- मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
प्रशान्त उप्रेती (राष्ट्रिय स्वतन्त्र पार्टी)
राजनीतिमा नयाँ पुस्ताकाे बहस चलिरहेकाे बेला मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा २५ वर्षीय युवाले उम्मेदवारी दिएका छन् । रास्वपाबाट उम्मेदवारी दिएका नवयुवा पुस्ताका उम्मेदवार हुन् प्रशान्त उप्रेती।
- उप्रेती मध्यम वर्गीय परिवारमा २०५७ सालमा जन्मिएका हुन् । उनी पर्यटन व्यवस्थापनमा स्नातक र ‘Educational Leadership’ मा स्नातकोत्तर अध्ययनरत छन्।
- मकवानपुरकाे मनहरी गाउँपालिकामा हुर्किएका प्रशान्त पर्यटन उद्यमी समेत हुन्। उनी हाल मनहरीमै विद्यालय शिक्षा अध्यापनरत छन्। होटल र पर्यटन क्षेत्रमा आफैँले गरेको कार्यले उनलाई उद्यमशीलताका चुनौतीहरू सिकाएको बताउँछन् ।
- आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य संसदमा गएर केवल हात उठाउनु वा संख्या पुर्याउनु मात्रै नभएकाे भन्दै जनभावनाको प्रतिनिधित्व गर्दै राष्ट्रहितका लागि कानून निर्माण गर्न र सरकारलाई निरन्तर निगरानी गरि जवाफदेही बनाउन अडिग रहेकाे बताउँछन् ।
- संविधानलाई संघर्षको प्रतिफल मान्दै र संविधानको अक्षर र भावनाको रक्षाको लागि अडिग भएकाे बताउँछन्।
- झन्झटिलो कानुनी प्रक्रिया हटाएर “Ease of Doing Business” सुनिश्चित गर्ने, निजी क्षेत्रको सशक्तिकरण गर्ने, तुलनात्मक लाभका क्षेत्रहरु जस्तैः पर्यटन तथा जलस्रोत मार्फत देशको अर्थतन्त्र समृद्ध बनाउने र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उनको मार्गचित्र छ।
- आफ्नो क्षेत्रका स्थानीय समस्याहरूलाई नबिर्सिएकाे तथा स्थानीयका दैनिक समस्याहरुसँग जानकार भएकाे बताउँछन्। मकवानपुर मात्र हैन समग्र देशका किसानहरूले भोग्नुपरिरहेको समस्या, आफ्नो क्षेत्रमा रहेको गरिबी, बढ्दो महंगी सम्बोधन गर्दै गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा सर्वसाधारणको पहुँच पुर्याउनु पहिलो कर्तव्य हाे भन्छन् ।
- ‘जनताका दैनिक समस्यालाई सदनमा पुर्याउनु र सो को सम्बन्धित निकाय मार्फत सम्बोधन गराउनु जिम्मेवारी हुनेछ’ उनी भन्छन् ।
- ‘Education Leadership’ को विद्यार्थी भएकाेले हाम्रो खस्किँदै गएको शिक्षा तथा सो को प्रणालीको बारेमा जानकार भएकाेले नेतृत्व तहबाट सुधारका लागि पहल गर्ने उनकाे भनाई छ ।
- Gen Z (नवयुवा) आन्दोलन मार्फत प्रतिबिम्बित नयाँ पुस्ताको आकांक्षाहरुलाई सदनमा पुर्याउन उनीसँग उमेर र आवाज भएकाेले मतदाताहरूका लागि प्रशान्त केवल एक उम्मेदवार मात्र नभई राजनीतिमा ‘परिवर्तनको एउटा बलियो आशा’ भएकाे पार्टीकाे धारणा रहेकाे छ ।
युवा मात्रै नभई देशको नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने परिपक्क एजेन्डाहरू समेत भएकाले निर्वाचन २०८२ मा मकवानपुर २ बाट जित्ने आत्मविश्वास भएकाे उनी बताउँछन्। रास्वपाले २०७९ सालमा उम्मेदवार बनेका भरत पराजुलीलाई यसपटक टिकट नदिएर मनहरी गाउँपालिकाका २५ वर्षीय युवक उप्रेतीलाई प्रतिस्पर्धी बनाएको छ ।
क्षेत्र नं. २ मा पुराना र नयाँ दलका उम्मेदवार बिच प्रतिष्पर्धा हुने छ । प्रशान्तले २०७९ सालमा प्रतिनिधि सभा सदस्य पदमा विजयी महेश बर्तौला, नेपाली काँग्रेस मकवानपुर सभापति बुद्ध लामा, थाहा नगरपालिकाका २०७४ सालमा मेयर पदमा वियजी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का लवशेर विष्टलगायत अन्य पार्टी र स्वतन्त्र गरी २० जनासँग प्रतिष्पर्धा गर्नेछन् ।
