सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले देशको कानून जनमुखि नभएकाे बताएका छन ।
शुक्रबार गृह जिल्ला सिन्धुलीमा बागमती प्रदेश सभा सचिवालय हेटौँडाले आयाेजना गरेकाे ‘प्रदेश कानून कार्यान्वयनको अवस्था बारे स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम’ मा मन्त्री श्रेष्ठले जनमुखी कानूनले मात्रै परिणाममुखी काम गर्न सक्ने बताए । उनले हालकाे कानून जनमुखी नभएकोमा असन्तुष्टी समेत ब्यक्त गरे ।
‘देश, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानून जनमुखी कम, परिणाममुखी कम र बढी प्रक्रियामुखी छ,’ मन्त्री श्रेष्ठले भने ‘पञ्चायतअघि वा पञ्चायतले बनाएका कतिपय कानूनहरु समयानुकुल परिमार्जन हुन नसकेकोले संघीय लोकतान्त्रिक, गणतन्त्रको पद्धतीअनुसार कानून बनाउन पर्छ ।’
संविधानमा प्रदत्त अधिकारहरु प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने कुरामा संघीय सरकार पन्छिन खोजेको उनको आरोप छ । ‘तीनै तह संघ, प्रदेश र स्थानीय सरकारको बारेमा संविधानको अनुसूचि ५ देखि ९ सम्म एकल अधिकार र साझा अधिकार उल्लेख छ, एकल अधिकारको सूचीमा थुप्रै काम भएका तर साझा सूचिमा अलमल्लकाे अवस्था स्हेको बारे स्पष्ट हुन जरुररी छ र साझा अधिकारको सूचिमा कानून बनाउने र कार्यान्वयन गर्ने कुरामा स्थानीय, प्रदेश र संघिय सरकारबीच समन्वय र सहकार्यको जरुरी रहेको छ’ श्रेष्ठले भने ।
त्यस्तै, समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित संघीयता भनिएपनि राजनीतिक सोच तथा एकात्मक र केन्द्रिकृत खालको चिन्तनलाई बदलेर संघीयताको उद्देश्यअनुसार सोच र चिन्तन बनाउन नसके संघ र प्रदेश असफल हुने उनले आशंका व्यक्त गरे ।
राजनीतिक सोच, राजनीतिक चिन्तनमा मुख्य नेतृत्वहरु, सरकारमा बसेका या ठूला दलका सबैले मनन गर्नु पर्छ उनले भने । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको उद्देश्यअनुसार तीनै तहका सरकारले कानून बनाउन नसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने ‘बनाएका कानूनहरु पनि प्रभावकारी रुपमा कार्यान्वयन भएको अवस्था छैन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको उद्देश्यअनुसार समयानुकुल ऐन, नियम र कानून निर्माण गरेर कार्यान्वय गर्न जरुरी छ ।’
संघिय सरकारले संसदबाट पारित गरिसकेको ऐन पनि आजको दिनसम्म कतिपय लागू गर्न नसकेकोमा उनले आपत्ति जनाए । उनले भने, ‘प्रदेशको शान्ती, सुरक्षाको जिम्मा प्रदेश सरकारको हो । स्पष्ट ढंगबाट संविधानमा त्यो व्यवस्था छ । प्रदेश प्रहरी ऐन प्रदेशले बनाएको छ । प्रहरी समायोजन ऐन संघीय संसदले पारित गरिसकेको छ । तर आजको मितिसम्म प्रहरी समायोजन ऐन लागु भएको छैन, जसले सातै प्रदेशमा गृह मन्त्रालय बनेको छ, तर गृह मन्त्री, गृह सचिव बेरोजगार भएर बस्नु परेको अवस्था छ ।’
शान्ती सुरक्षा सम्बन्धी धेरै मुद्दाहरु प्रदेशमा आइरहँदा निरिह भएर बस्नु परिरहेको बताउँदै उनले संघीय सरकारले संघीयताको मर्मअनुसार प्रदेशको आवश्यकता र औचित्यलाई प्रमाणीत गर्न सघाएकोमा उनले आपत्ति समेत जनाएका थिए ।
