मकवानपुर । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विहीबार ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएका हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए । प्रतिनिधि सभाको सभामुख चयन नभएसम्म जेष्ठ सदस्यले संसद बैंकक संचालन गर्ने संबैधानिक ब्यबस्था छ । शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद सचिवालयका अनुसार २५ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित १ सय १० गरी कूल २ सय ७५ सांसद रहेकोमा सपथ समारोहमा ५ जना सांसद अनुपस्थित रहेका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथअघि ज्येष्ठ सदस्य जबराले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बोलाएको बैठकमा संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले शपथ ग्रहणको प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।
प्रतिनिथि सभामा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको हैसियतमा रहेको छ । ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हुँदा नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन्।