क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारतर्फ अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया बल उम्मेदवार छन् । दलतर्फ जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, उज्यालो नेपाल पार्टीबाट प्रविन कुमार स्याङतान र रामबहादुर थोकर उम्मेदवार छन् ।
यस्तै श्रम संस्कृति पार्टीबाट युनेश लामा सिन्तान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राम घलान, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेशनल रिपब्लिक नेपालबाट सुर्य तामाङ बल, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट सूर्य राई तथा मंगोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङतान उम्मेदवार छन् ।
२०७९ काे निर्वाचनकाे मत परिणामः
प्रतिनिधिसभा निर्वाचन–०७९ मा एमाले महेश बर्तौलाले ३४ हजार ९ सय १६, कांग्रेस र माओवादीसहित गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार ३ सय ९६ र रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरेका थिए । यसैगरी राप्रपाका राजन मैनालीले २ हजार १९४, नेकपा (माले)का उद्धवप्रसाद अधिकारीले एक हजार ८०५ मत ल्याएका थिए ।
नेकपा एमालेले मकवानपुर– १ बाट दलका स्थापित र अनुभवी नेता रामेश्वर रानालाई उम्मेद्वार बनाएको छ । २०३६ देखि सक्रिय राजनीतिमा जोडिएका राना संगठनको त्यागी नेताको रुपमा परिचित छन् । उनको शालीन व्यक्तित्वले आफ्नो मात्र नभई अन्य राजनीतिक संगठनमा सकारात्मक प्रभाव छाडेकाे पार्टी पङ्गतीकाे बुझाइ छ ।
उनी २०३६ सालमा विद्यार्थी आन्दोलनबाट प्रभावित भई अनेरास्ववियुसँग जोडिएका नेता रानाकाे रानजीति २०४० सालमा जिल्ला विकास समितिको जननिर्वाचित सदस्य हुँदै अघि बढेकाे हाे । २०५१ सालमा एमाले मकवानपुरको पार्टी सचिव बनेका राना २०५४ सालमा जिल्ला विकास समितिको जननिर्वाचित सभापति भए । उनी दुई कार्यकाल एमाले मकवानपुरको अध्यक्षको जिम्मेवारीमा रहे । २०७० सालमा बागमती प्रदेश कमिटी सदस्य, २०७२ मा एमाले केन्द्रीय कमिटी सदस्य, २०७८ सालमा चितवनमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट पुनः केन्द्रीय कमिटी सदस्य तथा पार्टी मकवानपुरको इन्चार्ज बने । २०८२ सालमा सम्पन्न पार्टीको १२ औँ राष्ट्रिय महाधिवेशनबाट फेरि केन्द्रीय सदस्य निर्वाचित भई हाल जिल्ला इन्चार्जको भूमिका निर्वाह गरिरहेका छन् । २०८० सालमा उनी भूमि आयोग मकवानपुरको अध्यक्षका रुपमा समेत कार्यरत रहे ।
यसरी झण्डै ५० वर्ष राजनीति गरेर संगठनमा महत्वपूर्ण योगदान पुर्याएका राना यसपटक भने प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने आकांक्षासहित अगाडि बढेका छन् । निर्वाचन क्षेत्रमा समेत आफ्नो बलियो पकड बनाएका रानाले आफूले अन्य उम्मेद्वारलाई पन्छाउदै जित हाँसिल गर्ने दावी गर्दै आइरहेका छन् ।
लामो समयसम्म राजनीतिमा भिजेका नेता रानाले सोहि क्षेत्रबाट उम्मेद्वारी दर्ता गराएकी कांग्रेसमा लामो समयदेखि क्रियाशील र पूर्व सांसद समेत रहेकि महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कम्युनिष्ट पार्टीबाट युवा उम्मेद्वार विजय गौतम, राप्रपाबाट यसअघि निर्वाचित दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्र्टीका यूवा नेता प्रकाश गौतमसँग बलियो प्रतिष्पर्धा गनुपर्ने छ । उनै रानासँग गरिएकाे कुराकानीकाे सार यहाँ प्रस्तुत छः
२०६४ सालमा संविधानसभा चुनावमा पराजित भएपछि १८ वर्षपछि प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिनुकाे कारण के हो ?