त्यस्तै कार्यक्रममा बागमति प्रदेश सभा सदस्य मातृका भट्टराई र रामकुमार पहाडीले जनतामा बढेको वितृष्णा मेटाउन तीनै तहको सरकार जनताप्रति उत्तरदायी भएर नबाझिने गरी कानून बनाई कार्यान्वयनमा लैजान पर्ने धारणा राखेका थिए ।
बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की लगायत स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरुले आ–आफ्ना तह तथा कार्यक्षेत्रमा आएका कानूनी झन्झट, समस्या र अल्झनका जानकारी गराएका थिए ।
मकवानपुर । नेकपा एकीकृत (समाजवादी) मकवानपुर जिल्ला उपाध्यक्ष कृष्ण राई नेकपा एमालेमा फर्किएका छन । बुधबार राईसहित ६ जना समाजवादी जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका हुन् ।
बुधबार एमाले मकवानपुर जिल्ला कार्यालयमा भएकाे कार्यक्रममा उनीहरू पार्टी सदस्य नवीकरण गर्दै एमालेमा फर्किएका हुन् । एमालेमा फर्किनेमा जिल्ला उपाध्यक्ष राईसहित सचिवालय सदस्यहरू प्रेम भाेम्जन, लाेकनाथ चाैलागाई, राेमनाथ रेग्मी, अर्जुन पाेखरेल र जिल्ला सदस्य प्रेम पाख्रिन(राजेश) रहेकाे नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले बताए ।
कार्यक्रममा नेता राईले कम्युनिष्ट आन्दाेलनमा एमालेकाे विभाजन कल्पना नगरेकाे कुरा भएकाे र एकीकृत समाजवादीकाे न भूत न भविष्य भएकाे पार्टी बताए । उनले कम्युनिष्ट आन्दाेलनकाे मूलधार नेकपा एमाले भएकाेले सबै चुनाैतीकाे सामना गरेर कम्युनिष्ट आन्दाेलनलाई एकीकृत गर्ने जिम्मा पनि एमालेकाे भएकाे बताए ।
कार्यक्रममा नेकपा एमाले पाेलिटव्यूराे सदस्य पुरूषाेत्तम पाैडेल, केन्द्रीय सदस्य रामेश्वर राना, पार्टी नेता केदार न्याैपानेसहितका नेताहरूले उनीहरूलाई स्वागत गरेका थिए ।
जिल्ला अध्यक्ष एकालाल श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्त पाैडेल, प्रदेश कमिटीका सदस्यहरू बलराम बल, श्रीधर पाेखरेल, कमल बिष्ट, देवराज रिमाल, अर्जुन अर्याल, जिल्ला सचिव नवीन सिग्देल, जिल्ला उपसचिव सीता विष्ट, जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव राजन थापा, ईन्द्र सराेवर गाउँपालिका निर्वाचित अध्यक्ष डिके पुडासैनीसहितका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका लागि १५ बुँदे मापदण्डमा प्रेस चौतारी नेपाल प्रतिबद्ध भएर लाग्ने संगठनले जनाएको छ ।
सदस्यता शुद्धिकरणको लागी संगठन प्रतिबद्ध रहदा रहदै विभिन्न साङ्गठानिक दलाल, पुँजीपतिहरू विभिन्न दल र संगठनको नाममा नेकपा एमाले र सो संगठन विरुद्ध लागेको पनि प्रेस चौतारी नेपालले निष्कर्ष निकालेको छ ।
प्रेस चौतारी नेपालको चौथो सचिवालय बैठकमा महासचिव हिरामान लामाले प्रस्तुत गरेको प्रतिवेदनमा पत्रकार महाससंघको सदस्यता शुद्धिकरणलगायतका विषयमा प्रेस चौतारी विरुद्ध सबै शक्ति एक भएर लागेका उल्लेख छ ।
