- मकवानपुर । प्रतिनिधि सभाको लागि फागुन २१ गते निर्वाचन तोकिएको छ । देशै भर चुनावी चहलपहल बढी रहेको छ ।
उम्मेदवारहरु चुनावी अभियानमा आफ्नो क्षेत्रमा व्यस्त रहेका छन् । मकवानपुरको दुबै क्षेत्रमा चुनावी अभियानमा उम्मेदवारहरु स्थानीयस्तरमा भेटघाटमा व्यस्त छन् ।
निर्वाचन २०८२ अन्तरगत रहेर केही दिन मकवानपुरको दुबै क्षेत्रका उम्मेदवारहरुको परिचय प्रस्तुत गर्दैछौ ।
प्रशान्त उप्रेती (राष्ट्रिय स्वतन्त्र पार्टी)
राजनीतिमा नयाँ पुस्ताकाे बहस चलिरहेकाे बेला मकवानपुर निर्वाचन क्षेत्र नं. २ मा २५ वर्षीय युवाले उम्मेदवारी दिएका छन् । रास्वपाबाट उम्मेदवारी दिएका नवयुवा पुस्ताका उम्मेदवार हुन् प्रशान्त उप्रेती।
- उप्रेती मध्यम वर्गीय परिवारमा २०५७ सालमा जन्मिएका हुन् । उनी पर्यटन व्यवस्थापनमा स्नातक र ‘Educational Leadership’ मा स्नातकोत्तर अध्ययनरत छन्।
- मकवानपुरकाे मनहरी गाउँपालिकामा हुर्किएका प्रशान्त पर्यटन उद्यमी समेत हुन्। उनी हाल मनहरीमै विद्यालय शिक्षा अध्यापनरत छन्। होटल र पर्यटन क्षेत्रमा आफैँले गरेको कार्यले उनलाई उद्यमशीलताका चुनौतीहरू सिकाएको बताउँछन् ।
- आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य संसदमा गएर केवल हात उठाउनु वा संख्या पुर्याउनु मात्रै नभएकाे भन्दै जनभावनाको प्रतिनिधित्व गर्दै राष्ट्रहितका लागि कानून निर्माण गर्न र सरकारलाई निरन्तर निगरानी गरि जवाफदेही बनाउन अडिग रहेकाे बताउँछन् ।
- संविधानलाई संघर्षको प्रतिफल मान्दै र संविधानको अक्षर र भावनाको रक्षाको लागि अडिग भएकाे बताउँछन्।
- झन्झटिलो कानुनी प्रक्रिया हटाएर “Ease of Doing Business” सुनिश्चित गर्ने, निजी क्षेत्रको सशक्तिकरण गर्ने, तुलनात्मक लाभका क्षेत्रहरु जस्तैः पर्यटन तथा जलस्रोत मार्फत देशको अर्थतन्त्र समृद्ध बनाउने र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उनको मार्गचित्र छ।
- आफ्नो क्षेत्रका स्थानीय समस्याहरूलाई नबिर्सिएकाे तथा स्थानीयका दैनिक समस्याहरुसँग जानकार भएकाे बताउँछन्। मकवानपुर मात्र हैन समग्र देशका किसानहरूले भोग्नुपरिरहेको समस्या, आफ्नो क्षेत्रमा रहेको गरिबी, बढ्दो महंगी सम्बोधन गर्दै गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा सर्वसाधारणको पहुँच पुर्याउनु पहिलो कर्तव्य हाे भन्छन् ।
- ‘जनताका दैनिक समस्यालाई सदनमा पुर्याउनु र सो को सम्बन्धित निकाय मार्फत सम्बोधन गराउनु जिम्मेवारी हुनेछ’ उनी भन्छन् ।
- ‘Education Leadership’ को विद्यार्थी भएकाेले हाम्रो खस्किँदै गएको शिक्षा तथा सो को प्रणालीको बारेमा जानकार भएकाेले नेतृत्व तहबाट सुधारका लागि पहल गर्ने उनकाे भनाई छ ।
- Gen Z (नवयुवा) आन्दोलन मार्फत प्रतिबिम्बित नयाँ पुस्ताको आकांक्षाहरुलाई सदनमा पुर्याउन उनीसँग उमेर र आवाज भएकाेले मतदाताहरूका लागि प्रशान्त केवल एक उम्मेदवार मात्र नभई राजनीतिमा ‘परिवर्तनको एउटा बलियो आशा’ भएकाे पार्टीकाे धारणा रहेकाे छ ।
युवा मात्रै नभई देशको नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने परिपक्क एजेन्डाहरू समेत भएकाले निर्वाचन २०८२ मा मकवानपुर २ बाट जित्ने आत्मविश्वास भएकाे उनी बताउँछन्। रास्वपाले २०७९ सालमा उम्मेदवार बनेका भरत पराजुलीलाई यसपटक टिकट नदिएर मनहरी गाउँपालिकाका २५ वर्षीय युवक उप्रेतीलाई प्रतिस्पर्धी बनाएको छ ।
क्षेत्र नं. २ मा पुराना र नयाँ दलका उम्मेदवार बिच प्रतिष्पर्धा हुने छ । प्रशान्तले २०७९ सालमा प्रतिनिधि सभा सदस्य पदमा विजयी महेश बर्तौला, नेपाली काँग्रेस मकवानपुर सभापति बुद्ध लामा, थाहा नगरपालिकाका २०७४ सालमा मेयर पदमा वियजी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का लवशेर विष्टलगायत अन्य पार्टी र स्वतन्त्र गरी २० जनासँग प्रतिष्पर्धा गर्नेछन् ।
क्षेत्र नम्बर–२ मा स्वतन्त्र उम्मेदवारतर्फ अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतिक्षा बानियाँ, रमेश आचार्य र सितामाया बल उम्मेदवार छन् । दलतर्फ जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट छविलाल वाइवा, राष्ट्रिय जनमोर्चाबाट निरबहादुर सिन्तान, उज्यालो नेपाल पार्टीबाट प्रविन कुमार स्याङतान र रामबहादुर थोकर उम्मेदवार छन् ।
यस्तै श्रम संस्कृति पार्टीबाट युनेश लामा सिन्तान, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट राम घलान, संयुक्त नागरिक पार्टीबाट शुभराज प्रजा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोष विष्ट, नेपाल मजदुर किसान पार्टीबाट सरोज तामाङ, नेशनल रिपब्लिक नेपालबाट सुर्य तामाङ बल, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट सूर्य राई तथा मंगोल नेशनल अर्गनाइजेसनबाट हिरालाल स्याङतान उम्मेदवार छन् ।
२०७९ काे निर्वाचनकाे मत परिणामः
प्रतिनिधिसभा निर्वाचन–०७९ मा एमाले महेश बर्तौलाले ३४ हजार ९ सय १६, कांग्रेस र माओवादीसहित गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार ३ सय ९६ र रास्वपाका भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरेका थिए । यसैगरी राप्रपाका राजन मैनालीले २ हजार १९४, नेकपा (माले)का उद्धवप्रसाद अधिकारीले एक हजार ८०५ मत ल्याएका थिए ।

