मकवानपुर । बागमती प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले पार्टी परित्याग गरेका छन् । विवेकशील साझा पार्टीबाट प्रदेश सभा सदस्य बनेका श्रेष्ठले पार्टी भित्र अपारदर्शी गतिविधि बढेको भन्दै प्रदेशसभा सदस्य राजिनामा दिएका हुन् ।
पार्टी पद्धति, पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक अभ्यासको मूल्य मान्यता र मर्म विपरीत रहेको भन्दै उनीसँगै उक्त पार्टीका ७ जना केन्द्रीय सदस्यले संयुक्त रुपमा विज्ञप्ति निकालेर राजिनामा दिएका हुन्। राजिनामा दिनेहरुमा प्रदेश सांसद् श्रेष्ठसहित केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धर रहेका छन् ।
‘सुसंस्कृत सहभागितामूलक राजनीति र समतामूलक संवृद्धिलाई संस्थागत गर्ने कुनै प्रयास नदेखिएको आभास सहित हामीले पार्टीको केन्द्रीय समिति सदस्य नरहने गरी राजिनामा दिने निर्णय गरेका हौं” बिज्ञप्तिमा भनिएको छ । पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता जस्ता मूल्य र मान्यताका साथ सुसंस्कृत राजनीति र समतामूलक संवृद्धिलाई संस्थागत गर्न मूलधारे राजनीतिक दलहरूलाई चुनौती दिँदै विवेकशील साझा पार्टीको स्थापना भएको भएपनि पार्टी भित्र सो कायम नभएको भन्दै उनीहरुले पार्टीबाट संयुक्त रुपमा विज्ञप्ती जारी गरी राजिनामा दिएका हुन्।
२०७४ सालको सङ्घीय र प्रादेशिक निर्वाचनमा प्राप्त जनमतको सम्मान गरेर आम नागरिकहरूको समस्याहरूलाई सम्बोधन गर्दै सङ्गठन विस्तार गर्नुभन्दा पनि आन्तरिक कलहमा फस्दै, सम्भावनामा भन्दा बढि अरूको आलोचनामा अल्झिनु पर्ने बाध्यात्मक परिस्थिती सृजना भएको विज्ञप्तीमा उल्लेख छ । पटक पटक पत्रहरू पठाएर, औपचारिक र अनौपचारिक बैठकहरूमा इमानदारीपूर्वक सार्वभौम सदस्यहरूलाई प्रतिनिधित्व गर्दै उठाएका विषयहरू पनि पार्टी नेतृत्वले कहिल्यै पनि सम्बोधन गर्न नसकेको र पार्टीले न्यूनतम लोकतान्त्रिक अभ्यासको पालना गरेको आभाष सम्म पनि हुन सकेका उनीहरुको भनाई रहेको छ ।
उनीहरुले पार्टी स्थापना भएको लगभग पाँच वर्षसम्म पनि नयाँ सङ्गठन त बनाउन नसक्नु र भएका सङ्गठनहरू पनि भङ्ग गर्ने काम पार्टी नेतृत्वबाटै भएको आरोप लगाएका छन् । स्थापना कालदेखि नै अनवरत रूपमा सुसंस्कृत राजनीति स्थापना गर्न लागेका धेरै सदस्यहरू, नेताहरू र केही प्रदेश संयोजकहरूले प्रदेश समिति सहित पार्टी परित्याग गर्दै गएका कारण परिणामतः पार्टीले गत स्थानीय निर्वाचनमा लज्जास्पद हार व्यहोर्न पुगेको विज्ञप्तीमा उल्लेख छ ।
मकवानपुर । शुक्रबारबाट सुरु भएको नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक शनिबार सकिएको छ । आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवार हुन छनोटको मापदण्ड र राजनीतिक प्रतिवेदन पारित गर्दै एमालेको केन्द्रीय कमिटी बैठक सकिएको हाे ।
२ दिन भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रतिवेदन माथि समूहगत रुपमा छलफल भएको थियो । बैठकले केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोग, निर्वाचन आयोगका अध्यक्षले आयोगका कामबारे दिएको जानकारी ग्रहण गरेको छ । त्यस्तै भदौ २२ गतेभित्र प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
पार्टीलाई संगठनात्मक र वैचारिक रुपले एकतावद्ध तथा कार्यशैलीमा एकरुपता ल्याउन अध्यक्ष आलीको प्रतिवेदन एकताको सन्देश दिएको बैठकपछि आयोजित पत्रकार ब्रिफिङ्गमा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । गुरुङले समानुपातिकको नाम सिफारिस गर्दा अवसरको न्यायोचित वितरण, सन्तुलन र समावेशी ढंगले पठाउनुपर्ने बताए । तर अन्तिम निर्णय केन्द्रकै हुने छ ।
त्यस्तै बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सिफारिस गर्दा कम्तीमा १ महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने निर्णय गरेको छ । उम्मेदवारको नाम सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटीबाट सिफारिस गर्ने र जिल्ला तथा प्रदेश कमिटीले आवश्यक राय सुझावसहित केन्द्रमा सिफारिस गर्नुपर्ने छ।
समानुपातिकमा एकपटक अवसर पाइसकेकालाई आमरुपमा फेरि नदोहोर्याइने पनि एमालेले जनाएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई पनि राजीनामा गराएर प्रतिनिधिसभा तथा प्रदेशसभाको सदस्यमा उम्मेदवार नबनाइने एमालेले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेशको पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने घोषणा गरेका छन् ।