राष्ट्रिय पुँजीको विकास गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, जनताको जनवादी उत्पादन पद्धतिको विकास, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्दै सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्नु प्रेस चौतारी नेपालको मुख्य लक्ष भएको प्रतिवेदनमा उल्लेख छ ।
‘यही कार्यदिशा अनुरूप हाम्रो सङ्गठनात्मक कार्यदिशा निर्धारण गरेका छौँ’, हाम्रो कार्यदिशाले तत्कालीन कार्यनीति, कार्यक्रम तथा कार्य योजनालाई नेतृत्व गर्नुपर्दछ’, महासचिवको प्रतिवेदनमा लेखिएको छ ।
अहिले आम सञ्चार क्षेत्र र सञ्चारकर्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक, लगायत दृष्टिले नितान्त नयाँ मोडमा उभिएको प्रेस चौतारी नेपालको विश्लेषण छ । ‘सूचना प्रविधिमा अभूतपूर्व क्रान्ति भएको छ, यो क्रान्तिले अर्थतन्त्र, संस्कृति, आमसञ्चार, उत्पादन, वितरण प्रक्रिया र प्रकृतिमा नयाँ विशेषताहरू पैदा भइरहेका छन्, नेपाली सञ्चार जगतमा दलाल पुँजीपतिहरूले आफ्नो उद्देश्य पूरा गर्न मिडियाको पनि दुरुपयोग गरिरहेका छन्’, प्रतिवेदनमा स्पष्ट शब्दमा लेखिएको छ ।
दलाल पुँजीपतिले मिडिया दुरुपयोग गरेर राष्ट्रिय पुँजीपतिको गलत फ्रेमिङ गरेर गलत बिम्ब बनाइदिने प्रति चौतारीले चिन्ता व्यक्त गरेको छ । समाजवादको आधार तयार पार्ने यात्रामा यसले अवरोध गर्ने प्रेस चौतारी नेपालको ठहर छ । ‘प्रचारको क्षेत्रबाट त्यो अवरोध पन्छाउने हाम्रो महत्त्वपूर्ण कार्यभार हो’, प्रतिवेदनमा उल्लेख छ ।
प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनले फैसला गरेको ‘समृद्धिका लागि सञ्चार कर्म प्रेस चौतारी नेपालको मूल मर्म’ भन्ने नारामा केन्द्रीकृत भई संगठनको कार्यदिशा, कार्यनीति, कार्यक्रम र कार्य योजना निर्माण गर्नुपर्ने निष्कर्ष सो संगठनले निकालेको छ । यो कार्यभार पूरा गर्न असाधारण रूपमा क्रियाशील हुनुपर्ने निष्कर्ष प्रेस चौतारी नेपालले निकालेको छ ।
संघर्षको आयाम बदलिएको बताउँदै प्रेस चौतारी नेपालले सयौँको जुलुस भन्दा एउटा आलेख, समाचार वा विचार बलशाली हुने निष्कर्ष निकालेको छ । सडकमा गरिने सयौँको प्रदर्शनभन्दा वा भौतिक उपस्थितिमा भएका आमसभाभन्दा कुनै एउटा सञ्चार सामग्री सुव्यवस्थित ढङ्गले निर्माण गरेर प्रवाह गर्न सक्यो भने त्यो प्रभावकारी हुने चौतारीको निष्कर्ष छ ।
चौतारीका सदस्यमा वैचारिक स्पष्टताको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निष्कर्ष संगठनले निकालेको छ । चौतारीमा आबद्ध पत्रकारलाई व्यावसायिक रूपमा दक्ष बनाउन चौतारीले देशव्यापी तालिमहरूको आयोजना गर्ने महासचिवको प्रतिवदनमा उल्लेख छ ।
प्रेस चौतारीको सदस्य हुन व्यावसायिक दक्षता पहिलो मापदण्ड भएको चौतारीले प्रष्ट पारेको छ । ‘समाचार कक्षमा होस् वा रिपोर्टिङमा, प्रेस चौतारीका सबै सदस्य सधैँ अब्बल हुनुपर्छ’, प्रतिवेदनमा लेखिएको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा भएको बैठकमा चौतारीका नयाँ इञ्चार्ज राजेन्द्र गौतमलाई स्वागत गरिएको थियो भने इञ्चार्जबाट बिदा भएका एमाले पार्टीका उपसचिव पृथ्वी सुब्बा गुरुङलाई बिदाइ गरिएको थियो ।
