मकवानपुर । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनको लागि निर्वाचनमा जान निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौडाले निर्वाचन समिति संयोजक चन्द्र महर्जनको हस्ताक्षरमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार आगामी पुस १३ गते निर्वाचन हुने भएको छ ।
विस्तृत विवरण निर्वाचन तालिकामा हेर्न सक्नुहुने छ ।

मकवानपुर । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विहीबार ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । प्रतिनिधि सभाको सभामुख चयन नभएसम्म जेष्ठ सदस्यले संसद बैंकक संचालन गर्ने संबैधानिक ब्यबस्था छ । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद सचिवालयका अनुसार २५ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित १ सय १० गरी कूल २ सय ७५ सांसद रहेकोमा सपथ समारोहमा ५ जना सांसद अनुपस्थित रहेका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाएको बैठकमा संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
प्रतिनिथि सभामा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको हैसियतमा रहेको छ । ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हुँदा नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन्।
मकवानपुर । नेपाल विवेकशील पार्टीको अध्यक्षमा सन्तोष घिमिरे चयन भएका छ्न । पौष २ गते नेपाल विवेकशील पार्टीको संघीय समिति वैठकले नीति सचिवको जिम्मेवारीमा रहेका घिमिरेलाई अध्यक्षमा चयन गरेको हो।
अध्यक्ष चयन पछि घिमिरेले उज्वल थापाले वैकल्पिक राजनीति सुरु गरेको विवेकशील नेपाली दलको निरन्तरताको रूपमा पार्टीको रूपमा अगाडि बढाउने बताएका छन्। निष्ठा र मूल्यमा आधारित पार्टीलाई समाधानमा आधारित सार्वजनिक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने घिमिरेले बताए। विद्यमान समस्याको समाधानको लागि कोठे बैठकहरूमा मात्र सीमित नगरी सार्वजनिक छलफल गरी निष्कर्षमा पुग्नुपर्ने उनको धारणा थियो।
नवनिर्वाचित अध्यक्ष घिमिरेले बेलायतस्थित इष्ट लण्डन युनिभर्सिटीबाट Innovative Technology मा MSc. र Oxford University बाट Generative Leadership को कोर्स पुरा गरेका छन ।
मकवानपुर । राष्ट्रपतिद्वारा विद्यादेवी भण्डारीद्वारा संघीय सरकार गठनको आह्वान गरेकी छिन् । गत मंसिरमा सम्पन्न निर्वाचनबाट सहभागी दलहरु मध्ये कसैकाे बहुमत नआए पछी बहुमतकाे सरकार गठनकाे लागि राष्ट्रपतिद्वारा भण्डारीले आह्वान गरेकी हुन् ।
नेपालकाे संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुने व्यवस्था छ । निर्वाचनबाट कुनैपनि राजनीतिक दलको बहुमत नपाए पछी राष्ट्रपति भण्डारीले आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार ७ दिन भित्र दुइ वा दुइ भन्दा बढी दलकाे सममर्थमा नयाँ सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
संविधानकाे धारा ७६ काे उपधारा २ काे व्यवस्था अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने जो सुकै प्रतिनिधि सभा सदस्य प्रधानमन्त्री बन्न सक्नेछ । राष्ट्रपतिकोआह्वानसँगै मुलुकले अबको एक सातामा नयाँ प्रधानमन्त्री पाउने छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै प्रमुख राजनीतक दल र नेताहरु नयाँ सरकार गठनमा केन्द्रित हुने भएका छन् ।
प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र समानुपातिक तर्फ ११० सांसद गरी २७५ जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेकाे छ । प्रतिनिधि सभाका कुल २७५ सदस्यमध्ये साधारण बहुमत अर्थात १३८ जनाको समर्थनमा सरकार बनाउन राष्ट्रपतिले ताेकेकाे समय सिमामा दुई वा दुई भन्दा बढी दलहरुले बहुमत सांसदकाे दावी साथ पेस गर्नु पर्ने हुन्छ ।
अहिलेकाे स्पष्ट बहुमत कसैकाे नभएकाे अवस्थामा सत्ता गठबन्धनमा रहेका दलहरुकाे सरकार गरुठनकाे लागि प्रयास गर्नेछन् । अन्य बाँकी दलहरुले सरकार गठनकाे कसरत गर्ने अवस्था देखिदैन । अन्य दलले सरकार गठन प्रक्रिया अघी बढाउन गठबन्धन दल मध्येबाटै साथ लिनु पर्ने हुन्छ तर अहिलेकाे अवस्थामा त्याे संभव देखिदैन । सत्ता गठबन्धनसँग १ सय ३६ सांसद रहेकाे अवस्थामा उसले नै अन्य साना दललाई साथमा लिएर अघी बढ्ने छ । नयाँ सरकार गठनका लागि हाल सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले अन्य दलहरु जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपाकाे समेत साथमा पहल गर्ने आंकलन गर्न सकिन्छ ।
तर, गठबन्धनभित्र को पहिला प्रधानमन्त्री हुने भन्ने विषयको टुंगो लागिसकेको छैन । यो विषयको टुंगो नलागेकाले गठबन्धनभित्र प्रधानमन्त्रीको आकांक्षी रहेका कांग्रेस सभापति शेरबहादुर देउवा वा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमध्ये कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने अन्यौल छ ।
नेपाली कांग्रेसले आइतबार बैठक बसेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरिसकेको छ । गठबन्धनको सरकार बनाउन गठबन्धनका शीर्ष नेतादेखि अन्य नेताहरू समेत एकमत भएपनि कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने विषय नटुंगिएसम्म गठबन्धनकाे सरकार बन्ने विषय थप पेचिलो समेत हुने देखिन्छ ।
मकवानपुर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचित सांसदलाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरेकाे हाे ।
आयोगको मुख्य कार्यालय काठमाडाैमा आयोजित प्रमाणपत्र वितरण समारोहमा समानुपातिक निर्वाचनका मुख्य निर्वाचन अधिकृत एवं आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले प्रतिनिधि सभा र सातै प्रदेशका प्रदेश सभामा विभिन्न राजनीतिक दलका तर्फबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
आयोगले गत मंसिर २८ गते समानुपातिक तर्फकाे निर्वाचन परिणाम प्रतिवेदन सार्वजनिक गरेको थियो । मंसिर २९ गते राष्ट्रपति समक्ष निर्वाचन प्रतिवेदन बुझाएकाे आयाेगले शनिबार सात वटै प्रदेश प्रमुख समक्ष प्रदेशकाे निर्वाचन परिणाम प्रतिवेदन बुझाएकाे हाे ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचित सांसदहरूलाई खादा लगाएर बधाई ज्ञापन गरेकाे समारोहमा सचिव दुवाडीले निर्वाचित सांसदहरूलाई बधाई दिएका थिए । दुवाडीले निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका थिए । समारोहमा आयोगका निर्वाचन आयुक्तहरूको उपस्थिति रहेको थियो ।