यो बिचमा म निरन्तर पार्टीको जिम्मेवारीमा रहे । पार्टीको अध्यक्ष र केन्द्रिय सदस्यको हैसियतमा म समाज रुपान्तरणको काममा निरन्तर लागिरहे । यो पटक पार्टीको निर्णय अनुसार नै म प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर–१ को नेकपा एमालेको उम्मेद्वार छु । अहिलेको परिस्थितिमा हाम्रो स्वाधिनता, हाम्रो भौगोगिक अखण्डता र हाम्रो राष्ट्रियता माथि गम्भिर प्रश्न खडा गराईएकाे र भइरहेकाे यस परिस्थितिमा यी पक्षहरुको रक्षाको निम्ति मेरो उम्मेद्वारी हो । र सँगै हामीले रगतसँगै साटेर प्राप्त गरेकाे संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि मेरो उम्मेद्वारी हो ।
तपाईले मुख्यले मुख्य प्रधिस्पर्धीको रुपमा कसलाई हेर्नुभएको छ ?
प्रधिस्पर्धीको रुपमा मैले कुनै दल विशेषलाई हेरेकाे छैन । एउटा दृष्टिकोणको आधारमा भिजिनरी हिसाबले समृद्ध नेपाल सुखी नेपाली बनाउने गन्तव्यमा हामी छौं । यो गन्तव्यमा हामी दृढ छौं । अन्य राजनितिक पार्टीहरुसँग म आग्रह गर्न चाहन्छौं । लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा समृद्ध नेपाल बनाउने र स्थापित गर्ने , आम जनताको पक्षमा लोककल्याणकारी राज्यको अवधारणा अनुसार जनताको पक्षमा दृढतापुर्वक उभ्याउने , जनतालाई सबै अवसरहरुमा सहभागी गराउने यहि आधारमा समृद्ध नेपाल शुखी नेपाली बनाउने कुरामा नेकपा एमाले दृढ छ । त्यसकारण लोकतान्त्रिक मुल्य र मान्यताको आधारमा राजनितिक दृष्टिकोणको आधारमा मकवानपुरको समृद्धिको लागि आफ्नो बिचार राखेर अगाडि बढौं । यहि क्रममा मैले यहि दल भन्दा पनि नेकपा एमालेको घोषणा पत्र , दृष्टिकोण , जिल्लाको निर्वाचन क्षेत्रको प्रतिबद्धता पत्र राखेर अगाडि बढिरहेको छु । र , म बिश्वासका साथ भन्न चाहान्छु । आम निर्वाचन क्षेत्र नम्वर १ का मतदाताले निर्वाचित गराउनुहुनेछ भन्नेमा म पुर्ण रुपमा विश्वस्थ छु ।
जिविस सभापति हुँदा तपाईंले मकवानपुरका दुर्गम क्षेत्रमा सडक विस्तार र दीर्घकालीन गुरुयोजना तयार गरेको चर्चा हुन्छ । त्यसलाई अलि विस्तृतमा भनिदिनुस न । यदि यसपटक निर्वाचित हुनुभयो भने मकवानपुर–१ का लागि गर्न सकिने विकासका कस्ता परियोजना प्राथमिकतामा राख्नुहुन्छ ?
