मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको चुनावी प्रचारमा रहेका बिरोध खतिवडा र इन्द्रबहादुर बानियाँलाई निर्वाचन आयोगले स्पस्टिकरण सोधेको छ ।
निर्वाचन आयोगले एकीकृत समाजवादीका मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार खतिवडा र नेपाली कांग्रेसका मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा उम्मेदवार बाँनियालाई स्पष्टीकरण सोधेको हो । आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको मनहरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई भ्रमणका लागि १५/१५ हजार दिएको समाचार आएपछि आयोगले खतिवडा र बाँनियालाई स्पष्टीकरण सोधेको हो ।
उनीहरूले नगद रकम प्रदान गरेपछि सामाजिक सन्जालमा समेत आलोचना गरिएको थियो । आयोगले मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? भनी प्रश्न गरेको छ । “यदि तपाईंबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारवाही हुनु नपर्ने हो ?” आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले उनीहरूलाई भनेको छ ।
बानियाँ र खतिवडाले शुक्रबार निर्वाचन आचारसंहिता बिपरित पैसा बाडेपछि क्याम्पसको आधिकारिक फेसबुक पेजमै उनीहरूलाई धन्यवाद भन्दै मतदानको लागि अपिल गरिएको थियो ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले आगामी निर्वाचनबाट समेत गठबन्धनकाे सरकार बन्ने बताएका छन् ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा उम्मेदवार हुनु भएका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा भएको अगुवा कार्यकर्ता भेलामा निर्वाचन पछी बन्ने सरकारले गाँजा विधेयक पारित गर्ने बताए । गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई पनि जेलमुक्त गर्न विधेयक ल्याइने उनले बताए ।
खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी र विखण्डनकारीहरुसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताए । मकवानपुरमा गठबन्धन बलियो मतका साथ अग्रता कायम गरिरहँदा नेकपा एमालेका उम्मेदवारहरु स्पर्धामा आउनै नसक्ने समेत उनकाे भनाई रहेकाे थियाे । ‘पश्चिम मकवानपुरको विकासमा विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’ उनले भने
कार्यक्रममा मकवानपुरको निर्वाचन क्षेत्र २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानले पछिल्लो पटक बागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर २ को रुपान्तरण भएको बताइन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ को ख का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमालेले दोबाटोमा बसेर बाटोमा भेटिएका जति सबैलाई सूर्य चिन्ह बेच्दै सिंगो व्यवस्था र मुलुकलाई मास्न प्रयास गरिरहेको बताए।
नेकपा माओवादी राक्सिराङका अध्यक्ष हस्तबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङलगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका उपाध्यक्ष एमाले प्रवेश गरेका छन् । उपसभापति रुद्र लामा मंगलबार एमाले प्रवेश गरेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा भीमफेदी गाउँपालिका वडा नंबर ६ बाट वडाध्यक्षका प्रत्यासी समेत रहेका लामा नेकपा एमाले प्रवेश गरेका हुन् । नेकपा एमाले पार्टी कार्यालय हेटौँडामा भएको कार्यक्रममा लामालाई एमालेका केन्द्रीय सदस्य एवम मकवानपुर इन्चार्ज रामेश्वर राना, एमाले प्रतिनिधिसभा क्षेत्र नंबर २ का उम्मेद्वार महेश बर्तौलालगायतले एमालेमा स्वागत गरेका थिए ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा तोकेको छ। विभिन्न तीन पक्षलाई आधार मानेर निर्वाचन आयोगले प्रत्यक्षतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्च सीमा तोकेको छ ।
खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको सङ्ख्यालाई २० प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।
उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँको निर्वाचन क्षेत्रहरु १, ३, ६, ७ र ८ मा निर्वाचन खर्चको हद २५ लाख कायम हुनेछ। यस्तै‚ १७ वटा निर्वाचन क्षेत्रमा २७ लाख, ६५ वटा निर्वाचन क्षेत्रमा रु।२९ लाख, ५२ वटा निर्वाचन क्षेत्रमा ३१ लाख र २६ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद रु।३३ लाख कायम हुनेछ।
त्यस्तै‚ उल्लिखित भारका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम हुने प्रदेशसभाको निर्वाचनमा उल्लिखित ७० वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद १५ लाख, १४३ वटा निर्वाचन क्षेत्रमा रु।१७ लाख, ५६ वटा निर्वाचन क्षेत्रमा १९ लाख, २९ वटा निर्वाचन क्षेत्रमा रु।२१ लाख र ३२ वटा निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद २३ लाख कायम गरिएको छ।
निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारी साधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउनेछन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को गत भदौ १९ गतेको निर्णयानुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम आगामी मङ्सिर महिनाको ४ गते आइतबारका दिन एकै चरणमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ। राजधानी डेली डटकमबाट


प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५ सय ३ प्रकारको मतपत्र प्रयोग हुने भएको छ । प्रतिनिधिसभा तथा प्रदेश सभाको क्षेत्र अनुसार मतपत्र प्रयोग हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १ सय ६५ र प्रदेशसभाको प्रत्यक्ष तर्फ ३ सय ३० क्षेत्रका फरकफरक मतपत्र हुने भएको हो । यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाको देशभर एउटै र सात प्रदेशका लागि सात थरी मतपत्र हुने आयोगले जनाएको छ । यसैगरी उम्मेदवारी नपरेको दलको चिन्ह भने मत पत्रमा प्रयोग हुने छैन । मतपत्रमा प्रत्यक्ष तर्फ रातो र समानुपातिकमा कालो रङ्गको चुनाव चिन्ह हुनेछ ।
समानुपातिकका लागि ४ करोड मतपत्र छपाइसकेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ जारी रहेको आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका लागि समानुपातिक मतपत्र उम्मेदवारको बन्दसूची बुझाउने दलको मात्रै चिह्न राखेर छापिएको छ । अन्य प्रदेशको समानुपतिकतर्फको मतपत्र भने दल दर्ताका लागि निवेदन दिएको आधारमा छापिएको छ । भुसालका अनुसार मतपत्रको कागज सेतो हुनेछ तर प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ रातो र समानुपातिकतर्फ कालो रङको चुनाव चिह्न हुनेछ ।
राजनीतिक दलले ०७४ को निर्वाचनमा समानुपातिकतर्फ पाएको मतका आधारमा मतपत्रमा चिह्नको क्रम राखिएको छ । प्रदेशको मतपत्रमा प्रदेशमा समानुपातिकमा प्राप्त मत संख्यालाई आधार बनाइएको छ । निर्वाचन आयोगले प्रदेशअनुसार फरकफरक मतपत्रको ढाँचा बनाई छापिरहेको जनाएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ मतपत्रको पहिलो लहरको सुरुमा एमालेको सूर्य चिह्न छ । यही लहरको दोस्रोमा कांग्रेसको रूख चिह्न, तेस्रोमा माओवादीको गोलाकारभित्र हँसिया हथौडा, चौथोमा जनता समाजवादी पार्टीको ढल्केको छाता र पाँचौंमा राप्रपाको निर्वाचन चिह्न हलो राखिएको छ । प्रतिनिधिसभाको मतपत्रमा ४८ प्रकारको निर्वाचन चिह्न राखिएको छ । मतपत्रको सुरुमा समानुपातिकमा पाएको मत र राष्ट्रिय मान्यता प्राप्त दलको निर्वाचन चिह्न कायम गरिएको आयोगले जनाएको छ ।
आउँदो निर्वाचनमा सबैभन्दा कम दुईवटा चिह्न भएको मतपत्र छापिएको छ । प्रदेशसभाका ५ वटा क्षेत्रमा दुई जनाको मात्रै उम्मेदवारी कायम भएकाले त्यहीअनुसार मतपत्र छापिएको हो । प्रतिनिधिसभामा सबैभन्दा कम चिह्न भएका हुम्ला र मनाङ हुन् । त्यहाँका लागि तीनवटा चिह्न भएको मतपत्र छापिएको छ । प्रत्यक्षतर्फ प्रदेशमा सबैभन्दा बढी रौतहट १(१) मा ३० वटा र प्रतिनिधिसभातर्फ काठमाडौं–१ मा ३२ वटा चिह्न भएको मतपत्र छापिँदै छ ।