मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
दीपक बहादुर सिंह (राष्ट्रिय प्रजातन्त्र पार्टी)
मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सिंह उम्मेदवार छन् । उनी दोस्रो पटक सांसद बन्ने लक्ष्यका साथ उम्मेदवार बनेका हुन् । यस अघी उनी २०७९ सालकाे निर्वाचनमा मकवानपुरकाे क्षेत्र नम्बर १ बाट विजयी भएका थिए ।
* बुवा मोहनबहादुर सिंह र आमा नन्दादेवी सिंहबाट २०१५ सालमा धनकुटामा जन्मिएका हुन् उनी । दिपक बहादुर ७/८ बर्षको हुँदा आमाबुबा परिवारसहित हेटौंडा बसाइ सरी आएका थिए । त्यसयता सिंह परिवारको स्थायी बसोवास हेटौंडा – २ बनेकाे छ । उनी हेटौंडाका उद्योगी व्यवसायी हुन् ।
* माध्यामिक शिक्षा हेटौंडा-४ स्थित भुटनदेवी माविबाट लिएका सिंहले विरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका छन् । उनका बुवा मोहनबहादुर सरकारी कर्मचारी रहेका कारण घरमा राजनीतिक वातावरण थिएनन् । तर दिपक राजनीतिमा २४ बर्षको उमेरदेखि नै लागेका हुन् ।
* २४ बर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्षबाट सुरुवात भएको उनको राजनीतिक यात्रा अहिले पनि अनवरत छ । विभिन्न संघसंस्थामा आवद्ध उनी राजनीतिकाे सुरुवात देखि नै राप्रपामा छन् । २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहेका उनले प्रत्यासी डोरमणी पौडेलसँग १२ सय मतान्तरले पराजित हुन परेको थियो ।
*त्यस्तै २०७० सालको संविधान सभाको निर्वाचनमा समेत राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग लगभग १३ सय मतान्तरले पराजित भएका थिए । २०५६ सालमा नेकपा एमालेका विरोध खतिवडासँग २२ सय मतान्तरका साथ उनी फेरि पराजित भएका थिए । त्यस्तै २०६४ र ०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फका समेत उम्मेदवार बनेका थिए ।
* २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए । यस भन्दाअघि ६ वटा निर्वाचनमा सहभागी भैसकेका सिंह आसन्न प्रतिनिधि सभाको निर्वाचनमा पदमा उम्मेदवार छन् । २०७९ सालको निर्वाचनमा २७ हजार ८१६ मत हासिल गरी सिंहले चुनाव जितेका थिए ।
* उनकाे प्रतिषपर्धी काँग्रेसकी महालक्ष्मी डिनाले २५ हजार ४३४ मत ल्याएकी थिइन् । एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४२० मत प्राप्त गरेका थिए । २०७४ र २०७९ को निर्वाचनमा गठबन्धन गरेर चुनाव लडेकाले माओवादीका आफ्नै उम्मेदवार थिएनन् ।
उनले यो पटक २०७९ सालकै प्रतिस्पर्धी काग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना, रामेश्वर राना (एमाले), विजय गौतम (नेकपा), प्रकाश गौतम (रास्वपा), विद्या श्रेष्ठ (श्रम सस्कृती पार्टी) सहित २३ जना उम्मेदवारसंग प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिनिधिसभामा पूरा कार्यकाल बिताउन नपाए पनि विकासका योजना लिएर वा अन्य कुनै कारणले जनतासँग नियमित भेटघाट र सम्पर्क रहिरहेको कारण सिंह चुनाव जित्ने दावी गर्छन् । राप्रपाले राष्ट्र, राष्ट्रियता, सुशासन र भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएको स्पष्ट पार्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनले बताए ।