प्रतिनिधिसभाको सदस्यको हैसियतले कानूनको निर्माणको भुमिका हो एउटा ल मेकरको हैसियतले तरपनि एउटा जनताको अपेक्षा हुन्छ आफ्नो प्रतिनिधिबाट सबै सरोकारको विषयहरुमा नेतृत्व गरियोस् भन्ने जनताको अपेक्षा हुन्छ । खासगरी १ नम्वर निर्वाचन क्षेत्रको मुख्य शहरी क्षेत्रमा भविष्यको एउटा समृद्ध शहरको रुपमा हामीले बृहत्तर विकासको निम्ति हेटौंडाको सम्भावनाको विषयमा सरोकार निकायहरुसँग छलफल गरेर काम गर्ने छौं । यहाँको आर्थिक , सामाजिक , पर्यटकीय र नवयुवाहरुको लक्षित हिसाबले एउटा सम्भावनाको शहरमा युवाहरुको क्षमता ज्ञानको आधारमा प्रस्फुट गरेर उहाँहरुलाई समृद्ध नेपाल बनाउने अभियानमा जोड्ने हिसाबले हामि लाग्नेछौं । त्यसैगरी ग्रामीण भेगमा आजैपनि मदन भण्डारी राजमार्ग चुरेको उत्तरी क्षेत्रबाट गएको छ त्यसले पनि धेरै सहज बनाएको छ । बागमतीका भित्रि गाउँका कुटिभकारी जस्ता गाउँहरुमा सडक बिस्तार भएको छैन । त्यहाँ आवगमनमा धेरै समस्या छ । त्यस ठाउँमा स्वास्थ्य उपचारको समुचित प्रबन्धको लागि , बाटाघाटाको ब्यबस्थित र स्तरिकरण गर्नका लागि चुरे क्षेत्रबाट खहरे लगायतका समस्याका कारणले गर्दाखेरी त्यहाँको उर्बर जमिनहरु क्रमश विनाश हुँदै गएको जुन जटिलताहरु छन् । यी सबै कुराहरुलाई ध्यानमा राखेर स्वास्थ्य , शिक्षा , अन्य आर्थिक अवसरहरु सिर्जना गर्ने लगायतका कामहरुको एकिकृत विकासहरुमा मेरो जोड रहने छ ।
हेटौंडा बजार भत्किँदा तपाईंहरू किन चुपचाप बस्नु भएको अर्थात, यसको पक्ष र विपक्षमा मत जाहेर नगरेको हो भनेर मतदाताले हामीलाई सोध्न भनिरहेका छन । मतदाताले तपाईंहरूको विकासमा स्पष्ट धारणा खोजिरहेका छन । तपाईंहरू चुपचाप बसेकै हो कि, तटस्थ बस्दा नै उपयुक्त हुन्छ जस्तो लागेर हो ?
हेटौंडाको सन्दर्भमा हामीले हिजोदेखि नै कुरा राखेका छौं । यहाँको सरोकारवाला पक्ष र आम हेटौंडाबासीहरु पिडितहरुको साथमा उहाँहरुको कुराहरु हामीले सुन्यौ । यो सन्दर्भका उहाँहरुले नियम अनुसार पाउनुपर्ने हक स्थापित हुनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो । जनताले पाउनुपर्ने हक ब्यवस्था गरेर यसलाई चौंडा गरेर अन्य कामलाई अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । आज जुन परिस्थितिमा यसलाई पुनः निर्माण गर्ने र जनताको हकलाई स्थापित नगर्ने काम जुन भयो । यो बास्तवमा हेटौंडालाई खण्डहरको रुपमा परिणत गर्ने काम भयो । यो बेठिक भएको छ । हाम्रो अडान हिजो जुन थियो यथावत हो । यहाँको पिडितहरुको अधिकार स्थापित हुनुपर्दछ । उहाँहरुको कानुन अनुसार दिनुपर्ने अधिकार दिएर तत्काल पुनः निर्माणको कार्यलाई अगाडि बढाउनुपर्छ । हेटौंडालाई यहाँको जनताको सहभागितामा हसमुख ढंगले हाम्रो हेटौंडा निर्माण गर्ने भन्ने सहभागिता गराउन सक्यो भने मात्रै समृद्ध मकवानपुर बनाउन सक्छौं । जनतालाई बिल्ली बाँठ बनाउनु ठिक होईन र सरकारले तर्फबाट गर्नुपर्ने आवश्यकता व्यवस्था र यहाँको नगरवासीहरुको हकमा उहाँहरुको हक स्थापित गर्ने ठाउँमा उहाँहरुले पाउनुपर्छ ।
तपाई शालिन र स्वच्छ छविका नेताका रूपमा चिनिनुहुन्छ । तर , नेकपा एमालेप्रति मकवानपुरका मात्रै भनई देशभरका जनताहरु आक्रोशित छन् । एमाले पार्टीको नाम पनि सुन्न नचाईरहेको अवस्थामा तपाईले मकवानपुरका मतदाताहरुलाई कसरी आफूतिर केन्द्रित गर्न सक्नुहुन्छ ?