बागमती प्रदेशका पहिलो मुख्यमन्त्री समेत रहेत पौडेलले आगामी मंसिर–४ गते हुने चुनाबमा आफ्नो उम्मेदवारी नरहने फेसबुक पेजमार्फत घोषणा गरेका हुन् ।
युवा पुस्तालाई नेतृत्वको अवसर दिनु पर्ने भन्दै उनले आफू इच्छुक नभएको बताएका हुन् । नाती पुस्ताले समेत मुलुकको नेतृत्व हाक्ने भइसकेकाले अब आफु चुनाब नलड्ने उनले बताएका हुन् ।
दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएको बताएका छन् । “अहिले देशले साच्चै नै परिवर्तन खोजेको छ । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेको उनले टिप्पणी गरेका छन् ।
“यस्तो बेला आगामी निर्वाचनमा कस्ता खालका ब्यक्तिहरुलाई जिताएर पठाउने भन्ने नेपाली जनताको हातमा छ” पौडेलले फेसबुकमा लेखेका छन् “सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालहरुमा आगामी निर्वाचनका संभावित उमेदवारहरुका बारेमा चर्चा परिचर्चा पनि शुरु भइसकेको छ, त्यही क्रममा मेरो नाम जोडेर पनि केहि चर्चा हुने गरेको छ ।”

उनले सञ्चार माध्यमले भनेजस्तो आफू इच्छुक नभएको बताएका छन् । राजनीति लहड, रहर र दवाव मात्रैले राजनीति नचल्ने उनले बताए । आवश्यकताको वस्तुपरक मूल्याङ्कनले निर्धारण गरेका कडिहरुका आधारमा उमेदवार चयन गर्न चुकियो भने परिणाम अनपेक्षित हुनसक्छ आफ्नो ५० औं वर्षको राजनीतिक अनुभवले बताएको पौडेलले सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा उल्लेख गरे ।
समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई पार्टीले नजरअन्दाज गर्न नमिल्ने उनभे बताए । उनले स्टाटसमा लेखेका छन् “त्यसैले आगामी निर्वाचनमा मेरो उमेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उमेदवारी नरहने जानकारी गराउँदछु ।”
उनले लेखेका छन् “यो पटक जनचाहना अनुसार नयाँ पुस्तालाई मेरो समर्थन र सहयोग रहने छ, दोस्रो पुस्ता मात्रै हैन अहिले नाति पुस्ता समेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् ।”
उनले आफ्नो जिम्मेवारी नेकपा एमालेको उमेद्वारहरुलाई विजयी गराउनमा रहने उल्लेख गरेका छन् ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गरेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँले हेटाैडा ३ नर्सिङडाँडाका ईन्द्रबहादुर बस्नेतलाई कृतिम खुट्टा सहयोग गरेका हुन् ।
२०७४ सालमा ट्रक दुर्घटनामा परी बस्नेतले दाहिने खुट्टा गुमाएका थिए । नर्सिङडाँडाका ४१ वर्षीय बस्नेतलाई नेता बानियाँले ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गरेका हुन् । करिब साँढे दुई वर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराएका थिए । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।
मकवानपुर । कार्यकक्षमै पिटाइका खाएका वडा अध्यक्ष आफैंले दिएको किटानी जाहेरी हाललाई स्थगित गर्न प्रहरीलाई अनुरोध गरेको बताएका छन् ।
गलत कार्यमा लाग्नेलाई सवक दिएर भन्दा पनि नरम बाटोबाट सुधार्न सकिन्छ भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलले जाहेरी स्थगित गर्न प्रहरीलाई अनुराेध गरेका हुन् । आफूलाई कार्यकक्षमै कुटपिट गर्ने आफ्नै पार्टीको जिल्ला सदस्य सानु लामा दोङलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गरेको उनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
सिग्देलले कार्यालयम नै आज पत्रकार सम्मेलन गर्दै जाहेरी दिएको २४ घण्टा मा नै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमलाई जाहेरी स्थगित गर्न अनुरोध गरिसकेको बताए । “कारबाही नै सबै थोक हैन नी, ढुङ्गाले हान्नेलाई फूलले पनि हान्न सकिन्छ” उनले भने “कसैको दबाबमा आएर मैले जाहेरी स्थगित गर्न प्रहरीलाई भनेको हैन ।” उनले आफूमाथि गलत कार्य गर्नेलाई सच्चिन मौका दिएको बताए ।
स्थानीय भुटनदेवि माविको व्यवसायिक सटर भाडामा दिने टेण्डरबारेको विवाद हुँदा आफूलाई लामाले पिटेको आजको पत्रकार सम्मेलनमा पनि उनले बताए । एमाले मकवानपुरका सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका थिए । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका थिए ।
उनले सटरको टेण्डरमा आफ्नो कुनै संलग्नता नरहेको र सटरको विषयमा समाचार लेखाएको विषयमा आफूमाथि आरोप लगाएकाले विवाद उत्पन्न भएको बताए । घटनापछि सम्बन्धित भुटनदेवी माविलाई सटरको टेण्डर सम्बन्धी सबैकाम तत्काललाई स्थगित गर्न समेत पत्र काटेको बताए ।