मकवानपुर । मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको लागि न्युन बजेट छुट्याएको प्रती नेकपा एमाले मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने मकवानपुरबासीको सदियौंको सपनामाथि धावा नबोल्न भन्दै एमालेले खबरदारी गरेको हो । पार्टी अध्यक्ष तथा बागमती प्रदेश सरकारका पुर्व मन्त्री एका लाल श्रेष्ठद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति मार्फत यस्तो खबरदारी गरिएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडा स्वास्थ्योपचारलगायत स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षामा निकै नै पछाडि परेको क्षेत्रको रुपमा रहेको तितो यथार्थलाई मनन गर्दै डोरमणि पौडेल नेतृत्वको तत्कालिन बाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी कार्यान्वयनमा रहेको छ ।
हेटौंडा अस्पताल प्रतिष्ठान मार्फत ल्याई सेवामा सुधार गरिएदै आएकोमा पुरानै अवस्थामा फर्काउने खेलमा बर्तमान सरकार रहेको बिज्ञप्तिमा भनिएको छ । विगतमा ५० शैयाको हेटौंडा अस्पताल प्रतिष्ठान मार्फत गएपछि एमाले नेतृत्वको सरकारकै पहलमा हाल ३०० बेडको सुविधासम्पन्न अस्पतालमा परिणत गरिएको थियो ।
हालको सरकारले नियमित रुपमा सञ्चालन भइरहेको र प्रदेशको गौरवको रुपमा विकास हुँदै गएको उक्त प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुलाई उपलब्ध गराउनुपर्ने तलब सुविधा कटौती गर्दै २१४ भन्दा बढी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जागिरबाटै निकाल्ने, बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित बनाउने तथा अति महत्वपूर्ण स्वास्थ्य संस्थालाई तहसनहस बनाउने उद्देश्यले जनभावना विपरित काम गरिरहेको भन्दै नेकपा (एमाले) मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको अभिभावक बन्नु पर्ने सरकार नै नागरिकहरुको स्वास्थ्यमा खेलबाड गरिरहेको एमालेको ठहर छ । हेटौंडा अस्पतालालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग नगर्न अदालतबाट भएको आदेशको अवहेलना गर्दै तथा सरकार आफैले बनाएको कानूनको समेत उल्लङ्घन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट पुन अलग्याउने काम भइरहेकोले दाबी बिज्ञप्तिमा गरिएको छ ।
यस्ता प्रयत्नहरु तत्काल रोक्न, प्रतिष्ठानलाई विनियोजन हुँदै आएको बजेट कटौती गरेर अस्पतालको उपचार सेवामा असन्तुलन ल्याउने काम बन्द गर्न तथा प्रतिष्ठान एवं अस्पतालमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षा गर्न नेकपा (एमाले), मकवानपुरले माग गरेको छ ।
मकवानपुर । आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट बागमती प्रदेश सरकारका अर्थ मन्त्री बहादुरसिंह लामाले बजेट भाषण सुरु गरेका छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री लामाले यस बर्षकाे बजेटले सबै पक्षकाे उचित सम्बाेधन गरेकाे दाबी ससंद पस्नु अघि प्रतिकृया दिए ।