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भईसकेपछि निरन्तर रुपमा नागरिक अधिकारमा निम्ती हामी लडिरहेका छौं । अघिल्लो पुस्ताले यसको नेतृत्व गर्नुभयो । आज हामी नाति पुस्ता नातिना पुस्ता निरन्तर क्रियाशिल छौं । जनताले हामीलाई प्रश्न राख्नुभयो भने म त्यसको उत्तर दिनेछु । तर , यहाँको प्रश्नमा मैले के निवेदन गर्न चाहे भने नेपाली जनता नेकपा एमालेले मुलुक बनाउने, समाज रुपान्तरण गर्ने, सामाजिक न्यायसहितको आर्थिक समाजिक रुपान्तरणमा समाजलाई अगाडि बढाउने, असल मूल्य र मान्यता स्थापित गर्ने र नयाँ मूल्य र मान्यताको अभियानमा नेकपा एमाले लागिरहेको छ । नेकपा एमालेप्रति आम जनताको आस्था छ । आशाका साथ हामीलाई हेरिरहेको छन् । आम जनताको आक्रोश होईन नेकपा एमालेप्रति आम जनताको विश्वास बढिरहेको छ । म आम जनताको विश्वासमा कहिलेपनि तुषारापात हुन दिने छैन । म प्रतिबद्धताका साथ जनताको हितमा लागिरहने छ । नेकपा एमाले लागिरहने छ ।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
दीपक बहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी)
मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिंह उम्मेदवार छन् । उनी दोस्रो पटक सांसद बन्ने लक्ष्यका साथ उम्मेदवार बनेका हुन् । यस अघी उनी २०७९ सालकाे निर्वाचनमा मकवानपुरकाे क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
* बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहबाट २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी । दिपक बहादुर ७/८ बर्षको हुँदा आमाबुबा परिवारसहित हेटौंडा बसाइ सरी आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोवास हेटौंडा – २ बनेकाे छ । उनी हेटौंडाका उद्योगी व्यवसायी हुन् ।
* माध्यामिक शिक्षा हेटौंडा-४ स्थित भुटनदेवी माविबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका छन् । उनका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण घरमा राजनीतिक वातावरण थिएनन् । तर दिपक राजनीतिमा २४ बर्षको उमेरदेखि नै लागेका हुन् ।
* २४ बर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अहिले पनि अनवरत छ । विभिन्न संघसंस्थामा आवद्ध उनी राजनीतिकाे सुरुवात देखि नै राप्रपामा छन् । २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहेका उनले प्रत्यासी डोरमणी पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो ।
*त्यस्तै २०७० सालको संविधान सभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए । २०५६ सालमा नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ उनी फेरि पराजित भएका थिए । त्यस्तै २०६४ र ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए ।
* २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । यस भन्दाअघि ६ वटा निर्वाचनमा सहभागी भैसकेका सिंह आसन्न प्रतिनिधि सभाको निर्वाचनमा पदमा उम्मेदवार छन् । २०७९ सालको निर्वाचनमा २७ हजार ८१६ मत हासिल गरी सिंहले चुनाव जितेका थिए ।
* उनकाे प्रतिषपर्धी काँग्रेसकी महालक्ष्मी डिनाले २५ हजार ४३४ मत ल्याएकी थिइन् । एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेका थिए । २०७४ र २०७९ को निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेकाले माओवादीका आफ्नै उम्मेदवार थिएनन् ।
उनले यो पटक २०७९ सालकै प्रतिस्पर्धी काग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना, रामेश्वर राना (एमाले), विजय गौतम (नेकपा), प्रकाश गौतम (रास्वपा), विद्या श्रेष्ठ (श्रम सस्कृती पार्टी) सहित २३ जना उम्मेदवारसंग प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिनिधिसभामा पूरा कार्यकाल बिताउन नपाए पनि विकासका योजना लिएर वा अन्य कुनै कारणले जनतासँग नियमित भेटघाट र सम्पर्क रहिरहेको कारण सिंह चुनाव जित्ने दावी गर्छन् । राप्रपाले राष्ट्र, राष्ट्रियता, सुशासन र भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएको स्पष्ट पार्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनले बताए ।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ । उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
