागमती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै सम्पन्न गर्नुपर्ने भएकाले जिल्ला अधिवेशनलाई सारिएको बानियाँले बताए ।
जिल्लाका पदाधिकारी, सल्लाहाकार, पूर्वअध्यक्षहरु र नव निर्वाचित महाधिवेशन प्रतिनिधि, संघीय क्षेत्र र प्रदेश सभापति र प्रतिनिधिहरुको छलफलबाट सर्वसम्मत रुपमा निर्णय गरी प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनपछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको बानियाँले जानकारी दिए ।
संघीयता पछि पहिलो पटक हुन गइरहेको कांग्रेसको प्रदेश अधिवेशन ऐतिहासिक र भव्य बनाउन सबै लाग्नुपर्ने उनले बताए ।