रामेश्वर राना (नेकपा एमाले)
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानालाई मकवानपुर निर्बाचन क्षेत्र नम्बर १ मा उम्मेदवार छन् । झण्डै ५० वर्ष राजनीति गरेर संगठनमा महत्वपूर्ण योगदान पुर्याएका राना यसपटक भने प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने आकांक्षासहित अगाडि बढेका छन् ।
- २०३६ सालको आन्दोलनबाट प्रभावित भएर २०३७ सालमा अनेरास्ववीयु त्रिभुवन माविको प्रारम्भिक कमिटीबाट उनको राजनितिक यात्रा सुरु भएको हो । २०३८ मा अखिलको जिल्ला कमिटि उपाध्यक्ष हुंदै जिल्ला कमिटी अध्यक्ष समेत बने । २०४२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य बनेका राने पार्टीको शाखा कमिटि हेटौंडा नगर कमिटी हुंदै जिल्ला कमिटी सदस्य भए । २०५१ मा एमाले मकवानपुर सचिब भए । ३ कार्यकाल एमाले मकवानपुरको नेतृत्व गरेको अनुभब रानासँग छ।
- बागमती प्रदेश कमिटी सदस्य हुदै ४ कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका छन् । एमालेको ११ औं महाधिबेशनबाट राना केन्द्रीय सदस्यमा निर्वाचित भए । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा हेटौंडा नगरपालिका ११ नं वडा अध्यक्ष निर्बाचित भएका राना ईमान्दार, कर्मठ सादगी नेताका रुपमा मकवानपुरमा परिचित छन् ।
- २०५४ सालमा जिल्ला बिकास समिति मकवानपुरको सभापति निर्बाचित भएका थिए राना । २०६४ को संविधान सभाको निर्वाचनमा प्रतिस्पर्धा गरेका लडेका राना पराजित भएका थिए । त्यस यता उनले २ पटक सिफारिसमा परेर पनि नेतृत्वका लागि अबसर पाएनन् ।
- २०७९ सालको निर्वाचनमा एमालेको सुर्य चिन्हबाट कमल थापालाई अघि सारिए पछि उनले अन्तिम समयमा संसदीय चुनाब लड्ने अवसर गुमाएका थिए । पटक पटक अबसर खोसिदा समेत पार्टीको जिम्मेवारीमा निरन्तर छन् राना । २०५४ सालमा जिविसस सभापति हुंदा चुरे संरक्षण, सडक संजाल निर्माण सहित मकवानपुरको एकिकृत बिकासको अबधारणा उनले अघि सारेका थिए ।
- घरदैलो अभियानमा जुटेका रानाले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् । उनले भने “देश निर्माणको संकल्प बोकेर अघि बढेको पार्टीको उम्मेद्वार भएकाले चुनाव जित्नेमा म विश्वस्त छु ।” उनका अनुसार पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेका छन् ।
- उनले भने “देश निर्माणको संकल्प बोकेर अघि बढेको पार्टीको उम्मेद्वार भएकाले चुनाव जित्नेमा म विश्वस्त छु ।” उनका अनुसार पार्टी कार्यकर्ताहरू उत्साहपूर्वक चुनावी अभियानमा जुटिरहेका छन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै विकास र समृद्धिको नेतृत्व नेकपा एमालेले नै गरेको उनको दावी छ ।
निर्वाचन क्षेत्रमा समेत आफ्नो बलियो पकड बनाएका रानाले आफूले अन्य उम्मेद्वारलाई पन्छाउदै जित हाँसिल गर्ने दावी गर्दै आइरहेका छन् । लामो समयसम्म राजनीतिमा भिजेका नेता रानाले सोहि क्षेत्रबाट उम्मेद्वारी दर्ता गराएकी कांग्रेसमा लामो समयदेखि क्रियाशील र पूर्व सांसद समेत रहेकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाली कम्युनिष्ट पार्टीबाट युवा उम्मेद्वार विजय गौतम, राप्रपाबाट यसअघि निर्वाचित दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्र्टीका यूवा नेता प्रकाश गौतमसँग बलियो प्रतिष्पर्धा गनुपर्ने छ ।
निर्वाचन क्षेत्र नम्बर–१ मा रानासहित २३ जनाको उम्मेद्वारी परेको छ । तीमध्ये १३ जना विभिन्न राजनीतिक दलका उम्मेद्वार हुन् भने १० जना स्वतन्त्र उम्मेद्वार छन् ।
मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
महेश बर्तौला (नेकपा एमाले)
नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौला प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरकाे क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । उनकाे यो दोस्राे पटककाे उम्मेदवारी हाे । यस अघी २०७९ सालमा भएकाे निर्वाचनमा बर्तौलाले राजनीतिक गुरु समेत रहेका विरोध खतिवडालाई पराजीत गरेका थिए ।
बर्तौलाको राजनीतिक जीवन २०५३ सालबाट सुरु भएको हो । मकवानपुरको नामटारस्थित कालिका माविमा कक्षा ७ मा अध्ययन गर्दै गर्दा उनी अनेरास्ववियुको प्रारम्भीक कमिटिको अध्यक्ष भइसकेका थिए । अखिलको ईलाका, क्षेत्रीय कमिटि हुँदै उनी २०६० र २०६३ मा दुई कार्यकाल अनेरास्ववियु मकवानपुर अध्यक्ष भए । उच्च शिक्षाका लागि मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा २०६० सालमा स्ववियु सदस्य बने । २०६२ र २०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति भए ।
२०६५ सालमा अनेरास्ववीयुको केन्द्रीय सदस्य हुँदै अनेरास्ववियुको केन्द्रीय सचिव, उपाध्यक्ष र कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर समेत उनले पाए । उनी स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको राष्ट्रिय अध्यक्ष समेत भए । २०६३ सालबाट महेश बर्तौलाले विद्यार्थी राजनीतिका अलवा पार्टीको भूगोलमा रहेर समेत काम गरे । २०६३ मा उनी नेकपा एमालेको जिल्ला कमिटि सदस्य निर्वाचित भए ।
माओवादी सशस्त्र युद्धका बेला उनले मकवानपुरको विकट भुगोल नामटार कालिकाटार र भार्ताको ईन्चार्जको जिम्मेवारी बहन गरेका थिए । २०७६ /०७७ मा नेकपा एमालेको बागमती प्रदेश कमिटि सदस्य हुँदै उपमहासचिवको जम्मेवारीमा उनी सक्रिय रहेका थिए । एमाले र माओवादी एकता हुँदा उनी नेकपाको केन्द्रीय सदस्य भए । २०८० मा एमालेको मनोनित केन्द्रीय सदस्य र २०८२ को ११ औँ महाधिबेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।
४२ बर्षको युवा उमेरमा राजनीतिक सफलतासंगै उनकाे अध्ययनले समेत निरन्तरता पाएकाे छ । शैक्षिक हिसाबले उनी अब्बल छन् । व्यवस्थापन संकाय र राजनीतीशास्त्रमा स्नातकोत्तर (एमए) सम्मको अध्ययन गरेका बर्तौला विधीशास्त्रका समेत बिद्यार्थी हुन् । उनले एलएलवी उतीर्ण गरेका छन् ।
क्षेत्र नम्बर २ बाट पहिलोपटक प्रतिनिधी सभा सदस्य भएका बर्तौलाले एमालेको सचेतक, मुख्य सचेतक हुँदै सरकारको प्रमुख सचेतकको जिम्मेवारी बहन गर्ने अवसर पाइसकेका छन् । संसदमा कानून न्याय तथा मानव अधिकार समिति सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिको सदस्य र संसदीय समितिमा सदस्यका रुपमा उनको भूमिका रह्यो ।
संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका समेत पुगेका उनी संसदीय मामिला अध्ययनका लागि बेलायत गएर राजनीतिमा आफूलाई अनुभवले समेत अब्बल बनाएका छन् । स्विजरल्याण्डको जेनेभामा (ईन्टर पार्लियामेन्ट युनियन आई पि यु) को सभामा समेत उनले सहभागीता जनाएका छन् । चीन, भारत लगायतका देश पुगेर उनले विकास र राजनीतीको अन्तर्राष्ट्रिय ज्ञान हासिल गरेका छन् ।
गत भदौमा भएकाे नवयुवा (जेनजी) आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि बर्तौलाले पुरा कार्यअवधी संसदीय भूमिकामा रहन पाएनन् । उनी भन्छन् ‘पुरा अवधी काम गर्न पाइएन थालेका काम अपुरा छन् ती काम पुरा गर्न समेत चुनावमा उठेकाे छु ।’ आफूले जिल्ला र जिल्लावासीकाे लागि धेरै काम गर्न बाँकी रहेकाेले उम्मेदवारी दिएकाे उनकाे भनाई छ ।
२०७९ सालकाे मत परिणामः
नेकपा एमालेका बर्तौलाले २०७९ सालकाे प्रतिनिधि सभा चुनावमा ३४ हजार ९१६ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसका विरोध खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरेका थिए । यस्तै रास्वपाका भरत पराजुलीले १२०३९ मत प्राप्त गर्दा राप्रपाका राजन मैनालीले २१९४ मत ल्याएका थिए ।